किताब पढाइ मेरो दैनिकीको एउटा आवश्यक सन्तुलन हो

नेपालनाम्चाको लोकप्रिय स्तम्भ ‘किताब’मा संगीता स्वेच्छा

१. तपाईंले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो?
किताब पढ्ने रुचि मेरो जीवनमा सानैदेखि विकसित भयो। विद्यालय जीवनमा पाठ्यपुस्तक बाहेकका कथा, कविता र पत्रिकाहरूले मलाई शब्दको संसारतर्फ ताने। समयसँगै किताब केवल ज्ञानको स्रोत मात्र नभई आत्मीय साथीझैँ बन्न पुग्यो, जसले मलाई आफू र संसार दुवै बुझ्न मद्दत गर्‍यो।

२. किताब पढाइले तपाईंको दैनिकीमा कस्तो भूमिका खेल्छ?
किताब पढाइ मेरो दैनिकीको एउटा आवश्यक सन्तुलन हो। आफ्नो व्यस्त जीवनमा किताबले मलाई रोकिएर सोच्न, अनुभव गर्न र आत्मसंवाद गर्न अवसर दिन्छ। यो मेरो लागि एक प्रकारको मानसिक विश्राम पनि हो। मलाई किताबले ध्यान मग्न बनाएको महसुस हुन्छ।

३. तपाईं प्रायः कुन समयमा किताब पढ्न मन पराउनुहुन्छ?
म प्रायः बेलुका वा रातिको समय किताब पढ्न रुचाउँछु। त्यति बेला मेरो मन शब्दहरूसँग गहिरो रूपमा जोडिन सक्छ। तर हप्ताको अन्त्य वा छुट्टीको दिनमा म लामो समयसम्म पनि पढ्न सक्छु। सधैं आफ्नो झोला वा ब्यागमा किताब राख्छु, चाहे रेलमा यात्रा गर्दैछु, पढ्ने यो बानीले मलाई खुशी दिन्छ।

४. किताब पढ्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ?
किताब पढ्दा कहिले आफूभित्रको भावना उजागर हुन्छ, कहिले अरूको जीवनसँग गहिरो सम्बन्ध महसुस हुन्छ। म सँधै महसुस गर्छु कि अझ धेरै सिक्न बाँकी छ; नयाँ कुराहरूले मलाई सोच्न बाध्य पार्छ र जीवनको अनगिन्ती सम्भावनाहरू स्मरण गराउँछ।

५. कुन प्रकारका किताब तपाईंलाई मन पर्ने गर्छ?
म सोच जगाउने, भावनात्मक गहिराइ भएका र जीवनका सूक्ष्म यथार्थ उजागर गर्ने किताब मन पराउँछु। विशेषगरी कथा, उपन्यास, यात्रा संस्मरण, कविता, जीवनी र सामाजिक विषयमा आधारित पुस्तकहरूले मलाई आकर्षित गर्छ। साथै, आध्यात्मिक पुस्तकहरूमा पनि मेरो विशेष रुचि छ।

६. किताब पढ्नाले तपाईंको सोच वा जीवन–दृष्टिमा कस्तो परिवर्तन ल्याएको छ?
किताबले मलाई सहानुभूतिशील बन्न, बहुआयामिक दृष्टिकोण अपनाउन र फरक अनुभव बुझ्न सिकाएको छ। पढ्दा म शान्त महसुस गर्छु। यसले मेरो दिमागलाई ध्यानमग्न बनाउँछ र मानसिक विश्राम पनि दिन्छ।

७. तपाईं कागजी किताब मन पराउनुहुन्छ कि डिजिटल? किन?
म अझै पनि कागजी किताबप्रति बढी आकर्षित छु। पाना पल्टाउने अनुभूति, ध्यान केन्द्रित हुने सहजता र किताबसँगको भौतिक सम्बन्धले पढाइलाई गहिरो बनाउँछ। म सधैं पेन्सिल राख्छु र मन परेको लाइन वा अनुच्छेदमा नोट बनाउँछु। साथै, डिजिटल पुस्तक र अडियोबुक पनि पढ्छु/सुन्छु। विशेष गरी अडियोबुक म खाना बनाउँदा वा अन्य काम गर्दा सुन्छु। यसरी मैले धेरै उपन्यास र आध्यात्मिक पुस्तकहरू सुनेको छु।

८. नियमित रूपमा किताब पढ्ने बानी बनाउन तपाईंले कस्तो विधि अपनाउनुहुन्छ?
म दिनको थोरै समय भए पनि किताबका लागि छुट्याउँछु। ठूलो लक्ष्यभन्दा सानो तर निरन्तर अभ्यासलाई महत्व दिन्छु। सधैं किताब आफ्नो ब्यागमा राख्नु पनि एउटा तरिका हो, जसले मलाई कहिल्यै किताबबाट टाढा बनाउँदैन।

९. किताब पढ्दा तपाईंले सामना गर्ने मुख्य चुनौती के हो?
समयको अभाव नै मुख्य चुनौती हो। अर्को चुनौती भनेको सामाजिक सञ्जालबाट हुने ध्यान विचलन हो। सामाजिक सञ्जाल नकारात्मक होइन, तर कहिलेकाहीँ त्यहाँको सामग्रीले हामीलाई अनावश्यक समय खेर फाल्न लगाउँछ। त्यसैले पढाइमा ध्यान दिन डिजिटल नोटिफिकेशन र समय व्यवस्थापन आवश्यक हुन्छ।

१०. तपाईंले पढेको कुराले अरूसँग कुराकानी वा विचार–विनिमय गर्न कत्तिको प्रेरित गर्छ?
राम्रो किताबले स्वाभाविक रूपमा संवाद जन्माउँछ। पढेका विचारहरू अरूसँग बाँड्दा बुझाइ अझ गहिरो हुन्छ। लेखकको रूपमा यो आवश्यक पनि छ, किनभने पुस्तकहरू मार्फत लेखन शैली, समसामयिक साहित्यिक प्रवृत्ति र नयाँ दृष्टिकोणहरू सिक्न सकिन्छ।

११. किताब पढ्न सुरु गर्न चाहने नयाँ पाठकलाई तपाईंको सरल सुझाव के हो?
आफूलाई मन पर्ने विषयबाट सुरु गर्नुस् र सानो पुस्तकबाट पनि सुरु गर्न सकिन्छ। नियमितता कायम गर्नुस्। किताब पढ्नु आनन्दमयी यात्रा पनि हो।

१२. आजको व्यस्त र डिजिटल जीवनशैलीमा पनि किताब पढाइ किन महत्वपूर्ण छ?
किताबले हामीलाई गहिराइमा सोच्न र मानवीय संवेदनालाई जोगाइराख्न मद्दत गर्छ। डिजिटल पुस्तकहरू पनि यस जीवनशैलीको हिस्सा बनिसकेका छन्। तर पढ्दा सामाजिक सञ्जालको अवरोध हटाउनु आवश्यक छ, ताकि ध्यान गहिरो रहोस् र किताबको मजा लिन सकियोस्।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button