
श्रीमान विदेश, प्रेमी फरार, म वेश्यालयमा
लघुकथाः पश्चाताप
सुन्दरी घिमिरे खतिवडा
सङ्खुवासभा
‘उफ ! कस्तो गर्मी हौ ?’ बैशाखको चर्को घाम खलखली पसिना चुहाउँदै शान्ति चौतारामा टुसुक्क बस्छिन् । वसन्तको बेला भर्खरै पाउलिएका वरपिपलका पातहरू फिरफिर गर्दै हल्लिरहेका छन् । सिरसिर हावा चलिरहेको छ । धेरै जना चौताराको वरिपरि आनन्द मान्दै चीसो खाइरहेका छन् । शान्ति भने आफ्नै धुनमा मस्त छिन् । उनको श्रीमानले विदेशबाट पठाएको मोबाइलमा हाँस्दै भन्छिन्, ‘हेलो, मेरो राजा तिमी कतिबेला आउने ? म त धेरै बेर भयो कुरेर बसेको ।’
‘आहा ! कस्तो आनन्द रैछ है ?’ शान्तिको साथी आनन्द टुप्लुक्क आइपुग्यो र भन्यो, ‘अनि खोइ त तिम्रो कपडाको ब्याग ?’
‘ब्याग बोकेर कहाँ आउनु ? छोराले पछ्याउँछ, सासुले कता हो भनेर भन्नुहुन्छ । आ जाउन । बुढाले पठाको पैसा सबै बोकेकी छु किनम्ला नि उतै ।’
शान्तिको मोबाइल र पैसाको पर्स पनि मोटरसाइकलको डिकीभित्रै राखेर ‘ढिला भैसक्यो’ भन्दै आनन्द बेगले अघि बढ्यो ।
अगाडि एउटा बस रोकिएको थियो । आनन्दले शान्तिलाई भन्यो, ‘टाढाको बाटो बाइकबाट गाह्रो हुन्छ । तिमी बसमा जानु । भरे बस उत्रिने ठाउँमा म बसेको हुन्छु ल प्यारी ?’
बस गन्तव्यस्थलमा पुग्यो । सबै यात्रु उत्रिए । शान्ति अब आनन्दसँग शहर घुम्न पाइने भयो भनेर मख्ख थिइन् ।
परबाट एउटा ट्याक्सी आयो र शान्तिको छेउमा रोकिँदै भन्यो, ‘म आनन्दको साथी विश्वास । आनन्दलाई अलि समय लाग्ने भयो रे । त्यसैले मलाई कोठा पुर्याइदिनु भनेको छ ।’
शान्तिले सोचिन्, ‘मेरो मोबाइल ऊसँगै थियो । त्यही भएर मसँग सम्पर्क नभएर होला ।’
ट्याक्सीले लगेर ‘ल आनन्दको कोठा यहीँ हो हजुर, यहीँ बस्दै गर्नुहोला । आनन्द भरे आइहाल्छ’ भन्दै कोठाभित्र शान्तिलाई राखेर बाहिरबाट चाबी लगाइदियो र विश्वास टाप कस्यो ।
शान्तिले कोठाभित्रको परिवेश छुट्टै किसिमको देखिन् । चुरोटका ठुटा छरिएको, ह्वास्स गन्हाउने, कतै मैला तन्नमा टीका टाँसिएका र खाटमुनि फोहोरको डङ्गुर थुप्रिएको थियो । झ्यालबाट चिहाएर हेर्दा डरलाग्दा जुँगामुठे मान्छेहरु रक्सी पिउँदै चुरोट सल्काउँदै गरिरहेका थिए । त्यो कोठा आनन्दको नभएर बेश्यालय रहेछ ।
अब शान्तिले त्यहाँ बसेर अश्रुधारा बगाउनु र पश्चाताप गर्नुभन्दा अरु उपाय थिएन ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



