जागिर खाएपछि श्रीमतीको अर्थशास्त्र

अनामिका बस्नेत

अफिस आउने जाने क्रममा बसबाट बाहिर हेर्दा किसिमकिसिमका कपडादेखि भिन्नभिन्न किसिमका खानेकुराहरु देख्छु । यसपाली त म के के किन्छु होला जस्तो लाग्ने तर किन्न भने फ्याट्ट मनै नलाग्ने रैछ । खै किन हो किन कुन्नि ? हरेक परिधीले बाँधेर मनभित्रै सजाई राख्न मात्र बाध्य हुने रैछ कि लोभी भएर भनम या जिम्मेवारी आफ्नो काँधमा भएर हो ।

सानोमा बुबाआमाको हातभरी पैसाको बिटो देख्दा, हैन, आमाबुबा यत्तिका पैसा के गर्नु हुन्छ होला है जस्तो लाग्थ्यो । सोच्थेँ, म भएको भए पैसा लिएर बजार गएर आफुले मन लाएको कुरा किनेर खान्थे होला, राख्थेहोला । बुबाको हरेक महिनामा तलब आउँथ्यो । आमालाई पुरै पैसा हातमा दिनुहुन्थ्यो । आफुलाई दुईपाँच सय चियासुर्ती खान्छु अरु खर्च तिमी मिलाउ है भन्नुहुन्थ्यो । म सधैँ सोच्दथेँ मेरी आमा कत्ति लाटी हुनुहुन्छ है, यो यतिका पैसा के चै गर्छिन् होला है, म भएको भए केके गर्थे होला है । तर हैन रैछ नि, जे मैले सोचेको थिएँ त्यो ता मात्र कल्पना पो हुँदो रैछ । वास्तविकता त अरु नै पो हुने रै छ । महिना बितेपछि आएको पैसा त केवल हातको मैला जस्तो हुँदो रैछ । जम्मा हुन कति समय लाग्छ तर हातमा आइसकेपछि सकिन समय नै नलाग्ने रैछ नि । आउने बाटो एक, जाने बाटो अनेक भने जस्तो हुँदो रैछ ।

घरखर्च, बच्चाबच्चीका फिस, पहुनापासा, यता जाउ, उता जाउ पैसा नै चाहिने भएपछि जाबो पैसा आउन समय मात्र लाग्ने त रैछ नि, आएपछि यहाँतिर, उतातिर भन्दाभन्दै आएको २, ४ दिनमै हात खाली अनि फेरि कैले आउला भनेर औंला भाचेर बस्ने त रैछ नि । पहिला पहिला जागिर नखाँदा नि श्रीमानको पैसाले पुगेकै थियो । अझै २, ४ पैसा बचत पनि गर्न मन लागेर गरिन्थ्यो । जब आफुले कमाउने भएपछि माग पनि एकाएक वृद्धि हुन्छ कि के हो ? पहिलापहिला त्यति पैसाले नि सब कुरा पुगे जस्तो लाग्थ्यो । अहिले आएर खै किन हो, जिम्मेवारी र परिधिले बाँधे जस्तो हुँदो रैछ । हातभरी पैसा भए नि आफ्ना बालबच्चाका भविष्यले सताउने रैछ अनि भैगो जिन्दगी जसो गरे त्यसरी नै टार्ने रैछ भन्ने सोच आउँदो रैछ । १२, १४ वर्ष हुँदा बुबाआमाले भनेको कुराहरु सम्झिन्छु । बुबा भन्नुहुन्थ्यो, अहिले टाउकोमा जिम्मेवारी छ केहि छैन, नाचेर बसाओ पछि बिहे गरेर जिम्मेवारी आफ्नो काँधमा आएपछि नुनको भाउ पनि दोहोर्याई दोहोर्याई सोध्न मन लाग्छ भन्नुहुन्थ्यो हो रैछ । कसैले १ ओटा चकलेट खान दिए पनि अहो, घरमा मेरो बच्चा छ, कति खुसि हुन्थ्यो होला भनिँदो रैछ । मुखमा हाल्या चिज नि घर सम्झेर फेरि खल्तीमा हालिँदो रैछ ।

आजभोलि बुढालाई सम्झेर माया नि लागेर आउँछ, मलाई भन्दा त उहाँको जिम्मेवारी धेरै छन् त । उहाँको पनि धेरै छन् होला सपना तर हामीहरुको जिम्मेवारी अगाडि उहाँले पनि कत्ति सपनाहरु मारी बस्नु भएको होला जस्तो लाग्छ । हुन त दुवै बुढाबुढी जागिर गरेर पैसा त कमाउछौं । तर पनि पैसा आएपछि दुवै जना एक अर्कालाई सोध्छौ, तिमी के के गर्न चाहन्छौ, गर भन्छौं तर खै किन किन आवश्यकक नपरेसम्म भैगो भन्ने गरिँदो रैछ । हुन पनि हो रैछ क्यारे, नहुँदा पनि ठिकै थियो, चलेकै थियो, सायद यही होला जिम्मेवारी बोध भएको है ।

भनिन्छ नि कमाउने श्रीमान हुन् त जमाउने श्रीमती । आफ्नो कर्तब्य बफादारिताका साथ निभाए भने घर जम्छ । पुरुष घरको पिल्लर हो त नारी घरकी लक्ष्मी हो भन्छन् । खै हो कि हैन थाहा छैन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button