
जसलाई ‘जाली’ भन्यो, ‘झापाली’ भन्यो काठमाडौले, उही भन्दैछ ‘आई लभ यू काठमाण्डु’
आई लभ यू काठमाण्डु !
मोहन ढुंगेल
पत्थरको मुटु भएको काठमाण्डु, निर्दयी काठमाण्डु, घमण्डी काठमाण्डु, भावविहीन, संवेदनहीन काठमाण्डु ।
काठमाडौं बाहिरका म जस्तै मान्छेले यो शहरलाई दिने विशेषण यस्तै हुन् । हो, मैले पनि मेरो युवा जोशको करीब २२ वर्ष यो शहरलाई पसिना दिएँ, यो शहरलाई रगत समेत दिएँ । साँच्चै भन्ने हो भने यो शहरलाई मैले रहर दिएँ, हरेक प्रहर पनि दिएँ, तर, यो शहरले मलाई अपनत्व त दिएन दिएन, हीनताबोध दियो, र दियो मायाको भोक र शोक । अनि मलाई यो शहरले “फटाहा” “जाली” “झापाली”को उपमा पहिर्याएर अपनत्वबाट समेत बन्चित गरिदियो ।
होला एकाध झापाली, एकाध स्याङ्जाली, एकाध पाल्पाली वा सिन्धुली बासीले शहरको निन्द्रा खल्बल्याए होलान्, शहरमा शंका उपशंका पनि फैलाए होलान् । तर के सबैको स्वभाव सबैको चरित्र र सबैको संस्कार एउटै थियो त ? सबैलाई एउटै टोकरीमा हालेर तौलन मिल्थ्यो त ? म मात्र होइन, त्यो शहरको काखमा आश्रय लिइरहेका धेरै धेरै मेची र महाकाली, कर्णाली र मधेशीलाई यो शहरले कहिलै आफन्त ठानेन । त्यसैले आज म यो निश्ठुरी शहरभन्दा कोशौं टाढा छु । म जस्ता हेपिएकाहरु पनि शायद म जस्तै यो शहरभन्दा दूर होलान् र भन्दै होलान्, “आई हेट काठमाण्डू ।”
मैले त्यो शहरलाई माया मारेको एक दशकपछि आज मेरो मन पुलकित भइरहेको छ, त्यो शहर र शहरका रैथानेप्रति मेरो मनमा माया, सद्भाव र शुभेच्छाको तुफान मडारिइरहेको छ र मेरो मनको समुन्द्रमा उठेका ज्वारभाटाले मलाई एकतमासले हल्लाईरहेको छ । मनभित्रको त्यो भुइँचालोले मलाई भन्न लगाइरहेको छ, “आई लभ यू काठमाण्डु, आई लभ यू भेरि मच काठमाण्डु ।” किनभने, यस पटक यो शहर समझदार र उदार भएछ, यो शहर मायालु भएछ, लामो बिछोडका कारण शायद मैले यो शहरलाई पुरानै रैथानेहरुको शहरकै रुपमा हेरेको र बुझेको रहेछु । “रैथाने” को दम्भमा भुक्क फुलेका त्यही शहरकै मान्छेहरुलाई हुत्त हुत्याएर “बाहिरिया” बनाइएका हामी जस्तालाई विश्वास र माया गर्न थालेछ त्यो शहरले । हिजो मेरै कानले कति सुनेको कति “मनु मख मड्सिया ख” अर्थात मान्छे हैन मधिशे हो । मधेशी त मान्छे नै होइन, ऊ फगत मधेशी हो अर्थात् उ हाम्रो होइन पराइ हो, मान्छे त हामी मात्र हौं । आज तिनै हातले, तिनै मन तिनै मुटुले यो शहर मधेशी खोजिरहेको रहेछ । बालेन खोजिरहेको छ, बालेन्द्र साह मागिरहेको छ, उही “मनु मख मड्सिया ख” लाई बोलाइरहेको छ, विश्वास र माया दर्शाइरहेको छ ।
शहरका रैथानेको त्यो पुरानो दृष्टिदोषलाई भड्काएर १८औं शताब्दीतिर फर्काउने केही दलका नेता कार्यकर्ताको सारा तिकडम् खेर गएको छ, यसपाली । बालेनलाई मधेशी बनाउने र रैथानेलाई भड्काउने चटकी कुरा पनि अब काठमाडौं शहरले नसुन्ने भएछ, नमान्ने भएछ । जुन कुरा आज भन्दा २० वर्ष अघि भन्नु त परै जावोस् सुसेलेको भए पनि शहरको कानमा पुग्ने थियो र सुरु हुन्थ्यो, थानकोट बाहिरको मान्छेले अब हामीलाई सक्ने भयो । तर हजारौं मनले बालेन्द्र साहलाई गरेको विश्वास, भरोसा, माया र सद्भावलाई कसैले हल्लाउन सकेन । यो नै नयाँ शहरको विशेषता बन्यो, मैले गुनासो पीडा पालेर बसेको त्यो पुरानो शहर अब त्यो रुपमा रहेनछ, पुरै बदलिएछ, त्यो शहर अब बाहिरिया हरुलाई पनि ममता बाँड्ने ज्ञानी र मातृवत्सल शहर बनेछ । त्यसैले पनि फेरि मेरो मनमा हुटहुटी जाग्यो र भन्न मन लाग्यो,
“आई लभ यू काठमाण्डू !”
“आई लभ यू काठमाण्डू !!”
“आई लभ यू काठमाण्डू !!!”
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



