प्रेमः तिमीसँग देखेका सपनाहरुले मलाई निदाउन दिँदैनन्

मनका कुरा

सुप्रिया खनाल

प्रेम अझ प्रेम धेरै प्रेम अनि बस् अधुरो प्रेम । प्रेम अधुरो अपुरो नै किन नहोस्, यादहरु चै सधैं मिठो अनि अविरल नै हुँदोरहेछ ।

खै कस्तो प्रेम गर्‍यौँ मैले तिमीलाई अनि तिमीले मलाई । हामी एक अर्काको भएर पनि एक अर्काको हुन सक्दैनौं अनि हामी एक अर्काको नभएरै पनि सधैं एक अर्काको हुनेछौँ । थाहा छैन, किन त्यो मान्छेले आफ्नो महसूस गराउँछ जो आफ्नो हुँदैन र किन त्यही मान्छे प्यारो लाग्छ जो भाग्यमा हुँदैन ।

तिमी पनि मेरो भाग्यमा नभएर होला है, मलाई यति प्यारो लागेको । तिमी मात्र होइन, तिम्रो बोली तिम्रो व्यवहार तिम्रो हाँसो तिम्रो खुसी तिम्रा हरेक कुरा उतिकै प्यारो लाग्छ जति तिमी लाग्छौ । तिमीसँगका हरेक पलहरु मेरो मनमा थुनिएर बसेका छन् । मेरा हरेक अङ्ग अङ्गमा तिम्रा याद बग्ने गर्छन् । मेरो हरेक नशा नशाले तिम्रो स्पर्शको आभास गरिरहेका छन् । मनमुटु, दिलदिमाग हरेक ठाउँमा तिमी छौ । बस्, भाग्यमा लेख्न छुटाएछ पापी दैवले । मलाई पनि तिम्रो हुन कहाँ मन नभएको हो र ? रहरको ढोका बन्द गरेर हालतसँग सम्झौता गर्दै बाध्यताको पर्दा पछाडि अल्झिन बाध्य भएँ म ।

खै के नाम दिम म ? मेरो जिउने बस् एक मात्र सार हौ तिमी या यो भनम् मेरो भागमा नपरेको एक अमुल्य उपहार हौ तिमी । बस्, जता हेर्‍यो जे गर्‍यो तिमी नै याद हुन्छौ । लाग्छ, बिशेष धातुले बनेको छ सायद तिम्रो यादहरु । धमिलो आकृति आँखै अघि छन् जो मेटाउन मुस्किल परिरहेको छ । तिम्रा मीठा यादसँगै आँखा र ओठ एकै पटक खुल्छन् । तिमीसँगका रमणीय पलले ओठमा मुस्कान ल्याउँछन् भने तिमीसँगको दूरीले आँखामा आँशु ।

तिमीसँग देखेका सपनाहरुले मलाई निदाउन दिँदैनन् । घोच्न थाल्छ मुटु अनि पोल्न थाल्छ पीडाले छाती अनि लाग्छ कहाँ छ त्यो समुन्द्र जसको बहाबले मनभित्रको पीडा बगाएर लग्न सक्छ । यति प्रेम लेख्न सक्ने भावीले किन मिलन लेख्न सकेन ? के साँचो प्रेम सधैं अधुरो नै हुन्छ ? धेरै प्रश्न उथलपुथल हुन्छ भित्रभित्र, उत्तर खोज्न कहा जाउँ ? उत्तरको बदलामा बस् यी निर्दोष नयनले भारी वर्षा गराइदिन्छ अनि आँशु सँगसँगै म मौन हुँदै सोच्ने गर्छु, कति भाग्यमानी होला है त्यो मान्छे जसले तिमीलाई नमागी पाउनेछ अनि एउटा म छु जसले रातदिन रुँदा पनि तिमीलाई पाउन सकिनँ ।

तिमीलाई पाउन सकिनँ, यसको मतलब यो होइन कि तिमीलाई मैले अब प्रेम गर्दिनँ। म त तबसम्म तिमीलाई प्रेम गरिरहनेछु, जबसम्म आकाश र घाम छुट्टिएर रहँदैन । बस् यही आशा छ मेरा भागका हरेक खुसीहरु तिम्रा भागमा परुन । मैले भोगेका पीडाको एक छिट्टाले समेत तिमीलाई छुन नसकोस् ।मेरो यादले कहिल्यै पेल्न नसकोस् अनि विगतले तिमीलाई अन्धकारमा धकेल्न नसकोस् । बस्, यति चाहन्छु हामी बीचको माया भने सधैं यस्तै अमर रहिरहोस् ।

तिमीलाई पाउन नसके पनि सारा जिन्दगी तिमीलाई माया गर्नेछु । जरुरी त छैन, जसलाई पाइँदैन उसलाई भुलाउनै पर्छ ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button