
भो पर्दैन ‘बूढी च्वाँक’ भन्न, म यस्सै राम्री छु नि बूढा !
(पात्र, घटना तथा परिवेश लेखकको कल्पनामा आधारित छ । कसैसँग मेल खाएमा सन्जोग मात्र हुने छ । –लेखक)
कथाः बूढी च्वाँक
सागर ‘मणि’ थापा
चोभार ओपी, कीर्तिपुर–७
टेलिभिजनको पर्दाबाट दृष्टि हटाएर मदनकुमारले भित्तेघडीमा समय हेरे । रातको नौ बजिसकेको रहेछ । तब उनी उठेर किचेनमा गए ।
मदनले सोधे, ‘लीलावती आइसकेकी छैनन् तुलसा ?’
तुलसाले नम्र स्वरमा जवाफ दिइन्, ‘आन्टीलाई अचेल तीज लागेको छ नि सर । दस-बाह्र दिनदेखि उहाँलाई घरमा बस्ने फुर्सद नै छैन ।’
मदनले भान्छाको खाना निरीक्षण गर्दै असन्तुष्टि पोखे, ‘कृपाले पनि खाने निश्चित छैन । किन बढी बढी खाना पकाएकी ?’
तुलसाले आदर्शका कुरा गरिन्, ‘सर ! जिउँदो मानिसको भाग कटौती ग¥यो भने घरमा अनिष्ठ हुन्छ रे ।’
‘ओहो ! दर्शनवादी भैछेस् तँ पनि…!’
मदनले झर्को मान्दै टाउको समाते । त्यसपछि उनी सिँढीबाट खुरमुरिँदै तलतिर ओर्लिए । त्यहाँ रन्जनबहादुर पनि आफ्नी श्रीमतीको बाटो हेरेर बसिरहेका रहेछन् । रन्जन मदनको घरमा तल्लो ‘फ्ल्याट’ भाडामा लिएर बस्दै आएका नागरिक हुन् ।
लीलावतीको आगमन भयो । मदनले कोठासम्म पुग्ने धैर्यता राख्न सकेनन् । त्यहीँ असन्तुष्टि पोख्न थाले, ‘तिमीहरूले चाडबाडलाई विलासी बनाउँदै लगेका छौ लीला । मानिसहरू तिमीहरूको क्रियाकलापलाई ‘छाडा सँस्कृति’ भन्न थालेका छन् ।’
पतिको नाकमा मदिराको दुर्गन्ध ठोक्किन पुग्यो । लीला चुपचाप सिँढी चढ्न थालिन् । पतिले पुट्ठामा हत्केला अड्याउँदै शयन कक्षसम्म पु¥याए । आफ्नो भारी ज्यानलाई दामी सोफामा थेचार्दै लीलाले गुनासो पोखिन्, ‘श्रीमतीलाई गर्मी भएको होला भनेर ‘फ्यान’ चलाइदिनु त कता हो कता, उल्टै सँस्कृति बिगारेको दोष पो लगाउने ? खै, के बिगारेका छौँ हामीले ?’
मदनकुमार चुप्प लागे । लीलाले कान्छी छोरी कृपालाई सम्झिइन् । कृपा आइनपुगेकी कुराको जानकारी पाएपछि तिनीलाई पीर परेजस्तो भयो ।
उता तल रन्जनकी श्रीमती विशाखा पनि भर्खरै आइपुगिन् । तिनीले रातो रङ्गको ‘वान पिस टप्स’ र सेतो रङ्गको ‘लेगिन्ज प्यान्ट’ पहिरिएकी थिइन् । अचेल यस्तै ‘फेसन’ ले बजार पिटेको छ । विशाखालाई सारीभन्दा यही पोषाक सजिलो लाग्छ ।
कोठामा पस्नासाथ रन्जनले सम्झाए, ‘लीला भाउजूको जस्तो पुगिसरी आएको छैन हामीलाई । आजभन्दा, भोलिभन्दा छोरीको बिहेवारी गर्न हतार हुन्छ विशाखा । छोरो विदेशमा सङ्घर्ष गरिरहेको छ । सकी नसकी मेरो ऋण तिर्न पैसा खेपिरहेको छ । अरूको पो ‘उल्फतको धन’ छ र बेसरी उडाउँछन् । तर हामी त विशुद्ध परिश्रमको फल खाएर मात्र जिउनु पर्ने मानिस हौँ । त्यही भएर…।’
‘के त त्यही भएर ?’
आप्पै ! प्रतिप्रश्नको झटारो आफल्दै विशाखाले वचन लगाइन्, ‘आजका नारीहरू गणतन्त्र कालका हुन् । पञ्चायती व्यवस्थाका हैनन् । के हामीले चुलोचौको मात्रै कुर्नु ? आर्थिक अवस्थाको नाउँमा जहिल्यै एउटै लुगामा वर्ष कटाउनु ? जहिल्यै अभावै अभावमा बाँच्नु ? अहँ, यस्तो अन्याय कदापि सहिँदैन ।’
रन्जन बेसरी रन्थनिए । श्रीमतीलाई सम्झाउन सक्ने अवस्थामै रहेनन् ।
त्यस्तैमा आफ्नो कोठाबाट निस्किएर आई श्रेया कराउन थालिन्, ‘हैन, आज पनि हजुरहरूको रोइलो सुरू भयो ? ममी, ड्याडी । मलाई पनि विदेश जाने तारताम्य मिलाइदिनोस् । बस्न नसक्ने भएँ म हजुरहरूसँग ।’
‘प्लिज, त्यसो नभन छोरी ।’
ममीले हात जोरेर आश्वासन दिइन्, ‘तिमीले चिन्ता गर्न पर्दैन श्रेया । भोलिदेखि यस्तो हुँदैन । इः मैले कान समातेँ ।’
‘खै, हुन्छ कि हुँदैन ।’
दिक्किएको स्वरमा श्रेयाले वास्तविकतालाई उजागर गरिन्, ‘चाडबाड आयो कि ममी, ड्याडीको यस्तै चाला हुन्छ । प्रेमपछि विवाह गरेको दाम्पत्य जीवनमा पनि यस्तो कलह हुन्छ र भन्या ?’
त्यति तीतो कुरा पोखेर तिनी आफ्नै कोठामा फर्किइन् । लोग्नेमान्छे भएर पनि कति कमलो मन छ रन्जनको ! छोरीका हृदयविदारक कुराले उनका आँखा चिसा भए । तर लुकेर आँखा पुछपाछ पारे ।
केही समयपछि लीलावतीलाई कागती–पानी पियाएपछि अलि ठीक भएकी थिइन् । तिनी पतिसँग आफ्नो अतीतबारे सम्झाउन खोज्दै थिइन्, ‘जमिनमा बीज रोप्दैमा बाली लाग्दैन पतिदेव ! त्यसलाई हुर्काउन, बढाउन र दानायोग्य बनाउन कडा मिहिनेत गर्नपर्छ । हो, मैले पनि हाम्रो परिवार सपार्न र घरबार बनाउन धेरै रगत र पसिना बगाएकी छु ।’
लीलावतीले जम्मा आठ कक्षा मात्र उत्तीर्ण गरेकी हुन् । तर तिनीको लवाइ, खवाइ र ‘हाइफाइ’ जिन्दगी देख्नेहरू भ्रममा पर्ने गर्दछन् । बोलीचालीको ढाँचा पनि त कमको छैन । ऊः अहिले नै पतिसँग प्रतिवादको शैली अपनाउँदै ठाडठाडै भन्न लागिन्, ‘हामी नारीहरूलाई पुरुषहरूले पैतालाले कुल्चेर राखिरहन पाए खुसी हुने । नपाएचाहिँ ‘बढी छाडा भए’ भन्ने ? अब हामीलाई ‘अल्पबुद्धिका आइमाई’ भनेर हेलाँहोचो गर्न पाइँदैन मदनकुमारजी !’
वास्तवमा लीलालाई धेरै पढ्न नदिनुमा मदनको घरपरिवारको पनि भूमिका थियो । नत्र भन्देखिन तिनीको स्कुलको पढाइ राम्रै थियो । तिनी कम्तीमा पनि शिक्षक बन्ने आशामा थिइन् । तर बिहेसँगै तिनीको चाहनाको अवसान भयो ।
लीलालाई मानसिक पीडा पनि परेको थियो । ‘एउटा छोरा त चाहिन्छ’ भन्ने दवाव झेल्दाझेल्दै तीन–तीनवटी छोरीहरूकी आमा बन्न वाध्य भइन् । लगातार छोरीहरू मात्र जन्माएकोले मदनको बुबालाई साफ झोक चल्यो र बेसरी झपारे, ‘के तैँले यस घरमा एक दर्जन छोरीहरूको बगाल जन्माउन चाहेको होस् मदन ? अब पनि विचार गर्दैनस् मूर्ख ?’
मदनलाई लाग्यो, बुबाले दोस्री पत्नी ल्याउन उकासेका हुन् । मानिसहरूले भन्ने गरेका ‘ढिकुराको मालिक’ एउटा पुत्र लाभ नगरी नछाड्न दवाब दिएका हुन् । तब त मदनको बर्बनी तातेर आयो । अनि त तातो रिसको झोकमा उनी सीधै परिवार नियोजनको कार्यालयमा पुगे र स्थायी ‘भ्यासेक्टोमी गरेर फर्किए ।
परिवार नियोजन गरेर आएको लगभग हप्तादिनपछि मदनले पहाडको घर छाडिदिए र पत्नी र तीनवटी छोरीहरू लिएर काठमाण्डु सहर पसे । त्यतिबेलै उनी परराष्ट्र मन्त्रालयमा उपसचिव बनिसकेका थिए । उनको ‘ब्याच’ का सबैभन्दा कनिष्ठ हाकिम । त्यो सफलताको श्रेय पत्नी लीलावतीलाई नै जान्छ ।
समयक्रममा मदन–लीलाकी जेठी छोरी अष्ट्रेलिया पुगिन् । माइली छोरी कृष्टीलाई ‘डी.भी.चिट्ठा’ प¥यो । तिनी अमेरिका उडिन् ।
कान्छी छोरी कृपा मख्ख पारिदिँदै भन्थिन्, ‘मामुको चाहनालाई म पूूरा गरिदिन्छु । गणित र अंगे्रजीमा दख्खल गर्न सकियो भने त ट्युसन पढाएरै बेसरी पैसा कमाइन्छ । यहीँ बसेर विद्यावारिधि उपाधि हासिल गरिदिन्छु र ‘प्रोफेसर’ बन्छु ।’
अफसोस् ! जब कान्छी छोरीको चाहना बदलियो, तब ममीको चाहनामा तुषारापात लाग्न पुग्यो । कृपा त ‘मोडल’ बन्न पुगिन् ! तिनी ‘फेशन शो’ को ‘¥याम्प’ मा राति अबेरसम्म ‘क्याटवाक’ गरिरहेकी हुन्छिन् । लीलावतीलाई बुढेसकालमा ‘मोर्डन ममी’ बनाइदिने नै छोरीहरू हुन् ।
‘ओ पतिदेव ! सोच्दासोच्दै निदाउनुभयो तपाईँ ?’
लीलाले मदनलाई घचघच्याइन् । शवासनमा पल्टिएका बूढा त साँच्चै नै निदाएछन् । लीला गहना र लुगाहरू मिलाउन थालिन् । मस्ती छ ममीलाई ! छोरीहरूले खातामा पैसा हाल्दिरहेका छन् । जेठी र माहिलीले लत्ताकपडाहरू पनि पठाइदिइरहन्छन् ।
भोलिपल्ट बिहान लीलाले ‘ब्रेकफास्ट’ खानका लागि रन्जनको परिवारलाई पनि बोलाइन् । दुई परिवार सँगै बसेर खान थाले । त्यस्तैमा रन्जनकुमारले ठट्टा गरे— ‘लीला भाउजू ! तपाईँले हामीलाई यसपालिको दर यही ब्रेकफास्टमा टार्दै हुनुहुन्छ कि के हो ? हाहाहा…। चाँडै कार्यक्रम बनाउनोस् है ? अर्को हप्तादेखि म जिल्ला सरूवा हँुदैछु ।’
‘के रे..? अर्को हप्ता बाहिर जाने रे ! मलाई धेरै न तताउनोस् है तपाईँ !’
एक्कासि विशाखा चिढिइन्, ‘अहँ । सरूवा लिन पाउनु हुन्न !’
रन्जन व्यङ्ग्यको सुइरोले घोप्न थाल्छन्, ‘त्यसोभए दामी–दामी लुगाहरू नलगाऊ । ‘डिजाइन डिजाइन’ का सुनका गहनाहरू किन्न पनि कर नलगाऊ । त्यत्ति ग¥यौ भने म रातदिन तिम्रै सेवामा खटिइरहन्छु । हुन्छ ?’
‘ऊः फेरि सुरू भयो मेरा बा, आमाको ताण्डव !’
श्रेया निकै दुःखी भइन् । मदनकुमारचाहिँ रन्जनको मुखतिर हेर्दै हाँसिरहेका थिए । लीलालाई पतिको हाँसो मन परेन र हप्काइन् । मदनको ओठको मुस्कान पतन भयो । त्यस्तैमा कारको ‘हर्न’ बजेको आवाज सुनियो । सबैले बाहिरी ढोकातिर नजर बिछ्याए ।
कृपा कारबाट निस्किइन् । सरासर माथितिर लागिन् र कोठाको ढोकामा पुगिन् । उठेर गई मदनले कडा सवाल गरे, ‘तैँले कस्तो लुगा लगाएकी यो ? ‘मोडल’ भएँ भन्दैमा यस्तो छाडा ‘फेसन’ गर्न जरूरी छ र ? अनि हिजो राति कहाँ बसिस् ?’
लीलााले बसेकै स्थानबाट हप्काइन्, ‘किन छोरीको दिमाग चाटिरहनुहुन्छ ? बिचरी थाकेर आएकी होली । भोक लागेको होला । बढेकी छोरीलाई यसरी हकारपकार नपार्नू है । मैले भन्देकी छु । यो घरको आर्थिक अवस्था उच्च पार्नुमा कृपाको पनि त उत्तिकै भूमिका छ नि ।’
‘ल भो भो । बढ्ता भासन नछाँट तिमी !’
मदनले आलोचना गरे, ‘भोलिका दिनमा केही भयो भने तिमीले नै व्यहोर्नू । म केही गर्न सक्तिनँ ।’
रन्जनले सम्झाए, ‘पीर नगर मदन दाइ । समयको हावा नै यस्तैगरी बहिरहेको छ त हामीले के गर्न सक्छौँ ? हामीलाई त यत्ति भए पुग्छ कि यिनीहरूले इज्जत नफालिदिऊन् ।’
पतिको अभिव्यक्तिप्रति विशाखाले सङ्क्षिप्त टिप्पणी गरिन्, ‘कुकुरलाई ताकेजस्तो गरेर ढुकुरलाई हान्छन् मेरो बूढो ! मलाई त उमेरभन्दा दस वर्षअघि नै बूढी देख्न थालिसके ! यही त फरक छ, अरूका बूढा र मेरो बूढोमा ।’
लीलाले ढाडस दिँदै भनिन्, ‘तिमी चिन्ता नगर विशाखा । कुकरहरू कराउँदै गर्छन् । हात्तीहरू लम्किरहनुपर्छ । यी लोग्नेमान्छेहरूलाई कसरी तह लगाउनुपर्छ, त्यो मलाई थाहा छ । पर्सिको हाम्रो ‘प्रोग्राम’ को व्यवस्थापन यिनै कुमार र बहादुरले गर्ने छन् ।’
लुगा फेरेर आएपछि कृपाले ममीलाई ‘जिन्स पाइन्ट’ र ‘टी शर्ट’ दिँदै भनिन्, ‘ममी, हजुर यो लुगा पहिरिस्योस् त । मेरो विचारमा हजुरलाई एकदम ‘म्याच’ गर्छ ।’
ममीले लजाउँदै भनिन्, ‘यो बुढेसकालमा मैले पाइन्ट र गन्जी लाएर हिँड्ने अब ? सारी र ब्लाउज पहिरिँदा त इष्र्या गर्छन् । झन् यस्तो ‘फेसन’ मा देखिएँ भने त ‘पोइला’ जान लागिछ भन्न बेर छैन तेरो ड्याडीले ।’
कृपाले विशाखा आन्टीलाई पनि दिउँसो आफ्नो ‘ब्युटी पार्लर’ मा आउन आग्रह गरिन् । तीजको उपलक्ष्यमा तिनीले ‘फ्रि मेकअप’ गरिदिने भएकी रहिछन् । दिउँसो तुलसा र श्रेया पनि जाने भए ।
दिउँसोको कुरा हो…।
आफ्नो कार्यालयमा मदनकुमार मोबाइलको भिडयो हेर्दै बेथा बाँड्दै थिए, ‘नसकिने भइयो । अबचाहिँ नसकिने भइयो भाइसाथीहरू । सँस्कार र सँस्कृतिको नाममा चाडबाडलाई तडकभडक बनाउन थालेपछि कसरी निर्वाह हुन्छ भन त ? ल हेर यता । दिदीबहिनीहरूले दरको नाममा मा. प. से. गरेका र उत्ताउलो डान्स गरेका भिडियोहरू ‘भाइरल’ भएका छन् सामाजिक सन्जालभरि !’
मोबाइलको दृश्य हेर्दै एक अधिकृतस्तरका साथीले मिश्रित टिप्पणी गरे, ‘हजुर सचिव पदमा हुनुहुन्छ र त यस्तो पीडा छ । तल्लो तहका साथीहरूको झन् कति दुःख होला सर ? हैन, यो विकृतिको जडचाहिँ के रहेछ हँ ?’
‘अरू के हुन्थ्यो र हाकिम साप ।’
एक नायव सुब्बाले मोबाइल बन्द गर्दै समीक्षात्मक टिप्पणी गरे, ‘यो सबै विकृति हिन्दी सिरियल भएको छ । नेपाली सँस्कार र सँस्कृतिलाई भड्किलो बनाउन सिकाउने नै हिन्दी सिरियल हुन् । हाम्रा हरेक सामाजिक चलनलाई हुनेखानेहरूले विलासी बनाइसके !’
अर्की महिला अधिकृतले आत्मालोचना गरिन्, ‘कमजोरी हाम्रै हो । हामी पूरै सँस्कृति मन्त्रालय हाँकेर बसिरहेका छौँ । तर खै सुधार भएको ? मलाई लाग्छ, अब कसैले पनि सामाजिक विकृतिहरूलाई सुधार्न सक्दैन ।’
सचिव मदनले कुर्सीमा पिठिउँ अड्याउँदै भने, ‘अब जे गर्छ, यो मदनकुमारले गर्छ भाइसाथीहरू । यो मुलुकमा कानुनको राज छैन भन्नेहरूलाई देखाइदिन्छु म ।’
नभन्दै तीजको ‘अन्तिम दर’ खाने दिनमा रमाइलो घटना भयो ! त्यो दिन लीलावतीले एक भव्य कार्यक्रमको आयोजना गरिन् । सचिव मदनकुमारको बङ्गला पो हो त । कुनै ‘पार्टी प्यालेस’ को झल्को दिनेगरी भौतिक सामग्रीहरूको बन्दोबस्त गरिएको थियो ।
तीजको ‘द्विवा भोज’ चलिरहेको बेलामा तीनजना पत्रकारहरू आइपुगे । उनीहरूले हातमा क्यामेरा बोकेर ‘बार स्टल’ खोज्न थाले ।
एकजना ‘युटुबर’ ले सोधिहाले, ‘ए दिदी ! यहाँ बोत्तलहरू कहाँ राखिएका छन् ?’
‘इः यहाँ राखेको छ !’
लीलाले उनलाई एक डिम्मा लगाइहालिन् । त्यसपछि अरू छ–सातजना पनि आएर तीनैजना पत्रकारलाई गोद्न थाले । क्यामेरा पनि खोसिदिए ।
एकजनाले रिसाउँदै सोधे, ‘के म यो कुरा जान्न सक्छु कि हामीमाथि यस्तो अभद्र व्यवहार किन गरिँदै छ ? हामी त तीज कार्यक्रमको प्रचारप्रसार गर्न आएका हौँ ।’
‘हामीलाई थाहा छ तिमीहरू केको प्रचार गर्छौ भनेर ।’
लीलाले पत्रकारको ओठ तान्दै भनिन्, ‘तीजको प्रचार गर्नेले रक्सीको बोतल ताक्छ ? अस्ति हामीले एउटा नितान्त पारिवारिक ‘प्रोग्राम’ गरेका थियौँ । हो, त्यहाँ केही दिदीबहिनीहरूले थोरै मनोरन्जनका लागि ‘वाइन’ पनि सेवन गरेका थियौँ । तर तिमीहरूले लुकी लुकी भिडियो खिचेर पैसा कमाउन ‘भाइरल’ बनाइदियौ ! दुश्प्रचार गरिदियौ । कसले दियो त्यो अधिकार ?’
अहँ, पत्रकारले सही जवाफ दिन सकेनन् । त्यहाँबाट भाग्नु नै श्रेयष्कर ठाने र माफी मागेजस्तो गरी फुत्किए ।
त्यो घटना केवल ती दिदीबहिनीबीचमै सीमित रह्यो । केही बेर नाचगान रोकियो । मदनकुमार र रन्जनबहादुरका हातहरूले पनि मादल ठोक्नबाट विश्राम पाए ।
कार्यक्रम आयोजक लीलावतीले सखीसङ्गीहरूलाई उपहार बाँड्दै थिइन् । एक्कासि महिला प्रहरी इन्स्पेक्टरको नेतृत्वमा एक हूल प्रहरीको आगमन भइदियो ! दिदीबहिनीहरू आत्तिन थाले ।
लीलाले असन्तुष्टि पोखिन्, ‘यो सब के हो इन्स्पेक्टर म्याम ? सायद त्यही तीनजना बदमास पत्रकारहरूको गलत सूचनाको आधारमा तपाईँहरू मेरो घरमा आएको होला हैन ? यो त भएन नि । एक बहालवाला सरकारी सचिवको घरमा विनाकारण फौज लिएर आउन मिल्छ ? चिठी चाहिँदैन ?’
विशाखाले नम्र भएर भनिन्, ‘हजुरलाई कसैले गलत सूचना दिएछ बहिनी । यहाँ मांस, मदिरा वर्जित छ । नपत्याए ‘चेक’ गर्नोस् ।’
मदनले सबैलाई चकित पार्ने अभिव्यक्ति दिए, ‘कोही दिदी—बहिनीहरू डराउनु पर्दैन । यो काम मेरो हो । मैले नै प्रहरीलाई यहाँ बोलाएको हुँ ।’
‘आच्चे ! त..त..तपाईँको दिमाग त ठीक छ कृपाको बुबा ?’
पत्नीले जब्बर सवाल गरिन्, ‘यो के काम गरेको तपाईँले ? किन गरेको ?’
पतिले हाँसी हाँसी उत्तर दिए, ‘यो ‘किन’ भन्ने सवालको जवाफ भरे नै पाउँछ्यौ लीला । धैर्य गर ।’
नभन्दै बेलुका नै लीलावतीले दिउँसोको प्रश्नको उत्तर पाइन् । हरेक ‘च्यानल’ को समाचार प्रसारणमा मुख्य खबरको शीर्षक नै खतरा बनेछ, ‘तीजको दरमा प्रहरीको छापाः नेपाल सरकारका सचिवले नै पत्नीको कार्यक्रममा प्रहरी बोलाए !’
अर्को दिन बिहानै सरकारी टेलिभिजनबाट मदनकुमारको ‘लाइभ इन्टरभ्यु’ प्रसारण भयो । प्रश्न सोध्ने क्रममा पत्रकारले जिज्ञासा राखे, ‘मदन सर ! हाम्रा दर्शकहरूलाई खुलस्त पारिदिनोस् कि यहाँले आफ्नै धर्मपत्नीले आयोजना गर्नुभएको तीज कार्यक्रममा किन प्रहरीको हस्तक्षेप गराउनुभयो ?’
मदन जवाफ दिन्छन्, ‘सर्वप्रथम त तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ । जहाँसम्म प्रहरीबाट हस्तक्षेप गराएको भन्ने सवाल छ, यो ‘हस्तक्षेप’ शब्द सच्याउनु होला । मैले एउटै उद्देश्यको खातिर मेरी अर्धाङ्गिनीको कार्यक्रममा पुलिस बोलाएको थिएँ । त्यो यसकारण कि वर्तमान अवस्थामा चाडबाडको नाममा धेरै नै तडकभडक हुन थाल्यो । यो तीजलाई त झनै विकृत बनाउन थालियो !’
पत्रकारः ‘मदन सर आपैm सँस्कृति मन्त्रालय हाँकेर बस्नुभएको छ । तथापि, आफ्नै परिवारलाई अनुशासनमा राख्न सक्नुहुन्न भने योभन्दा दुःखको कुरा….?’
मदनः ‘घरको धुरीमा राखेको ट्याङ्की पो सफा गर्न सकिन्छ पत्रकार भाइ । यहाँ त ‘रिजर्भ ट्याङ्की’ नै फोहर भैराखेको छ । त्यही भएर पानीको मूल नै सफा गर्न खोजेको हुँ ।’
पत्रकारः ‘ए, भनेपछि हाम्रा चाडपर्वभित्र पसेका विकृतिहरू सँस्कृति मन्त्रालयले रोक्न नसकेर गृह मन्त्रालयलाई गुहार्नु भएको हो ?’
मदनः ‘नसकेर होइन, काबुभन्दा बाहिर गएर भनम् न । मैले प्रहरी-प्रशासनलाई बाटो देखाइदिएको छु । अब हरेक भोज-भतेरमा प्रहरीको निगरानी अनिवार्य हुनुपर्छ । सँस्कृतिमा पसेको विकृतिलाई निमूल पार्ने यही उपाय ठीक लाग्यो मलाई ।’
मदनकुमारको त्यो अभियानले मुलुक पिट्यो । अब विकृतिका जराहरू क्रमशः काटिँदै जान थालेका छन् । यसैपालिको तीजबाट दरको नाममा सेवन गर्ने ‘अभक्ष’ चीजहरू बहिस्कार गर्ने अभियान सुरू भएको छ । आफ्नै लोकभाका र लोकसँस्कृतिलाई मान्यता दिन दवाव परेको छ ।
तीजको ब्रत समाप्त गर्ने क्रममा लीलाले भनिन्, ‘पतिदेव ! खै खै गोडा यता ल्याउनोस् त ।’
पतिले मलिन अनुहार लगाउँदै भने, ‘मैले तिमीलाई कहिले गोडाको धूलो ठानेको थिएँ र पाप बोकाउँदै छ्यौ लीलावती ? बिहेमा गोडा धुने प्रथालाई त हटाउनुपर्छ भन्ने मान्छे हुँ म । यस्तो सामाजिक विकृतिलाई प्रश्रय दिन हुन्छ मैले ?’
एक करूवा जलले आँत शान्त पारेपछि लीलाले व्यङ्ग्य–सवाल गरिन्, ‘त्यसोभए मैले ‘फेसन’ गर्न पनि पाउँछु त ? छोरीहरूले पठाइदिएका एक भकारी लुगाहरू बाँड्न त मायाँ लाग्छ नि पतिदेव !’
पतिले अनौठो शब्द प्रयोग गरे, ‘लगाऊ लगाऊ । तिमीलाई ‘बूढी च्वाँक’ बनाइदिने नै तिम्रा छोरीहरू हुन् ! बलौटे मरुभूमि त मलाई पनि कहाँ मन पर्छ र पत्नीज्यू । हाहाहा….। हेहेहे..।’
‘के रे, के रे ?’
चिडचिडापन प्रदर्शन गदै लीलाले गुनासो पोखिन्, ‘के हो यो ‘बूढी च्वाँक’ भनेको ? हामीलाई हेप्नी ?’
‘ड्याडीले हजुरलाई हेपेर भन्नुभएको हैन ममी ।’
भर्खर भर्खर सस्ँकारी बनेकी कृपाले हातमा बोकेकी पूजाको थाली राख्दै बताइदिइन्, ‘अचेल हजुरजस्ता महिलाहरूलाई फुक्र्याउने शब्द हो यो । अङ्ग्रेजीमा छ नि एउटा शब्द । ममीलाई पनि थाहा छ नि ।’
ममीले अन्दाज लगाइन्, ‘सेक्सी ?’
‘हो हो त्यहीे !’
कृपाले हाँस्दै अथ्र्याइन्, ‘आमा, हजुरआमाहरू पनि ‘फेसनेबल’ भएका छन् अचेल । ती सबै बूढी च्वाँक हुन् । हजुर पनि त बूढी हुनुभयो नि ।’
‘अहँ, म मान्दिनँ ।’
लीलाले ठूलो ऐनामा शरीर नियाल्दै सोधिन्, ‘खै, कसरी बूढी भएँ म ? गीतै छ नि, ‘चालीस कटेसी रमाऊँला’ भन्ने । मलाई बूढी देख्ने ?’
मदनले झन् जिस्क्याए, ‘छैनौ लीलावती, छैनौ । तिमी बूढी भएकी छैनौ । भर्खर त एकाउन्न पुगेर छयालीसमा टेकेकी छौ । कान्छी छोरीलाई अन्माएर पठाएपछि पो बूढी हुन्छ्यौ त । त्यही भएर पो मैले ‘बूढी च्वाँक’ भनेर तिमी र तिमीजस्ता महिलाहरूको प्रशंसा गरेको हुँ । हाहाहा…। हाहाहा…।’
त्यसपछि लीलाले मस्किँदै भनिन्, ‘भो पर्दैन ‘बूढी च्वाँक’ भनेर फुक्र्याउन । म यस्सै राम्री छु नि बूढा !’
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



