विपश्यनाबाट फर्केपछि विपश्यनाका दश दिनलाई म कसरी सम्झन्छु ?

रितु शाक्य

म: हेल्लो नमस्कार, म ऋतु शाक्य विपश्यना शिविरको लागि आवेदन फारम स्वीकृत भएकोले आफ्नो सिट कर्न्फम गर्न फोन गरेकी थिएँ ।

सहआचार्य: नमस्कार, विपस्यना ध्यान गर्नुपुर्वको सम्पूर्ण नियम पढ्नु भयो ?

म: हजुर पढेँ अनि बुझे पनि ।

सहआचार्य: ठिक छ त्यसो भए, सेप्टेम्बेर २ मा बिहान ११ बजे बुढानीलकण्ठस्थित मुहानपोखरीमा एउटा पासपोर्ट साइजको फोटो र नागरिकता प्रमाणपत्रको फोटोकपिसहित आउनु होला ।

फोन सम्वादपश्चात सप्टेम्बर २ तारिख सोमबार विपश्यना शिविरको लागि प्रस्थान गरेँ । महिलाको २०० अनि पुरुष १९० को हाराहारीमा विपश्यना ध्यानको लागि सहभागीता देखियो । खुशी अनि उत्साहसहित विपस्यना शिविरमा प्रवेश गर्यौं ।

काठमाडौंमा प्रमुख केन्द्र धम्मश्रीङ्ग (बुढानीलकन्ठ)– यो नेपालकै सबैभन्दा ठूलो र विश्वस्तरीय विपश्यना केन्द्र हो । यहाँ १० दिन, २० दिन, ३० दिनलगायत विशेष कोर्सहरू नियमित रूपमा संचालन हुन्छन् ।विपश्यना भन्नाले “वस्तुलाई वास्तविक रूपमा हेर्ने, जस्तो छ त्यस्तै बुझ्ने” भन्ने अर्थ हुन्छ। यो बुद्धको समयदेखि सुरु भएको ध्यान पद्धति हो, जसलाई २,५०० वर्षदेखि संरक्षण गरिँदै आएको छ । विपश्यनामा व्यक्तिले आफ्नो श्वासप्रश्वास, शरीर, संवेदना, विचार र भावना सबैलाई निष्पक्ष रूपमा अवलोकन गर्छन् । यसको उद्देश्य भनेको मनको अशुद्धता हटाउने, दुःखमुक्त जीवन पाउने, र अन्तिम मुक्ति (निर्वाण)तर्फ अग्रसर हुने हो ।

विपश्यना ध्यानको उद्देश्य यसप्रकार छन्:
१. मन शुद्धि– क्रोध, लोभ, मोह हटाएर शुद्ध मन विकास गर्ने ।
२. समता– सुखदुःखलाई समान भावले ग्रहण गर्ने क्षमताको विकास ।
३. आत्मिक शान्ति– तनाव, चिन्ता, मानसिक अशान्तिबाट मुक्त हुने ।
४. आत्मज्ञान– जीवन र दुःखको कारण बुझ्ने र त्यसलाई पार गर्ने बाटो देख्ने ।

विपश्यना ध्यान साधना सामान्यतया १० दिनको आवासीय कोर्स हुन्छ । कोर्स गर्दा कडाइका साथ यी नियमहरू पालना गर्नुपर्दछ जुन यसप्रकार छन्ः

१। पाँच शील पालनाः
क. कुनै पनि प्राणीलाई नमार्ने, हानी नपुर्याउने । ख. चोरी नगर्ने । ग. असत्य वचन नबोल्ने । घ. व्यभिचार नगर्ने । न्ह्य. मदिरा वा नशा सेवन नगर्ने ।

२। आर्य मौनः
कोर्सको अवधि भर नबोल्ने, नपढ्ने, नलेख्ने, नसम्पर्क गर्ने । केवल ध्यान शिक्षकसँग आवश्यक विषयमा कुरा गर्न पाइन्छ ।

३। समय अनुशासनः
बिहान ४ः३० बजेदेखि , बेलुकी ९ः०० बजे सम्म साधना पश्चात ९ः३० मा विश्राम । दिनमा १०ं घण्टा ध्यान गर्ने ।

४। बाहिरी सम्पर्क वर्जितः
मोबाइल, किताब, कलम, संगीत, पत्रपत्रिका सबै निषेध ।

५। खानपान नियमः
बिहान ६ः३०मा नास्ता र दिउँसो ११ बजे शाकाहारी भोजन । बेलुकी ५ बजेपछि नयाँ सहभागीहरूलाई हल्का फलफूल वा चिया मात्र ।

६। ध्यान अभ्यास क्रमः
सुरुमा ३ दिन आनापान (श्वासप्रश्वासको अवलोकन) । त्यसपछि ७ दिन विपश्यना (शरीरभरीको संवेदनाहरू अवलोकन गर्ने)। १० औं दिनमा अन्त्यमा मेत्ता भावना ध्यान (मैत्री ध्यान) ।

अनुभवः
पहिलो दिन केवल श्वासप्रश्वासमा ध्यान दिनु थियो। दिनभर बसेकोबस्यै गर्दा खुट्टा पुरै दुख्यो, आशनसिद्धी हुन गार्हो भयो तर यस प्रक्रियाले चंचल चित्तलाई भने बसमा पार्न सफल भयो ।

दोश्रो दिन श्वासप्रश्वासको साथमा नाकको माथिल्लो भूमध्य (दुई आँखिभौको बीच भाग)देखि माथिल्लो ओठको माथि जुँगा बस्ने भागसम्म तीन कुन्ने भागमा ध्यान केन्द्रित गर्दै यी अंगका बाहिरीभित्रि भागसम्मको सम्पूर्ण गतिविधि र समवेदनामा ध्यान पुर्याउनु थियो । यस क्रममा पहिलो दिनभन्दा केहि सहज महसुस भयो । हरेक श्वाससंगै समवेदनामा मनलाई स्थिर गरिरहँदा त्यो क्षण वर्तमानमा टिकिरहन्थ्यो जसले गर्दा मन या चित्तमा न कुनै राग न द्वेष न मोह नै हुन्थ्यो । विशुद्ध वर्तमानमा कल्पना र सम्झनाबाट उत्पन्न हुने सम्पूर्ण क्लेशबाट मुक्त शुद्ध दुख मुक्तिको क्षणको अनुभूति हुन्थ्यो ।

तेश्रो दिनमा ठुलो त्रिकोणबाट अब नाकको प्वालको भाग र जुँगा बस्ने भागसम्मको स्थानलाई सानो त्रिकोण बनाएर त्येही स्थानमा ध्यान केन्द्रित गर्दै त्यहाँको सम्वेदना हेरिन्थ्यो । त्यो क्रियाले अझ सुक्ष्म तरिकाले मनलाई जाँच्ने कला सिकायो । सानो स्थानमा ध्यान केन्द्रित राखने क्रममा अझै मनको एकाग्रता बढाउन मद्दत मिल्यो । दिनभर १० घण्टा ध्यान मात्र गरिरहँदा शरीर र मन दुवै चल्न नपाउँदा शरीर र मनबाट निर्माण हुनसक्ने कुण्ठाबाट मुक्ति भयो जसले हृदयलाई अझ शुद्ध र हलुका बनायो ।

चौथो दिन आनापाना सति पछिको विपश्यना ध्यानको दिन थियो जुन दिन हामीले शीरको तालुको भागको सम्वेदना, पछाडि शीरको सम्वेदना, अनुहारका हरेक अंग अंगको सम्वेदना, घांटीको सम्वेदना, दायाँ हातको कुम, पाखुरो, कुहिनो, नाडी, हत्केला अनि औंलाको सम्वेदना त्यसपछि बाँया हातको समान सम्वेदना त्यसपछि छाती, पेट, पेटको तल्लो भाग, पिठ्युँ, मध्ये पिठ, ढाडकम्मर, त्यसपछि दायाँ गोडाको तिघ्रा, घुंडा, पिडुला, नलिहाड, कुर्कुचो, गोलिगाँठो, पैताला अनि औलाहरु त्यसपछि बाँया गोडाको समान अंगहरु सबैको छुट्टाछुट्टै संवेदनाहरु हेर्दै दिन भरि त्यही काम दोहोर्याउँदै गर्यौ । यस क्रियाबाट अंगअंगका सुखद या दुखद सम्वेदना भोक्ताभावबाट नभई द्रष्टाभावबाट हेर्न सिकियो । यस अभ्यासले जीवनमा आउनसक्ने दुख र सुखलाई केवल साक्षी भावमा हेर्ने बानी पार्ने काम भयो । भोक्ताभाव ले दुख निम्त्याउँछ भने द्रष्टाभावले तटस्थ बनाउँछ । सम्वेदना दुखको होस् या सुखको हेर्दै जाँदा परिवर्तन हुँदै गएको स्वअनुभवले यो तथ्य र सत्यलाई बोध गराउँछ कि केहि पनि नित्य छैन अनित्य नै छ । त्यसैले कुनै कुरामा राग या द्वेष राख्नु उचित छैन ।

पाँचौं दिनमा विपश्यनाको अलि फरक तरिका अपनाइयो । चौथो दिनमा माथि शीरबाट पाउ फेरि शीरबाट पाउ नै दोहोर्याएका थियौं भने पाचौं दिनमा शीरबाट पाउ अनि पाउबाट शीर गर्दै अभ्यासलाई निरन्तरता दियौं । यो निरन्तर अभ्यासले शरीरमा हुने प्रत्यक सम्वेदनाबाट चित्तमा राग द्वेष हुँदा शरीरमा कस्तो प्रभाव पर्छ भन्ने कुरा पनि अनुभवको स्तरबाट बुझ्यौं । दुखको मुख्य कारण नै यहि रहेछ त्यो सत्यसँग साक्षात्कार भयौं । हरेक अवस्थालाई तटस्थ भावमा हेर्न जाने मात्र दुख मुक्ति हुने कुरा अनुभवबाट थाहा पायौं । राग द्वेष मोह अनि तृष्णा यी सब दुखका मुख्य कारण हुन् थाहा पायौं ।

छैठौं दिन अझ भिन्न तरिकाले विपश्यना गरियो । यस दिन शरीरका सानो सानो भागको सम्वेदना नहेरिकन ठुलो ठुलो एकमुस्ट भागमा सम्वेदना हेर्ने सिक्यौं । जस्तै पुरै शीरको सम्वेदना, दुवै हातको एकमुस्ट सम्वेदना, छाति, पेटको सबै अंगको एकमुस्ट भागको सम्वेदना, पुरै ढाड पिठ्युँको सम्वेदना, दुवै गोडाको एकमुस्ट सम्वेदना । धाराप्रवाह रुपबाट चलिरहेको सुक्ष्म सुक्ष्म सम्वेदना अनि कुनै ठाउँको स्थुल अथवा मुर्छा सम्वेदना र सम्वेदनाले ल्याउने सुख, दुख या असुखा अदुखाको सम्वेदना आदिको पनि महसुस गर्न पायौं । हरेक अवस्थामा आफ्नो मनस्थितिलाई ब्याकुल नगरी राग र द्वेषबाट बन्चित गरी तटस्थभावमा समताभावमा स्थिर रहनु आवश्यक थियो । यो स्थिति परिवर्तन हुने बित्तिकै मनमा आउने राग र द्वेष नै दुख को कारण बन्थ्यो जुन हामीले प्रयोगात्मक रुपबाट अनुभव गर्यौं ।

सातौं दिन सम्वेदनालाई शरीरको बाहिरी अंगबाट मात्र नभई भित्रि अंगहरुको गहिराइबाट पनि गहिरिएर हेर्ने अभ्यास गर्यौं जसले अझ बढी हाम्रो सम्वेदना मापन गर्ने क्षमतालाई बढाएको अनुभव भयो । जुन सुक्ष्म सम्वेदना हामीले कहिले महसुस नै गरेको थिएन अब त्यस्ता सम्वेदनाहरु पनि प्रस्ट रुपबाट अनुभव हुन थाल्यो । यस प्रक्रियाले हाम्रो चेतनालाई अझ सुक्ष्म अझ तिक्ष्ण र अझ शक्तिशाली बनाउँदै लग्यो । जति चेतना सुक्ष्म सम्वेदना मापन गर्न सक्ने भयो त्यति नै सजगता बढ्ने भयो जसले गर्दा जीवनमा गल्ती हुने सम्भावना नै रहँदैन । मान्छले गल्ती तब गर्छ जब उ बेहोसीमा कर्म गर्छ तर यदि उ प्रत्येक पल अति सजक छ भने उबाट गल्ती कसरी हुन सक्छ ? अनि गल्ती भयो भनेर उसलाई समस्या हुँदैन । समस्या भएन भने दुख पनि हुँदैन ।

आठौँ दिन सातौं दिनको प्रक्रियालाई नै निरन्तरता दियौं । यो समयमा शरीर भित्र रागबाट निर्मित स्थुल सम्वेदना विस्तारै सुक्ष्म संवेदनामा परिणत हुँदै गयो । त्यस्तै द्वेषबाट निर्मित जिद्दी स्थुल सम्वेदना पनि बिस्तारै हट्दै गयो । प्रत्येक अवस्थामा मनमा अशान्ति नगरी स्वीकार भावमा आनन्दपूर्वक निरन्तर आफ्नो कर्ममा लागिरहनु पर्छ तब बल्ल शतप्रतिशत लाभ लिन सकिन्छ ।

नवौ दिन शरीर र मनका सम्पूर्ण कसरहरुलाई हटाई पुरै शरीरभरी सुक्ष्म नै सुक्ष्म सम्वेदनाको धारा प्रवाहलाई रागरहित तटस्थ भावको अनुभूतिमा उतार्दै जानु पर्दछ। पुरै शरीरमा सुक्ष्म सम्वेदना सधै हुन्छ भन्ने पनि छैन, स्थुल सम्वेदना मात्र हुन्छ भन्ने पनि छैन । यो परिवर्तनशील छ त्यसैले सुक्ष्म सम्वेदना भयो भन्दैमा त्यो सधै खुशी या रागको रुपमा लिनु हुँदैन । त्यस्तै स्थुल सम्वेदना या मुर्छा सम्वेदना भयो भनेर दुख या द्वेषको रुपमा पनि लिनु छैन । दुवै अवस्थामा तटस्थ भावमा आफुलाई राख्नु पर्छ कि सब अनित्य छ ।

दशौँ दिन महत्व पूर्ण दिन, आफ्ना सब बिकार नस्ट गरिसकेपछि शुद्ध निर्मल मनले अब सारा प्राणी मात्रको सुख शान्ति मोक्षको कामना गर्ने । आफुलाई साथसेवा दिने सहयोग गर्ने सब ज्ञातअज्ञातप्रति ध्यानावाद भावले भरिने अनि जसले पिडा दियो उनीहरुप्रति पनि हृदयमा करुणा भावले क्षमा दिने यस्तो मंगलमैत्रीको कामना गर्ने दिन । यसले आफूभित्रको अहंकारलाई हटाउन मद्दत गर्छ ।

विपस्यना को १० दिनको अभ्यासमा पंचशील या अस्टशीलको अभ्यास, समाधिको अभ्यास, शरीर र मनलाई शुद्ध गर्ने अभ्यासलगायत दश पारमिता अन्तर्गत पहिलो निस्क्रमणको अनुभव जसमा म र मेरो भन्ने भावबाट अलग हुनु, दोस्रो शील अथवा अनुशासनको कडा अभ्यास, तेश्रो विर्य यानिकी आफुलाई चित्त शुद्धिकरण, स्मृत्तिवान, सम्यक प्रयत्नबाट आफुलाई मोक्ष पदसम्म लाने अथक प्रयास, चौथो, प्रज्ञा जो ध्यान र साधनाको माध्यमबाट स्वयं आफुले अनुभव गर्ने अनित्य दुख अनात्मबाट आत्म निरिक्षनबाट प्राप्त ज्ञान, पाचौं शहिस्नुताको अभ्यास छैठौं सत्य वचन बोल्ने बानीको अभ्यास, सातौँमा अधिस्थान या ध्रिड संकल्प गर्ने क्षमतामा बृद्धि र आठौँमा मैत्री भावना अर्थात् शुद्ध प्रेम र करुणाको अभ्यास हामी सबैले खुब आनन्दसँग गर्यौं ।

यो होइन कि १० दिनको शिविरले हामीलाई दश पारमितामा अभ्यस्त बनाउँछ र मोक्ष दिन्छ, यत्ति हो कि यो शिविरले हामीलाई शुद्ध, सत्य र दुख मुक्तिको बाटोचाहिँ देखाएको छ जसमा हामी आफैले निरन्तर अभ्यास गरेर अप्प दीपो भवः अर्थात् आफ्नो दीप आफै बनेर आफुलाई मुक्तिको पदसम्म लानु पर्छ।

सम्पूर्ण बुद्ध (ज्ञानी मुक्तपुरुष)को ज्ञानको सिकाई र अभ्यासले ,धम्म (प्रकृति तथा मानव धर्म) को अनुशरणले अनि संघ (निर्वाणको अनुभव गरेका आर्य पुरुष)को संगतले सम्पूर्ण मानवले विपश्यनामार्फत आफुमा पनि बुद्धत्व प्राप्त गर्ने, मोक्ष पद प्राप्त गर्ने, निर्वाण अनुभव गर्ने र आफु र अरुलाई दुखबाट मुक्ति दिलाउन सक्ने शक्ति प्राप्त होस् भनेर हृदयको गहिराइबाट कामना गर्दछु । भवतु सब्ब मङ्गलम ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button