
पराइको हातमा सुम्प्यौ आफ्नै मुटु बाबा, मेरै आँगन कुल्चनलाई निम्ता चाहिने अब
जन्मघरको ढोका टेक्न साइत जुर्नुपर्छ, आफ्नै संसार भेट्न पनि आदेश कुर्नुपर्छ
लक्ष्मी मैनाली पाठक
अग्नि साक्षी राखिकन
सात फेराको बन्धन
बुढी औंला दान गरेर
जुठो सार्या भन्छन् ।
छोरी पनि सृष्टि हो रे
घरको लक्ष्मी भन्छन्
घरको लक्ष्मी दान गरेर
धर्म पुन्य भर्छन् ।
संस्कार त सार्यौ बाबा
माया सार्न सकेउ ?
थरैसम्म फेर्ने गरी
कन्यादान गरेउ ।
जन्म आमा छोडेपछि
कर्म आमा पुजेँ
दुबै आमा बराबर रे
त्यो पनि त बुझे ।
जन्मँदाको रगत पनि
फेरिन्छ कि बाबा
दुधको भारा माताश्रीको
फेरिन्छ कि अब ?
पराइको हातमा सुम्प्यौ
आफ्नै मुटु बाबा
मेरै आँगन कुल्चनलाई
निम्ता चाहिने अब ।
जन्मघरको ढोका टेक्न
साइत जुर्नु पर्छ
आफ्नै संसार भेट्न पनि
आदेश कुर्नु पर्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



