
दुःखमा हाँसेर हिँडेको देख्दा पनि कुरा काट्ने समाज
जिम्मेवारी
दीपेश पाठक
जिम्मेवारी नाम नै एउटा जीवनको भारी भन्ने मान्छु म । जिम्मेवारी एउटा यस्तो ओजन हो, जब काँधमा पर्छ, तब निन्द्रा पनि दिन रात घट्दै जाने रहेछ ।
उमेर क्रमश बढ्दो क्रममा छ र जिम्मेवारी पनि । कास्, उमेर बालापनमै रोकिएको भए कति मजा हुन्थ्यो होला । सम्झन्छु बालापन, न त कुनै थियो टेन्सन न त केही गुमाउने डर न त केही नपाउने चिन्ता नै । बाबुआमाको काखमा रमाउदै सुतियो । यो संसारमा म मात्रै त होइन जिम्मेवारीको बोझ बोकेर हिँडेको । हजारौं लाखौंको संख्यामा छन् तर कोही जिम्मेवारीले गर्दा खाडी पुगे त कोहि जिम्मेवारीले गर्दा डिप्रेसनमा । कोहि जिम्मेवारीको बोझले गर्दा भोकेभोकै मृत्युको मुखमा सम्म पुगे र कतिलाई गल्ली र सडकमा भौतारिने बनायो ।
बाहिरको हँसिलो अनुहार देख्दैमा ‘यो मान्छेलाई कति सहज छ, कति आनन्द छ’ कति सहजै भनेका थिए ती व्यक्तिले मेरोबारेमा बिना कुनै जानकारी तर उनलाई के थाहा, आफ्नो सपनाहरुलाई मार्दै परिवारको जिम्मेवारी काँधमा बोकेर हिँडेको ब्यक्ति हुँ म । उनलाई के थाहा, रातभरि निद्रा नलागेर छटपटाउनुको मेरो पीडा र रातभरि कराउँदै भितामा मुड्कीले हान्दै रुँदै गरेको मेरो पिडा । कसलाई के थाहा, आफू सँगैका साथीहरूको प्रगति हुँदासम्म पनि गल्ली र चोकमा भोकभोकै कामको खोजीमा हिंड्नुको मेरो पीडा । आमाले फोनमा खाना खाइस् त बाबु भन्दा खाएँ आमा भनेर झुटो बोल्नुको मेरो पिडा । केही दिन र रात पानीको भरमा जीवन जिउनुको मेरो पिडा ।
कुनै दिन कसैले मलाई भनेको थियो, छोरा मान्छे भएर रुनु हुँदैन । आज त्यही व्यक्ति भन्दैछ कि मेरो झुटो हाँसो मेरो अनुहार देखेर कति आनन्द छ, न त केही चिन्ता न केही पिर । मलाई आत्माग्लानी हुन्छ, म यो समाजमा जन्मेको भन्न । जुन समाजले छोरा मान्छेलाई रुनलाई पावन्दी लगाएको छ तर पनि दुःखमा पनि हाँसेर हिँडेको देख्दा कुरा काट्ने बाटो खुलाएको छ । वाह क्या छ हाम्रो समाज ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



