डायरीः कोरोना मनोविज्ञान र संकटमा मानवता

तेस्रो लहरमा पहिलो लहरको कोरोना संस्मरण-१

रामेश्वरी पन्त

चीनको वुहानमा जन्मेको कोरोना भाइरस (कोभिड १९)को महामारीले आफ्नै घरभित्र कैदी बनाएको पनि दुई महिना बढी भयो । पूरै दुनियाँ अहिले कोरोना महामारीसँग लडिरहेको छ । यसबाट बच्न विश्वका प्रायः सबै देश लकडाउनको अवस्थामा छन् । घरभित्रै सिमित भएर रेडियो, टेलिभिजन र इन्टरनेटको माध्यमबाट कोरोनाको खबर लिनु मानिसहरूको दैनिकी भएको छ ।

कहाँ कति मान्छे संक्रमित भए ? कति मरे ? यिनै खबरले मान्छेलाई घरभित्रै बस्दा पनि चैन दिएको छैन । यही बेचैनीबीच पनि हामी महिलाको अधिकांश समय भान्सामै बितिरहेको हुन्छ । भान्सा केवल पकाउने र खाने ठाउँमा मात्र सिमित छैन । भान्साको लागि चाहिने सामान जुटाउनु पनि यो बेला महिलाको निम्ति निकै ठूलो चुनौति बनेको छ । यही चुनौतिले मलाई कमसे कम दुई दिनमा एकपटक बिहानै घरबाट बाहिर निकाल्छ । हातमा पानीको जार लिएर घरभन्दा करिब २० मिटरको दुरीमा रहेको पसलमा जानु र फर्कँदा दुई दिनलाई पुग्ने तरकारी लिएर आउनु पनि भान्साभित्रैको काम पर्छ ।

पसलबाट फर्कँदा आफूसँग तरकारी मात्र आएको हुँदैन, अनेक आशंका र त्राश पनि सँगै भित्रिएको हुन्छ । विश्वका लाखौं मानिसमा संक्रमण र दिनहुँ बढ्दैगरेका मृत्युका खबरले मथिंगल हल्लाइरहेको अवस्थामा नेपालमा पनि संक्रमणको तिब्रगति हेर्दा कोरोना भाइरस आफ्नै दैलोमा आइपुगेजस्तो लाग्छ । बाहिरको मान्छे कोही भित्र नआउने गेट खोल्दा पनि लाग्छ– कोरोना भाइरस ढोकाको हेण्डिलमा बसिरहेछ, कतै योसँग जम्काभेट त हुने हैन ? डराई डराई गेट खोलेर बाहिर निस्केर पसल पुग्दासम्म पनि बाटोमा कोही भेट नभैदिए हुन्थ्यो जस्तो लाग्छ । पसल पुग्यो, त्यहाँ आएका ग्राहक, पसले सबैबाट आफूलाई कोरोना संक्रमण त हुने होइन भन्ने त्राशले खान्छ । परैबाट सामान माग्यो, पैसा ति¥यो, भाग्यो । तैपनि डर लाग्छ ।

मान्छेलाई सबैभन्दा प्यारो चिज सायद पैसा नै लाग्छ होला । त्यसैले त सारा दुनियाँ यसैको पछि दगुरिरहेको देखिन्छ । तर अहिले मान्छे यो पैसासँग पनि तर्सिरहेको छ किनकी विज्ञहरू भनिरहेछन्– ‘पैसाबाट पनि भाइरस सर्न सक्छ ।’ मलाई पनि पैसादेखि डर लाग्छ अचेल र डराई डराई दुई औंलाले पैसा च्यापेर पसल जान्छु । पसलेले फिर्ता दिएको नोट उसैगरी च्यापेर घर आउँछु । फेरि गेटको हेण्डिलसँग डर लाग्छ र एउटा औंलाले त्यसलाई घुमाएर खोल्छु र त्यसरी नै बन्द गर्छु । आँगनको छेउमै रहेको धारोमा खुट्टा पखाल्छु, डिटोल साबुनले हात धुन्छु अनि त्यो पैसालाई पनि धोएर घरभित्र पस्छु । भान्सासम्म पुग्दा खोल्नुपर्ने दुईवटा ढोकाको हेण्डिलमा पनि भाइरस भएझैँ लाग्छ किनकी विज्ञहरू यसै भन्छन् । भान्सामा पुगेर फेरि डिटोल साबुनले मिचिमिचि हात धुन्छु । चश्मा, मास्क जेमा पनि भाइरस आएझैँ लाग्छ । तरकारीको त कुरै छोडौँ ! साबुन लगाउन मिल्नेजतिलाई साबुन लगाएरै धुन्छु र घाममा सुकाइदिन्छु । भान्सामा काम गर्ने हुँदा दिनमा कम्तिमा २० पटक म साबुन पनाीले हात धुन्छु तर पनि मेरो मनबाट ‘कोरोना डर’ भाग्दैन । किनकी विज्ञहरू भनिरहेछन्– ‘जुनसुकै वस्तुबाट पनि कोरोना भाइरस संक्रमण हुनसक्छ ।’

डब्लुएचओ भन्छ– ‘यो रोग संक्रमित मानिसबाट अर्को मानिसमा सर्छ ।’ तर अहिले नेपालको अवस्था हेर्दा को संक्रमित हो को होइन, छुट्याउन गाह्रो परिरहेको छ किनकी नेपालका संक्रमितहरूमा कोरोनाका खासै लक्षण देखिएका छैनन् । सामान्य मान्छे संक्रमित भएका छन् र सामान्य अवस्थामै निको भएर घर फर्केका छन् । परीक्षण गरेपछिमात्र पत्ता लाग्ने अवस्था भएकोले गर्दा मान्छेदेखि मान्छे तर्सिरहेको छ, भागिरहकोे छ । तराईका जिल्लाहरूमा यस्तै अवस्था छ । बिना लक्षणको संक्रमणले त्यहाँको अवस्था दिन प्रतिदिन भयावह बनिरहेको छ । चीनको वुहान हुँदै युरोप, अमेरिका अनि भारतमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसले लाखौं मान्छे मारिसकेको छ । छोटो अवधिमै भारतमा भाइरस संक्रमणका कारण मृत्युदर तिब्र देखिन्छ । भारतकै बाटो हुँदै नेपाल भित्रिएको भाइरस संक्रमण बढ्दो रुपमा भएता पनि मृत्युका घटना नहुँदा केही शान्त रहेको मन जेठको शुरुदेखि नै लगातार भइरहेका मृत्युका घटनाले बिथोलिन थालेको छ ।

कोरोना भाइरसका कारण मानव अस्तित्व नै संकटमा पर्नसक्ने अड्कलबाजी भइरहँदा कोरोना भाइरसले मानव अस्तित्व मात्र होइन, मानवतालाई नै संकटमा पार्न थालेको हो कि ? भन्ने कुराको महशुस गराइरहेको छ । जेठ १ गते सिन्धुपाल्चोक बाह्रबिसेकी १० दिनकी सुत्केरीको कोरोना संक्रमणबाट मृत्यु भयो । मृत्युपछि उनको लाश उठाएर घाटसम्म पु¥याउन कोही तयार भएन । अन्ततः भक्तपुरका दुईजना समाजसेवी युवाले उनको शवयात्रा चलाए, उनीहरूले नै दागबत्ति दिए, दाहसंस्कार गरे । आफन्तहरू टाढै बसेर प्यारो मान्छेको वियोगमा आँसु खसालिरहे । उता बाँकेको नरैनापुरको क्वारेन्टाइनमा बसेका एक युवा पनि अचानक क्वरेन्टाइनमै झाडाबान्ता लागेर छटपटाउँदै प्राण त्यागे । यस्तो अवस्थामा उनलाई पानी खान दिनपनि कोही तयार भएन । मृत्युपछि मात्र कोरोना संक्रमण पुष्टिभएका यिनको मृत देहलाई उठाउन कोही तयार भएन । अन्ततः डोजरको सहायताले शव गाड्ने काम भयो । उनका आफन्त र प्रियजनहरू टाढै बसेर टुलुटुलु हेर्दै आँसु खसाल्न विवश भए ।

दश दिनअघि शिक्षण अस्पतालबाट सुत्केरी गराइएकी सिन्धुपाल्चोककी ती महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको कुरा मृत्यु पछि मात्र थाहा भयो र उनको शव आफन्तलाई छुन दिइएन । विज्ञहरू भन्छन्–‘मृतकबाट पनि संक्रमण फैलन सक्छ । त्यसैले शवको व्यवस्थापन होसियारी पूर्वक गर्नुपर्दछ ।’ कहाँबाट कसरी संक्रमण भयो भन्ने कुराको कुनै पत्तो नभएकी सुत्केरीको काखमा बसेर स्तनपान गरेको शिशुलाई भाइरस संक्रमण भएन, उनलाई स्याहार्ने र साथ दिने उनका पति, सासू र नन्दलाई संक्रमण भएन । यो घटनाले ‘संक्रमितको संपर्कमा आउने जोकोहीलाई पनि संक्रमण हुन्छ’ भन्ने विज्ञहरूको मान्यतालाई नै चुनौति दिएको छ । आमा गुमाए पनि शिशुको ज्यान बच्यो, परिवार सुरक्षित रहे । सबैभन्दा खुशीको कुरा यही भयो तर यो घटनाले एउटा महत्वपूर्ण प्रश्न पनि उठाएको छ– के संक्रमितको सम्पर्कमा आउने सबैलाई भाइरस सर्छ त ? विज्ञ तथा अनुसन्धानकर्ताहरूको ध्यान यसतर्फ पक्कै पनि जाने छ ।

अस्तिमात्र फेरि गुल्मीका अर्का एकजनाको कोरोना संक्रमणबाट मृत्यु भयो । उनको शवले पनि आफन्तको हात र काँध पाउन सकेन । सुनिन्छ, सेनाको सहायतामा कतै जंगलमा अन्त्यष्ठि गरियो रे ! यी मात्र होइन, कोरोना संक्रमणबाट मर्नेहरू सबैको हालत यस्तै रहेको देख्दा मानवीय संवेदनाको पहाडमुनि यसरी थिचिन पुगेँ कि हरपल सोच्ने गर्छु–कतै मेरा प्यारा आफन्तहरूमा कोरोना संक्रमण भयो र यसरी नै मर्नुप¥यो भनें ? अनि फेरि सोच्छु– म आफै यसरी नै मरेँ भनेँ ? संक्रमित भन्ने वित्तिकै उसबाट भाग्ने, घृणा गर्ने, संक्रमितका परिवारलाई समेत घृणा, तिरस्कार र बहिष्कार गर्नेगरेका घटना ब्यापक छन् । कोरोनायुद्धमा रातदिन ज्यानको बाजी लगाएर लडिरहेका स्वस्थ्यकर्मिप्रति समाजले गर्ने गरेका व्यवहार अत्यन्त निकृष्ट छन् । समाजमा बढ्दै गएका यस्ता घटना देख्दा लाग्छ, कतै कोरोना माहामारीका कारण मानवता पनि संकटमा पर्दै गएको त होइन ?

थाहा छ मलाई– ईश्वर मन बुझाउने बाटो मात्र हो । मनमनै प्रार्थना गर्छु, ‘हे ईश्वर ! यस्तो रोग कसैलाई नलागोस् ।’ न बिरामी हुँदा नजिकै बसेर मायालु हातले सुम्सुम्याउन पाइने, न घरमै राखेर तातो पानी खुवाउँदै स्याहार्न पाइने । न अस्पताल पुगेर पनि डाक्टर नर्सको निकटता पाइने । एक्लै संघर्ष गर्नुपने, एक्लै छटपटिंदै मर्नुपर्ने । प्याराप्यारा मान्छेहरूसँग पनि टाढिनुपर्ने । न मृत्युपछि काँध थापेर घाटसम्म पु¥याउन पाइने न परंपरा अनुसार सबैभन्दा नजिकको साइनुले दागबत्ति दिन पाउने । हरे ! कस्तो समय आयो ? यही सोचेर अचेल मन मस्तिष्क खलबलिएको छ । त्यसैले त डरलाग्छ ती ढोकाका हेण्डिलसँग, पसलका तरकारीसँग, पानीका जारसँग, दूधका पोकासँग अनि धेरै त मान्छेहरूसँग । विज्ञहरू भन्छन्– यस्तो अवस्थामा मनोवल उच्च राख्नुपर्छ, मनलाई खुशी राख्नुपर्छ । तर मान्छेसँग मान्छे डराइरहेको, भागिरहेको यो अवस्थामा कसरी मनोवल उच्च राख्न सकिएला र ?

मान्छेको छटपटी, मान्छेको मृत्यु र मान्छेको विनाशको यस घडिमा कसरी खुशी रहन सकिएला र ? तर पनि यो विषाक्त र मिर्मम समयमा बाँच्नका लागि र संक्रमणबाट बँच्नका लागि पनि सजग रहँदै र आफ्नो र परिवारको मनोवल उच्च पार्दै खुशी रहने प्रयत्न गर्नुको बिकल्प छैन । हेरुँ, यो दुष्ट कोरोनाबाट आफूलाई कहिलेसम्म क्रमशः सुरक्षित राख्न सकिन्छ ।
(१० जेठ, २०७७)

क्रमशः


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button