
विवाह किन गर्ने ?
शारदा पान्डे
विवाह किन गर्ने ? भावनात्मक साथका लागि ? आर्थिक रूपले सुरक्षित हुनका लागि ? शारीरिक, मानसिक, मनोवैज्ञानिक कारणले ? सँगै जिन्दगी बिताउनका लागि ? वंश परम्परा धान्नका लागि ? केका लागि ? यी सबै कुराको ‘प्याकेजमै समाधानका लागि ? यी र यस्ता केही प्रश्नमा स्पष्ट ? भन्ने पूर्वतयारी हरेक मानिसमा हुन आवश्यक हुन्छ, जुन कुराको कमी हामी सबैमा छ ।
श्रीमतीले खाना बनाएर खुवाउँछिन्, घर सम्हाल्छिन् भनेर गरिएको विवाह भोलि श्रीमतीले ती कार्य गर्न नसक्ने अवस्था आयो भने के गर्ने ? उनलाई कुनै दीर्घ रोग लाग्यो भने के गर्ने ? यही कुरा पतिको सवालमा पनि लागू हुन्छ । आर्थिक वा भावनात्मक सुरक्षा दिन्छ भनेर गरिएको विवाहमा यी दुवै कुरा प्राप्त गर्न नसक्ने अवस्था आएमा के गर्ने ? विवाहमा जे–जे गरे पनि परिणामचाहिँ दुईजना व्यक्तिले भोग्नुपर्ने कुरा हो । राम्रो, नराम्रो, दुःख–सुख, जे अपेक्षाले विवाह गरिएको हो ती अपेक्षाहरू पूरा भएनन् भने के गर्ने ?
यी प्रश्नहरूको जवाफ नखोजीकन गरिएका कारण अहिले विवाहमा समस्या पनि आइरहेका छन् । यतिसम्म कि कतिपय अवस्थामा विवाह प्रेमको अन्त्य हुने सबैभन्दा उपयुक्त माध्यम पनि बन्ने गरेको छ ।
विवाहपछि धेरै प्रेम-सम्बन्धहरू सम्बन्धहीन बन्न पुगेका छन् । प्रेमको पूर्णतः अन्त्य भएर औपचारिक रूपमा नटुटे पनि कतिपय विवाह आफ्ना लागि नभएर अरूलाई देखाउनका लागि जीवित छन् । सन्तानको भविष्य बिग्रिएला भनेर आफ्नो वर्तमान नबाँच्नेहरूको सङ्ख्या हाम्रो समाजमा दिन प्रतिदिन बढिरहेको छ । विवाहलाई सामान्यतया पति–पत्नीबीचको सम्झौता मानिन्छ ।
सम्झौता हो ‘यस्तै त हो, सबैको उस्तै देख्छु, को पो खुशी छन् र ? यत्तिका वर्ष बितिसक्यो, अर्को मान्छे राम्रो पर्छ भन्ने के ग्यारेन्टी छ र, जिन्दगीको पहाड एक्लै छिचोल्न सकिएला र ? होइन, बुढेसकालमा त साथी चाहिन्छ’, यस्तैयस्तै सोचेर टुट्न लागेका वैवाहिक सम्बन्धलाई जोडेर बस्नेहरू हामी वरिपरि धेरै छन् ।
एक-अर्काको स्वतन्त्र अस्तित्वलाई स्वीकार गरेर अघि बढ्न सक्यो भने विवाह समाजको सबैभन्दा सुन्दर संस्था हो ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)




