
ऊ पश्चिम लागी, म पूर्व
कथाः विपरीत
धनञ्जय दवाडी
बेंसीसहर, लमजुङ ।
चेपे किनारको स्याउले बजारमा विकासे कार्यकर्ता आएका छन् भन्ने हल्ला बिहानै सुनेँ । कुन्नि किन हो यो हल्ला साह्रै मीठो लाग्यो । मनमा आशा पलाएर त होला, म ओरालिएँ । जिन्दगीको झन्डै आधा यात्रा सकिएपछि यसरी एक्कासि हाम्रो भेट होला भनेर सोचेकै थिइन । तिमीसँग भेट भयो, एनी के लाग्छ ! बीच बजारमै भेटियौ तिमी, तिमीले ट्वाल्ल हे-यौ । मैले पनि हेरेँ, बर्साैँपछि धीत मरुन्जेल ! तिम्रो मुहारमा एक्कैचोटि सयौँ वाटको बत्ती बल्यो, बिस्तारै जिरोमा झ-यो र फेरि चम्क्यो । तिमी मुस्कायौ मुसुक्क । निर्दोष अनुहार, सेतो वर्ण, छोटो कपाल, सुराही आकारको शरीर ।
‘के छ अतुल ?’, उसैले सोधी खबर पहिलोपल्ट । मैले हारें, त्यसो त हरेकपल्ट एनीसँग हारेको छु मैले बोल्नमा, पढ्नमा । प्रेमपत्र लेख्न पनि एनी नै फस्ट थिई । इः अहिल्यै भई । के गर्ने ?
‘ए अतुल, बोल्न नसक्ने बानी अझै छ ?’
‘म तिमीलाई माया मार्न नसक्ने पनि त छु नि !’
‘ए हो र ! बोल्न त नसक्नेले माया गर्छ भनेर कसले पत्याउँछ ?’
‘तिमीले नपत्याएर त यो हालत भयो नि !’
‘अझै झुट बोल्ने बानी छ ? तिम्रा लागि सबै कुरा मेरा लागि भन्दै आफ्नो विचार लाद्ने पुरानो बानी अझै छ है तिम्रो ?’
‘छ ।’
‘के के छ ?’
‘उही के त शिवजी बन्ने !’
अब ऊ गम्भीर भई (कुरो के भने कलेजमा एकदिन कुन देवता मन पर्छ भनेर सोधेकी थिई । मैले शिवजी भनेको थिएँ । त्यही भएर हो त तिमीले भाङ खाएको ? होइन म लागुपदार्थ खान्न, मैले इमान्दारी प्रकट गरेँ । अनि किन मन पराएको त ? शिवजी फक्कड छ, अनि क्रेजी लभर पनि त हो नि ! त्यसैले तिमी कोसँग क्रेजी छौ त नि ! त्यो त तिमी नै हौ नि ! सायद त्यही दिनबाट हो क्यारे एनीले मेरो ख्याल गर्न थालेकी !)
उसको गम्भीरताले किन छुन्छ मलाई । मन एक तमासको हुन्छ । मुटुको धड्कन बढ्छ, आँखा रसाउँछन् । यी सब विगतका कुरा हुन् त्रिचन्द्र कलेज पढ्दाताकाको, अहिलेको होइन । अहिले त उसको गम्भीरपन देखेर पो त !
…
‘तिम्रो के छ त एनी ?’
‘ठीकै छ, तिम्रो नि !’
‘तिम्रो अघिल्तिरै छु क्यारे, कस्तो देख्यौ ?’
‘झन् काले जस्तो’, ऊ खित्खिताई ।
‘यो त गरिबी र परिस्थितिको चित्र पो हो म्याडम एनी !’
‘यो सब बीसौं शताब्दीका तिम्रा डाइलग हुन् ,थोत्रा भएनन् अझै ? परिवर्तन गर्नुपर्दैन ?’
‘जसले परिवर्तन गर्ला भन्नेथ्यो, अखिर उही परिवर्तन भई, के गरुँ ?’
उसले ट्वाल्ल हेरी मलाई । हेरेँ मैले पनि, फेरि कति वर्षसम्म भेट नहुने हो थाहा छैन, थाइ कट कपाल गर्धनसम्म झरेको, सुलुक्क परेको घाँटी, चम्किला र काला आँखा, मीठो मुस्कान । आँखा झुुकाई ।
‘के मेरो मात्रै दोष हो र ?’
‘होइन ।’
‘त्यसो भए कसको त ?’
‘सब मेरो हो एनी, जीवन जिउन नजान्ने सब मेरो ।’
बर्साैँपछि दोबाटामा भेट्दा विगतको प्रेम नसम्झे के सम्झने त ? क्या काइदाको प्रेम थियो । रत्नपार्कमा भेट हुँदा परिचय माग्ने पनि उही थिई । ट्युसन पढाइ दे भनी, पढाइदिएँ राम्रैसँग । पहिला पैसा दिई, पछि उसैले राखी उसको बाबुको पैसा । ‘प्रेम गर्न थालेँ’, भन्थी । ‘भै गयो नि त’, भनिदिएँ । कति सजिलै भयो प्रेम । समय हो चिप्लिरह्यो आफ्नै गतिमा ।
समाज रुपान्तरण । सामाजिक क्रान्तिका कुरा गर्दै सहर छाडेँ मैले । स्नातकोत्तरपछि जागिर खान एनीले भने पनि जनवादी क्रान्ति ढिलो होला कि भनेर हिँडेँ म गाउँबाट सहर घेर्ने युद्ध लड्न । सिद्धान्तका लागि जीवन बुझाउने यात्रामा निकिएको म आदरणीय नेताले सहिदको पङ्क्तिमा लाम लाग्न गरेको आग्रहलाई महान ठान्थेँ । सायद यही भ्रमले एनीका व्यवहारोयोगी विचार मलाई मन परेन । छाँटे सामाजिक क्रान्ति पूरा नभै विवाह नगर्ने आदर्श सिद्धान्त ।
‘क्रान्तिका अघि केको विवाह ?’
खुब रोई । मैले पनि रोई दिएँ धुरु धुरु । खुब सिकाएँ क्रान्तिको महत्व । क्रान्तिपछिका स्वर्णीम दिनका सपना देखाएँ । उसलाई विदा गरेँ । ऊ रुँदै गई ।
…
त्यसपछि जीवन एक्लै, दिनमा एक्लो, रातमा एक्लो, उही राजनीति, भाषण, चुनाव, हुलदङ्गा, बैठक र अन्तक्र्रिया ।
…
‘किन रोएकी एनी ? मैले केही भनेँ र ?’
‘होइन त्यसै मन भरिएर आयो र मात्रै ।’
‘आफूलाई किन यति साह्रो इनसेक्युर फिल गछ्र्यौ ।’
‘वैवाहिक जीवनमा भएर पनि अपनत्व नपाएर त हो नि !’
‘एक्लोपनमा नै अपनत्व पाउन सकिन्छ एनी ।’
‘कसरी ?’
‘जसरी मेरो जीवन चलेको छ ।’
‘तिमी त सिद्धान्तलाई जीवन अर्पण गर्ने मान्छे ।’
‘त्यो त मेरो बुझाइमा रहेको भ्रम मात्र थियो ।’
‘त्यसो हो भने तिम्रो अहं हा-यो त ?’
‘होइन, म एक्लै अहंको लडाइँ लड्दै छु ।’
‘त्यसो भए तिम्रो पराजय निश्चित नै छ ।’
‘के तिमी मेरो पराजयको कामना गछ्र्याै ?’
‘होइन मेरो मुटु तिम्रै लागि धड्कन्छ, के तिमीसँग त्यही मुटु छ र ?’
‘हो, छ अझै, धड्कन्छ तिम्रा यादहरुमा ।’
‘हस् त धन्यवाद । म गएँ ।’
ऊ बिदा भएर पश्चिम लागी, म पूर्व लागेँ । म अझ पूर्वपश्चिम भएर कति दिन बाँचूँ ?
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



