
लेखकहरु बलात्कृत चेलीहरुको कथा लेख्न डराउँछन्
साहित्य र राजनीति
सरमान सुब्बा ‘रसिक’
सिक्किम, भारत
एकजना विद्वानले लेखेको रहेछ, ‘साहित्य र राजनीति एका अर्काको पर्याय । साहित्यबाट राजनीति झिक्नु भनेको आँखाबाट ज्योति झिक्नु समान हो ।’
यसरी साहित्य र राजनीति एका अर्कामा जोडिएर आएको छ । मान्छेको जीवन भनेको त आमाको कोखदेखि जन्म भएर मृत्यु पर्यन्तसम्म राजनीति चली रहन्छ । नेताजी सुवास चन्द्र बोस, आइरन म्यान सरदार बल्लभ भाई पटेलहरु मरेको कति वर्ष बिती सके तर उनीहरुमाथि राजनीति सकिएको छैन । एउटा लेखमा नेपालको एक निबन्धकार अर्जुन अविरलले लेखेको मैले पढेको थिएँ, ‘साहित्यले राजनीति परिवर्तनका निम्ति पनि ठुलो काम गरेको हुन्छ र साहित्यलाई जोगाउन, हुर्काउन पनि राजनीतिले सहयोग गरेको हुन्छ ।’
यसकारण कुनै पनि लेखक/साहित्यकारहरुले म राजनीतिमा छुइनँ अथवा मलाई राजनीतिसित चासो छैन भन्नु अज्ञानता हो । या त जानी बुझी बुझ पचाएको हुनु सक्छ । साहित्यकारहरुले कसैमाथि राजनीति गरेको नहुन सक्छ तर कसैले साहित्यकारहरुमाथि राजनीति गरेकै हुन्छ । साहित्यकारहरुले पाउने ठुल्ठुाला सम्मान र पुरस्कारमा पनि राजनीति छ । सिक्किमभित्रकै साहित्य क्षेत्रमा दिइने प्रतिष्ठित भानु पुरस्कारमा पनि समय समयमा राजनैतिक हस्तक्षेप भएको कुराहरु सुनिँदै आईरहेको छ । देशको प्रतिष्ठित साहित्य लगायत अन्य विधामा दिइने पुरस्कारहरु पद्मश्री पुरस्कार तथा साहित्य अकाडेमी पुरस्कारहरुमा त पुरै राजनैतिक हस्तक्षेप गरिन्छन् भनेको सुनिएको छ । पुरस्कारहरुमा राजनीति भएको कुराहरु छोडी दिउँ अहिलेलाई । ठुल्ठुला पुरस्कारहरु माग्नु भनेको आफ्नो थुतुनामा आफै मोला लगाई माग्नु हो । पुरस्कार थापे पछि ती लेखकहरुले निष्पक्ष भएर लेख्नै सक्तैन । प्रशासनको कमी कमजोरीहरु देखेर पनि उनीहरुले औंल्याएर लेख्नु सक्तैन । पुरस्कार थाप्नेहरु त पुरस्कार थाप्नेहरु नै भए तर पुरस्कारको निम्ति लाइन लागेका साहित्यकारहरुले पनि समाजलाई निष्पक्ष साहित्य दिनै सक्तैन । कारण त्यै हो भनी रहनु नपर्ला ।
एकपल्ट चामलिङको सरकारकालमा स्व. नरबहादुर भण्डारीलाई नेपाली साहित्य परिषदले गान्तोकले भानु पुरस्कारको निम्ति चयनित गरेको थियो तर उनले तत्कालै त्यो पुरस्कार लिनबाट अस्वीकार गर्यो । भण्डारीलाई थाहा थियो कि उनले पाईरहेको भानु पुरस्कारमा राजनीति पसेको छ भनेर । त्यस समयको प्रशासनले उनलाई चुप गराउनलाई नै यो पुरस्कार दिइँदैछ भन्ने उनको ठम्याइँ थियो होला शायद । वास्तवमा समाजको निम्ति साहित्य लेख्नेले पुरस्कार माग्दैन अनि पुरस्कारकै निम्ति साहित्य लेख्नेले समाजको सरोकार राख्दैन । राजनीति पनि त्यही हो जसले समाजवादमा विस्वास राखेर काम गर्छ उसले फेरि पनि चुनाव जित्नै पर्छ भनेर जब्बरजस्ती गर्दैन तर आफुले गरेको कामको नतिजा हेर्छ ।
खास साहित्यकारले निडर र निष्पक्ष भएर साहित्य लेख्छ । सत्ताको खोइरो खन्नु मात्र होइन तर उनीहरुद्वारा गरिएको राम्रा राम्रा कार्यको मुल्याङ्कन पनि खास साहित्यकारले गरेको हुन्छ । खास साहित्यकार सत्ताको भजन किर्तन गाएर दरवारीय साहित्यकार तथा भाडाको लेखक हुनुबाट पनि जोगिन्छन् । वास्तवमा भन्नु पर्दा सत्ता याने सरकारले लेखक साहित्यकारबाट आशा राख्नु भनेको नै उनीहरुद्वारा थालिएको जनमुखी कामहरुको मुल्याङ्कन होस भन्ने हो । समाजलाई राजनीतिज्ञहरुले कुन दिशातिर लैजादैंछ त्यो खास साहित्यकारले राम्ररी हेरेर प्रसाशनलाई बाटो देखाईदिने काम गर्दछ । समाजमा भई रहेको विसंगति, विकृति र प्रसाशनिक लापारवाहीमाथि आँखा चिम्लिदिने,कान थुनेर बस्ने र मुखमा बुच्चो हालेर बस्ने साहित्यकार भनेको गान्धीजीको कथाको तीन बाँदर मात्र हुन् जसले सबै थोक देखेर पनि नदेखेको अभिनय गरिरहेको हुन्छ । सुनेर पनि नसुनेको जस्तो र भन्नु पर्ने कुराहरुलाई पनि किलकिलेबाट उभो छिेराउनै नसकिरहेको अवस्था यथावत छ ।
वास्तवमा समाज साँघुरिएको होइन, मान्छेको सोंच र मानसिकता साँघुरिएको हो । यसरी साँघुरिएको मान्छेको सोंच र मानसिकतालाई रुपान्तरण गर्न समय समयमा लेखक कविहरुले कलम नचलाएको पनि होइन । अहिले पनि हाम्रो प्रगतिशील लेखकहरुले लेखेरै म समाजको रुपान्तरण गर्नेछु भनेर लेखिरहेकै छ । लेख्नु साहित्यकारहरुको धर्म हो । आशा गरौं, एकदिन हाम्रो समाजको रुपान्तरण हुनेनै छ । तर यो नभुलौं कि समाज रुपान्तरण हुनुको निम्ति आफु स्यंव रुपान्तरित भई सकेको हुनुपर्छ । एकाध लेखकहरुले लेखेर मात्रै समाज रुपान्तर हुने होइन । हाम्रो समाजमा र हाम्रो जातिमा लेखक कवि र कथाकारहरुको अभाव छैन, यो त सत्य कुरा हो । तीं मध्ये पनि अधिकाँश कवि, लेखक तथा कथाकारहरु दुरदर्शनमा देखाइने एनिमल प्लानेटको जरायोहरु जस्तै छ । एक हजारवटा जरायोमाथि आक्रमण गर्नु एउटै चितुवा काफी छ । जरायोसित एक हात लामो प्रतिरक्षाको निम्ति सिङ्ग छ तर त्यो सिङ्गले शिकार गर्नु सक्तैन न त आफ्नो रक्षा नै।जरायोको सिङ्ग र एकाध साहित्यकारहरुको कलम एउटा एउटै भएको छ जसले लेख्नु त लेख्छ तर त्यो लेखाईमा समाज रुपान्तरणको निम्ति कुनै हतियार बन्नु सकिरहेको छैन । गान्धीजीको तीन बाँदरको सन्देश भनेको नराम्रो चीज नहेर्नु, नराम्रो कुरा नसुन्नु अनि नराम्रो शब्द नबोल्नु हो तर हाम्रो समाजमा यसको सन्देश अर्कै गएको छ ।
समाजमा कति ठाउँ गलत काम अन्जानमा या जानी जानी भई रहेको छ । त्यसमा साहित्यिक तथा बुद्दीजीहरुले जानी बुझी आँखा चिम्ली रहेछ, सुनेर पनि नसुने झैं गरिरहेछ र बोल्नै पर्ने ठाउँमा चुप लागी रहेछ । जब साहित्यिक तथा बुद्दिजीहरु बोल्दैनन् भने त्यहाँ मुर्खहरुको बोली बिक्छ । साहित्यिक तथा विद्वानहरु मौन बसेको ठाउँमा धर्मको नाममा ढोंगी बाबाहरुले जन्म लिन्छ र त्यहाँ अन्धविस्वासको खेती लगाउँछ । जब लेखकले लेख्न त लेख्छ तर त्यो लेखले समाजको मुल्य बुझाउने सरोकारको विषय नै बन्दैन भने त्यो लेख जरायोको सिंग सरह हुन्छ जसले समाजको कमजोर वर्गको प्रतिरक्षा त के आफ्नै निम्ति पनि बोझ हुन्छ । खास लेखक तथा साहित्यकारले समाजको यथार्थ चित्र उतार्छ । एउटा अनलाइन म्यागेजिनमा नेपालको वरिष्ठ निवन्धकार भक्त घिमिरेले साहित्य र राजनीतिको बीचको पार्थक्य देखाउँदै लेखेको रहेछ, ‘साहित्यलाई समाजको दर्पण भनिए पछि समाजमा हुने सबै गतिविधि अटाउनु पर्छ ।’ उनले अझ एक ठाउँ लेखेको छ, ‘यस सोंचाई अनुसार साहित्यले मानवीय ह्रदय र भावनासँग सरोकार राख्छ तर राजनीतिमा चिसो दिमाग र कठोर तर्क प्रभावशाली मानिन्छ ।’
उनको यस तर्क अनुसार हामीले के बुझ्नु पर्छ भने हामीले अहिलेसम्म कोरा भावनालाई साहित्य भनिरहेका छौं । साहित्यले त राजनीतिलाई पनि नियन्त्रणमा राख्नु पर्ने हो नि त गरसाहित्य राजनीतिको दया मायामा बाँचिरहेछ । साँच्चै भक्त घिमिरेले लेखे जस्तो साहित्यमा समाजिक मुल्यको सरोकार हराउन थालेको छ । एक त अधिकाँश साहित्यकारहरु राम्रो अध्यननै नगरी कविता, लेखहरु लेख्ने गर्छन् । अध्यनबिनाको साहित्य समाजको निम्ति सरोकारको विषय त हुने होइन नै । राम्रो प्रशिक्षण नपाएको फौजी र राम्रो अध्यन नभएको साहित्यिक लेख झण्डै झण्डै एउटै हो जसको नतीजा little knowledge is dangereous thing मा पुगेर टुङ्गिन्छ ।
हुन त कतिपय साहित्यकारहरुले आफ्नो कलमको दुरुपयोग गर्दै साहित्यलाई कमाई खाने भाँडो पनि यदा कदा बनाई रहेको छ । एकजना हिन्दी साहित्यको प्रख्यात लेखक नरेन्द्र कोहलीले यसै प्रसङ्गसित मिल्दो एउटा लेखमा भनेको छ, ‘साहित्यको धर्म पीडितहरुको पक्षमा उभिनु हो ।’ तर साहित्यलाई केवल व्यसायकै रुपमा हेरिरहने हो भने त्यो साहित्य पीडितहरुको पक्षमा होइन तर एक मुठ्ठी सम्भ्रान्त परिवारलाई रुझाउनको निम्ति लेखिनु हो भने त्यो साहित्यमा विचारको मुल्याङ्कन होइन नाफा नोक्सानको हिसाब जोडिन्छ ।
आख्यानकार नरेन्द्र कोहली झैं एक पश्चिमेली इटालियन आख्यानकार इटालो क्यालभिनोको विचार पनि मिल्दो झुल्दो छ जसको विचार पनि प्रगतिशील विचारधारालाई नै स्वीकारेको पाइन्छ । उनको ठम्याईमा साहित्य र राजनीतिको सम्बन्ध यस्तो हुनु सक्छ,
‘Literature is necessary to politics above all when it gives a voice to the one who doesn’t have a voice, when it gives a name to the one who doesn’t have a name, and especially to all that political language excludes or tends to exclude…. Literature is like a ear that can hear more than Politics; Literature is like an eye that can perceive beyond the chromatic scale to which Politics is sensitive.’
–Italo Calvino, The Uses of Literature
उनको भनाईले सर्वप्रथम त राजनीतिलाई साहित्यको आवश्यक हुन्छ जब यसले आवाज नभएकाहरुलाई बोल्नलाई आवाज दिन्छ, नाम नभएकाहरुलाई नाम दिन्छ । साहित्य आममान्छेको निम्ति हेर्नलाई आँखा र सुन्नलाई कान जस्तै हो भन्ने उनको भनाइको सारांश हो । इटालो क्यालभिनोकै भनाईमा जस्तै साहित्य एउटा सम्वेदनशील विषय रहेकोले होला, कहिलेकाहीं मलाई मेरा शुभचिन्तकहरुले लेखहरु लेख्दा होशियारी अप्नाउनु पर्ने सुझावहरु दिई रहन्छन् र उनीहरु मलाई भनिरहेको हुन्छ, ‘जोगिएर है जोगिएर ।’ जोगिएरै लेख्नु पर्ने स्थिति भएकोले होला हाम्रो प्राय: साहित्यिक बन्धुहरुले प्रगतिशील तथा प्रगतिवादी साहित्यमा हात हाल्दैनन् । श्रङ्गारकाल र रोमान्टिककालमै खुम्चिएर साहित्य कोरी रहेका छन् । फोहोेर मैलाको थाकमाथि बसेर हिउँले ढाकिएको हिमालको सुन्दरताको वर्णन गर्दै कविता कोर्छन् भने कोही पाकेको स्याउको दानासित कुनै सुन्दरीको गालाको तुलना गर्दै कविता सिर्जना गर्छन् तर उनीहरु कुनै बलात्कृत चेलीहरुको कथा लेख्न डराउँछन् । झन कुनै कुनै साहित्यकारहरु त सप्त पुराणमा भगवत गीताको कथा सुनाउन हिँडेको पण्डितको टोली जस्तै हुल बाँधेर सत्ता गान गाउँदै हिँडेको पनि देखेको छु । यो मैले म बसेको समाजको मात्र कुरा गरेको होइन, सारा भारतमा अवस्था यस्तै छ । शायद नेपालको अवस्था पनि यस्तै छ र त नेपालको एक वरिष्ठ आख्यानकार जङ्गिँदै लेख्छन्, ‘राजनीतिकर्मीका निम्ति भोट माग्ने लेखक मास्क लगाएर आएको सत्ताको पुजारी हो ।’
उनले यी शब्द नेपालको साहित्यकारहरुको सन्दर्भमा भनेका हुन् तर समाजमा जहाँसम्म यस्ता विकृतिहरु देखापरिरहेका छन्, त्यहाँसम्म यी भनाई प्रसाङ्गिक हुन्छ । समाजको यही विकृति र विसंगतिलाई औंल्याउने र सच्चाउने काम प्रगतिवादी लेखकहरुले गरिरहेका छन् । प्रगतिवादी लेखक/साहित्यकार भनेको वर्कर बी याने श्रमिक मौरी जस्तै हो जसले काम पनि गर्छ र बेकामेहरुलाई चिल्छ पनि । अन्त्यमा भन्नु हो भने प्रगतिशील याने प्रगतिवादी साहित्यले मात्र सरकार तथा राजनैतिक दलहरुको निष्पक्ष मुल्याङ्कन गर्न सक्षम हुन्छन् । भन्नलाई त भनिँदैछ, साहित्य समाजको दर्पण हो तर दर्पण मानिएको साहित्यले समाजको सबै पक्षलाई समेट्न सकिरहेको छैन । लेखक साहित्यकारहरुले समाजको यथार्थ चित्रण उतारेर जनजनमा पुर्याउन सके मात्र साहित्य राजनीतिको निम्ति उपयोगी हुनेछ नत्र भने साहित्य एकाध वर्गको शौखको विषय मात्र रहनेछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



