
केही खास छ मेरो जिन्दगीमा भने त्यो तिमी हौ
सुप्रिया खनाल
प्रेम अनौठो, प्रेम अद्भुत, प्रेम तिमीसँगको ।
कति प्यारो छौ तिमी अनि तिमीसँगको प्रेमको त न कुनै सीमा छ न कुनै गन्तव्य नै । जताजतै तिम्रै प्रेमको ऐनामा आफूलाई पाउँछु । तिमी त्यति धेरै प्रेम गर्छौं मलाई ? मेरो खुसीमा मेरो मुस्कान बनेर यी लालुपाते ओठमा छाउँछौं अनि मेरो दुःखमा आँशु बनेर मेरो यी बर्षाती नयनबाट बग्ने गर्छौं । अनि मैले कहिलेकाँही कल्पना गर्छु, बतासजस्तै होस् प्रेम दुईतर्फी सिरेसिरे । मौसम परिवर्तनको समय संयोग होस् । हल्का जाडो, हल्का गर्मी ।
बिहानको चिया चौतारीमा हाम्रो संयोगबस् भेट हुन पुगोस् । प्रेम के हो ? आफैले आफैलाई प्रश्न गर्छु अनि मेरो मनले उत्तर दिने गर्छ त्यो प्रेम हैन मोह हो, जुन अपेक्षा राखेर गरिन्छ, प्रेम त निस्वार्थ छ । जो भैई दिन्छ भइरहन्छ, कहिले टुंगिदैन कहिले मेटिदैन अनि कहिले मर्दैन पनि । अँ साँच्चै नै म र तिमीबीच पनि गहिरो प्रेम छ निश्चल अनि निस्वार्थ प्रेम ।
तिमीलाई मैले एक अपराधीको संज्ञा दिन चाहन्छु । कति मिठो अपराध गर्दिन्छौ नजरको गोलीले जति चोटि हान्छौ, झन् झन् नयाँ जिन्दगी पाए झैं लाग्छ । म एकदम स्वार्थी छु झैं आभास हुन्छ । तिमी मेरै हुनपर्छ, यो कस्तो स्वार्थ ? अरु कसैको भनी सोच्दा मुटुको चाल बदलिन्छ अनि हाल हुन्छ बेहाल । कहिलेकाहिँ त लाग्छ, कुनै दिन यो जमानाले मलाई नास्तिक ठहराउला, किनकि मेरो ओठले ईश्वरको भन्दा अधिक तिम्रो नाम पुकारेको छ ।
तिम्रो दिलको म एक मात्र त्यस्तो इमान्दार कैदी हुँ जो ढोका खुल्ला हुँदा पनि कहिल्यै फरार हुन सक्दिनँ । तिमीभन्दा पर मेरो न कुनै गोरेटो छ न त कुनै गन्तव्य नै, म हुँ सिर्फ तिम्रो दिलको बासिन्दा, जो तिनै दिलको साम्राज्यमा सदा सर्वदा रहिरहन्छु । तिमी यति नजिक छौ मेरो, मनको एकान्तमा, शुन्यतामा, बेहोसीमा, पर्खाइमा, तड्पाइमा, ढुकढुकीमा बेपर्वाह केवल खोजिरहन्छ तिमीलाई ।
म तिमीलाई मनैदेखि चाँदनी मान्न सक्छु तर रात रातभर तिमीलाई अरुले हेरेको कल्पना पनि गर्न सक्दिनँ । तिमी मलाई भुल्न सक्छौं ? यस्तो प्रश्न कदापि ममाथि नउठोु् । यादले ढुकढुकी, मुटुले धड्कन र मैले तिमीलाई भुल्न त संसार विपरीत चल्नु पर्छ । आफूसँग हार्दा हार्दै प्रेमको भाषाले जीवन जिउन सिकाउने तिमीलाई कहिल्यै भुल्ने छैन । कहिल्यै साथ छोड्ने छैन । वाचा भयो ।
हरेक कुरा गुमाइसकेर पनि केही खास छ मेरो जिन्दगीमा भने त्यो तिमी हौ । तिमी नै त छौ अरुभन्दा धेरै खास । तिमीमै लुकेको छ अलिकति आश अनि धेरै विश्वास । तिमीले छोडेर गयौ भने हुन्छु म एउटा सिङ्गो लाश । बस्, प्रेम अनि तिमीसँगको जीवन रमाइलो अनि लाग्छ विन्दास ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



