
फोटो माग्दा गालामा थप्पड खाएको दिन
पोष्टकार्ड फोटोको त्यो जमाना !
पेशल आचार्य
सम्वत् २०४० साल तिरको सम्झना हो यो । म मेची क्याम्पस भद्रपुरमा आइए प्रथम वर्षमा पढ्थेँ । घरबाटै क्याम्पस ओहोरदोहोर गरिन्थ्यो । ऊ बेला बसहरू पातला चल्थे । करिब आधा एक घन्टामा मात्र बस आउँथे ।
बिर्तामोडदेखि भद्रपुरसम्म चल्ने बसहरू आरतीबुद्ध बस सेवा, डाँफे यातायात र अन्य नामै नभएका लोकल बसहरू समेत त्यो रुटमा चल्थे ।
म चन्द्रगढी गाउँ पञ्चायत वडा नं.–९, सिङ्ग्रीभिट्टामा बस्थेँ । त्यहाँबाट चन्द्रगढी बस स्टेण्डसम्म आइपुग्न हिँड्नुको दोस्रो विकल्प थिएन । धेरै दुःख गरेर हाइस्कुल पढियो । कहिले साइकलमा दुवै भाइहरूलाई अघिपछि राखेर स्कुल गइन्थ्यो भने धेरै जसोचाहिँ हिँडेरै जाने गरिन्थ्यो । त्यो बेलामा चन्द्रगढीमा एउटा हाइस्कुल थियो । बाँकी छेउ छाउमा स्कुलै थिएनन् ।
पछि पुहातुबारीमा निजी स्रोतबाट हाइस्कुल खोलियो । जनताले आआफूले चन्दा उठाएर खोलेका हाइस्कुललाई निजी स्रोतका हाइस्कुल भन्थे । अहिले त्यो नाम निसानै हरायो । जिल्ला र अञ्चलमै नाम चलेको हाइस्कुल हुनाले हामी मात्र नभएर धेरैथरीका विद्यार्थीहरूको शैक्षिक गन्तव्य त्यहीँ थियो । सो स्कुलमा त्यतिखेरै २ हजार विद्यार्थी पढ्थे । मैले त्यो स्कुलका बारेमा पहिल्यै नै लेखिसकेको छु ।
अँ त म टाढाबाट हिँडेर पढ्न आउँथे । मैले जीवनमा त्यो बेला पढ्न खूब दुःख गरेको छु । मेरोचाहिँ घरबाट करिब ४५ मिनेट हिँडेर चन्द्रगढी आइपुगेपछि १०÷१२ मिनेट बस चढ्ने मेलो मिल्थ्यो । तैपनि हामी बस चढ्न धित धरान छाड्ने गर्दथ्यौं । पढाइमा रस बसेको थियो । पढेरै केही बन्न सकिन्छ भन्ने छाप जो बसेको थियो । पढेका मानिसले राम्रो काम गरेर कुस्त पैसा कमाएर उच्च स्तरको जिन्दगी बिताएको आफ्नै आँखाले झल्झली देखेका हुनाले समेत हामी पढ्नमा निकै मिहिनेत गर्दथ्यौं । मैले सो वर्ष आइए प्रथम वर्षमा तेस्रो हुने अवसर समेत पाएँ । आफ्नै मिहिनेतले तेस्रो भएकाले मेरा बाआमा र भाइहरू समेत खुसी भएका थिए ।
जीवनमा धेरै दुःख गरिएको छ । अनेक ठक्कर र हन्डर खाँदै अहिलेको स्थानसम्म आइपुगिएको हो । यो जीवनका सबै रङ र अवयवहरूलाई देख्नेभोग्ने काम भयो ।
त्यो बेलामा पोष्ट कार्ड साइजमा रङ्गीन फोटोको भर्खरभर्खर चलन आएको थियो । हामी चारजना अत्यन्तै मिल्ने साथी थियौं । हाम्रो ग्रुपलाई छोटकरीमा ‘प्रफरापे’ भनिन्थ्यो जसमा प्रदीप तिम्सिना, फणीन्द्र पोखरेल, राजेश श्रेष्ठ र म (पेशल आचार्य) थियौं । सबैको एकएकओटा क्षेत्रमा विशेषता थियो । सो कुरा समेत मैले क्रिकेटका बारेमा सम्झेर लेखिसकेको छु ।
आज सम्झिने पालो चाहिँ फोटोको रहेको छ ।
पैसो अति महँगो लाग्थ्यो । सायद् नकमाउने वा पैसाले टुमटुम भएको जीवन भएर होला । मैले त्यो बेलामा जुन साथीहरूको सङ्गत पाएँ तिनीहरू मेरो भन्दा आर्थिक स्तरमा सबै माथि थिए । म नै चारजनामा सबैभन्दा कमजोर थिएँ । ती तीनजनाहरूलाई फोटोको अति सोख थियो । अझ राजेश श्रेष्ठ भन्ने साथी त सिनेमामा समेत खेल्न जान्छु भनेर भन्थे । त्यो उनको रहर थियो । हेर्दामा राम्रा राजेशको सपना सिनेमामा खेल्ने थियो । रहँदाबस्दा जीवनमा उनी म्युजिक भिडियो बनाउने र निर्देशन गर्ने सम्म भए ।
हामी क्याम्पस पढ्न जान्थ्यौं । दिनै नबिराई क्याम्पस पढ्न जाँदा हाम्रो पढाइ कसिलो हुँदै गयो । साथीहरूमा माया गाढा समेत हुँदै जान थाल्यो । ती दिनहरूलाई सम्झनाका तरेलीहरूमा राख्नका लागि हामीले फोटो खिचाउने मन गर्न थाल्यौं । भद्रपुरमा नाम चलेका निक्कै फोटो स्टुडियोहरू थिए । जसमा सङ्गम फोटो स्टुडिओको आफ्नै फूलबारी भएकाले रङ्गीन फोटो खिच्नका लागि त्यो फेमस थियो । केटकेटीहरूको लाम नै लागिरहन्थ्यो ।
हामीले पनि त्यहाँ गएर थरीथरीका फोटाहरू खिचेका छौं । परीक्षा फाराम भर्नका लागि ब्ल्याक एन्ड ह्वाइट फोटादेखि लिएर पोष्ट कार्ड साइजका फोटाहरू खिच्ने काम भएकाले त्यो स्टुडियोका दाइले हामीलाई राम्ररी चिन्दथे । हल्का ठट्टा रमाइलो समेत गर्दथे । त्यहाँ अनेक फोटाहरू खिचेको याद छ ।
एकपटकको कुरो हो हामीले फोर स्टार ग्रुपबाट निकै फोटाहरू खिच्यौं । एउटा पोज फोटो खिच्दा दुईवटा बनाउनै पर्दथ्यो र ती दुईवटाको ५० रुपैयाँ लाग्दथ्यो । यसरी तिनको फोटो व्यापार चलेको रहेछ । त्यसबेला नेपालमा फोटा धुलाइ हुँदैनथ्यो । फोटाहरू कलेक्सन गरेर हङ्कङ् या सिङ्गापुर जान्थ्यो । कसैकसैले थाइल्याण्ड समेत पठाउँथे । खिचेको दुईदेखि अढाइ महिना ठ्याक्कै लाग्थ्यो फोटा हात पर्न । हामी केटाकेटी बुद्धिकै परेछौं । फोटो खिचेको पछिल्लो हप्तादेखि गएर सोध्न थालिहाल्थ्यौं ।
‘दाइ फोटा आयो ?’ हामी उत्साही हुँदै सोध्थ्यौं ।
उनी कहिले कपाल कन्याउँदै र कहिले दिक्क मान्दै भन्थे, ‘आएको छैन । कहिले आउँछ थाहा छैन !’
फेरि उही ताल हुन्थ्यो । हामी सोध्न नछोड्ने । उनी आएको छैन भन्न नथाक्ने ।
एवम् रितले एक दिन चौथो हप्तामा म एक्लै पुगेको थिएँ । सोधे उही जिज्ञासु पाराले । उनले उही निरस पाराले भने –‘कत्ति दिक्क लगाउन सकेको । आएको छैन भनेपछि आएको छैन । छैन ।’ यति मात्र भनेर उनी चुप लागेनन् । मेरो दाहिने गालामा दिए एक थप्पड ।
‘चड्याम्म !’ मैले फोटाका बद्लामा दह्रो तमाचा पाएँ ।
रन्थनिएँ । म एक भन्नु न दुई भन्नु अनि फरक्क फर्किएँ । पछि बुझ्दा पत्तो पाएँ । देशमा त्यो बेला कहीँ कतै रङ्गीन फोटा धुलाउने कलर ल्याब खोलिएकै रहनेछन् । कोडाक, फुजी या अरु कुनै जापानीज रिलमा फोटा खिचेर पूरै भरिएपछि मात्र त्यो रिल जाँदो रहेछ । बढीमा ४२ र घटीमा ३५ वटा फोटा खिच्न मिल्ने त्यो रिलको जमानामा उभिएका हामीले अहिले डिजिटलका फोटाहरू खिचेर एकैछिनमा मन परे राख्ने नपरे डिलिट गर्ने जुन समय भोग्यौं त्यो देख्दा उहिलेको रिल फोटो र रिल जिन्दगीले अहिले पनि भूत कालमा लगिहाल्छन् ।
समयले कति फड्को मा-यो । अझै कति पखेँटा चलाउने छ तर मलाई भने त्यो फोटो स्टुडियोका दाइले चड्कन चिउरा दिएको कहिल्यै बिर्र्सिदैन । अहिले जबजब म रङ्गीन फोटाहरू देख्छु त्यो कुरा सम्झिहाल्छु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



