
स्यावास बुहारी ! मलाई यसरी नै गाली गर्ने आफ्नो मान्छे चाहिएको थियो
कथा: लघु जीवन
गीताश्री शर्मा
गान्तोक, सिक्किम
त्यो दिन, दोकानमा एक्लै थिएँ । एकजना अग्लो, गोरो, चौडा छाती, टाईसुट, शिरमा चटक्क नेपाली टोपी ढल्काएको, हातमा सुट्केश, हेर्दै भलाद्मी मान्छे, दोकान अगाडि उभिएर प्रश्न गर्नुभयो, ‘भाइ हुनुहुन्छ ?’
‘हुनुहुन्न ! कतै निस्कनु भएको छ !’, मैले जवाफ दिएँ ।
‘तपाईं चाहिँ, स्टाफ ?’, आगन्तुकको प्रश्न ।
‘हजुरको भाइ भने म बुहारी ! दोकानमा बस्छु, स्टाफभन्दा फरक नपर्ला सर !’, मैले हाँसेर जवाफ दिएँ ।
थरर कामिरहेका हात जोड्दै अगन्तुकले भन्नुभयो, ‘नमस्कार बुहारी ! मलाई अलिकति सहयोग चाहिएको थियो ।’
मातेको जस्तो अनुहार, परैबाट रक्सीको गन्ध ह्वास्स आइरहेको । डर डर लाग्यो । एक्लै थिएँ । बोल्दै गएर प्रवेशद्वारको चुकुल लगाएँ अनि सोधेँ ।
‘कस्तो सहयोग सर ? मबाट हुनसक्ने हो कि ?’, धर्म निभाएँ ।
‘मलाई दश हजार रुपियाँको सख्त खाँचो छ, भोलि नै फर्काउने वचन दिएँ ।’
म अन्योलमा परें । न चिनेको, कहिल्यै नदेखेको मान्छे, कुन आधारमा दिने ? श्रीमानले केही दिनअघि मात्र भनेको कुरा मेरा मस्तिष्कमा टक्क अघाडि उभियो ।
‘दोकान हो, थरी थरीका मान्छे आउँछन्, सौहार्दता देखाउनुपर्छ, चनाखो रहनुपर्छ ।’
‘भरखरै पोस्ट अफिसबाट किताब आएछ, दोकानको पैसाले लिन पठाएँ सर ! मेरोमा त छैन, उहाँ हुनुभएको भए कुरा अर्कै हुने थियो’, मेरो कुरा खस्नै नपाई नव आगन्तुक हाँस्नुभयो र भन्नुभयो, ‘आमामा यत्रो पसलकी मालिक्नी भएर त्यसो भन्न लाज लाग्दैन ? लु ! पाँचै हजार भए पनि अहिलेलाई काम चलाउँ न ।’
‘सर ! मलाई अप्ठ्यारोमा पार्ने कुरा नगर्नुहोस् न ।’
उहाँको विनम्रता अझ मलिन हुँदै गयो । चार हजार, दुइ हजारबाट एक हजारमा पुग्दा मेरो कन्सिरी तात्तियो । म भएँ दोकाने, रिसाएर भएन, नम्रभाव प्रकट गरें, ‘हजुर मेरोमा छैन, कहाँबाट दिउँ ?’
‘पाँच सय भए पनि पाउँ न बुहारी !’, उहाँको शरीर पनि थरर कामिरहेको थियो, जोडेका हात जोडिन मानिरहेका थिएनन् ।
‘छैन भनें त सर ! मैले कहाँबाट ल्याएर दिने !’
सज्जनले बोक्नु भएको सेम्सोनाइटको सुट्केश दोकानमा भएको काउन्टरको टेबलमा राखेर हातमा लगाउनु भएको रोलेक्स घडी खोलेर दिँदै भन्नुभयो, ‘बुहारी नानी यो घडी जाकटी राखेर दुइ सय रुपियाँ दिनुहोस्, भोलि आएर तपाइँको पैसा तिरेर लान्छु !’ कोनि केलाई भन्दा देख्नेलाई लाज भनेजस्तो भयो, किंकर्तव्यविमूढ भएँ, भित्र पसेर ब्यागबाट पचास पचासको दुइवटा नोट ल्याएर दिँदै आदरभावका साथ भनें, ‘सर ! मेरोमा यति नै रै’छ, यही भए पनि लगेर काम चलाउनुहोस्, तपाइँंको नारी खाली गरेर घडी त म अवश्य राख्ने छैन !’
उहाँको अनुहारमा कान्ति झल्कियो, कुखुराले मकै टिपे पाराले नोट समाउनु भयो र ‘धन्यवाद बुहारी !’ भन्नुभयो !
म अलिक रिसाएर बोलेँ, ‘हजुर हेर्दा यस्तो भलाद्मी, सज्जन अनि विद्वान् देखिनुहुन्छ, बोली र हाउभाउमा विद्वता झल्किन्छ । रक्सी नखाँदा हुँदैन ? किन खानु हुन्छ यसरी ? दवाई – पानीको लागि भन्नु भ्एको भए दुइ-चार सय दिन असजिलो हुने थिएन, हजुरको व्यवहारमा सज्जनपन झल्किन्छ तर व्यहोरामा ! मैले अनुभव गरें ।’
खोलेको घडी नाडीमा लगाउँदै नव आगन्तुक सज्जनले भन्नुभयो , ‘स्यावास बुहारी ! मलाई यसरी नै गाली गर्ने आफ्नो मान्छे चाहिएको थियो । मेरो भाइले तैनमा राख्ने बुहारी पाएछ , हामीलाई खबरै नगरी बुहारी भित्र्यायो भन्ने कुरा थाहा पाएका थियौं, अत्यन्त प्रभावित भएँ । भाइको कारोबार राम्रो छ, अझ यसलाई सम्हाल्ने, भाइलाई साथ दिने प्रभावशाली बुहारी देख्दा अत्यन्त खुशी लाग्यो । मैले बुहारीको मन चोरेको मात्र थिएँ, मन नदुखाउनू ।’
सुटकेश खोलेर पाँचसयको एउटा बिटा निकालेर दशवटा नोट मेरो हातमा थमाउँदै भन्नुभयो , ‘बिहेमा नबोलाए पनि जेठाजुबाट आशीर्वाद ! यसबाट आफूलाई मनपर्ने केही किनेर लगाउनू । भाइलाई म आएको थियो, वाक्कै पारेर गयो भनिदिनू । यो सुटकेश यहीँ रहोस्, यो भन्दा सुरक्षित ठाउँ अन्त कतै छैन । म भोलि लिन आउँछु । बुहारीलाई चिनें, मेरो भाइ भाग्यमानी छ, अब ढुक्क भयो । अब यो खुशीमा फेरि पिउँछु ।’
आगन्तुक पाँच सयका रहल नोटले हम्किंदै, गालामा फ्यार्र पार्दै सिँढीबाट चडेर उकालो लाग्नुभयो, आफ्नो परिचय भने दिनुभएन । मेरो मनमा उत्सुकता जाग्यो ! को हुनुहुन्छ होला उहाँ ?
भोलिपल्ट मैले दोकान नखोल्दै अर्कै थ्री पीस सुटमा राजकुमार जस्तै भएर दोकानको बाहिर हिजो आउनुहुने सज्जन उभिरहनु भएकोरहेछ, मैले मेरो आदर र नमस्कार भन्न नपाउँदै परैबाट , ‘बुहारीलाई दर्शन गरें है’ भन्नुभयो ।
उहाँले राख्न दिनुभएको कालो सेमसोनाइट सुटकेश लिएर जानुभएको फेरि दर्शन गर्ने सुवर्ण अवसर पाइएन, अब उसो पनि उहाँको त्यो सौहार्दता, आफ्नोपनको बाटो हेराइमा दिनहरू बितेर गएका छन् । आशा छ ! ‘दर्शन गरें है !’ प्रतीक्षामा छौं, उहाँ फेरि आउनुहुनेछ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)




दिदी को कथा अति राम्रो, कथा पढ्दै गर्दा अघिल्लो दिन को कथामा सुपरमार्केटको जनपक्ष स्थल र उकालो सिढी अनी त्यो मान्छे मैले पनि कही कतै उभिएर हेरि रहेको छु, देखीरहेको छु जस्तो लाग्यो।