चुनाव आयो, कल्लाई चुन्ने यसपाली ?

नर ब. लामा (जिग्मे)

वार्षिक बजेट जतिकै ऋण रहेको अर्थ व्यवस्था, बाँझो खेतबारी, चौपट उद्योगधन्दा भए पनि फस्टाउँदो एउटै क्षेत्र राजनीतिमा फेरि चुनाव आएको छ नेपालीलाई । तर यहीँबाट चुनिएकाले शासन व्यवस्था, जनजीविका, भविष्यसम्म असर पार्ने भएपछि चासो, महत्व त हुनै नै भयो ।

तर अब कल्लाई हाल्ने भोट ? कल्लाई चुन्ने यसपाली ?

सजिलो, हल्का विषय पनि रहेन । नेता, पार्टी, सिद्दान्त, तिनले भनेको, हामीले बुझेको जस्तो पनि रहेन । विगतमा बहुमत समाजले सहि मानेर उच्च पदमा चुनेका मान्छेहरु नै अधिकार, श्रोतयुक्त पदमा पुगेपछि निजी, छोटो स्वार्थमा लिप्त भएर देश, समाजलाई भडखालोमा पुर्याउने काम एकपछि अर्को गरेपछि द्विविधा थपिने नै भयो ।

तर, अर्को चोटी फेरि अर्को नारा, अर्को बहाना आउँछ । केलाको पातमा खुट्टा परेझै जनता फेरि चिप्लन पुग्छन् । तिनैलाइ फेरि फेरि चुन्न पुग्छन् ।

गणेशमानको भेँडा

२०४८, ४९ तिरको कुरा, कथित प्रजातन्त्र आएको नेपालमा केहि साल, महिना हुँदो हो । तर त्यतिबलै, आशा गरिएका नेताहरुबाटै महाकाली नदी, टनकपुर बाँध लगायतमा देशलाई घात गरेको हल्लाले जनमानस तातेको अवस्था थियो । सत्ताबाट बाहिरै नियालिरहेका बढा गणेशमान ‘पर्ख मनुवाहरु तिमीहरुलाई जनताले चुनावमा तह लाउँछन्’ चेतावनी दिँदै थिए । चुनाव आयो, तिनले जनतामा आखिर जानै पर्ने भयो । तर जनताले अत्याधिक भोट तिनैलाई दिइ पठाए, उल्टै । बुढा गणेशमान कायल भएर जनतालाइ संज्ञा दिए, भेँडा ।

यानकि अगाडि घाँसको स्वाद, पछाडि लौरोको डरमा सयौंको बथान एक गोठालो वा स्यालले गोलवन्द गर्न सक्ने । एक अघि अघि हिँडे, बाँकी आखा चिम्लेर पछि लाग्ने अविवेकी पशु । आफु र आफ्नो भविष्य देख्न नसक्ने, आफैलाई काट्न लागेको कसाइ पनि चिन्न नसक्ने भेडा ।

अब समय धेरै अघि बढेको छ, तर पात्र, प्रवृति तिनै छन् । हामी जनताको चेतना त्यहि छ ।

उद्योगधन्दा, व्यवसाय, कृषि चौपट, व्यपार घाटा, भ्रष्टचार चरम चुलीमा छ । तर पनि स्वीजरल्यान्ड, स्मार्ट इत्यादी बनाउने, अनि जागिर, पैसाको आशा एकातिर, अर्कोतिर समर्थन नगरे हिंसाको डरबीच जनता अझै गोलवन्द, रनभुल्ल छन् ।

आहा र ऐया !

तर चुनिने प्रतिनिधिको भविष्यको मनस्थिति, कार्य कसरी निर्क्यौल गर्ने ?

कुनै पनि व्यक्तिलाई के चीजले आकर्षण गर्छ र केले विकर्षण गर्छ भन्ने अवलोकन गर्यौ भने आखिर तिनको मानसिक अवस्था, परिचय निर्क्योल गर्न सकिने पनि रहेछ । वा भनौं तिनका, हाम्रा आहा र ऐयामा तिनको मनस्थिति, हाम्रो भविष्य लुकेको हुने रहेछ ।

यदि कुनै व्यक्ति घर, गाडी, सम्पतिप्रति लालायित वा आहा मान्छ तर सामाजिक मान्यता, आर्थिक अनुशासनप्रति ऐया मान्दैन भने उसले भेटे सार्वजनिक कोष लुट्छ नै । अनि आफ्ना र आफन्तप्रति आशक्त छ, आहा मान्छ तर अरुलाई दुख पर्दा ऐया मान्दैन भने उसले भेटे उद्दण्ड मच्चाउँछ नै । अरु सवै एवं रीतले हुने रहेछ ।

यस हिसावले आफु र अरुमा समानता देख्ने, धन, पैसा भन्दा शील, अनुशासन, अनि इन्द्रिय सुख, दुख भन्दा माथि ज्ञान सुखको चेत नभएसम्म उसबाट कुसल कार्य, सामाजिक हित, पारदर्शिता, न्याय, अमन चैन असम्भव जस्तै रहेछ । ति कुसल गुणहरु विनाको व्यक्ति, अधिकारीबाट समाजमा अमन चैन खोज्नु खुंखार जुवाडेको खालमा बसेर धनी बन्ने आश देखे जस्तै मात्र रहेछ ।

राम्रो योजना बन्ला, शिक्षा, स्वास्थ्य, वाटो, विजुली इत्यादिको । तर ति कार्यन्वयनमा आउँदा, सम्बन्धित अधिकारी, अगुवाहरु मिलेर रकम खाइदिन्छन्, कमसल काम हुन्छ । वा कामै हुँदैन तर रकम हराएर जान्छ । त्यसले कमसल सेवा, सुविधा हुन्छ । कमसल जीवनस्तर हुन्छ । ऋण बढ्छ, वेरोजगार बढ्छ, महंगी हुन्छ, अन्याय हुन्छ । वारीमा झैँ समाजमा पनि जे रोप्यो त्यहि फल्छ । यसरी दुखको सिलसिला हुन्छ ।

भुलभुलैया

तर पनि अधिकांश मानिस अनेक भुलभुलैया, प्रोपागान्डामा दिग्भ्रमित, उत्तेजित हुँदा वस्तु, विषयलाई तथ्य र तर्कसंगत बुझ्न, देख्न नसक्ने हुने रहेछन् । त्यसबाट अन्धो बन्ने रहेछन । त्यहि अन्धोपन, उत्तेजनामा कसैको नियोजित एजेण्डा, योजनामा फस्ने रहेछन् । राजनीतिमा, बजारमा वा अन्य कुनै क्षत्रमा, गलत निर्णय, तिनबाट गलत छनौट हुन जाने रहेछ ।

जस्तो कि कुनै धुर्त व्यवसायीले कुनै सुन्दर व्यक्तिको तस्वीर देखाएर त्यो व्यक्ति जस्तै बन्न सकिने झुटो आशा जगाउँदै कमजोर मनोवृतिको मानिसलाई आफ्नो सौन्दर्य उत्पादन किन्न लालायित बनाउँछ । वा, कुनै क्षुद्र नेताले कुनै ठाउँ, समुदायको सामाजिक, आर्थिक समस्याको दोष अर्को समुदायलाई दिएर एकअर्का विरुद्द हिंसामा उक्साउँछ । वा, यदि कुनै विरोधी भए, इमान्दार नै किन नहोस्, विदेशी दलाल वा कुनै उपमा दिएर प्रचार गर्दै जनमानसलाई भ्रमित बनाइन्छ । यसरी नै जात, धर्म वा यौन इत्यादीका कुरा, इन्द्रिय आहा र ऐयाको साँगुरो, भ्रमित अनुभति, उत्तेजनामा लपेटिँदा, बस्तु विषयको यथार्थ बुझ्न नसक्ने हुने रहेछन मान्छे । अन्धो झै हुने रहेछन् ।

एक सतहभित्र गएर तथ्यगत खोजीनीति, यथार्थ बुझ्ने कोशिस अधिकांशले नगर्ने रहेछन् । सतहि सुचनामा नै वा फगत हल्लामा नै तिनको दृष्टि बन्ने रहेछ । त्यसकै आधारमा कृया, प्रतिकृया हुने रहेछ । त्यही मुढतामा मानिस पशु बन्ने रहेछ । भेडा बन्ने रहेछ ।

अनि कोहि चाहिँ चेतना एक स्तर माथि उक्ले पनि आफ्नो भोक, भोग र छोटो स्वार्थभन्दा पर देख्न नसक्दा अरुको दुखको बोध नहुँदा, स्याल, मंसाहारीसम्म बन्ने रहेछन । तिनको भोक र शिकार, शोषणको सिलसिला समाज जङ्गल झै हुने रहेछ । एकले अर्कोलाई खान हरदम तयार । अनि चेत अलि माथिको गोठालोले पनि भेटे तिनको शोषण उपयोग गर्न नै भयो ।

कागजी बाघ

तर हामीले अनुभुत गर्ने डर वा चुनौतिका पहाडहरु, स्याल, मांसाहारी बाघहरु, वा आकर्षित गर्ने, झूक्याउने वस्तुहरुको यथार्थ खोजी गर्ने हो भने खासमा ति पनि बनावटी, अस्थायी, काल्पनिक नै हुने रहेछन् । कागजी बाघ जस्तै ।

तत्कालीन राज्य सत्ता, शक्तिलाई माओवादीहरु कागजी बाघसँग तुलना गर्थे । हुन पनि देख्दा शास्वत र भयङकर लागे पनि आखिर राज्यसत्ता, राजा, सैन्य शक्ति, ससाना टुकडी मान्यतामा उभिएका न हुन्, मान्नेले मान्न छोडेपछि निर्जीव, कागजको बाघ झै, ढल्ने पनि रहेछ । तर त्यहि कुरा अहिलेकै अवस्थामा पनि लागु नहुने कुरै भएन ।

हिजो कुनै दिन सत्तामा मै हुँ हुँकार फुक्नेहरु आज गुमनाम छन् । कुनै समयका फिस्टेहरु आज भयङकर छन् । तर जति भयङकर देखिए पनि शक्ति, सत्ता, पद आखिर अस्थायी, फगत कागजी बाघ जतिकै रहेछन् । टाढाबाट मानेसम्म्म भयङकर, नजिक पुगे अस्थायी, झन्झटपूर्ण, खोक्रो । केहि मान्यता, डर, विश्वासमा उभिएका फगत खोस्टा जस्ता रहेछन् ।

अनि तिनका पछि परिचित पात्रहरु नामले प्रचण्ड, शेर, खड्ग जे भनिए पनि आखिर पलपल स्वासप्रस्वासमा धानिएको मानव मासु, हड्डिको मरणशील शरीर न हो, दुई छाक नखाए ढल्छ । निद लाग्दा ढल्छ । विरामी हुन्छ, मर्छ पनि एक दिन । सबै छोडेर ।

तर फेरि मनका यिनै बुनावट, यिनै मसिना मान्यतामा नै समाज बुनिने चल्ने रहेछ । तिनै बुनावट, सोच, कुशल, विवेकशील हुँदा सुशासन, कानुन, साहित्य, संगीत, कला, जीवनका रंगहरु कोरिने, बुनिने रहेछन । तिनलाई तोड्दा एक पछि अर्को विध्वंश, दुख अनि तिनलाई जोड्दा शान्ति, सुख, न्याय, अमनचैन हुने रहेछन् ।

अनि एक हिसावले चुनौति र डरका, भ्रमका कागजी बाघलाइ यथार्थमा चिन्दा, त्यहि बाघ कला, खेल, रमाइलोको साधन पनि बन्ने रहेछ ।

दिए बढ्ने सुख, ज्ञान

आजभन्दा २६०० वर्षअघि यहि तानातानको विषय, राज्य सत्ता त्यागेरै त्यो भन्दा माथिको सुख, अर्थको सन्देश केहि पर लुम्विनीमा जन्मनु भएका वुद्धले दिनु भएको नेपालीलाई थाह नभएको विषय हैन । त्यहि समयका विश्वभरका राजा महाराजाहरु जसले सत्ता शक्तिका लागि उद्दण्ड मच्चाए, अरुलाई दुख दिए, आफैले पनि दुख भोगे, सबै गुमनाम, बेनाम छन् । तर जसले शासनसत्ता, विलासिता सबै कुरा त्यागे, उनैले मानव सभ्यताको उच्चतम सुख, ज्ञानको कडी भेटे, बाँडे । असंख्य मानिसको मनमनमा विराजमान हुन सफल भए, जुगजुगसम्म । अनि हामीभित्र नै पशु मनोवृति, राक्षस मनोवृति हुन्छ अनि हामी नै शुद्धिकरण हुँदै मान्छे, उत्तम मान्छे, देवता, बुद्ध बन्ने सम्भावना रहेको उपदेश दिइ छोडे । तर पनि ‘वु्द्ध वाज वोर्न इन नेपाल’ यतिसम्मै सिमित छ अधिकांश हाम्रो ज्ञान, खोज । तर एक कदम पर गएर उहाँको उपदेशलाई खोज्ने, तिनलाई सम्झिने, सम्झाउने, तिनमा घोत्लिनु पर्ने बेला भएको छ क्यारे !

हाम्रा चुनौतिका पहाडहरु छिचोल्दै, पशुतुल्य घाँसको भोक र लौरोको डरमाथि उठ्दै, मनका बाघहरुलाइ चिर्दै, उच्च चेत, बृहत सामाजिक हित र सुख पहिल्याउन, आफुभित्रको असल मानव, अवतार खोज्ने, चिन्ने, चुन्ने बेला भएको छ क्यारे !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button