किन र कसरी सुरु भयो लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान ?

मीरा दाहाल

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात महिला विरुद्धको हिंसाका अन्त्यका लागि सन १९९१ म सेन्टरफोर ओमन्स ग्लोबल लिडरसीप (सीडब्लुजीएल)को सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समुहले गरेको थियो । त्यसपछि हरेक २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अन्तराष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आएको पाइन्छ ।

यो अभियानको सुरुवाती सन्दर्भलाई हेर्दा डोमिनिकल गणतन्त्रका मिरावेल परिवारका तीन साहसी दिदी बहिनीहरु पेट्रिया, मिनर्भा र मारियाको तत्कालिन त्रुजिलो तानाशाही सरकारले सन् १९६० नोभेम्बर २५ मा गरेको हत्यासंग जोडिएको छ । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनीको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो । त्यसपछि २५ नोभेम्वरलाई ल्याटिन अमेरीकी देशमा महिला हिंसा विरुद्धको दिवसको रुपमा मनाउन थालिएको हो । सन् १९९९ मा संयुक्त राष्टसंघद्धारा यसलाई आत्मसात गरि नोभेम्बर २५ को दिनलाई संसारभर नै महिला विरुद्धको हिंसा अन्त्यका लागि अन्तराष्ट्रिय दिवसको रुपमा स्थापित गरियो ।

नेपालको इतिहासलाई हेर्ने हो भने नेपालमा महिला विरुद्ध हुने हिंसाका सम्बन्धमा आवाज उठाउने प्रथम महिला योगमाया न्यौपाने हुन् । वि.स. १९२५ नेपालको पूर्वी पहाडको भोजपुरमा जन्मिएकी उनले तत्कालिक नेपाली समाजमा महिलामाथि हुने गरेका अन्याय अत्यचार र कुसंस्कारको विरुद्ध सामाजिक परिवर्तन र महिला अधिकार स्थापनाका लागि सशक्त रुपमा आवाज उठाएकी थिईन् । उनले समाजमा रहेका पित्तृसत्तात्मक सोच, सामाजिक मूल्य मान्यता, शोषण, जातीय विभेद र चरम लैगिंक विभेद विरुद्ध अभियान सञ्चालन गर्दागर्दै वि.सं. १९९८ मा आफ्ना अनुयायी सहित परिवर्तनका लागि खवरदारी गर्दै जलसमाधी लिएकी थिईन् ।

लैंगिक हिंसाको सन्दर्भमा नेपालमा १६ दिने अभियानको शुरुवात २०५४ सालदेखि भएको पाइन्छ र यस अवधिमा महिला विरुद्ध हुने विभिन्न प्रकारको हिंसाका सवालमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरि मनाउँदै आएको छ । नेपाल सरकारको मन्त्रीपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक वर्ष सबै स्थानीय पालिका, प्रदेश तथा संघमा संचालन गर्ने निर्णय गरेको थियो । अहिले पनि नेपालमा विभिन्न स्तरमा लैगिक हिंसा निर्वारणको लागि जस्तैः अनलाईन अभियान, सचेतनाका कार्यक्रम, अभिमुखीकरण कार्यक्रम, र्याली, आदी कार्यक्रमहरु सञ्चालन गरिदै आएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट यो अभियानलाई सक्रियताका साथ मनाउदै आएको हुनाले धेरै व्यक्तिहरु सचेत भएको पनि पाइन्छ ।

यो १६ दिन भित्रपनि विभिन्न महत्वपूर्ण दिवसहरु मनाउने गरिन्छ ।
नोभेम्बर २५ मा महिला विरुद्धको हिंसा अन्त्यका लागि अन्तराष्ट्रिय दिवस
नोभेम्बर २९ मा अन्तराष्ट्रिय महिला मानवअधिकार रक्षक दिवस
डिसेम्बर १ मा विश्व एड्स दिवस
डिसेम्बर ३ मा विश्व अपांगता दिवस
डिसेम्बर ५ मा विश्व स्वयंसेवक दिवस
डिसेम्बर ६ मा मण्टियलमा गरिएको छात्रा आमहतको सम्झना दिवस

(मण्टियल विश्वविद्यालयमा महिला अधिकारवादीले अभि सारेको सुधारवादी नीतिहरुको विरोधगर्दै एक जना बन्दुकधारीद्धारा १३ छात्रा र १ महिला प्रशासनको हत्या गरिएको थियो ।)
यसै दिन नेपालमा पनि नेपाली महिला सहिदहरुको सम्झनामा श्रद्धान्जली कार्यक्रम गरिँदै आएको छ ।
डिसेम्बर १० – मा अन्तराष्ट्रिय मानवअधिकार दिवस ।

यो वर्ष पनि “सभ्य समाजको पहिचान, लैंगिक हिंसा विरुद्धको अभियान” भन्ने राष्टिय नाराका साथै लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मा देशव्यापी रुपमा कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । हरेकवर्ष लैगिक हिंसा विरुद्ध विभिन्न स्तरमा कायक्रमहरु सञ्चालन हुने गरेका छन् ।

नेपाली समाजमा महिला विरुद्धको हिंसाको अवस्थालाई हेर्ने हो भने नेपाल प्रहरीमा २०७७/०७८ मा महिला तथा बालिकामाथि भएको कूल १८,८७९ वटा हिंसाको घटनाको उजुरी भएको थियो भने यस आर्थिक वर्ष २०७८/०७९ मा कूल २१४५१ महिला तथा बालिकामाथि भएको हिंसाको घटना दर्ता भएका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष २५७२ वटा घटनाहरु बृद्धि भएका छन् ।

समय परिवर्तन संगै हिंसाको घटनाहरुको स्वरुप पनि फेरिदै आएको छ । हाल विद्यमान सामाजिक सञ्जाल तथा अनलाईको माध्यामबाट हिंसाको घटनाहरुको दर निकै बढ्दो रुपमा रहेको छ । यस्ता प्रवृत्तिका घटनाहरुको सम्बोधन समयमा गर्नु आवश्यक छ । यसका लागि सरोकारवाला निकाय, नागरिक समाज, समुदाय स्तर र व्यक्ति स्तरमा आवाज उठाउनु जरुरी छ । साथै विभिन्न स्तरबाट प्रभावितले छिटो छरितो र सहज तरिकाले न्याय पाउने व्यवस्था सुनिश्चित हुन जरुरी छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button