
माटाको माया कति चर्को !
को मिलेन माटामा ? सबैको स्थायी वतन माटै त हो नि !
दीन पन्थी
सबै माटाबाट बन्छन्, माटामाथि चल्छन् फिर्छन् र अन्तमा माटैमा लम्पसार परेर माटोमय बन्छन् । हामी हौं माटैका डल्ला अर्थात् माटाबाट बनेका घैंटा । हाम्रो धारण, पालन, पोषण माटाबाटै भएको छ । अमीर गरीब सबैको घर माटो हो ।
माटैबाट आएका हामी माटैमा बसेका छौं र माटैमा मिल्नु छ ढिलोचाँडो । सुन बिछाएर चाँदी ओढेर बस्नेहरु पनि माटामा मिल्छन् । चौरस्तामा भीख माग्नेहरु पनि माटामा मिल्छन् । बोरामा निदाउनेहरु पनि माटामा मिल्छन् । लचकदार बिछौनामा निद्रा बोलाउनेहरु पनि माटामा मिल्छन् । ढिडो खानेहरु पनि माटामा मिल्छन् । मिठो खानेहरु पनि माटामा मिल्छन् । को मिलेन माटामा ? सबैको स्थायी वतन माटै त हो नि !

सुनभन्दा माटो महिमामय छ । सुनविना जीवन चल्छ, माटोविना चल्दैन । हात्ती, बाघ, भालु चितुवाहरुले सुनका मुकुट पहिर्दैनन् । मृग, चित्तल, घोरलहरुले सुनका औंठी लगाउन्नन् । बाँदरहरुले सुनको संकलन गर्दैनन् । बाँदरलाई एउटा केरा र एउटा सुनका डल्ला सँगै दिदा केरै लिएर दगुर्छ । स्वाद नहुने, नटोकिने, भोक नमेट्ने पहेंलो सुन उसलाई व्यर्थ छ । माटैमा रुप छन्, रस छन्, गन्ध छन् । माटैमा फुल्छन् केंवरा, मालती, सयपत्री र रजनीगन्धाहरु । माटैमा लहराउँछन्–धान, गहूँ, चना, तोरी र केराउहरु । गन्धवती पृथ्वीमै उम्रिएर उभिन्छन् श्रीखण्डका बोटहरु ।
माटैमा उम्रिएर जीवनदायी हुन्छन् वनौषधिहरु । रसवती पृथ्वीमै उम्रेर फल्छन्– आँप, केरा, स्याउ, अंगूर र सुन्तलाहरु । अहा ! माटाको बास्ना कति मनमोहक ! माटाको स्वाद कति मधुर ! वर्णनातीत, अनिर्वचनीय ! माटाको माया कति चर्को ! दिवाना नै बनाउने । यो आकाश, यी नक्षत्रहरु, यो पृथ्वी, यी हिमालहरु, यी पर्वत, यी मैदान र यी सागर चिरस्थायी छन् । यी सबैको अधिपति मैं हुँ भन्ने मान्छेको जीवन भने पानीको फोकाझै अस्थिर छ । पृथ्वीकै एक भाग ओगटेर म पृथ्वीपति हुँ भन्ने मान्छे अन्ततः पृथ्वीमै लम्पसार परेर सकिन्छ ।
मान्छे नै नभए पनि यो पृथ्वी मजाले चल्छ तर पृथ्वीविना मान्छे चल्न सक्दैन । पृथ्वी प्रकृति हुन्, हामी उनका प्रत्ययमात्र । यहाँ जे सौन्दर्य छ त्यो सबै पृथ्वीमा छ । यहँ जे रुप छ, जे गन्ध छ, जे स्वाद छ त्यो सबै पृथ्वीमा छ । चराचर दृश्यमान् जति छ त्यो पृथ्वी हो । माटो हुन् पृथ्वी । पृथ्वीको एक खण्डमा हामी जन्म्यौं । रोजेर जन्मेनौं ।
जन्मभूमि रोज्न पाइन्न । जहाँ जन्म्यौं ती हाम्री जन्मभूमि भइन् । उनैले हामीलाई धारण गरिन् । उनैले हामीलाई पालिन् । उनैमा हामी तल्लय हुनेछौं । माटाकी पृथ्वी कति प्यारी हाम्री ! कति राम्री ! उनैको काखमा छ देश हाम्रो ! देशमा छौं हामी । त्यहीं छ हाम्रो पहिचान ! हाम्रो अस्तित्व ! त्यसैलाई भन्छौं हाम्रो माटो ।
माटाका लागि हामी लड्छौं पनि । माटो बिर्सनेहरुले आफ्नै आत्मा बिर्सन्छन् । सुन, डलर, खाना र पोशाकसित साट्ने वस्तु होइन माटो । गहिरिएर हेरे माटामा सबै छ । रातो, कालो, खैरो, पहेंलो सबै रंगको हुन्छ माटो । पृथ्वीभरि नै हुन्छ माटो । तर आफ्नो माटोको बास्ना आफ्नै हुन्छ । त्यसमा रुप हुन्छ आफ्ना माटामा मिलेका पुर्खाको । त्यसमा पदचिह्न हुन्छन् मातापिताका । त्यसमा पसिना भिजेका हुन्छन् बन्धुहरुका । त्यसमा रगत्को आभा हुन्छ माटोका लागि लडेका वीरहरुको । त्यसमा स्मृति र भावनाहरु हुन्छन् भिजेका ।
संसार विजयीहरु पनि माटैमा लम्पसार परे अन्तमा । तिनीहरु पनि मरेर माटै बने । सम्पूर्ण अहंकार, वासना, उन्माद, वैभव र ऐश्वर्यहरु पनि चिरस्थायी रहेनन् कसैका । केवल माटो बनेनन् मान्छेका विचारहरु, भावनाहरु र कल्पनाहरु । धरतीमा असंख्य मान्छे जन्मे, मरे, सबै बिलाए माटोमा । माटो मात्र अजरामर भएर रहिरह्यो यस धरतीमा । माटाले फोहोर–दुर्गन्ध पचाएर हामीलाई स्वाद र सुगन्ध दिन्छ ।
हामी कृतघ्न छौं, माटालाई हेला गर्छौं । हामी माटो खोस्रन्छौं, माटैमा हिड्छौं, माटैमा उम्रेका खान्छौं, प्रतिक्षण माटालाई लात्तीले हान्छौं । खोइ प्रायश्चित्त गरेको ? खै माफी मागेको माटासित ? खोइ माटालाई प्रणाम गरेको ? खोइ चुम्बन गरेको माटालाई ? धुलेबाजी खेलेको होइन माटामा ? के आफ्नो माटोको स्पन्दन र धड्कन छाम्न सकेनौं हामीले ? माटै खाएर माटै कुल्चेर माटामाथि हिड्छौं हामी ।
कति राम्रो छ माटाको बस्ती ? माटाबाट बनेर माटै खाएर माटामाथि हिड्नेहरु माटैमा मिल्ने कुरा बिर्सेर मैमत्त बन्छन्, स्वर्गको गफ हाँक्छन्, माटाको ममता छोडेर आकाश ताक्छन् । माटाको ममता विचित्र छ । माटाले तानेर घर फर्कन्छन् लाहुरेहरु सुवर्णमय लंका छाडेर राम अयोध्या फर्के झैं ।
माटाको ममता जोसँग छैन त्यसलाई ज्यूँदै मरेको भनिन्छ । निर्जीव माटाका लागि मान्छेले ज्यान दिएको छ । तेरो माटो र मेरो माटोको खिचातानीमा यो माटो कतिपल्ट रगतले भिजेको छ । माटो निर्जीव हो तर देशभक्तिमा यो जीवन्त बन्दछ । माटो अचेतन हो तर मातृभूमिको ममतामा चैतन्य बन्दछ । पुर्खाका गाथाहरुमा माटो भावना बन्दछ ।
माटाका लागि पुर्खाले तन दिए, हामीले मन दिन सकेनौं । पुर्खा माटाका लागि लडे, हामी भातका लागि लडिरहेछौं । मातृभूमिको माटो उठाएर मुठीमा राखी खोइ हामीले संकल्प गरेको ?
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



