
‘भस्मनरक’देखि ‘विचारविज्ञान’सम्म ब्राह्मणपुुत्र बखान !
‘भस्मनरक’मा पुुगेका शीर्ष नेता मुक्तिका लागि ‘विचार विज्ञान’
भरत शर्मा
‘अरुको दोष नदेख, गुण देख’, (खप्तडबाबा, विचारविज्ञान, पृष्ठ–११३)
सन्त, ज्ञानी, महात्मालाई भेट गर्न गयौं भने उनीहरुको अन्तिम सार हुने गर्छ, कसैमा पनि दोष होइन, गुण देख । तर, गुण नदेख्ने, दोषमात्र देख्ने व्यक्ति अर्थात् हाम्रा देशका शीर्ष नेता र अधिकांश राजनीतिक दल निकट विज्ञहरुसँग भेट्नुुभयो भने गुणभन्दा दोषका कुरा गरेर समय, उर्जा र भेटलाई निराशामा बदलिदिन्छन् ।
आज म केही राजनीतिक कुरा लेख्छु, मलाई गाली नगर्नु है, मेरा प्रिय पाठक ।
सम्पादक त मेरा सहकर्मी हुन्, उनले गरेको गाली पनि माया जस्तै लाग्छ, त्यसैले आज उनले नलेख्नु भन्दाभन्दै पनि राजनीतिको कुरा लेखेँ है, कुरा अलि लामो पनि हुनसक्छ, लामो लेख्यो ब्राह्मणपुुत्रले भनेर झिनाउरो नमान्नु होला ।
पछिल्लो केही बर्षदेखि नेपालमा राजनीतिक निराशाका कुरा गर्नेहरुको संख्या निकै बढ्दै थियो । अर्थात् नेतामा ‘दोष’ देख्ने तर ‘गुण’ नदेख्नेको जमात ह्वात्तै बढ्दै थियो । त्यसैको परिणाम अहिले आएर नेपाल र नेपालीहरुले भोग्नुु परेको छ, दुखको कारण नै निराशा र दोषको परिणाम जस्तो लाग्छ । ज्वलन्त उदाहारण हालै सम्पन्न ‘जेनजी आन्दोलन’ हो । त्यसपछिको अवस्थाबारे त सायद सबै नेपालीजन जानकार नै हुनुहुन्छ । सामाजिक सञ्जालले सबैका हातहातमा क्षणभरका नयाँ खबरहरु हावासरी पुु¥याएका छन् । खबरको कुरा गर्नु बेकार छ ।
आज म निराशाको कुरा होइन, आशा र भरोसाका कुरा गर्न खोजिरहेको छु । पछिल्ला महिनाहरुमा मेरा सम्पर्कमा रहेका अधिकांश मित्रमण्डलीहरु धेरैजना ‘दोष’, ‘दुख’ र ‘निराशा’का कुरामात्र गर्नुहुन्छ, अरुका दोषमात्र देखाएर हतास भएर भन्नुहुन्छ, ‘यार ! देशमा के हुने हो, केही पत्तो छैन, तपाईं त विदेशमा हुुनुुुहुन्छ !’
अरुको मनको विचार जान्ने तथा आफ्ना विचार अरुका मनमा पठाउने केही नियमहरु छन् । त्यसको लागि सामाजिक सञ्जाल, हाम्रा देशका शीर्ष, मध्यम र मझौला नेता, नेताको पार्टीकै झोला बोकेर हिँड्ने ‘म विद्वान’ भन्ने विज्ञका असान्दर्भिक कुरा सुनेर तपाई हाम्रो जीवनमा अब कुनै परिवर्तन हुने देखिँदैन । सरल भाषामा भन्दा हाम्रा शीर्ष नेता, राजनीतिक दल र ती दल निकटमा रहेका पत्रकार, वकिल, प्राध्यापक र विज्ञ आदिका कुरा अब म्याद सकिएको औषधि जस्तै हुन पुुगेको छ ।
राजनीतिका कुरा नगरौं, नलेखौं, त्यसबारे कुनै वास्ता गर्दिनँ भन्दा पनि चुनाव आउँदै छ, भोट कसलाई दिने, किन दिने, भोट दिएर के हुन्छ, हाम्रो भोटको यिनीहरुले कसरी सदुुपयोग गर्लान् आदि कुरा मनमा तर्कना आइरहन्छ, मलाई र तपाईलाई पनि । नेपालीको मनोरोग नै अब मतदान कसलाई दिने भन्ने हुनसक्छ । हरेक दिन एकपटक देशमा के भएछ भनेर नेपालका अनलाइन पत्रिका र सामाजिक सञ्जालमा केही समय खर्चने र केही विज्ञहरुका आलेख पढ्न र उनका अन्तर्वार्ताहरु सुन्न म, हामी र तपाईहरु सबैजना बाध्यतामा छौं ।
साथीहरुले भन्नुहुन्छ, विदेशमा बसेर के देशको चिन्ता गर्नु, खुरुखुरु श्रम स्वीकृति लिएर गएको देशमा जिम्मेवारीअनुसारका श्रम गरेर समय बिताउनु । नेपालबारे चासो नदिनु । सल्लाह दिने मित्रले भनेको कुरा ठीकै जस्तो लाग्छ । आज देशबाहिर रहेका नेपाली आफ्नो देशमा के भएको छ भनेर चासो राख्छन्, मनका वहहरु सामाजिक सञ्जालमा लेख्छन्, आफ्ना घर परिवारको हालचाल सोधेर भोलि काममा जानुु छ भनेर निदाउने प्रयास गर्छन् ।
म पनि विदेशमा श्रम गरेर बस्ने एक साधारण नेपाली हुँ । नेपालबारे पढ्ने, नेपाल नै पढाउने र नेपाल नै चिनाउने शैक्षिक श्रमको काम भएकाले नेपालमा भएका सबै कुरालाई दोषभन्दा पनि गुुण (राम्रा कुरा) हरु के–के छन्, के हुँदैछन्, अब के हुन्छ, अब कसरी देश अघि बढ्छ ? अनेक प्रश्नहरुको ताजा र सत्य र साँचो उत्तरको खोजीमा हरेक दिन देशको राजनीतिको पलपलको खबरमा ‘अपडेट’ हुन खोज्छु ।
राजनीति देशको मुल नीति हो, राजनीतिशास्त्र पढ्ने विद्यार्थीहरुले पढ्ने पहिलो कक्षामा प्राध्यापकहरुले यही भन्नुहुन्छ । तर आज तिनै राजनीति पढाउने प्राध्यापकहरुले विद्यार्थीहरुलाई मुल नीति त हो, तर भन्दै नीति सही ढंगले चल्न सकेन र जनतामा ‘लाजनीति’ भएको छ भनेर कक्षा कोठामा पढाउनु हुन्छ होला । मैले त चिनियाँ विद्यार्थीलाई ‘राजनीति’ र ‘लाजनीति’का फरक र विशेषताबारे सिकाइसकेको छु ।
म राजनीतिशास्त्रको विद्यार्थी पनि होइन, तर दुुई दशकदेखि राजनीतिलाई पत्रकारिताको आँखाबाट हेरिरहेको पात्र हुँ । राजनीतिक इतिहास पढेको, माओवादी द्वन्द्व, गणतन्त्र र नयाँ संविधान निर्माण अभियानको सबै परिदृश्य आफैले देखेको साक्षी पात्र हुँ । अहिले नेपालको राजनीतिबारे गत सातबर्षदेखि अध्यापन गराउदै आएको एक अध्यापक हुँ ।
गतसाता नै मेरो चीनबाट नमस्कार शनिबारे लेखन यात्रामा राजनीतिका कुरा गर्छु भनेर सम्पादकसँग अनुुमति मागेको थिएँ । तर, हाम्रा सम्पादक मित्र राजनीतिका कुरा मन पराउँदैनन्, उनी हिमालको कथा, देशको सम्पदा, देशलाई विश्वमा चिनाउने, हरेक दिन सकारात्मक कुरा गर्ने र लेख्ने, लेखाउने, पढ्ने पढाउने, हिँड्ने र हिडाउने अभियानमा छन् । उनलाई राजनीतिको विषय किन हो कुन्नी मन पर्दैन ।
माफ गर्नुस सम्पादकज्यू, आज म देशको राजनीतिका कुरा गर्छु ल !
राजनीतिको पनि भाषा हुन्छ, तर हाम्रा देशका नेताहरुले राजनीतिक भाषा बोल्न छाडे, दम्भ, अंहकार, घमण्ड र एकले अर्कालाई दोषमात्र लगाउने कुरा गर्छन् । टेलिभिजनका अन्तर्वार्ता होस् वा अनलाइन पत्रिकाका खबरहरुमा मात्र होइन, सामाजिक सञ्जालमा नेताले बोलेका कुरामा जनताको प्रतिक्रिया पढ्दा लाग्छ, आज मेरो देश नेताविहीन छ, गुण्डा र विचौलियाहरुको घनचक्करमा हिँडेको छ ।
म चाहिँ पछिल्लो समय नेताका कुरा भन्दा नेताले बोलेको समाचारमा जनताले के ‘कमेन्ट’ गरे त भनेर चासोपूर्वक पढ्ने गर्छुु । नेताका बारे जनताले लेखेको कुरा पढ्दा लाग्छ, हाम्रा नेताहरु ‘मृतात्मा’ भइसकेका छन् । यो लेखमा कुनै नेताको नाम पनि लेख्दिनँ, किनकी यस्ता कुपात्रका नामहरु लेखेर, सम्झेर उनीहरुलाई गाली गर्नु, उनीहरुको प्रशंसा गर्नु जन–नैतिकताले दिँदैन । नेपालका शीर्ष राजनीतिक दलका पार्टी कार्यालय जले, उनका निवास जले पनि उनीहरुभित्र सत्ता स्वार्थ, अंहकार र घमण्ड जलाउन सकेनन् हाम्रा जेनजी भाइ, भतिजा र छोराहरुले ।
जेनजी आन्दोलनमा सडकमा उत्रिएका मेरा एकजना मामाको छोराभाइले जेनजी आन्दोलनका अनेक तस्बीरहरु पठाएर मलाई जानकारी दिए, उनले भने, दाजु म तपाईंको जेनजी भाइ हुँ, अब, हामी परिवर्तनको लागि लडेका छौं । अब केही हुन्छ भनेर सन्देश उनी पठाउँथे । हिजोआज उनी निरास छ । भन्छन्, हाम्रो माग पुरा होला जस्तो छैन, हाम्रा दाजुु र बाउले मानेका माउ पार्टीका शीर्ष नेताले हामीलाई गाली पो गर्न थाले गाँठे । भाइ अच्चममा परेको छ ।
जेनजी आन्दोलनपछि अब चाहिँ नेपालमा केही हुन्छ, हाम्रा नेताहरुको चेत खुुल्नेछ, नयाँ पुस्ता र जोश जाँगर भएर दोस्रो, तेस्रो र पछिल्लो पुस्ताका जेनजीहरुको समेत विचार र भावना अनुसार देश चल्नेछ भनेर पढ्दै थिए, तर ति हाम्रा पुराना र शीर्ष भन्ने नेताहरु त ‘तानाबाना बुनेर’ कसैले नसोचेको तर यस्तो हुनसक्छ भन्ने आन्दोलन हुँदा समेत सत्ताको उम्मादका ‘म’ नै हुँ, म विना देश चल्दैन भनेर हिँड्न थालेका छन् । आगामी फागुन २१ गते जनताले मतदान गर्ने मिति तय भए पनि त्यसभन्दा अघि अर्को राजनीतिक दुर्घटनामा देश जाने संकेत देखिन्छ ।
ज्योतिषशास्त्रकोे ग्रह र गणितले भन्छ, राजा बन्न खोज्नेहरुको सूूर्य कमजोर छ, मन्त्रीहरुको चन्द्रमा कमजोर छ, देशलाई शनिले घेरेको छ । अब समस्या मात्र देखाएर हुन्छ ? अब यसको निकास के छ भनेर सोचविचार गर्दा, जनताले भनेको कुरा ग्रह गणितले पनि भन्छ,
१) उमेर र शरीरले शक्तिहीन भएका तर मुख चलाउने शीर्ष नेताहरुले घरमा विश्राम लिनुुपर्छ । दोस्रो, तेस्रो र पछिल्ला जेनजी भावना बोकेका नवयुवाको ‘अभिभावक नेता’को दर्जामा बस्नुपर्छ ।
२) राजननीति गर्नेहरुले राजनीतिक भाषामा जनतासँग माफी माग्नुपर्छ । हाम्रा शीर्ष नेताहरुले जे गरे त्यो गल्तीका भागिदार हामी पनि हौं, हामी नेताका झोले मात्र भयौं, शीर्ष नेतृत्वले भनेको कुुरामा हस्, र हुन्छ भन्ने हाम्रो बानीले गर्दा म, हामी, र तपाईहरु सबैले दुःख पायौं भनेर जनताका घरआँगनमा पुुगेर भन्नुुपर्छ ।
३) कतै जानुुभन्दा अगाडि अंहकार, घमण्ड र द्वेष हटाई देश र जनताको मनोभावना बुुझेर उनीहरुले ‘दोष’ होइन, गुुणमात्र देख्ने स्वभाव बोकेर अगाडि बढ्नुपर्छ ।
गत बुधबार सखारै पत्रकार कृष्ण मल्लसँग प्राइम टेलिभिजनको वार्तामा एक नेताले भने, ‘हामी र हाम्रो पार्टी हात्ती हो, विरोध गर्नेहरु भुसुना हुन् ।’ यो कुन पार्टीको नेता भनेर भन्दा पनि सबै पार्टीका नेताले बोल्ने भाषा यस्तै–यस्तै हुन् । यो कुनै राजनीतिक भाषा हो ? तपाईहरु भन्नुस् । यो कुरा बोल्ने नेताको शीर्ष नेताहरुको बोलीमा कुनै भाषा छैन, गुरु जस्ता भए चेला पनि उस्तै हुने भए । यसको दोष यि झोले चेलालाई होइन, शीर्ष नेताको सिको गरेर बोलेको मात्र हो । ‘दोष’ ७० कटेका बृद्ध नेताका हुन् ।
बिहानै मात्र वरिष्ठ पत्रकार श्याम रिमालसँग निकै रोचक कुराकानी भयो । उनले भने, अब राजनीतिका कुरा, नेताका कुरा, साथीहरुका दोषका कुरा गर्न बन्द गरौं । दलीय सोच त्यागेर राम्रा नेता, युवा नेता, मित्रहरुमध्ये पनि असल मित्र र उनका राम्रा र गुनिला गुणका कुरा मात्र गरौं ।
उमेर र अनुुभवको ‘ज्ञान’ भनेको यही हो, राम्रा पुस्तक पढ्ने, राम्रा कुरा सुुन्ने, सामाजिक सञ्जाल र अनलाइनका पनि राम्रा कुराहरु पनि छन् भने मात्र पढ्ने, नेताका बोली र भाषणमा ध्यान नदिने र आफनो जिम्मेवारी र लक्ष्यमा लागिरहनु पर्छ भन्ने दाजु पत्रकार रिमालका यस्ता ज्ञानी कुराले मेरो मन प्रसन्न भयो ।
यो हप्ता मैले श्री १००८ ब्रह्मवित् परमहंस योगी सच्चिदानन्द सरस्वती (खप्तडबाबा)द्वारा लिखित ‘विचार विज्ञान’ पुस्तक पढेर बिताएँ । यो पुस्तक पहिलो पटक वि.स २०६० देखि हरेक बर्ष एकपटक पढ्दै आएको छु । २०८२, मंसिर ५ गते शुक्रबार साँझ पढिसकेँ । अबको हप्ता बाबाद्वरा लिखित ‘म र मेरो कर्तव्य’ पुस्तक पढ्ने तयारीमा छु । खप्तडबाबाका धर्मविज्ञान, वेदान्त विज्ञान, विचार र मन स्वास्थ्यका पुस्तकहरु प्रकाशित छन् ।
मेरो त पहुँच छैन, यो लेख पढेपछि हाम्रा शीर्ष नेतासँग पहुँच भएका कोही कसै मित्रले खप्तडबाबाद्वारा लिखित ‘विचार विज्ञान’ पुस्तक हाम्रा शीर्ष नेताहरुलाई पढ्न उपहार दिने, यदि पढ्न समय छैन भने यसको सार बताइदिने काम गर्न पाए बडो गजब हुने थियो । मेरो विचारमा यो पुस्तक हाम्रा नेताले पढ्ने हो भने यिनीहरुमा केही मात्रामा भए पनि घमण्ड, अंहकार र सत्तामोह कम हुने थियो कि भन्ने आशा मात्र हो, विश्वास त छैन । त्यसो त हाम्रा शीर्ष नेतामा पढ्ने र अर्काका कुरा सुन्ने संस्कार देखिँदैन । विचार विज्ञान पुस्तकमा लेखिएको छ, सकारात्मक सोच नराख्ने मानिस शरीरले जिउँदो भए पनि उसको ‘विचारहरु’को मृत्यु भइसकेको हुन्छ । शीर्ष नेताका घर जले, पार्टीका कार्यालय जले, देशको धरोधर जले । हाम्रा शीर्ष राजनीतिक नेतालाई जेनजी आन्दोलनमा हाम्रा बहादुर नेपाली सेनाले सुरक्षित स्थानमा लगेर राखे । यिनीहरुको शरीर बचाए तर शीर्ष नेताका विचारहरुको मृत्यु भइसक्यो त । कर्मको फल हो, जसले जे कर्म गरेका थिए, त्यही भयो ।
शास्त्रहरुमा कर्मअनुसारको ‘नरक’का वर्णनहरु छन् । हाम्रा शीर्ष नेताहरुले आफ्नै आँखा अगाडि देश जलिरहेको देखे । आफ्नै झुठ बोल्ने अड्डामा ‘भस्म–नरक’ देखे । अब पनि उनीहरु पहिलेजस्तै हुने हो भने उनीहरु जाने भनेको ‘कुम्भिपाक’ नरक नै हो । शास्त्रमा वर्णित छ, यो सबैभन्दा कठिन ‘नरक’ हो, यो नरकमा सबैभन्दा मानसिक यातना हुन्छ । ‘भस्म नरक’ त यही जुनीमा देखे, भोगे र केही बोल्न नसकेर हामी ‘भस्म नरक’बाट फेरि उठने छौं भनेर धाँवा बोले ।
बाँचेका छन् तर उनीहरुका विचार र मनको मृत्यु भएको छ । ‘भस्म नरक’बाट मुक्तिका लागि खप्तडबाबाद्वारा लिखित ‘विचार विज्ञान’ पुस्तक पढाएर आत्माशान्ति दिलाउन सकिन्छ कि ?
विदेशी विचारधाराको कम्युनिष्ट हुँ भन्ने नेताले नपढे पनि प्रजातान्त्रिक विचारधारा बोक्ने राष्ट्रियता, प्रजातन्त्र र समाजवाद त्रिवेणी स्व. विश्वेश्वरप्रसाद कोइरालाका चेला नेताहरुहले भने पढ्न सक्छन । राजनीतिक निकास त फागुन २१ वा त्यसपछि कुनै मितिमा हुने आम निर्वाचनमा जनताले दिनेछन् नै ।
तपाई हामीले मतदान गर्नु हाम्रो अधिकार हो भनेर भुल्न हुँदैन है ।
हामी सबैजनलाई श्री पशुपतिनाथले कल्याण गर्नुहुनेछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


