म किन रोजिनाहरुको दुख सुन्न स्पा जान्छु ?

कोमल पाण्डे

काठमाडौंको ब्यस्त सहर ठमेलको नरसिंङ चोक छिचोल्दै देब्रेतिरको अँध्यारो गल्लीतिर मेरा पाइला मोडिँदै जान्छन् । अलिकति अगाडि बढेपछि माटाकै घर जस्तो देखिने घरको निलो गेट विस्तारै खोल्दै भित्र पस्छु । तिन तला उक्लेर एउटा कोठाको बरन्डा जस्तो देखिने ठाउँमा पुग्छु । ३ जना मजस्तै उमेरका दिदीबहिनीहरु बसिरहेका छन् ।

उनीहरु बसेको कुर्सीको छेवैबाट भित्र जाने २ वटा कोठाहरु छन् । कोठामा ठिक्क साइजका एक एक वटा बेडहरु छन् । छेउमा सानो टेबुल छ, जसमा एउटा प्लास्टिकको बट्टामा तेल राखिएको छ । बेडको छेउमा एउटा हेर्दा पुरानो पुरानो जस्तो देखिने टाबेल झुड्याइएको छ । ‘शान्ति हर्वल स्पा’ (नाम परिवर्तन) नाम राखिएको भए पनि त्यहाँ काम गर्ने दिदीबहिनीहरुमा शान्ति नै भएको चाहिं खासै देख्दिनँ ।

म यहाँ हप्तामा दुईपटक पुगेकै हुन्छु । उनीहरुलाई केहि समस्या छ कि, उनीहरुलाई केहि मद्धत गर्न सक्छु कि अनि उनीहरुको जीवनलाई सहज बनाउन म उहाँहरुको साथी बन्न सक्छु कि भनेर यहाँ आइरहन्छु । त्यसैले यहाँ काम गर्ने नैना, रोजिना र सुदीक्षा मेरा साथी जस्ता भइसकेका छन् ।

‘आज त कति दिन पछि आउनु भयो त दिदी ?’, रोजिना मलाई देख्नासाथ आफु बसेको कुर्सी देखाउँदै खाली कुर्सीमा बस्ने ईशारा गर्दै सोधिहाल्छिन् ।

‘अस्ति गाउँ गएको थिएँ नि त रोजिना । चुनावमा भोट हाल्न’, निलो प्लास्टिकको कुर्सीको अडेस लाउने छेउमा हात राख्दै उनलाई हेर्दै बोलें ।

‘यसपाली त गाउँमा कति नयाँ साथी भेटिए । कतिका कथा सुन्ने मौका मिल्यो । रमाईलो पो भयो त’, म थप्दै जान्छु ।

रोजिनाले मेरो कुरा सुनेर रमाइलो माने जस्तो लागेर थप्दै गएको थिएँ । तर उनको अनुहार हेरेको त अनुहार केहि मलिनो अनि आँखाहरु पनि टिलपिल बनाएर अन्तैतिर टोलाईरहेको पो देखें ।

उनलाई सहज महशुस हुने गरी हातमा छुँदै सोधें, ‘के भयो तिमीलाई ? मलाई माफ गर ।’

‘हैन दिदी, तपाईं गाउँमा गएर कथा सुन्न भ्याउने । अनि हामी यहि भएको मान्छेको कथा चाहि नसुन्ने ?’, अलि निराशा अनि आक्रोश मिसाएर बोलिन् ।

‘ल, आज म तिम्रै कथा सुन्छु । ल भन, बरु कहाँ बसेर सुनाउँछौ त तिम्रो कथा ?’, म पनि उनको कथा सुन्न हौसिएँ ।

अहिलेसम्म कति पटक आउँदा पनि उनी आफ्नो बारेमा बोल्न चाहन्न थिइन् । तर आज उनको कथा सुनाउने रहर देखेर खुशी अनि आश्चर्य पनि लाग्यो । हामीबीचमा यी वार्तालाप हुँदासम्म नैना, सुदिक्षाका ग्राहक आएर उनीहरु कोठातिर लागिसकेका थिए । त्यसैले पनि रोजिनालाई बोल्ने आँट आएको हुन सक्छ ।

‘यहि बस्ने नि । हामी मात्र त छौं । बरु मेरो कथा सुनेर नहाँस्नु होला नि’, उनी अनुहारमा अलिकति लाज र अलिकति मुस्कान ल्याउँदै बोल्छिन् । आफ्ना आँखा छेउको टेबुलमा एकटक लाउँदै कथा सुरु गर्छिन् ।

‘२२ बर्षअगाडि काठमाडौं आएर क्याम्पस पढ्ने रहरले मलाई यता तानेर ल्यायो । म काठमाडौंमा आएर काकाहरुसँग बस्न थालें । उहाँहरुलाई घरको काममा सहयोग गर्दै कक्षा १२ पास गरें । आफ्नो राम्रो पढाई भएकोले अझ पढ्ने इच्छा थियो । तर म काकाहरुको बोझ बन्न चाहन्नथें । त्यसैले केहि काम गरेर पढ्ने सोच बनाएर कामको खोजीमा लागें । म ब्यवस्थापन विषयको विद्यार्थी भएकोले सहकारीमा एकाउन्टेन्टको जागिर पनि पाएँ । तर तलब जम्मा ६ हजार दिने भनियो । यति पैसा चाहिँ निकै नै थोरै थियो । म बस्ने ठाउँ र काम गर्ने ठाउँ टाढा भएकोले धेरै अप्ठ्याराहरु भए पनि म संघर्ष गर्दै काममा गइरहेँ । तर त्यति तलवले आफ्नो गुजारा नचल्ने भएपछि मैले काम छोडेर नँया कामको खोजीमा लागें । अब के गर्ने, कसरी आफ्नो जीवन चलाउने र अघि बढाउने भनेर सोचिरहेको र धेरै गहिरो सोचमा परेको बेला एउटी साथीले होटलमा काम गर्छौ भनेर सोध्नुभयो । उहाँलाई राम्रोसँग चिनेको भएर र काम गर्ने ठाउँ पनि नजिकै भएको हुँदा मैले पनि काम गर्छु भनेर भनें । तर जीवन चाहि कहाँ सोचेजस्तो हुँदो रहेछ र ? त्यहाँ त पुरुषहरुको नजर्र हामीमाथि नै हुँदो रहेछ । ग्राहकहरुलाई खाना दिँदा मेरा हातहरु छुन खोज्ने र मेरो शरिरमा छुन खोज्ने गर्थे । बाहिर जाउँ, पैसा दिन्छु भन्ने ग्राहकहरु नआएको त दिन नै हुँदैनथ्यो । आफुलाई आर्थिक अवस्थाले थिचेकोले मैले मन नलागी नलागी पनि एक दुई महिनासम्म जसोतसो त्यहाँ काम गरें । तर पछि मन मानेन । त्यहाँ काम गर्न छोडिदिएँ ।’

‘पहिला पढाईमा अब्बल म त्यसपछि अलि अलि गदै कमजोर हुदै गएँ । तनावले के गर्ने, के नगर्ने भन्ने केहि सोच्न सकिनँ । त्यसैले गर्दा त्यसपछि म विवाह बन्धनमा बाँधिन पुगेँ । सुरु सुरुमा त राम्रो नै थियो तर पछि पछि सम्बन्ध पनि बिग्रन थाल्यो । आर्थिक अभावले खानलाई झनै गाह्रो हुन थाल्यो । अब म जे भए पनि गर्छु भन्ने उद्धेश्यले काम खोज्न हिडेँ । काम खोज्दा नपाएपछि निराश भएँ । त्यति नै खेर एउटा दिदीले मलाई ‘स्पामा काम गर्छौ’ भनेर भन्नुभयो । मैले यो कुरा पहिले कहिल्यै नसुनेकोले यो भनेको के हो भनेर सोधेँ । उहाँले ‘सुत्केरीलाई तेल लगाईदिने हो’ भन्नुभयो । तेल नै त लगाउने भए गर्छु नि भनेर म तयार भएँ । भोलिपल्टबाट म काममा गएँ । त्यो दिदीले मलाई काम सिकाइदिनुभयो । पहिले काम गरेको ठाउँ ज्याठा चोकनिर थियो । त्यहाँ एउटा अफिस थियो , त्यहाँ त थूप्रै केटाहरु आउन थाले । म अच्चम परें र आत्तिएँ पनि । त्यो दिन काम गरेर घर फर्किएँ तर मन भने गहृौ हुँदै थियो । मनमा धेरै कुराहरु खेलिरहेका थिए । काम अनि पैसाको कमीले गर्दा म त्यहाँ काम गर्न जाने नै भएँ । अर्को दिन एउटा ग्राहक आयो । त्यहाँको साहुनीले मलाई भित्र पठाउनु भयो । त्यो ग्राहक करिब पैँतिस–चालिस बर्षको थियो । उसले लुगा फुकालेर सुत्यो । मैले तेल लगाउन सुरु गरें । तेल लगाउने क्रममा उसले मेरा स्तनमा बेस्सरी समात्यो । म बेस्सरी रुँदै छोड्नु भनें । मलाई एकदम डर लागिरहेको थियो । उसले मलाई छोडिदियो अनि उसले तिमी यो ठाउँमा नयाँ रहिछौ भन्यो । त्यहाँको साहुनीलाई मैले मलाई त्यस मान्छेले गरेको ब्यवहारबारे सुनाएँ । साहुनीले त उल्टै अलिअलि त यस्तो गरिहाल्छ नि भन्नु भयो । मलाई झनै काम गर्ने मन लागेन । तर आफ्नो बाध्यताले त्यहाँ काम गर्ने पर्यो । हरेक दिन त्यहाँको व्यबहारहरु झेल्दै म आफ्नो बाध्यतालाई महसुश गदै काम गदै गएँ । हरेक दिन म आफूमाथि भएको हिंसालाई मन र मस्ष्किमा दबाउदै बस्थें र कसैलाई पनि सुनाउन सक्दिन थिएँ । आफु अरु काम गर्न जाउँ भने पनि भन्ने बितिकै काम पाइँदैन थियो ।’

‘एउटा पुरुषले महिलाको रुप र शरिरमा खर्च गर्ने पैसा किन एउटा राम्रो ब्यबसाय खोलेर ती अशक्त अनि गरिब महिलाहरुलाई काम दिन नसकेको होला है दिदी ?’, उनी कथा सुनाउँदा सुनाउँदै मलाई गहिरो प्रश्न गर्छिन् ।

‘हो त नि रोजिना । अनि क गर्यौ त ?’, मैले उनको कथालाई निरन्तरता दिन सहज बनाउने प्रयास गरें ।

‘जब हामी आफ्नो काम सम्झेर त्यसभित्र काम गरेका हुन्छौँ, त्यही समाजका पुरुषहरु आएर पशुलाई जस्तो मोल भाउ गर्दछन् । तर भित्र बसेर काम गरेका हामीलाई उनीहरु उहि पुरुष भनाउँदाहरुको नजरमा हामी महिला नै खराब र अछुतो हुन्छौँ अनि हामीलाई नै घृणा अनि तिरस्कार गर्दछन्’, रोजिना आक्रोशित हुँदै बोल्दै जान्छिन् । उनको स्वर बर्षौंसम्म रोएर थाकेको जस्तो सुनिइरहेको थियो ।

‘हो नि रोजिना । तिमीले ठिक भन्यौ’, आफु पनि भारी छाती पार्दै बोलें ।

हामी दुवैजना एकछिन स्तब्ध भयौं । केहि क्षणको मौनतापछि मैले उनलाई कथा अगाडि बढाउन सहज बनाउंदै भनें, ‘अनि यहाँचाहि कसरी आईपुग्यौ त ?’

‘भयो दिदी, आज कुरा नगरौं । मलाई गाह्रो भयो । दिक्क लाग्यो’, त्यति बोल्न चाहेजस्तो गरिनन् ।

एकछिन पछि फेरि उनले मनको वेदना पोखिन्, ‘यदि यहाँ आउने पुरुषहरुले हामीलाई पनि उनीहरुको आमा, दिदी, बहिनी जस्तै एउटी नारी हुन् भन्ने सोच भैदिएको भए म जस्ता कैयौं दिदीबहिनीहरुलाई यस्तो बाध्यतामा नरकपूर्ण काम गर्नु पदैन थियो र आज यस्ता हिंसाजन्य कुराहरु हाम्रो समाजमा हुँदैन थियो ।’

‘कहिलेकाहिं कुनै ग्राहकले माया देखाएर पनि झुक्याउने रहेछन् । म त्यहाँ काम गर्दा धेरैजसो आईरहने एकजना ग्राहकले म तिमीलाई माया गर्छु । यहाँ काम छोडिदेउ भनेर फकायो । राम्रो ठाउँमा काम खोजिदिन्छु भनेर आश देखायो । मैले हो क्यारे भन्ने सोचें । अनि मैले काम छोडेर उसले खोजिदिएको ठाउँमा काम गर्न गएँ । पछि पो थाहा भयो, यो स्पा उसैले खोलेको रहेछ । मेरो काम राम्रो देखेर मैले धेरै ग्राहक तान्न सक्छु भनेर पो मलाई यहाँ ल्याईएको रहेछ’, रोजिनका आँखाहरु बाढी आएजस्तै निरन्तर छचल्किरहे । सल्बलाईरहे ।

‘हैन, के भो तिमीलाई रोजिना ?’, नैना कोठाबाट फुत्त बाहिर आउँदै सोधिन् ।

रोजिना केहि नबोली हेरेको हेर्यै भईन् । नैना आएर रोजिनाको टाउकोमा सुम्सुम्याउन थालिन् ।

‘आज खाजा खान बाहिर जाउँ है’, उनी रोजिनालाई फकाउन थालिन् ।

उनीहरुले एक अर्कालाई गरेको माया र सहयोग देखेर भने मेरो मन छोयो । आखिर कोहि त हुने रहेछ यो संसारमा हामीलाई बुझ्ने र माया गर्ने जस्तो महसुस भयो ।

केहि छिनपछि रोजिनाले आफुलाई सम्हाल्दै बोलिन्, ‘दिदी, आज जानु है । साहु आउने बेला भयो । बाँकी कथा फेरी भनौंला ।’

म रोजिनालाई केवल हेरिरहें । नैना र रोजिनाको मित्रता पनि हेरिरहें । बाहिरी आँखाले उनीहरुमा जे देखिन्छ त्यो हेरिरहें भने मनका आँखाले खाली रोजिनाले सुनाएका उनका मनका घाउ, उनी एक महिला हुनुको पिडा, आफुलाई जबर्जस्ती यस्तो ठाउँमा काममा अड्याएर राख्नुपर्ने बाध्यता अनि त्यहाँ आउने ग्राहकहरुको ब्यवहारहरु हेरिरहें, केवल मुकदर्शक भएर । केवल एक असक्षम आँट नभएकी सामाजिक कार्यकर्ता भएर ।

उनीहरुसँग विदा भएर तल झरिरहेछु । मेरा खुट्टाहरुले कसरी पाइला टेकिरहेछन् पनि मलाई पत्तो छैन । मनमा केवल प्रश्नका आँधीबेहेरी चलिरहेछन् । म रोजिना र नैनाजस्ता दिदीबहिनीहरुलाई कसरी न्याय दिन सक्छु भनेर आफैसँग पनि प्रश्न तेर्साइरहेछु । यदि म केहि गर्न सक्दिनँ भने उनीहरुको दुख सुन्न मात्र म त्यहाँ किन जान्छु भनेर आफ्नो भित्री मनले आफैंलाई चेतावनी दिँदैछ, ‘हैन, मैले केहि गर्नैपर्छ । म चुप बसेर हुँदैन । मैले उनीहरुको आवाजलाई अरु समक्ष पुर्याउनैपर्छ ।’

एकैछिनमा कताकताबाट आँट आएजस्तो हुन्छ, “धेरै कुरा गर्न नसके पनि म उनीहरुको कुरा त सुन्न सक्छु । उनीहरुलाई माया त गर्न सक्छु अनि उनीहरुको दुखसुखको साथी त बन्न सक्छु ।” यी दरिला शब्दहरुले मनलाई सान्त्वना दिएपछि त ह्रृदयको भारी पनि विस्तारै हलुका भएको महसुस गर्दै म पुन ठमेलको भिडभाडे सडकमा आफुलाई पुर्याउँछु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button