घरवालीको कटाक्षपछि फेरि लेख्न सुरु गरेँ

कोरोना महामारीले हामी सबैको जिन्दगीमा केही न केही नयाँ सोच थपिएको छ । महामारीपछि भएको लकडाउनले घरमा बसेर नियमित काम गर्नेबाहेक पढ्ने-लेख्नेतिर मन तानेको थियो । महामारी र लकडाउनबारे हरेकका आफ्ना अनुभव छन् । त्यसलाई कतिले व्यक्त गर्न सकेका छन्, कतिले अनुभवमा मात्र सीमित राखे ।

मैले पनि ‘नेपालनाम्चा’मा दैनिक रुपमा एकसय ३० भन्दा बढी लकडाउन डायरीमार्फत मैले देखेको, भोगेको र अनुभवहरुलाई साटाटाट गरेँ । दैनिकी सामान्य भएपछि म पनि नियमित काममा दौडन थालेपछि लेखन यात्रामा विराम लाग्यो । मित्रमण्डलीसँग भेट हुँदा अहिले त ‘नाम्चा’मा केही पढ्न पाइएन भन्ने गुनासो पनि सुनिरहेँ । उत्तरमा मैले मुसुस्क हाँसोको भाषामा ‘लेख्नुपर्ने तर अहिले अलि व्यस्तता बढेपछि लेख्न होइन, पढ्न थालेको छु’ भनेर टार्दै गए । दिन, हप्ता र महिनैं बितेछन् । यो साता त घरवाली (परिवार प्रमुख) बाट कटाक्ष आयो । ‘विचारहरु सुख्खा लाग्यो कि क्या हो, आजकल त ‘नाम्चा’मा लेख्न छोडियो नि’, उनले घोचिन् ।

विहीबार दिउँसो त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरभित्र घामको पारमा बसेर ‘नेपाली-हिन्दी, कल, आज और कल’ पुस्तक पढ्दै गर्दा एकजना मित्रले फोन गरेर भने, ‘कता हो ?’

मैले भनेँ, ‘म त अहिले त्रिभुवन विश्वविद्यालयमा कीर्तिपुरमा छु ।’

उनले प्रश्न गरे, ‘किन त्यहाँ ?’

मैले भनेँ, ‘म पढ्न आएको, अध्यापिका आउँदै हुनुहुन्छ भन्ने खबरपछि घामको तापेर बसेको छु ।’

उनले भने, ‘के पढ्न लागेको, कति पढेको, अब ४० टेक्ने बेला भएन र ? अब त मोज गर्ने बेला हो मित्र ।’

मैले भनेँ, उमेर त कति भयो, गणना गरेको छैन तर ४० लागेपछि मोज गर्ने भन्ने गीत त सुनेको थिएँ । तर जिन्दगीको गीतको लयमा चलेन । त्यसैले म त अहिले हिन्दी भाषा साहित्यमा एमए पढ्ने थालेको ।’

‘हिन्दी, हिन्दी, ह्या बेकारको कुरा, हिन्दी पनि पढ्नु पर्छ ? हिन्दी पढेर के काम ? किन दुःख गरेको यार ?’

‘म पछिल्लो तीन महिनादेखि हिन्दी भाषा र साहित्यभित्र रमाउन थालेको छु । हिन्दी साहित्यका आदिकाल, भक्तिकाल, रीतिकाल र आधुनिककाल विभाजन गरेर त्यसबेलाका साहित्य यात्राको इतिहास पढेर, सुनेर, विद्यार्थीको तरह नोटकापी बनाएर बसेको छु ।’     

मेरो कुरा सुनेपछि मित्रले भने, ‘पढ्न लागेका रहेछ । आजकल किन ‘नाम्चा’मा लेखरचना लेख्न छोडेको हो ?’

उत्तरमा मैले भनेँ, ‘अहिले पढ्ने मात्र काम भएको छ, लेख्ने काम थाँती राखेको छु ।’

‘होइन मित्र, तिमीले हप्तामा एउटा भए पनि लेख्नु पर्ने । किन अल्छी गछौं ?’

‘है, म लेख्छु, अर्को हप्ता शनिवारदेखि’, नियमित लेखन शुरु गर्ने वाचा गरेर मित्रसँग कुरा गर्दै थिएँ । मेरा अगाडि हिन्दी विभागमा अध्यापिका टुप्लुक आइपुग्नु भयो । मैले भनेँ, ‘मित्र, बाँकी कुरा पछि गरौंला ।’ म कक्षामा पढ्न लागेँ ।

उनले भने, ‘बुढो विद्यार्थी, कति पढ्न मन लाग्छ पढ् ।’

नेपालमा बसेर हिन्दीमा एमए गरेर के काम भनेर गुनासो गरेर फोन राखे ।

‘समयमा आउन सकिनँ । माफ गर्नुहोला । बाटोमा सडक जाम रहेछ, आउँदाआउदै ढिलो भयो’, अध्यापिकाले कक्षा शुरु गर्नुभन्दा पहिले भन्नुभयो ।

मैले भनेँ, ‘केही छैन ।’

लक्ष्मी म्याडमले सेतोपाटीमा लेख्नुभयो, ‘हिन्दी साहित्यका रीतिकालको विशेषता ।’

म्याडमले यति सुन्दर शैलीमा सिकाउनु हुन्छ, एक घण्टाको उहाँको लेक्चर १० मिनेटको मात्र अनुभव हुन्छ । त्रिभुवन विश्वविद्यालयमा हिन्दी विभागमा पाँच अध्यापिका र एक अध्यापक हुनुहुन्छ । उहाँहरु सबै आफ्नो विषयमा जोडदार शैलीमा पढाउन हुन्छ ।

यो चाहिँ नलेखे पनि हुने हो भन्ने लागेपनि लेख्नु पर्छ । एमए प्रथम बर्षमा पढ्ने हामी छात्रचाहिँ २ जना मात्र छौं । म छात्र र एकजना छात्रा मात्र हिन्दी भाषा साहित्य पढ्ने गछौं । नजिकै रहेको नेपाली विभागमा सयौंको हुल देख्ने गरेको छु । राजनीतिशास्त्र, समाजशास्त्र विभागमा छात्र, छात्राको जुलुस जस्तै देखेर हामी दुई हिन्दीका छात्र, छात्रा गफिन्छौं ।

Ad

सन् २००३ तिर काशीमा संस्कृतमा उत्तरमध्यमा अध्ययन गर्दा मेरो हिन्दी भाषा सुनेर साथीहरुले मजाक गरेको इख साँचेर राखेको थिए । यो बीचमा १८ बर्षको यात्रामा हिन्दी भाषा जानीनजानि बोल्न, लेख्न छाडिनँ तर मनमा थियो, एक दिन म पनि हिन्दीमा एमए गर्छु । त्यो सपना पुरा गर्न अहिले ४० को टेको उक्लदै गर्दा मोज यात्रामा होइन, दुईबर्षे छात्र जीवनमा हरेक दिन विहान ११ः०० बजे त्रिभुवन विश्वविद्यालय कीर्तिपुर नियमित पुग्ने गर्छु ।

मैले विभागीय प्रमुख डा. सन्जिता बर्मालाई भनेको छु, ‘म प्रमाणपत्रको लागि हिन्दी पढ्न आएको होइन, म हिन्दी भाषा, साहित्यको जिज्ञासु छात्र हुँ, म सिक्न चाहन्छु । हरेक दिन ११ बजेदेखि १ बजेसम्म म विभाग र कक्षा कोठामा हुनेछ ।’

मेरो कुरा सुनेर सबै अध्यापकहरु समयमा आउनुहुन्छ । हिन्दी भाषा साहित्यको कक्षा लिनुहुन्छ ।

घडीको सुई एक अंकमा पुगेपछि कीर्तिपुरबाट दौडेर कार्यालय सुन्धारा पुगेपछि छात्रबाट म पनि अध्यापकमा परिणत हुन्छु । समयको माग भर्चुअल प्रविधिमा जोडिएर चीनको युनान विश्वविद्यालयका पढ्ने चिनियाँ छात्रा, छात्रालाई नेपाली, हिन्दी भाषा, नेपालको संस्कृति, नेपाली जनजीवन, भाषा मित्रका मीठा कुरा लेख्ने, पढ्ने, बोल्ने र सुन्ने कला सिकाउन शुरु गर्छ । अहिले ब्यबसाय सुस्ताएको छ । मित्रहरुले स्वदेश र विदेश यात्रा गर्ने टिकटका कुराबाहेक यात्राको लागि आइटीनरी तयार नगरेको महिनौं भयो ।

दक्षिण भारतीय यात्री मुक्तिनाथ यात्राका लागि हरेक दिन सोधपुछ आइ नै रहन्छ । सबैलाई भन्ने गरेको नयाँ साल २०२२ मार्चदेखि मुक्तिनाथ यात्रा शुरु गरौंला, यदि समयले साथ दियो भने । महामारीको भेरियन्ट नरोकिएसम्म यात्रा शुरुवातका लागि आउनु भन्न पनि त्यति हर्ष लाग्दैन । त्यसैले हाम्रो सेवामूलक पयर्टन व्यवसाय सुस्ताएको छ । 

साँझको समय शिवालय र देवालय यात्रा गर्ने बानी परेको छ । साँझ गुँडमा पुग्दा शरीरमा उर्जाको कमी भएर नैं ‘नाम्चा’मा नियमित लेख्न नसकेको हो ।

माफ गर्नुहोला । आफ्नो समस्या सुनाएर पन्छिन खोजेजस्तो भयो ।

घरवालीको आदेश मैले मात्र होइन, हामी सबैले मान्नुपर्छ । उनले भनिन, ‘हरेक शनिवार भए पनि लेख्नचाहिँ नछोड्नु ।’

भनिन्छ, व्यक्तिको सफलताभित्र श्रीमतीको हात हुन्छ । तर, आफूचाहिँ नलेख्ने, अर्कोले लेखेको पढ्न चाहने घरवालीको लागि भए पनि लेख्नुपर्ने भयो ।

प्रिय पाठक, अब हामी ‘नाम्चा’मा हरेक शनिवार लेखमार्फत भेट गर्ने छौं ।

विहीबार फोन गर्ने मित्रलाई भनेँ, ‘नाम्चाका लागि लेख तयार भयो ।’

उनले भने, ‘मेरो नामचाहिँ नलेख्नु नि ।’      


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button