सुमित्राले सोधी, ‘जहानको माया लाग्दैन ?’

मनोविज्ञान कथाः त्रिकोण

आज पनि राजुले नराम्रो पिटाइ खायो, आफ्नी आमाको हातबाट । ऊ रुँदै कहालिँदै आश्रय खोज्न मेरो कोठामा आयो । म पढ्दै गरेको पुस्तक पन्छाएर राजुलाई सुम्सुम्याउँदै सोध्छु, ‘किन राजु के भयो ? किन रोएको ?’

ऊ अझै रुँदै भन्छ, ‘मामुले पिट्नुभयो ।’

‘किन र के ग-यौ तिमीले ? खाना खान मानेनौ होला’, म सोध्छु ।

ऊ फेरि रुँदै भन्छ, ‘हैन, हजुरले दिनुभएको पेन मामुले कसको भनेर सोध्नु भयो, मैले बाबाले दिनुभएको भनेँ, अनि बाबा भन्छस् भनेर पिट्नुभयो । म अब मामु कहाँ जान्न, बाबासंँगै बस्छु ।’

उसको विलौना सुनेर मलाई साह्रै नमीठो लाग्यो ।

राजु मलाई बाबा भन्छ । उसकी आमा राजुले मलाई बाबा भनेको सहन सक्तिन । विचरो अवोध राजुले यस कारणबाट धेरै पटक पिटाइ खाइसक्यो । उसकी आमा मलाई ‘अङ्कल’ भन्न लगाउँछे राजुलाई । तर राजु ‘मेरो कोही अङ्कल छैन,बाबामात्र हुनुहुन्छ’ भनेर मलाई बाबा नै भन्छ । समस्याको मूल कारण यही हो ।

एक क्षणपछि राजु हिक्क हिक्क गर्दै एउटा यस्तो प्रश्न गर्छ, जुन प्रश्नले म रन्थनिन्छु । ऊ सोध्छ, ‘बाबा किन मामुले मलाई हजुरलाई बाबा भन्न नदिएको ?’

यो प्रश्नले म साह्रै मर्माहत हुन्छु र असमञ्जसमा पर्छु । कसरी भनौँ म यो अबोध बालकलाई कि म उसको बाबा होइन, उसको घरमा डेरा गरी बस्ने एक डेरावाल हुँ, पराइ हुँ, ऊसँंग मेरो केही नाता छैन भनेर । कुन आँटले भनौँ म ‘राजु तिम्रो बाबा मरिसक्यो, यस संसारमा अब तिम्रो कोही बाबा छैन’ भनेर ।

मलाई यो गजबको विडम्बना आइपरेको छ । कैयौँ प्रयासपछि बल्लबल्ल डेरा पाएर बसेको यो घरले मलाई एउटा अनौठो धर्मसङ्कटमा पारेको छ । यो घरकी घरधनी सुमित्रा राजुकी आमा हो । तीस वसन्त पनि पार गरिनसकेकी सुमित्राको बैंसमा डँढेलो सल्काएर उसको लोग्ने एउटा दुर्घटनाको सिकार भई बितेछ । त्यहाँदेखि आफ्ना बैँसका रङ्गीन उन्मादहरूलाई रङ्गहीन फुस्रा बस्त्रले बेरेर, सारा रहरलाई सुनका मसिना दुई चुराको हत्कडी लगाएर ऊ बाँचिरहेकी छे– छोरो राजुका कारण । उसका सासू÷ससुरा उहिले नै नफर्कने बाटोतर्फ लागिसके ।नन्दको विवाह भइसक्यो । उसको माइतीमा आफ्नी आमा हैन, सौतेनी आमा छिन्, दाजुभाइ कोही छैनन् । सौतेनी माइतीबाट उसले केही आधारको आश गर्नु व्यर्थ छ । उसको आफ्नो भन्नु नाबालक छोरो राजुबाहेक अरु कोही छैन, सात अर्ब मानिस बसेको यो संसारमा । राजु समर्थ नहुञ्जेल न उसको समाउने हाँगो छ, न टेक्ने लौरो । उसले आफ्नो घरका कोठा बहालमा लगाएकी छ आर्थिक भरथेगका लागि । एक टुक्रा खेत र केही बारी पनि छ । घरको छिँडी तलामा गलैँचा बुन्नेहरूको एक समूह छ, बीच तलाको दुईटा कोठा मैले लिएको छु र माथिल्लो तलामा छोरो लिएर ऊ बसेकी छ ।

राजुले मलाई बाबा भन्दा उसलाई साह्रै मर्म पर्दोरहेछ । त्यसैले ऊ पहिला राजुलाई पिट्छे अनि आफैँ आँसु खसाल्दै आफ्नो कोठातिर जान्छे र धेरैबेरसम्म ढोका थुनेर भित्रै बस्छे । मलाई बाबा भनेको कारणबाट यो निर्दोष बालकले धेरै पटक पिटाइ खाइसक्यो तर पनि उसले मलाई बाबा भन्न छाडेको छैन । आज पनि त्यही घटना दोहोरियो । अहिलेसम्म त मैले यस सम्बन्धमा आफ्नो केही प्रतिक्रिया जनाएको थिइन । तर आज साह्रै ननिको लागेकाले म राजुलाई डो¥याउँदै उसकी आमा भएको ठाउँमा गएँ । ऊ मलाई देखेर शिर निहु-याउँछे । म आफ्ना सबै साहस, रिस, झोंक बटुलेर उसलाई भन्छु, ‘माफ गर्नुस् सुमित्राजी, मेरै कारणले गर्दा यो अवोध बालकले धेरै पिटाइ खाइसक्यो, अब पनि उसले पिटाइ खाएको मलाई सह्य हुने छैन । त्यसैले म आजै कोठा सर्छु । यो महिनाको भाडा दिन बाँकी थियो लिनूस् ।’ यसो भन्दै मैले रुपियाँ उसको अगाडि बढाएँ । उसले झुकेको शिर विस्तारै उठाएर मेरो अनुहारमा हेरी । हेर्दाहेर्दै उसका दुवै आँखाबाट बररर… मोतीका दाना बर्सन लागे । दुई दाना गहको बाटो गरी उसका पुष्ट गालामा आएर विश्राम लिए ।

यो दृश्य देखेपछि मेरो केही बोल्ने साहस भएन । म किंकर्तव्यविमुढ भई टोलाइरहेँ । हेर्दाहेर्दै उसका आँखाबाट फेरि आँसुको अर्को भेल बग्यो र गहभरि, गालाभरि छरपस्टियो । मेरो एउटा ठूलो कमजोरी छ, अरुको आँसु देख्नै सक्तिन । त्यसैले जुन साहस, रिस, झाेंक लिएर आएको थिएँ ती सबै अहिले कता विलाए, कसरी ओइलाए म भन्न सक्तिन । अहिलेसम्म कहिले आमाको कहिले मेरो अनुहारमा पालैपालो हेरेर अचम्भित भइरहेको राजु मेरा आँखा पनि रसाएको देख्नासाथ मेरो कम्मरमा अङ्गालो हालेर ऊ पनि रुन लाग्यो, ‘किन रुनुभएको बाबा ? मामुले हजुरलाई पनि रुवाउन लाग्नुभो, जाउँ, जाउँ यहाँ नबसौँ’ भन्दै मलाई तान्न थाल्यो । म पनि त्यस कोठाको परिवेश सामना गर्न नसक्ने भइसकेको थिएँ । त्यसैले राजुलाई लिएर आफ्नै कोठातिर ओर्लिएँ । अघिका रुपियाँ मेरो हातमा जस्ताको त्यस्तै थिए । मैले गरेको व्यवहारप्रति मलाई एक प्रकारको ग्लानी महसुस भयो । साँच्चै निष्कपट नारीको आँसु र मुस्कानसंँग सामना गर्ने साहस कुन पुरुषको होला र ?

त्यस दिनदेखि सुमित्राले राजुलाई पिट्न छाडी । ऊ अब मलाई निर्धक्कसंँग बाबा भन्छ । यो बालकले ममा कसरी उसको बाबुको व्यक्तित्व पायो ? यसैमा मलाई अचम्म लागेको छ । म कहाँको मान्छे, न मेरा आफन्त कोही यहाँ छन्, न यो ठाउँमा म पहिले कहिल्यै आएको थिएँ, न यहाँबाट सरुवा भएपछि फेरि यहाँ आइएला र ? केवल जागिरले गराएको परिक्रमामा म यहाँ आइपुगेको हुँ । तर अब त यो घर, यो ठाउँमा निकै आफ्नोपन पाउन थालेको छु मैले र यसको मुख्य कारण राजु हो भन्नेमा म विश्वस्त छु ।

केही समयपछि म अफिससमेत जान नसक्ने गरी बिरामी परेँ । सुरुमा त अत्यास लाग्यो, आफ्ना कोही छैनन् । एक कप पानी उमाली दिनेसम्म कोही छैन । होटलको खानाको भरमा बाँचिरहेको एक्लो परदेशी मान्छेलाई विरानो ठाउँमा बिरामी पर्दा साह्रै कठिनाई पर्छ । तर मेरो त्यो अत्यास सबै निरर्थक भयो । सुमित्राले मेरो स्याहार यसरी गरिन् कि सायद म आफ्नै घरमा बिरामी भएको भए पनि त्यति साह्रै दुःख गरेर मेरो स्याहार सुसार गर्न न मेरी रोगी बूढी आमाको बलले भ्याउँथ्यो न मेरी भाउजूले नै फुर्सद पाउँथिन् ।

मलाई सुमित्राले बिरामीबाट राम्रैसंँग उतारी । बिरामीबाट उत्रँदा मैले केही नौला अनुभूतिहरू आफ्नो मनमा टुसाउन लागेको पाएँ । अब सुमित्राले मलाई होटलमा खाना खान पूरै बन्देज लगाई, फेरि बिरामी पर्छ भनेर । आजभोलि सुमित्राकै भान्छामा खान्छु म, पेइङ गेस्टका रूपमा । कति मेहनत गरेर पकाइ तुल्याइ गर्छे ऊ ।

आज बिहान खाना खाने बेलामा राजु भन्दै थियो, ‘बाबा हजुरले हामीसँगै खाना खान थालेपछि त मामुले कस्तो मीठो तरकारी बनाउनुहुन्छ । पहिला त खाली आलुमा झोल हाल्नुहुन्थ्यो, मलाई मीठै लाग्दैनथ्यो ।’ राजुको कुरा सुनेर म हाँस्दै सुमित्राको मुहारमा हेर्छु । त्यहाँ लाजका केही हलुका रङ्ग देखिन्छन् । ऊ कुरा टार्न खोज्छे, ‘अँ होला नि मीठो, कति कुरा जानेको, यस्तो जाबो पनि मीठो हुन्छ र ?’

‘अँ हुँदैन, नत्र बाबा कसरी मोटाउनुभयो त आजकल ? पहिला होटलमा खाँदा कस्तो दुब्लो हुनुहुन्थ्यो ।’ अब राजुलाई दिन उनीसँग कुनै जवाफ थिएन । त्यसैले मुसुमुसु हाँसीमात्र । म भने आमा÷छोराको संवादमा रमाइरहेँ, केही थपिन ।

केही दिनपछि राजु बिरामी प-यो । त्यस अवस्थामा मैले सुमित्रालाई सक्दो सहयोग गरंँे । अफिसको काम थाँती राखेर भए पनि उसलाई पटकपटक जँचाउन लगेँ, सुमित्रालाई तनाव लिन दिइन । केही दिनको प्रयासपछि ऊ पनि तङ्ग्रियो ।

अब हामी तीन प्राणी निकै नजिक भइसकेका छौँ । अफिसबाट म चाँडै घर फर्कन बाध्य भइसकेको छु अब । किनकि मलाई पीर हुन्छ, सुमित्रा खाजा बनाएर मलाई कुरिरहेकी होली भनेर, राजु मेरो बाटो हेरिरहेको होला भनेर । म पहिला आफूलाई स्वतन्त्र, स्वच्छन्द ठान्थेँ । वृद्ध बाबुआमाले कैयौँ पटक कर गर्दा पनि विवाह गरेपछि स्वतन्त्रता हराउँछ भनेर विवाहको कुरै पर्न दिइन । तर म अहिले सोचिरहेको छु, मानिस सबैतिरबाट स्वतन्त्र हुन सक्ला तर आफ्नै मनबाट भने स्वतन्त्र हुन सक्दोरहेनछ । मान्छेको मनले मान्छेलाई कतै न कतै अल्झाइहाल्दो रहेछ, घेरिहाल्दोरहेछ । अब म नजानिँदो पाराले सुमित्राको घर व्यवहारमा बाँधिन पुगिसकेछु । घरमा भएको पुग-नपुग अब खुलस्तसँंग मलाई भन्न थालिसकेकी छ सुमित्राले । उसले यसरी आत्मीय व्यवहार गर्दा मलाई अलौकिक आनन्दको अनुभूति हुन्छ । त्यसैले अफिसबाट घर फर्कँदा मेरो हातमा आजकल कहिले चिनीको पोको हुन्छ त कहिले तरकारीको मुठा हुन्छ ।

एकदिन सुमित्राले मसंँग कुरैकुरामा सोधी, ‘तपाईँलाई आफ्नो जहानको माया लाग्दैन कि क्या हो? कहिले पनि घरको सम्झनै गर्नुहुन्न ।’

‘जहान भए पो माया लाग्नु’, मैले भनेँ ।

‘अँ अस्तिन श्रीमती र दुईटा छोराछोरी छन् भनेको होइन त ?’, ऊ खो-याउँछे ।

‘मैले त्यति नढाँटेको भए त यो घरमा डेरै पाउँदिनथेनि, पाउँथे त ?’, मैले यथार्थ खोलिदिएँ ।

मेरो कुरा सुनेर अचम्म मान्दै ऊ भन्छे, ‘साँच्चै हो ?’

‘साँच्चै हो, किन पत्यार लागेन र ? राजुलाई छोएर किरिया खाउँ ?’, मैले दह्रैसंँग भनेँ ।

‘कस्तो फटाहा मान्छे’, भन्न त भनी उसले, तर उसको अनुहारमा जति कोसिस गर्दा पनि लुकाउन नसकेका खुसीका रेखाहरु स्पस्ट देखँे मैले ।

समय बित्दैछ आफ्नै गतिमा । हाम्रो सम्बन्धबारे वरिपरिका जोरीपारिले कानेखुसी गर्न थालेको मैले पनि चाल पाएको छु । उसले पनि राम्रैसंँग थाहा पाएकी छ । तर उसले केही प्रतिक्रिया जनाएकी छैन । हुन त हाम्रोबीचमा त्यस्तो कुनै सम्बन्ध भएको छैन जसले गर्दा कुनै निर्णय लिइहाल्न हतारिन परोस् वा समाजले हाम्रो घाँटी अँठ्याओस्, औँला ठड्याओस् । एउटा अनौठो बन्धनमा बाँधिएका छौँ हामी तीन प्राणी । अब यो बन्धनबाट अलग्गिएर बाँच्ने कल्पना गर्न पनि मलाई कहाली लाग्छ । राजुको त झन् कुरै भएन, ममाथि उसले पूरै अधिकार जमाइसकेको छ । पहिला ऊ मसँग झ्याम्मिएको थियो, मलाई लाग्छ अहिले त म पो ऊसँग झ्याम्मिएको छु ।

मलाई उसको सामिप्यता नभइनहुने एक प्रकारको नशा लागिसकेको छ । सुमित्राको कुरा अलि बेग्लै छ । म यो घर छाडेर, उसलाई छाडेर कुनै दिन हिँडे भने मलाई थाहा छ उसले बाहिर कुनै प्रतिक्रिया जनाउने छैन, केवल कोठाको ढोका थुनेर एकान्तमा अविरल आँसु बहाउनुबाहेक । किनकि जिन्दगीमा उसले धेरै चोट खपेकी छ । उसले सहन नसक्ने चोट अब सायद कुनै बाँकी छैन ।

थाहा छैन, आत्मीयता र विश्वासको भरमा गाँसिएको हाम्रो यो अनौठो बन्धनको परिणाम के हुने हो ? यो यात्राले हामीलाई कहाँसम्म पु-याउने हो ?

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button