छोरी जन्माएँ, छोरा जन्माएँ, सुख जन्माउन सकिनँ

छोरी सबको लागि हो नि है म्याम !

मैयाँ कोजु
मनोविमर्शकर्ता

बिहान ९ बजे अफिस पुगंँ । सहकर्मीहरुसँग अफिसको कामको बारेमा कुरा गर्दै थियौँ, गेटबाट म्याम भनी बोलाएको आवाज आयो ।

बाहिर गएर हेर्दा छोरी संस्थामा पहिलेदेखि नै आउने गरेकोे बहिनीले एक जना नयाँ बहिनी लिएर आउनु भएको रहेछ । गेटबाट भित्र छिर्दै गर्दा उहाँको पहिलो शब्द नै थियो, ‘छोरी सबको लागि हो नि है म्याम ।’

मैले मुस्कुराउँदै जवाफ दिए, ‘हो, आउन प्रेमिका ।’

पेशाले म मनोविमर्शकर्ता भएको कारणले अफिस समयमा प्राय जसो मनोविमर्श सेवा दिनको लागि म तयार अवस्थामै हुन्थें । आज झन् सोमबार विशेष । मेरा सहकर्मी साथीहरुसँग बिदा हुँदै म मनोविर्श कक्षमा पे्रमिकासँगै नयाँ बहिनीलाई लिएर पसें ।

कोठामा बस्ने वित्तिकै प्रेमिकाले ढोका लगाउनु भयो र आफुसँग आएको साथीको बारेमा बोल्न थाल्नु भयो । प्रेमिकाको कुरापछि उहाँ बहिनीकै मुखबाट म उहाँको कुरा सुन्न तयार थिएँ । नयाँ बहिनीको नाम शर्मिला तामाङ्ग रहेछ । उहाँले आफ्नो कुरा कहाँबाट सुरु गरौं म्याम भन्दै आफ्नो परिचय दिनु भयो ।

‘मेरो नाम शर्मिला तामाङ्ग हो । म २६ वर्षको भएं । म यहाँ मेरो ३ जना छोरीहरुलाई संस्थामा राख्न मिल्छ कि भनेर आएको हो म्याम’, त्यति भनेर उहाँ रोकिनु भयो ।

मन भारी भएर उहाँको गला अवरुद्ध भइरहेको थियो । उहाँलाई सहज बनाउनको लागि केहि समय दिएँ । कोठा पुरै चकमन्न भयो । तर मन भने हामी तिनैजनाका अशान्त भईरहेको थियो । केहि समयपछि शर्मिलामा अलिकति शान्तपन बढेको हो कि भन्ने आभाष भएपछि आफ्नो बारेमा भन्नको लागि पुनः प्रोत्साहन गरें । शर्मिलाले थप्नु भयो, ‘हुन त मेरो ४ जना बच्चा छन् म्याम । ३ वटी छोरी र ४ बर्षको सानो छोरा छ ।’

फेरि उहाँ रोक्किनु भयो । आँखाभरी आँसु भरियो । एक छिन् मनोविमर्श कोठासँगै हामी सबैमा पुनः सन्नाटा छायो ।

त्यसपछि आफ्नो बारेमा जति सहज लाग्छ त्यत्ति मात्र भन्नु भन्दै आफ्नो बारेमा बताउन मैले अनुरोध गरें । उहाँले आफ्नो कुरा थप्दै जानु भयो, ‘म १२ वर्षको उमेरमा दिदी भेट्न गएको थिएँ । त्यहाँ एउटा मान्छेसँग मेरो भेट भयो । उसले मलाई तानेर आफ्नो घरमा लगेको थियो । त्यही दिनबाट मेरो इच्छा विपरीत मसँग यौन सम्बन्ध राख्न थाल्यो र भन्यो कि आजबाट तिमी मेरो श्रीमती भयौ । मलाई अझै पनि सम्झना छ म्याम । त्यो घरमा कयौं दिनसम्म म राम्रोसँग निदाउन पनि सकेको थिईनँ । मात्र रुन्थेँ । कोही पनि मेरो सहयोगको लागि आएका थिएनन् । उसको आमा पनि घरमै थिइन् । तर उनलाई पनि मेरोबारे केही भनेमा मलाई जस्तै पिट्छु भनेर धम्काएको रहेछ । ति रातहरु सम्झिँदा अहिले पनि कहाली लाग्छ ।’

शर्मिलाले भन्दै जानुभयो, ‘त्यत्ति बेला मेरो महिनावारी पनि भएको थिएन । त्यस्तो बेला के गर्नु पर्छ भन्ने मलाई केही थाहा थिएन । मैले पढेकाु पनि छैन । परिवारमा आर्थिक अवस्था कमजोर छ । मलाई मेरो वुवाआमाले खोजी गर्न आउँदा पनि उसले नपठाउने भन्यो । म गएँ भने या वुवाको अगाडि केही बोलेमा म र मेरो परिवारलाई मार्छु भनी कोठामै डर धम्की दियो । त्यही कारण वुवा लिन आउँदा मैले केही बोल्न सकिनँ । आखिर यस्तै जबर्जजस्तीलाई विहे भयो भनियो । त्यहाँदेखि मेरो दुखको दिन शुरु भयो । मलाई गाली गर्ने, जाँडरक्सी खाने, भन्ने वित्तिकै गरेन, काम गर्न नसकेमा पिट्ने, माइत नपठाउने, कसैसँग बोल्न नदिने जस्ता ब्यवहार त दिनदिनै सामना गर्नु पथ्र्यो । यसले गर्दा मेरो मनमा जहिले पनि डर भैइरहन्थ्यो । दिनहरु यसरी नै बितिरहेको थियो । विहे भएको ३ वर्षपछि महिनावारी भयो । मेरो पहिलो छोरी जन्मी । त्यसपछि मेरो श्रीमानले छोरा पाईनस भन्दै मलाई पिट्ने, सानो छोरीलाई पनि पिट्ने, मार्छु भन्दै चक्कु लिएर लखेट्ने गथ्र्यो ।’

‘श्रीमानको छोरा खेलाउने रहर पुरा गराउने कोशिसमा ३ जना छोरी जन्माएँ । पछि झन् दिनहरु गाह्रो हुन थाल्यो । अबका दिनहरु आफुुसँगै छोरीहरु पनि जोखिममा पर्न थालेका थिए । माइतमा पनि सहयोग गर्ने कोही थिएन । आमावुवा बुढाबुढी भैइसकेका, भाई सानो र दिदीबहिनीहरु पनि सम्पन्न कोही थिएनन । ३ जना छोरीहरु भए पनि अझै छोरा पाउनै पर्छ भन्ने दवावमा अर्काे वच्चा पनि भयो । यो पाली छोराको जन्म भयो । अब श्रीमानको माया र साथ पाउने भएँ भनेर म मात्र होइन, मेरो वुबाआमा र आफन्त सवैलाई लागेको थियो । तर त्यो मात्र भ्रम रहेछ ।’

‘परिवारमा आर्थिक समस्या झन् बढ्न थाल्यो । श्रीमानले गर्ने हिँसाको शिकार म र मेरा ४ जना बच्चाहरु हुन थाले । म बारीमा गएको बेला बच्चाहरुलाई पिट्ने, लखेट्ने, गाडीमा राखेर साना साना नानी बावुलाई माइत पठाउने, खुकुरीले काट्छु भनी डर धम्की दिने, अति गरेको कारण म जसरी भए पनि बाँच्न सक्छु तर बच्चाहरुको विजोग हेर्न सक्दिनँ भन्ने लाग्यो । उनीहरुलाई छोडेर काममा हिँड्नुपर्ने भएको कारण सुरक्षाकै निम्ती भए पनि मेरा बच्चाहरु राख्ने ठाउँको खोजीमा काठमाडौं आएको हो म्याम ।’

उहाँको मनमा लुकेका पिडाहरु उहाँको आँखा, अनुहार र थाकेको शरिरले प्रस्ट रुपमा व्यक्त गरिरहेको थियो । मैले त्यतिबेला गर्ने भनेको नै त्यो पिडाको महसुस अनि उहाँको रुवाईमा समानुभुति प्रकट गर्नु नै उहाँको लागि मलम थियो ।

४ पटकसम्म पुलिस चौकीमा निवेदन दिँदा पनि न्याय तथा सुरक्षा दिनुभन्दा पनि मेलमिलाप गरी पठाउने गरेको तर घर आएपछि पुनः त्यस्तै पिडा र यातना खपेको कुरा दोहोर्याईरहनु भयो ।

शर्मिलाको आशा र उहाँले व्यक्त गरेका शब्दबाट अव्यक्त धेरै कथाहरु उहाँको मनमा हुन सक्ने महसुस गर्दै जोखिम अवस्थामा रहेका बच्चाहरुलाई हेर्ने कुनै आवासगृह भए जानकारी दिने र अबका दिनहरुमा कमसेकम भावनात्मक रुपमा सुन्ने र साथ दिने सक्ने जानकारी दिँदै शर्मिलालाई बिदा दिएँ ।

महिला हिँसाविरुद्घको १६ दिने अभियान मनाइरहँदा लाग्छ, अझै धेरै पिडीतहरुको पिडा समेटिन बाँकी छ । सायद यस्तो समस्या स्थानिय स्तरबाटै सम्बन्धित व्यक्तिमार्फत विना कुनै पक्षपात सुनुवाई भएमा र न्याय सुनिश्चित गर्न सकिएमा मात्र हिँसाविरुद्को अभियानले सार्थकता पाउन सक्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button