
म बतास हुँ
रुद्रप्रसाद उप्रेती
बेला बखत जीवन र जगतलाई
रुखा सुखा र पत्झड बनाएर रापिलो भएर हिँड्ने गर्छु
कहिले घर, जंगल सोत्तर बनाएर समथर मरुतल कल्पना गर्छु
फेरि कुनै बेला बसन्तको रंग चढाएर तापिलो भएर हिँड्दै गर्छु
किनकि म बतास हुँ ।
कुनै बेला म
मेघह, बादलहरुसँग संगत गर्छु
चट्यांग् र बिजुजीसँग मितेरी गाँसेर तिनै सँगै नाच्छु
कतै अविरल वर्षा, कतै खण्ड खण्डको आंशिक वर्षा
कतै बाढी पहिरो, कतै खडेरीको उपहार पठाउँदै उड्दै गर्छु ।
किनकी म बतास हुँ ।
कहिले फेरि म
शारदिय चन्द्रमासँग भेटघाट गर्छु
बाढी पहिरो र हिलोसँग विदा लिन्छु
क्रमशः सितलताको अनुभुत गराउॅछु
फूलहरु फुलाउँछु र बाली नाली झुलाउँछु
नयाँ जीवन बाँच्न मानवलाई उत्साह र उमंगको संचार गर्छु
टहटह जुनको उज्यालोमा राग अलाप्ने लालसा जगाउँछु
किनकि म बतास हुँ ।
कहिले त फेरि म
हुस्सु र कुहिरोको संगतमा रमाउँछु
तिनैलाइ धपाउँछु, तिनैलाई डोर्याउँछु
हिमालमा ठोकिन्छु अनि गुराँस र चिमालसँग रमाउँछु
कक्रक्कै पारेर मान्छेहरुका अंग अंग समाउँछु
कठ्याँग्रिने गरी चिसो बढाउँछु र प्राणीहरुको मुटु कमाउँछु
किनकि म बतास हुँ ।
फेरि कहिले त म
सिख्राहरुमा पालुवा पलाउँछु
ठिही र स्याँठ धपाएर मधुमास सजाउँछु
मधुर मुस्कानसहितको वसन्त बहारमा रमाउँछु
नवपालुवाको हरीयाली सजाएर सिरसिर गर्दै कदम बढाउँछु
किनकि म बतास हुँ ।
बेला बेला सम्झना गरिरहनुपर्छ
जीवन केवल एउटा उच्छ्वास हो
अनि जीवन केवल सानो बतास हो
तात्नु र सेलाउनु, दौडिनु र थला पर्नु, उभिनु र थचारिनु
बोल्नु र मौन रहनु, मुर्ख हुनु र ज्ञानी बन्नु, उत्पत्ति र विनास हुनु
जीवनको गतिशिलता हो
किनकि जीवन सानो बतास हो
किनकी म बतास हुँ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



