
दिल्ली छोडेपछि जमलबाट सुरु भएको मेरो राजनीतिक यात्रा
प्रकाशप्रसाद उपाध्याय
काठमाडौं आएपछि मेरो जीवन राजनीतिको गोरेटोमा पनि अग्रसर भयो । राजनीतिको बाटो अपनाउनु मेरा लागि एउटा अकल्पनिय कुरा थियो । तर काठमाडौं आएपछि यो मेरो सेवानिवृत्त जीवनको एक वास्तविकता बन्यो । कसरी हुन गयो यो ? सोच्न थाल्दा अचम्म लाग्दछ ।
मेरो गृहनगर राजविराजका एक मित्र मोहम्मद खुर्शीद अन्सारी जमलस्थित एक पुस्तक पसल चलाउँछन् । आफूले लेखेका लेखहरु लिएर पत्रपत्रिकाहरुका कार्यालयमा जाने आउने क्रममा म त्यहाँ पस्ने गर्दथें । उक्त पसल वास्तवमा कम्युनिस्ट नेता कमर शाहजीको हो, जुन उहाँको देशावसानपछि उहाँका सुपुत्र जाहेद शाह र छोरी ज्वाईं मो. खुर्शीद अन्सारीले चलाउने गरेका छन् ।
त्यहाँ जाँदा–आउँदा जाहेद शाहसित भएको परिचयले पनि निकटताको रुप पायो । हामीमाझ दाज्यूभाई सरहको आत्मीयताको विकास हुँदै गयो । एक दिन दुवैले भने– ‘दाजू, तपाईले एउटा राजनीतिक पार्टीमा संलग्न भएर केही गर्नुप-यो ।’ उनीहरु जिस्किरहेका होलान् भन्ने ठान्दै मैले पनि जिस्किंदै सोधें– के म यस योग्य छु र ?
‘हामीले तपाईलाई जिस्काएको होइनौं । बरु गम्भीर भई भनेका होैं र यसो भन्नुभन्दा पहिले हामीले यस विषयमा आफ्ना अग्रजहरुसित सल्लाह गरिसकेका छौं । दाजुले हुन्छ मात्र भन्नु प-यो । अरु सबै काम हामी मिलाउँछौं’, उनीहरुको जवाफ थियो ।
एउटा अल इन्डिया रेडियोमा बयालीस बर्ष काम गरेर सेवानिवृत्त भएको व्यक्तिप्रति उनीहरुको विश्वासलाई देख्दा म दंग परें । एकजना पत्रकारको रुपमा भारतका राजनीतिक घटनाक्रमलाई नगिचबाट र देशको राजनीतिलाई भारतीय पत्रपत्रिकामा प्रकाशित समाचारको माध्यमले नियालेर बसेको म सरहको व्यक्तिप्रति उनीहरुको आस्थाका अनेक कारणहरु रहेको उनीहरुले मलाई बेलीविस्तारले बताए । मैले ‘हुन्छ ,म सोचेर भनूँला’ भन्ने गरे पनि यस पछिको हरेक भेटमा हाम्रो कुराकानीको एउटा विषय यो पनि हुन थाल्यो । यस बीच निष्क्रिय रहेको एक राजनीतिक दल सोसियलिस्ट इन्साफ पार्टीका अध्यक्ष शेख अब्दुल सलामसित पनि भेट भयो । दस वर्षको जनयुद्धका बेला उहाँको पार्टी क्रियाशील रहेनछ । सदस्यहरु यताउति गईसकेका रहेछन् । यसै कारण २०६३ सालको परिवर्तित वातावारणमा पार्टीलाई सक्रिय बनाउने र संविधानसभाको निर्वाचनमा पार्टीलाई संलग्न गराउने चाहना उनीहरु सबैको थियो । मैले पनि ‘लौ त, सेवाकालमा आफ्नो बौद्धिक क्षमतानुसार नेपाली भाषा र साहित्यको सेवा गरेकोले जीवनको यस नयाँ मोडमा राष्ट्रका लागि नयाँ रुपमा पनि यथासक्य केही गर्नसकिन्छ भने गरुँ र एउटा नौलो अनुभव पनि हासिल गरी हालूँ ’ भन्दै उनीहरुको चाहनालाई शिरोपर गरें । यद्यपि मलाई थाहा थियो राजनीतिक सफलताका लागि चाहिने गुणको मभित्र प्रशस्त कमी छ । तापनि राष्ट्रको सेवाका लागि आफ्नो समय र श्रम त दिउँ भन्दै म सक्रिय भएँ नयाँ मिसनमा । सोसियलिस्ट इन्साफ पार्टीको महासचिव भएपछि अनुभव गरें, त्यहाँ त गर्नुपर्ने काम धेरै रहेछ । एकातिर स्रोत र जनशक्तिको अभाव त अर्कोतिर सविधानसभाको आउँदो निर्वाचनका लागि पार्टीलाई तयार पार्ने काम । तराई क्षेत्र आन्दोलित भइसकेको थियो र पर्वतेहरुका लागि वातावरण अनुूकुल पनि थिएन, मधेशतिर घुमफिर गर्ने वा पार्टी संगठित गर्न जाने । पार्टी संगठनका लागि तराईको यात्रा अनुकूल नरहेको देखी के गर्ने कसो गर्ने भनी मैले पार्टी अध्यक्ष सैय्यद महबूब शाह र पार्टीका सर्वमान्य नेता शेख अब्दुल सलामसित सल्लाह गरें । अन्य सदस्यहरुले पनि पहिले स्थानीय स्तरमा नै काम सुरु गरौं भन्ने सल्लाह दिए । सविधानसभाको निर्वाचनको चर्चा हुन थालिसकेको थियो ।
सैय्यद महबूब शाहको परिपक्व उमेर, अग्लो कद, प्रभावशाली व्यक्तित्व, र छात्रावस्थाको उनको राजनीतिक पृष्ठभूमिका कारण उनी पार्टी अध्यक्षका लागि उपयुक्त लागे मलाई । सत्तरी वर्षको उमेरमा पनि युवासरह स्फूर्ति र स्वरको ओज सुन्दा मलाई जम्मू एवम् कश्मीरको भारतमा विलय भएताका प्रधानमन्त्री रहेका र पछि मुख्यमन्त्री बनेका शेख अब्दुल्लाको सम्झना भएर आयों ।
भारत स्वतन्त्र हुँदा जम्मू एवम् कश्मिर एक बेग्लै प्रदेश थियो । त्यहाँ राजा हरि सिंहको शासन थियो । तर स्वतन्त्रताको केही समयपछि नै पाकिस्तानतर्फका केही कबिलाहरुले त्यसमाथि आक्रमण गरे र त्यसको लगभग दुईतिहाई भागमाथि कब्जा गरे । जुन अहिले पनि पाकिस्तानको कब्जामा छ र दुबै देशबीच विवादको क्षेत्र भई राखेको छ । कबिलाहरुबाट आक्रमण हुँदा राजा हरि सिंहले भारतसित सहायताको अनुरोध गरे । उनको आग्रह र उनीसित भएको समझौता अनुसार जम्मू एवम् कश्मिरलाई विशेष दर्जा प्रदान गर्दै भारतमा विलय गरियो । विलयको बेलामा शेख अब्दुल्लाले खेल्नुभएको उल्लेखनीय भूमिकाका लागि उहाँलाई कश्मिरका प्रथम प्रधानमन्त्रीका रुपमा नियुक्त गरियो । राजा हरि सिंह सदर– ए–रियासत भए । उनको मृत्युपछि उनका सुपुत्र करण सिंह सदर–ए –रियासत बनाइए । तर जम्मू एवम् कश्मिरको विशेष दर्जालाई धेरै समयसम्म कायम राखिएन र भारतका अन्य राज्यहरु सरह उसलाई पनि समान दर्जा प्रदान गरियो । प्रधानमन्त्रीको स्थानमा मुख्यमन्त्री र सदर–ए–रियासतको स्थानमा राज्यपालको नामकरण गरियो । जम्मू एवम् कश्मिरका सरकारी कार्यालयहरुमा उसको विशेष झण्डाको ठाउँमा भारतको तिरंगा झण्डा फहराउन थाल्यो ।
शेख अब्दुल्ला अल इण्डिया रेडियोमा मेरा पूर्व कार्यक्रम निदेशक प्रेमनाथ दरका मित्र हुनुहुन्थ्यो । अनि दरकी जेठी सुपुत्रीको शुभविवाहमा सरीक हुन आउनुभएको बेलामा मैले शेख अब्दुल्लालाई नगिचबाट भेट्ने अवसर पाएको थिएँ । तर त्यतिबेला शेख अब्दुल्ला जम्मू एवम् कश्मिरका मुख्यमन्त्री हुनुहुन्न्थ्यो । भर्खरै जेलबाट छुट्नुभएको थियो । उहाँको व्यक्तित्व, कश्मिरको राजनीतिमा उहाँको प्रभाव र भारतभरि उहाँको लोकप्रियताबाट प्रभावित भएको कारणले महबूब शाहलाई देख्ने बित्तिकै मेरो आँखामा ती कश्मिरी नेताको छवि प्रकट भएर आयो । काम गर्दै जाँदा महबूब शाहजीसित मेरा विचारहरु पनि मिल्न थाले ।
राष्ट्रिय राजनीतिले नयाँ मोड लिइरहेको थियो । अनेक ऐतिहासिक र युगान्तकारी परिवर्तन ल्याउने घटनाहरुका दृश्य हेर्ने अवसर स्वदेश फर्केपछि पाउन थालें । देश जनयुद्धको ज्वालामा जल्दै थियो । हिंसा र रक्तपातले वातावरणलाई तनाउपूर्ण बनाइरहेका थिए । यस्तो तनाउपूर्ण वातावरणमा राजा ज्ञानेन्द्रले देशको सत्ता आफ्नो हातमा लिए । राजाको यस किसिमको कार्वाहीको मुकाबिला गर्न र देशलाई संकटबाट जोगाउन देशका सात प्रमुख पार्टीहरुले देशमा जनयुद्ध चलाई बसेको नेकपा माओवादीहरुका साथ २०६२साल मंसिर ७ गतेको दिन भारतको राजधानीमा १२ बुँदे समझौता र समझदारी गरे, जुन नेपालको राजनीतिक इतिहासमा एउटा कोसेढुँगा प्रमाणित भयो ।
यस सम्झौताका साथै देशमा दोस्रो जनआन्दोलनको सूत्रपात भयो । २०६२ साल चैत २४ गतेको दिन गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको यो आन्दोलन १९ दिनसम्म चल्यो । यस आन्दोलनमा दुई दर्जनजति मानिसले सहादत प्राप्त गरे । ५ हजारभन्दा बढी मानिसहरु घाइते भए वा पुलिसको दमनको सिकार भए । दिन प्रतिदिन चर्किंदै गएको यस आन्दोलनले त्यति बेला विश्रान्ति पायो जब तत्कालिन राजा ज्ञानेन्द्रले २०६३ बैशाख ८गते जनताको नासो जनतालाई फर्काउने ऐतिहासिक वक्तव्य दिए । यसले जनताको आक्रोश त शान्त भयो तर विघटित प्रतिनिधिसभाको पुनस्र्थापना हुन सकेन । अनि बैशाख ११ गते ज्ञानेन्द्र शाहले अर्को घोषणा गरे । उनको यस घोषणाबाट विघटित प्रतिनिधिसभाको पुनस्र्थापना भयो र तदनुसार २०६३ बैशाख १५गते पुनस्र्थापित प्रतिनिधिसभाको बैठक बस्यो । यसले देशमा राजनीतिक क्रियाकलापको ढोका मात्र खोलेन, देशलाई गणतन्त्रको मार्गमा अग्रसर गराउने देशको अन्तरिम संविधान बनाउने बातावरण पनि प्रदान ग¥यो ।
तिनै दिनहरुमा एक दिन नेकपा माओवादीहरुले टुँडिखेलको मैदानमा एक सार्वजनिक सभाको आयोजना गरेका थिए जसमा अध्यक्ष क. प्रचण्ड सार्वजनिक हुने व्यापक चर्चा गरिएको थियो । उनलाई हेर्न टुँडिखेलको मैदानमा मानिसहरुको अपार भीड थियो । देशमा जताततै उत्साहको नयाँ लहर फैलेको थियो । टेलिभिजन च्यानलहरुले उक्त समारोहलाई विशेष महत्व दिंदै प्रत्यक्ष प्रसारणको विषय बनाएका थिए । एक दशकसम्म जनयुद्धलाई गति प्रदान गरेका र आफ्नो एवम् आफ्ना सहयोगीहरुका टाउकाका मूल्य तोक्नेहरुलाई आफूसित समझौता गराउनमा सफलता पाएका प्रचण्डलाई हेर्न जनतामा असीम उत्साह थियो । मैले पनि आफ्नो जिज्ञासालाई रोक्न सकिनँ । तर ¥यालीको भीडबाट जोगिन टुँडिखेल नगई टेलिभिजन अगाडि नै बसी कार्यक्रम हेर्न उपयुक्त ठानें । मञ्चमा आसीन हुने गण्यमाण्य व्यक्तिहरुमध्ये गणतन्त्रवादी नेता एवम् २०४२ सालको बमकाण्डका नायक रामराजा प्रसाद सिंह पनि उपस्थित हुनुहुन्थ्यो ।
रामराजा प्रसाद सिंहसित मेरो प्रथम परिचय दिल्ली विश्वविद्यालयमा भएको थियो । हामी एउटै जिल्लावासी भएकोले उहाँप्रति मेरो मनमा एउटा निकटता, अपनत्व र सम्मानको भाव थियो । तर दिल्ली विश्वविद्यालयमा मैले देखेको एक बलिष्ठ, मनोहर र आकर्षित व्यक्तित्व भएका रामाराजालाई एक दुब्लापातला र रोगीसरह कुर्सीमा आसीन हुन लागेको देख्दा मन द्रवित भएर आयो । क. प्रचण्ड केही कारणवश उक्त कार्यक्रममा उपस्थित हुनसक्नु भएको थिएन । खिन्न मनले केही बेर कार्यक्रम हेरें । गणतन्त्रका महान योद्धाको त्यस्तो स्वास्थ्य देख्दा मन उनलाई भेट्न छटपटाउन थाल्यो । तर भेट्ने कसरी ? काठमाडौं आएको धेरै भएको थिएन । परिचितहरुको संख्या अहिले सरह धेरै थिएन । रामराजा कहाँ बस्छन् कसरी थाहा पाउने ? टेलिफोन नम्बर इन्क्वायरी अफिसबाट थाहा पाउन पनि उनी बसेको ठाउँको जानकारी हुनुपर्ने । टेलिफोन नम्बर उनको नाउँमा छ कि परिवारका कुनै सदस्यका नाउँमा ? यो पनि थाहा थिएन् । यस्ता विभिन्न प्रश्नहरुका कारण मन अधीर भइरहेको थियो ।
यसअघि २०६२ को मंसिर ७ गतेको दिन नयाँ दिल्लीमा नेकपा माओवादी नेताहरुका साथ सात राजनीतिक दलका शीर्ष नेताहरुले १२ बुँदे सहमतिपत्रमाथि हस्ताक्षर गरेका थिए । यसपछि यी दलहरुले २०६२ को चैत्र २४ गतेदेखि थालेका आन्दोलनमा देशभरिका जनताको वृहद सहभागिता भयो, जुन १९ दिनसम्म चल्यो । विभिन्न घटनाक्रमले तीब्र गति प्राप्त गर्न थाल्यो ।
विप्लवकारी नेकपा माओवादी नेताहरुका साथ २०६३ असार २ गते नेपाल सरकार र ६ प्रमुख दलहरुको वार्ताको फलस्वरुप देशको राजनीतिक परिदृश्यमा अनेक रोमाञ्चकारी परिवर्तनहरु हुन थाले । माओवादी नेताहरुका विरुद्ध मुद्धाहरु फिर्ता लिएपछि उनीहरु सार्वजनिक हुन थाले । नेकपा माओवादीका अध्यक्ष प्रचण्ड सार्वजनिक भए । यसपछि सुरु भयो विभिन्न बुँदे सम्झौताहरुको चरण । कामरेड प्रचण्ड सार्वजनिक भएपछि नेपाल सरकार र नेकपा माओवादीका बीच भएको १० बुँदे समझौता अन्तर्गत ऐतिहासिक विस्तृत शान्ति समझौता भयो । यसका साथै १० वर्षदेखि चलिआएको जनयुद्धको समाप्तिको घोषणा हुनाको साथै माओवादीहरु राष्ट्रिय राजनीतिको मूलधारमा सरिक भए । यसबाट संविधानसभाका लागि पनि निर्वाचनको ढोका खुल्यो । माघ १ गते नेपालको अन्तरिम संविधान २०६३ जारी भएपछि संविधानसभाका लागि निर्वाचनको ढोका खुल्यो ।
संविधान अनुसार २०६४ साल चैत २८ गतेको दिन ६०१ सदस्यीय संविधानसभाको निर्वाचन सम्पन्न भयो । नेपालको इतिहासमा पहिलो पल्ट भएको संविधानसभाको निर्वाचनमा मिश्रित निर्वाचन प्रणाली अपनाइएको थियो । जस अनुसार पहिलो हुने निर्वाचित प्रणालीतर्फ २४० जना र समानुपातिक निर्वाचन प्रणलीतर्फ ३३५ जना र सरकारद्धारा मनोनित हुने २६ जना गरी ६०१ सदस्यीय संविधानसभाको परिकल्पना गरिएको थियो । सविधानसभाको निर्वाचन एउटा ऐतिहासिक अवसर हो र यसमा भाग लिनै पर्छ भन्ने अध्यक्ष रामराजाप्रसाद सिंहज्यूको धारणा थियो । तदनुसार अनेक सदस्यहरु विभिन्न निर्वाचन क्षेत्रहरुबाट उम्मेदवारका रुपमा खडा भए । उनीहरुको प्रचार अभियानमा म पनि संलग्न भएँ । दीर्घकालदेखि हेर्दै आएको संविधानसभाको लागि भएको निर्वाचनमा जनताले उत्साहका साथ भाग लिए ।
यता नवजनवादी मोर्चातर्फ मेरो व्यस्तता बढ्दै जानाले सोसियलिस्ट इन्साफ पार्टीका लगि समय दिन सकिएन । पार्टी दर्ताका लागि दश हजार कार्यकर्ताहरुको मतदाता नामावली र नागरिकताको प्रतिलिपि निर्वाचन आयोगमा पेश गर्नुपर्ने वाध्यता एकातिर थियो भने अर्कोतिर यो प्राप्त गर्न विभिन्न जिल्लाहरुमा जाने मानिसहरुको अभावका कारण राजधानीबाट सोसियलिस्ट इन्साफ पार्टीका लागि हुनुपर्ने जति काम हुन पाएन । मतदातासूची संकलन गर्नमा पाइएको व्यवधानका कारण पार्टी निर्वाचन आयोगमा दर्ता पनि हुन पाएन ।
एक दिन खुर्शीद भाईको पसलमा जम्मा भएका हामी केही साथीहरुबीच कुराकानी हुँदै थियो । मधेश आन्दोलन चर्केकै थियो । कुरा गर्दागर्दै शेख अब्दुल सलाम कुर्सीबाट उठ्दै भन्न थाल्नुभयो– ‘ल अब म हिँडूँ । रामराजाबाबुकहाँ जानु छ । त्यहाँबाट मातृका यादवकाँ पनि जानु छ ।’ मलाई त के खोज्छस् कानो आँखा भन्ने भई हाल्यो । मैले शेख साहबसित एउटा काम गरी दिनका लागि अनुरोध गर्दै भनें– ‘रामराजाबाबुसित दिल्ली विश्वविद्यालयमा छात्रावस्थामा मेरो परिचय भएको भए पनि विगत ४ दशकदेखि भेटघाट भएको छैन । उहाँलाई मेरो सम्झना नहोला । तर मेरो मनमा उहाँलाई भेट्ने उत्कट चाहना छ । यसो हुँदा एकपल्ट मेरो परिचय दिएर उहाँको टेलिफोन नम्बर ल्याई दिनुहुन्छ कि ?’
‘भई हाल्छ नि ’ भन्दै उहाँ बिदा हुनुभयो । त्यसपछि एक दिन यस्तै भेटमा मैले शेख साहेबबाट रामराजा बाबुको फोन नम्बर पाएँ । भोलिपल्ट बिहानै उहाँलाई फोन गरी पाएको समयमा भेट्न पुगें । ४० वर्षअघि राम्ररी दाह्री जुँगा पनि नउम्रेको र एक दुईपल्ट मात्र भेटको किशोरलाई यति लामो अन्तराल पछि सेतो दाह्री र केशधारी बुढोको रुपमा भेट्दा उहाँलाई चिन्न गाह्रो लाग्नु स्वाभाविक थियो । तर, दिल्लीमा मेरो काका हरिप्रसाद शर्मासित उहाँको निकटता रहेको कारण हाम्रो भेटले आत्मीय रुप पायो । उहाँसित केही समय बिताएपछि म घर फर्कें र बेलाबेलामा भेट्न जान थालें ।

यसै क्रममा एक दिन थाहा पाइयो रामराजाप्रसाद सिंहले नवजनवादी मोर्चाको अध्यक्षता सम्हाल्नु भएको छ भन्ने कुरा । मैले आफ्नो सोसियलिस्ट इन्साफ पार्टीका साथीहरुसित सल्लाह गरें । अनि बताएँ, हामी पनि विभिन्न जनजातिहरु रहेका उक्त नवजनवादी मोर्चाको एक घटकका रुपमा प्रवेश गरे रामराजाप्रसाद सिंहको क्रान्तिकारी नेतृत्वबाट पार्टीलाई हुने राजनीतिक फाइदाको सम्बन्धमा । अधिकांश साथीहरुले मेरो कुराको समर्थन गरे र एक दिन हामी उक्त मोर्चाको एक घटक बन्यौं । यसपछि नवजनवादी मोर्चामा हाम्रो पार्टीका अध्यक्ष सैय्यद महबूब शाहलाई उपाध्यक्षको पद, दुईजनालाई केन्द्रिय सदस्यता र अर्को सदस्यलाई वैकल्पिक सदस्यता प्रदान गरियो । केन्द्रिय सदस्यता पाउने म भएँ भने मो. खुर्शीद अन्सारीलाई बैकल्पिक सदस्यता प्रदान गरियो । यसरी राजनीतिक मैदानमा मैले टेकेको पाइलाले मलाई संविधानसभाको निर्वाचनपट्टि डो¥याउन थाल्यो । कहिले नवजनवादी मोर्चाको बैठकमा भाग लिनुपर्ने, कहिले प्रवक्ताका रुपमा निर्वाचन आयोगको बैठकमा भाग लिन जानुपर्ने, कहिले अध्यक्षज्यूका साथ अन्य कुनै विचारगोष्ठी वा बैठकमा भाग लिन जानुपर्ने, कहिले प्रेस विज्ञप्ति तयार पार्नुपर्ने आदिले दिनचर्या व्यस्त हुन थाल्यो ।
नवजनवादी मोर्चामा पसेपछि थाहा भयो, त्यहाँ पनि स्रोतको अभाव रहेछ । जिल्लाहरुमा विभिन्न जनजातिहरुको मोर्चा सक्रिय भए पनि संगठनहरु आर्थिक दृष्टिले त्यति बलिया रहेनछन् । सबै अध्यक्ष रामराजाबाबूको नाउँ र छविको लाभ उठाउने पक्षमा रहेछन् । रामराजाबाबू अन्य पार्टीहरुले व्यापारी एवम् उद्योगपतिहरुसित चन्दा उठाएसरह चन्दा उठाउने पक्षमा हुनुहुन्न्थ्यो । तर सविधानसभाको निर्वाचन एउटा ऐतिहासिक अवसर भएकोले अध्यक्षज्यूको चाहनानुसार अनेक सदस्यहरु विभिन्न निर्वाचन क्षेत्रहरुबाट उम्मेदवारका रुपमा खडा भए । सप्तरीबाट बसाई सराई गर्दा त्यहाँको मतदाता नामावली सूचीबाट नाउँ हटाई आएको, विभिन्न पारिवारिक कारणले काठमाडौंमा आफ्नो नाउँ निर्वाचन आयोगमा दर्ता गराउन नसकेकोले म अध्यक्षज्यूको चाहना भएर पनि चुनाउमा उम्मेदवारका रुपमा उठिनँ । अध्यक्षज्यूले गृहनगरमा भएको आफ्नो जग्गा बेच्दै प्राप्त गर्नुभएको रकम र सदस्यता शुल्कबाट उठेको पैसाबाट सविधानसभाको निर्वाचनमा मोर्चाले भाग लियो । तर महँगो निर्वाचन प्रणालीमा मामूली लगानी उँटको मुखमा जीरा भन्ने उक्ति चरितार्थ हुन थालेको देख्दा चुनाउका लागि खडा भएका मोर्चाका अनेक उम्मेदवारहरुले माओवादी उम्मेदवारहरुको पक्षमा सहयोग गर्न थाले । मैदानमा भएकाहरुले जमानतसमेत गुमाउँदै पराजयको मुख हेर्नु प-यो । पार्टीले एउटा पनि स्थान जित्न सकेन सविधानसभा निर्वाचनमा ।
जंगलको भूमिगत जीवनबाट राष्ट्रिय मूलधारमा प्रवेश गरेको नेकपा माओवादी देशको पहिलो ६०१ सदस्यीय संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो पार्टीको रुपमा प्रकट भयो । त्यति बेला अन्तरिम सरकारको नेतृत्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरिरहेका थिए । राष्ट्राध्यक्षसमेतको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५साल जेठ १५गते संविधानसभाको पहिलो बैठक डाके । यसै बैठकले २४० वर्षअघि पृथ्वीनारायण शाहले स्थापित गरेका र उनका १२ वटा पुस्ताले कायम राखी आएको शाहवंशीय राजतन्त्रलाई निर्मूल मात्र गरेन देशलाई धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणराज्यको रुपमा रुपान्तरण पनि ग¥यो । लगभग चार महिनापछि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई देशको पहिलो गणतान्त्रिक सरकारको प्रधानमन्त्री बन्न गिरिजाप्रसाद कोइरालाले आफ्नो पदबाट त्यागपत्र दिए ।
राजनीतिक घटनाक्रम तीव्र गतिले बदलिरहेको थियो । संविधानसभाको गठन र गणतन्त्रको घोषणा पछि देशलाई आवश्यकता थियो राष्ट्रप्रमुखको । यसो हुँदा २०६५ साल साउन ४ गतेको दिन राष्ट्रपति र उपराष्ट्रपति पदका लागि निर्वाचन भयो । यस ऐतिहासिक निर्वाचनमा परमानन्द झा उपराष्ट्रपति पदमा ३०५ मतले निर्वाचित भए । राष्ट्रपति पदका लागि दुइजना उम्मेदवार रामराजाप्रसाद सिंह एवम् डा. रामवरण यादव मैदानमा थिए । ४ गतेको दिन भएको निर्वाचनमा कुनै पनि उम्मेदवारलाई आवश्यक बहुमत प्राप्त हुन नसक्दा साउन ६गते पुनर्निवाचनको आवश्यकता भयो जसमा डा. रामवरण यादव देशका प्रथम राष्ट्रपतिका रुपमा निर्वाचित भए ।
निर्वाचनमा विजय–पराजय सिक्काका दुई पाटा हुन्छन् । रामराजाप्रसाद सिंहको विरुद्ध नेपाली काँग्रेसले डा. रामवरण यादवलाई खडा गरेको थियो । उहाँलाई नेकपा एमालेका अतिरिक्त मधेशी जनाधिकार फोरमको पनि समर्थन प्राप्त थियो । तर पनि प्रथम चरणको मतदान निष्कर्षविहीन भयो । यसपछि एक दिन बिराएर भएको दोश्रो चरणको मतदानमा डा. रामवरण यादवले आवश्यक बहुमतभन्दा १० भोट बढी प्राप्त गरी विजयी हुनुभयो । यस सम्बन्धमा रामराजाप्रसाद सिंहले भन्नुभएको थियो, ‘माओवादीतर्फको उम्मेदवार भए पनि मधेशी जनाधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र सद्भावना पार्टीले राष्ट्रपतीय निर्वाचनमा मेरो नाउँप्रति आफ्नो समर्थनको घोषणा गरेका थिए । निर्वाचनकालमा तमलोपा र सद्भावना पार्टीले आफ्नो वचन र प्रतिबद्धताको निष्ठापूर्वक पालन गरे तर मधेशी जनाधिकार फोरम आफ्नो प्रतिबद्धतामा चुक्यो । उसले नेपाली काँग्रेस र ने.क.पा. एमालेसित गर्न पुगेको गठबन्धनका कारण ६ गतेको चुनावमा आफ्नो नीतिमा परिवर्तन ग¥यो । मप्रति जनाइएको समर्थनको बाचाको पालन नगरी उ नेपाली काँग्रेसका उम्मेदवारका पक्षमा मतदान गर्न पुग्यो । फलस्वरुप साउन ६ गते भएको निर्वाचनको दोस्रो चरणमा डा. रामवरण यादवले ३०८ (आवश्यक बहुमतभन्दा १० मत बढी) मत प्राप्त गर्नमा सफलता हासिल गरे भने म नयाँ गठबन्धनबाट प्रभावित भएर आवश्यक बहुमतभन्दा १६ भोट कम अर्थात २८२ भोट पाएर दोस्रो स्थानमा परें ।’
यसपछि २०६५ साउन ८ गते पहिलो संविधानसभाका अध्यक्ष पदमा नेकपा एमालेका सभासद सुवास नेम्बाङ निर्विरोध निर्वाचित हुने सौभाग्यशाली व्यक्ति भए ।
माओवादी नेता क. प्रचण्डले राष्ट्रपतिय निर्वाचनका लागि रामराजाप्रसाद सिंहलाई आफ्नो पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार भएकोे घोषणा गर्नुभयो । यसले निर्वाचनमा पराजयबाट खिस्रिक्क परेको नवजनवादी मोर्चालाई उत्साहित हुने र गर्व अनुभव गर्ने अवसर प्रदान ग¥यो । उक्त निर्वाचनले मलाई पार्टी प्रवक्ताका रुपमा निकै सक्रिय हुने अर्को अवसर प्रदान ग¥यो । विभिन्न मधेशवादी दलहरुसित कुराकानी गर्न जाने दलमा म सरीक हुँदा नगीचबाट उनीहरुका कुरा सुन्ने र राजनीतिक दाउपेचलाई बुझ्ने अवसर पाइयो । राष्ट्रपतिय निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने र निर्वाचनको बेलामा वीरेन्द्र सभागृहमा उपस्थित भएर सबै प्रक्रियालाई नगिचबाट नियाल्न प्राप्त भएको अवसर सेवानिवृत्तिपछिको एउटा अविस्मरणीय ऐतिहासिक घटना भयो मेरा लागि ।
राष्ट्रपतिय निर्वाचनका दिनहरुमा रामराजा प्रसाद सिंहको आवासमा खुट्टा टेक्ने ठाउँ हुन्नथ्यो । उहाँको पुरानो नेपाल जनवादी मोर्चाका सहयोगीहरु, जसमध्ये केही अन्य राजनीतिक दलहरुमा सामेल भइसकेका थिए, का अतिरिक्त २०४२ सालको बमकाण्डका कमाण्डरहरु पनि त्यतिबेला विभिन्न ठाउँहरुबाट आउने गर्दथे । उक्त अवसरमा जनवादी मोर्चा नेपालका तत्कालिन उपाध्यक्ष खेमराज भट्ट मायालू, अनारसिंह कार्की, हरिदेव मण्डल, विश्वेश्वर मण्डल (शेखर), रामप्रसाद गिरी र नन्दकिशोर यादव जस्ता क्रान्तिवीरहरुलाई भेट्ने र उनीहरुका कुरा सुन्ने अवसर प्राप्त भयो । रामराजाप्रसाद सिंहका भाइ लक्ष्मणप्रसाद सिंह र सुपुत्र डा. मनोजकुमार सिंहसित त परिवारका सदस्य सरह निरन्तर भेट भइरहन्थ्यो । वि.सं २०४२ सालको बमकाण्डमा संलग्नताका कारण यी सबैलाई मृत्युदण्ड र सर्वस्वहरणको सजायदेखि लिएर ५ वर्षदेखि २० वर्षसम्मको कारावासको सजाय निर्धारण गरिएको थियो । खेमराज भट्ट मायालूलाई भने सर्वस्वहरण र जन्मकैदको सजाय तोकिएको थियो । उहाँका लागि त जन्मकैदको सजाय पनि दुई किसिमको थियो । एउटाको अन्तर्गत ३३ वर्ष र अर्कोको अन्तर्गत २० वर्षको जन्मकैद थियो । बम काण्डको घटना पछि उहाँहरु सबै भूमिगत हुनुभएकाले भौतिक कार्वाहीबाट त जोगिनुभयो तर रामराजाप्रसाद सिंह, लक्ष्मणप्रसाद सिंह र खेमराज भट्ट मायालूको भने सर्वस्वहरण भयो । डा. मनोजकुमार सिंहलाई १० वर्षको सजाय तोकिएको थियो । नेपाली क्रान्तिका यी नायक र वीरहरुसित जीवनका केही क्षणहरु बिताउनु र यी सबैको जानकारी पाउनु पनि एउटा सुखद र रोमाञ्चकारी अवसर थियो । जुन नवजनवादी मोर्चामा सामेल नभएको भए सायद सम्भव हुने थिएन । यहाँहरुका अतिरिक्त विभिन्न पत्रकार, बुद्धिजीवी र राजनीतिज्ञहरुलाई चिन्ने अवसर पाइयो । आफ्नो जिल्लाका छात्रावस्थाका अनेक साथीहरु, जससित विगत ५० वर्षदेखि भेट हुनसकेको थिएन, लाई भेट्ने मञ्च पनि रामराजा प्रसाद सिंहको आवास भई दियो । बाहिर सडकमा भेटेको भए सम्भवतः हामीले एक अर्कालाई चिन्न पनि सक्दैनथ्यौं । हाम्रो शारीरिक बनौटमा यत्ति फरक परिसकेको थियो ।
देशमा राजनीतिक स्तरमा अनेक ऐतिहासिक, युगान्तकारी परिवर्तन ल्याउने घटनाहरुबाट उत्साह र उल्लासको वातावरण व्याप्त भएको थियो । अन्तरिम संविधान अनुसार २ वर्षभित्र संघीय लोकतान्त्रिक संविधानको निर्माण हुनु थियो । सबैभन्दा बढी मत पाएको नेकपा माओवादी (हाल नेकपा एमाओवादी)ले पुष्पकमल दाहालको नेतृत्वमा गठन भएको सम्मिलित सरकार सामु अनेक समस्याहरु थिए । शान्ति प्रक्रियालाई अन्तिम रुप दिनु, सेना समायोजनको प्रश्न र जनचाहना अनुसार संघीय लोकतान्त्रिक संविधान निर्माण गर्नुपर्ने कामको दबाब उनीमाथि त थियो नै, सम्मिलित सरकारको चक्रव्यूहमा पर्दा प्रधानसेनापति रुक्मांगद कटुवाललाई बर्खास्त गर्ने पाइला उनको लागि घातक प्रमाणित भयो । किनभने प्रधानसेनापतिलाई बर्खास्त गर्ने कार्यको राष्ट्रपतिबाट अनुमोदन भएन र पुष्पकमल दाहाल प्रचण्डका लागि यो एक यस्तो घटना प्रमाणित भयो जसको सम्भवतः उनले कल्पनासमेत गर्न सकेको थिएनन् । फलस्वरुप उनले २०६६ बैशाख २१ गतेको दिन उनले प्रधानमन्त्री पदबाट त्यागपत्र दिए ।
यता नवजनवादी मोर्चाको गतिविधिमा पनि राष्ट्रपतिय निर्वाचनको परिणाम आएपछि शिथिलता देखापर्न थाल्यो । अध्यक्ष रामराजाप्रसाद सिंहको स्वास्थ्य पनि बेलाबेलामा बिग्रन थाल्यो । रामराजाप्रसाद परिवारका सदस्यहरुका साथ दशैं एवम् छठ मनाउन र विश्राम गर्न भनी आफ्नो गृहनगर राजबिराज जानुभयो । उहाँ त्यता जानुभएपछि पार्टीमा गर्नुपर्ने खास काम रहेनन् । यसो हुँदा प्राप्त भएको समय लेखादि लेख्ने र आफूलाई देशको अतीत र संस्कृतिबाट अवगत गराउने पुस्तकहरु पढ्नमा बित्न थाल्यो ।
मैले पढेका विभिन्न कृतिहरुमा प्रमुख रहे– इतिहासकार ढुण्डीराज भण्डारीद्वारा रचित नेपालको आलोचनात्मक इतिहास, महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर कृति मुना मदन, राजनीतिक चिन्तक अरविन्द रिमालका कृतिहरु १९९७ देखि २००७साल –एक अवलोकन, नेपाल थर्काइदिने ती १९ दिन र पछाडि फर्केर हेर्दा, जनकवि धर्मराज थापाद्धारा रचित विभिन्न काव्य संग्रहहरु, संस्कृतिविद् सत्यमोहन जोशीको न्यूजीलैण्डमा पहिलो नेपाली, कूटनीतिज्ञ देवेन्द्रराज उपाध्यायको सभ्यताको देसाँधमा, पत्रकारहरु सीताराम बराल एवम् सञ्चारकर्मी भावना शर्माद्धारा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहका सम्बन्धमा लेखिएका कृतिहरु, टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानद्वारा प्रकाशित टंकप्रसाद आचार्य स्मृति ग्रन्थ, वरिष्ठ इतिहासकार तथा संस्कृतिविद् भुवनलाल प्रधानद्धाारा रचित स्वयम्भु र काठमाण्डौं उपत्यकाका केही सांस्कृतिक छिर्काबिर्का, पूर्व मन्त्री रामहरि जोशीको आत्मकथा तथा नेपाली काँग्रेससँग गाँसिएका सम्झनाहरु, कुबेर शर्माको विद्रोह– इतिहासका साक्षीहरु, कर्ण शाक्यको खोज, भरत जंगमको ख्वपदेश (ऐतिहासिक तथा सांस्कृतिक उपन्यास), छचल्किएका रहरहरु (गीत र मुक्तक संग्रह) र उर्लिएका छालहरु (कविता संग्रह), प्रणय पासाको लुकेको नेपाल, जुनु बासुकला रञ्जितकारको भक्तपुरको पञ्चदान पर्व, दीपा गौतमको काँचका पर्दा, दिव्यरत्न हाडाको दिव्य दृष्टि, माथवरसिंह एवम् डा. मीता सिंहद्धारा नेपालको प्रथम जनआन्दोलनका कमाण्डर एवम् नेपाली काँग्रेका सर्वमान्य नेता गणेशमान सिंहका सम्बन्धमा रचित कृतिहरु, सकुल थापाको मेरो देश त्यस्तो नहोस्, ध्रुव थापाको अपूर्व दर्शन– चारधाम यात्रा, नन्दबहादुर महर्जनको सांस्कृतिक पृष्ठभूमिमा सानागाउँ (थसी) सिद्धिपुर, नेपाली विदुषी डा. शोभा पोखरेल ‘पौडेल’को शोधमूलक ग्रन्थ टंकप्रसाद आचार्यको परराष्ट्र« नीति र आसाममा बसेर विभिन्न रुपमा नेपाली साहित्यको सिर्जना एवम् संवद्र्धनमा संलग्न विदुषी गीता उपाध्यायका विभिन्न कृतिहरु । अँग्रेजीका कृतिहरुमा हरिश्चन्द्रलाल सिंह, दुर्गा पोखरेल, दिव्यरत्न हाडा र सञ्जय उपाध्यायका कृतिहरु प्रमुख रहे ।
भेंटस्वरुप प्राप्त यी पुस्तकहरु मेरो लागि देशको राजनीति र संस्कृतिबाट अवगत गराउने र विभिन्न रुपमा ज्ञानवद्र्धनमा सघाउ पु¥याउने असल मित्र प्रमाणित भए । विभिन्न कृतिहरुबाट देशका ऐतिहासिक घटना, राजनीतिक घटनाचक्र, सांस्कृतिक सम्पदा र अनेक मनोरम पर्यटकीय स्थलहरुका सम्बन्धमा प्राप्त भएको विविध ज्ञानले मभित्र बेलाबखत घुमफिर गरी राजधानी बाहिरको सुन्दरतालाई नगिचबाट नियाल्ने बिचार पनि उत्पन्न गराउन थाल्योे ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



