हरेक वर्ष बाढीमा हाम्रो भाग्य बदलिन्छ

कविताः बाढी

लक्ष्मी रायमाझी
विराटनगर

चुस्दै गरेको दूध छुटाउँदै
काखबाट हत्तपत्त छातीमा टाँस्दै
सुत्केरी आमाहरू उकालो खोज्दै
कराउन थाले चिच्याउँदै
‘बाढी आयो, बाढी आयो !’
जब घनघोर वर्षाले युद्ध गर्यो
उच्च जोखिम छिचोल्दै
अबोध बस्ती बस्तीमाथि ।

यस्तै भीषण बाढी
मैले जिन्दगीमा धेरै देखेकी छु
यही बाढीमा
धेरैका घर हराए
धेरैका आफन्त हराए
धेरैका गोठ हराए
हामी भीरपाखामा बस्ने मान्छे
हामी बगरको छेउको टहरामा बस्ने मान्छे
हाम्रो हरेक वर्ष बाढीमा भाग्य बदलिन्छ ।
त्यही बर्खाको भेलसँग
जिन्दगीले मितेरी गाँस्न बाध्य हुन्छ ।

राहतसँगै ठूलो क्यामेरा बोकेर आउँछन्
सहरबाट मान्छे
जसरी हाम्रो फोटोसँगै
त्यो क्यामेराले दुःख पीडा पनि
कैद गर्न सकोस्
अलि अलि घाउमा मलहम लगाउन सकोस्
अपसोच !
त्यो क्यामेराले त केवल
या त सरकारको पक्षको आवाज कैद गर्छ,
या त सरकारको विपक्षको आवाज मात्र कैद गर्छ ।

हाम्रा अप्ठ्याराहरू त
आफ्नै विवशताको मजेत्रोभित्र
सम्पूर्ण निरिहता ज्युँ का त्युँ गुटमुटिरहेका हुन्छन् ।

यही हो, शाश्वत् सत्य, बाढीको विडम्बना
अब कहिले फर्किएर आउँदैनन्
आफ्ना गुमिसकेका प्रिय आफन्त ।

थाहा छैन
जिन्दगी बग्दै बग्दै
कहिलेसम्म बग्नकै लागि
पर्खनु पर्ने हो अझै !

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button