जहाँ जान्थें एउटै प्रश्न, ‘बाबुको बिहे भो ?’

कमल बयेली

“बिहे कैले गर्ने ?”

“जन्मेकै छैन होला । आजै जन्मे पनि १८ वर्ष त कुर्नुपर्छ । नत्र कानुन लाग्छ ।”

“बिहे किन नगरेको ?”

“जनसंख्या नियन्त्रण गर्न !”

किन र कैले जस्ता प्रश्नहरूमा मैले यस्तै ठट्टा गर्दै आएँ वा भनौं टार्दै आएँ । तर गहिराई अर्कै थियो । अथवा मुटुमाथि ढुंगा राखी हाँस्नुपरेको थियो मैले ।

“खूब ग¥यौ जनसंख्या नियन्त्रण ! यता छामे रित्तो उता छामे भित्तो !” भन्ने सुन्दा म आखिर त्यसरी नै त हाँसेको थिएँ ।

“जसको छैन … उसको कोई न कोई !” सुन्दा पनि त मेरो हाँसो त्यस्तै थियो । मुटुमाथि ढुंगा राखिएको हाँसो ।

उमेर जति छिप्पिँदै जान्छ त्यति नै प्रश्नहरू बढ्दै, मोटाउँदै जाँदा रहेछन् । हुँदाहुँदा मलाई पोकाको दूध खाने वर्गमा पनि राख्न भ्याए कतिले । मुख फेर्नेहरूको सूचिमा समेट्न पनि भ्याए कतिले । कोड भाषाको इस्तिरी लाउनेहरुको सूचिमा पनि मिसाउन भ्याए कतिले । घाउमा नुनचुक । धन्न आनी छोइङले “फूलको आँखामा फूलै संसार” गाइन् । मेरै लागि गाएको जस्तो लाग्यो । कवि दुर्गालाल श्रेष्ठ र गायिकालाई साधुवाद ।

जहाँ जान्थें एउटै प्रश्न, “बाबुको बिहे भो ?”

मलाई ढाँट्न मन लाग्दैनथ्यो । भनिदिन्थें, छैन । सत्ते बोल्दा केटी देखाउने सारसुर गर्थे । फोटो नै अगाडि ल्याउँथे । केटीका बारेमा बेलीविस्तार लाउँथे— यति पढेकी, यस्तो घराना, यस्ती राम्री, यस्तो ठाउँमा जागिर खाएकी । मप्रति उनीहरूको प्रेम थियो यो । मैले केवल धन्यवाद भन्न सकें । उनीहरूले सोचे होलान् केटी मन परेन । उनीहरू सोच्थे होलान् म चुजी बनिरहेको छु वा म रोज्दै छु । म अघि नबढेको त आफू अयोग्य भएर हो अरू अयोग्य भएर होइन । मेरो दुःखको भारी कसैलाई बोकाउनुपर्ने अवस्थाले मलाई बाटो छेक्छ ।

एउटा केटाको कोणबाट बिहेको योग्यता सायद मुख्य यी हुन सक्छन्— डिग्री, जायजेथा, उद्यम÷रोजगारी, पारिवारिक अवस्था र स्वास्थ्य । यी कुनै पनि आफूमा देख्दिनथें । एउटै योग्यता देख्थें काठ पसेको उमेर । लाग्थ्यो म खोटो दाम हुँ ।

एउटा मीठो सम्भावनातिर मलाई बोकेर हिँडिरहेका थिए मेरा पाइलाहरु । न्युयोर्कको सडकका गाडीजस्तै कुदिरहेका थिए मेरा पाइलाहरू । एउटा पाइला दुर्घटनामा पर्नासाथ पछाडिका सब त्यसैमा ठोक्किएर दुर्घटित हुँदा रहेछन् । यही लागू भयो मेरो जिन्दगीमा ।

ऐनामा हेर्थें जिन्दगी । ऐनामा मेरो अगाडि ठिँग उभिन्थ्यो जिन्दगी । हात पुर्पुरोमा पुग्थ्यो । आफ्नो इतिहास सम्झन्थें, आफ्नो स्खलन सम्झन्थें । आफू उठेको ठाउँ हेर्थें आफू पछारिएको घाउ हेर्थें । इतिहासको गर्वले वर्तमानको प्यास मेट्दैन भन्नेले ठीकै भनेका हुन् कि ! यो भनाइ पनि मेरो जीवनमा लागू भयो । त्यसैले रुवाउन मन लाग्छ कलम । रुवाउन मन लाग्छ अक्षर । मसँगै रोइदिएर साथ दिने यी मेरा साथीहरू ! मेरा एलएफहरु अर्थात् लेटर फ्रेन्डहरु ।

Advertise
Hike & Write

दुःख बाँडे आधा हुन्छ, सुख बाँडे दोब्बर । म भने सधैंको दुखिया । कविवर माधव घिमिरेसँग लोली मिलाउँदा यस्तो हुन्छ, “एउटा पत्र के लेखियो हृदयको रुन्चे कुना देखियो ।” आँशु माग्यो नभन्नू ल !

समय, परिस्थितिले पौंठेजोरी खेल्यो मसँग । तन–मन सबैतिर मुक्का बर्सिए । यीदुई हातले कतिपट्टि मात्र छेक्नु ? पानीमै आगो लागे केले निभाउने ? मलाई समयले नकआउट ग¥यो पटकपटक । म रिङमै ढलें पटकपटक । अनि म नारायण गोपालजस्तै रोएँ ईश्वरसँग पटकपटक—

“वारि र पारि घाम र छायँ माझैमा पियार
संसारमा जन्म दिएर ईश्वर बैंसमा नमार ।

यसैबिच शिरीषको फूल उपन्यासबाट फुत्त निस्केर सुयोगवीर दाइ टुप्लुक्क आइपुगे र भने, “तिमी पनि एउटा व्यवस्थित मानिस भए यहाँ एउटा कुनामा अटाउनुपर्छ । तिमीलाई कर लाग्छ हाँस्न, खान र बाँच्न । …तिमीलाई अटाउने ठाउँ अद्यापि छँदैछ र हुँदै जानेछ जसरी–तसरी । के हो र तिम्रो समस्या ? समस्या लिपिएका अखबारहरू, समस्या लेखिएका अनुहारहरू, गाभिएका छन् आपस्तमा, तिमी छुट्टै कहाँ छौ र ? समस्याको पनि यहाँ व्यवस्था छ ।”

सुयोग दाइलाई सुनेर फकियो मन । अनि मनभरि भक्तराज आचार्य गुनगुनाए, “अल्झें कहीँ त के भो बाटो भुलेको छैन ।”

हो त मैले बाटो भुलेको छैन । बाटो नभुल्नु भनेको ढिलोछिटो गन्तव्यमा पुग्ने सम्भावना हो । चित्त बुझाउने मेलो भन्नुस् ।

माघे ठिही फ्रिज बनेर चलिरहेकै छ । मोतिराम भट्टको पिकदूत पढ्दै गर्दा रुई, फुई र दुईका कुराले मलाई जिस्क्यायो । आफूलाई हेरें । कठै बरा भन्न मन लाग्यो । मेरो मर्मस्थानमा भुइँचालो गयो । म त आधा पो रहेछु । आधा बाँच्नु भनेको आधा मर्नु हो । हो नि हगि !

कवि हरिभक्त कटुवालको “यो जिन्दगी खै के जिन्दगी !” सम्झेँ । यसले पनि मलाई नै ताकेर हान्यो । गम्भीर भएँ । भूतपूर्व राष्ट्रिय गानको श्रीमान् गम्भीर नै भएँ । आफैंले रचेको हाइकूूमा सोधिरहें ।

मनको भारी
बिसाउने चौतारी
तिमी छौ कहाँ ?

घडीका सुईहरु समय बोकेर घुमिरहे । सेतीनदीमा धेरै पानी बग्यो । मनको लड्डु मुसाले खाइसकेछ । म पैसा तिमी पर्स, म बिरामी तिमी नर्स भन्नु मात्रै । तारादेवी सम्झाउँछिन्, सोचेजस्तो हुन्न जीवन … !

आज हाइकूमै भन्न मन लाग्छ ः

मनको भारी
बिसाउने चौतारी
को रहेछ र ?


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button