रासन ठेकेदारको कुराले चिसिएको चिया पिउन लागेँ

लघुकथा: सोझो बाटो !

विष्णु पादुका

होटलहरुमा चियाभन्दा बढी रक्सी मासुकै ब्यापार बढी हुन्छ । चिया पिउनेहरुले कुर्सी ओगटेको साहुजीहरु त्यत्ति रुचाउन्नन् । साँझ अलि छिप्पिएको थिएन । चिसो ठाउँ, चिया जुनसुकै बेला पनि अस्वभाविक हुँदैनथ्यो । जिल्लामा गनिएका नेता, ठेकदार, कार्यकर्तासँग म पनि मिसिएको थिएँ ।

मेरो कुराको त्यो कचहरिमा खास सुनुवाइ हुन्नथ्यो । म त केवल श्रोता थिएँ ।

‘अस्ति त्यो काम सकिएको ठाउँमा पुगेर आइयो दाजु, औलेलले खनेर सकाएछन् । अब कुन काम तिर लाउने ती लेवरलाई ?’, फिल्ड घुमेर आएका लेवरको ठेकेदाले चिया सुर्क्याउँदै कुरा निकाले ।

जिल्लामा ठेक्का पार्ने र बाहिर बस्ने मुल ठेकदारले खल्तीबाट सुर्य चुरोटको पाकेट निकालेर खिल्ली बाँड्दै भन्न लागे, ‘अब दशै सकियोस् अनि त्यो भिरको उकालो काट्नु पर्छ ।’

‘बाटो त तल खोलाको तिरैतिरबाट निकाल्न सकिन्थ्यो, किन माथी भिर उक्लने ओर्लने बनाएको दाजु ? पाँच लाख जतिमा त ग्याबिन लगाए पनि बाटो जोड्न सकिन्छ होइन र ?’, लेवरहरुलाई अन्नपात सप्लाई गर्ने रासन ठेकदारले चुरोटको कस लिदै सोधे ।

Ad

‘हुन त हो नि तर पचास लाखको ठेक्का मिलाउन छोडेर पाँचलाखको मिलाउनु । अनि भोकभोकै बस्नु । उकालो होस् कि ओरालो हामी हिड्नु पर्ने त होइन नि । रह्यो कुरा तलको छोटो बाटो एकदुई बर्ष हेरौं न नदिले कटान त गरेकै छ वार्षिक रूपमा । एकदुई बर्षमा त्यहाँ पनि एकदुई करोडको ठेक्का पारौंला नि ! किन आत्तिएका भाइहरु ?’

मुल ठेकदारको कुराले अरु सबैले हसिलो स्वीकार जनाए । म त्यही अप्ठ्यारो उकालो चढेर झरेर आएको थकान मेट्न पाइसकेको थिईन । त्यो कुराले म आफ्नै सोचाइतिर गहिरिएछु ।

‘ओहो ! पोहरसम्म हिँडेको सोझो र छोटो बाटो हिँड्न अझै दुइचार वर्ष कुर्नुपर्ने भयो । टोपी खस्ने उकालो र खुटा नअडिने त्यो ओरालोले कति सकस भएको ।’

‘ओ सर ! चिया सेलायो पिउनु न’, रासन ठेकेदार भाइको कुराले म चिसिएको चिया पिउन लागेँ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button