
आमा, अम्बा र असोज
गीता अधिकारी
करेसावारीको एक्लो अम्वाको बोट
झरझर मरिरहेको असोज झरीले
आमाको स्मृति गाढा पारिरहेछन् ।
भदौको अन्तिम साताबाटै
दशैंको छनक मिल्थ्यो,
फाटफुट अम्बा पाक्थें,
कवि शिरोमणिकै शब्दमा वर्षा हटी, झलमल घाम लाग्थ्ये
न त गर्मी, न धेरै जाडो औधी प्यारो लाग्थ्यो असोज,
अम्बा पाक्थें, धानका बाला झुल्थे,
वारीका पाटा सिनितै पारी रायो, मुला छर्नु हुन्थ्यो आमाले ।
काँक्रा झाल फाँडी पाकेको काँक्रो खल्पी अचारका लागि छुट्टाइन्थ्यो,
दशैं पनि असोजमा पर्थे,
कमेरो, रातो माटो लिन दिदी भाउजु सखारै रातामाटे पुग्नु हुन्थ्यो
चट्ट घर सिंगारीन्थ्यो ।
असोजको रौनक बडो तेजको हुन्थ्यो, आमा सँगै बसी अम्बा खाँदा
प्रिय थिए आमाका लागि अम्बा र असोज
मेरा लागि तिनै थरी (आमा, अम्बा र असोज)
३ वर्ष देखिका असोज, अम्बा र दशैंका रंग फेरिएका छन् ।

मध्य असोजमै आमाले अम्बाको वोट र मलाई एक्लै छाडी
स्वर्ग प्रस्थान गरेपछि !!
मोह भंग भएको छ, तिनै प्रिय कुरामा
प्यारो असोज उजाडलाग्दो छ
दशैंको छनक घरको संघारमा नआएको वर्ष भए
अम्बाका बोटबाट पाकेका अम्बा भुँइमा झरिरहेछन्
हेर्दै टोलाउँछु, टिपेर खाने जाँगिरे छैन ममा
कुरिरहेछु पूर्णिमाको अघिल्लो रातको जुन,
कतै आमा झुल्किनु हुन्छ कि जुन संगै रातमा !!
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



