
न बुझ्ने भेट्छु, न बुझाउने
कविताः मन
रमन पुरी ‘अपवाद’
ऐसेलुखर्क २ बाकाचोल, खोटाङ
मन भौतिक हो वा अभौतिक ?
सनातन हो वा असनातन ?
सजीव हो या निर्जीव ?
न बुझ्ने भेट्छु न बुझाउने भेट्छु ।
वास्तवमा मन के हो ?
आँखाको झिमिक र बिजुलीको चमक
सँगसँगैको गतिमा यात्रा गर्छ
कहिले बित्थामा खुशीले फुरुङ्ग हुन्छ
कहिले रिसले जिरिङ्ग हुन्छ र मलाइ जात्रा गर्छ
कहिले सिमलको भुंवाझै खुशीले उड्छ
कहिले पत्थर पानीमा डुबेझै वेदनामा डुब्छ
कहिले सपनामा बाघले छोपेझै झसङ्ग झस्किन्छ
त कहिले सियोले घोचेझै चसक्क चस्किन्छ
कहिले चना ढाडिएझै ठसक्क ठस्किन्छ
कहिले वैंस चड्दै गरेको किशोरीझै मसक्क मस्किन्छ
कहिले अनायासमै सगरमाथाझै अल्घिन्छ
अनि कहिले ब्यर्थमै समुन्द्रको गहिराइझै गहिरिन्छ
कहिले दुस्मनझै त्यत्तिकैमा वैरिन्छ
कहिले हिंउझै चिसिन्छ, त कहिले आगोझै तातिन्छ
अनि कहिले रामराज्य आफ्नै ठानेर मात्तिन्छ
मन आफै मैदान र खेलाडी दुवै बन्छ र खेलिरहन्छ
र कहिले आफै चरी र पिंजडा बन्छ अनि झेलिइरहन्छ
मन नपुगेको ठाउँमा पुग्छ, नबनेको पनि बनिदिन्छ
यथार्थ वृतान्त थाहा छ भित्र तर बाहिर अर्कै भनिदिन्छ
मलाई बचाउने हावा र नचाउने मन दुवै देख्दिन
मनले मनकै बारेमा विवेचना गर्न पनि उचित देख्दिन ।
मन भौतिक हो वा अभौतिक ?
सनातन हो वा असनातन ?
सजीव हो या निर्जीव ?
न म बुझ्छु, न म बुझाउन सक्छु मन के हो ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



