मेडम तुसाज भेटेपछि थाइल्यान्डमा के भयो ?

मेडम तुसाज र बैंकक यात्रा

नर ब. लामा (जिग्मे)

एउटा विकासे आयोजनाको सिलसिला एक चोटी बैंकक, थाइल्याण्ड जाने मौका मिल्यो । काठमान्डुको धुलो, धुँवा अन्य उकुसमुकुसबाट स्वास फेर्ने एक अवसर पनि थियो अनि महाराजगन्जको एक सानो, गुमनाम एम्वेसीबाट भिसा थापेर पर्सिपल्ट हिँडियो एयरपोर्ट । फेरि लागियो लाइनमा ।

हाम्रो प्रमुख हवाईद्वार काठमान्डु एयरपोर्ट थलिँदै गएको भान हुन्थ्यो । हालको समय एयरपोर्टलाई कुनै पनि देशको आर्थिक अवस्थाको सूचक भन्दा फरक नपर्ला । तसर्थ हाम्रो एयरपोर्ट हाम्रो आर्थिक अवस्थाको झल्को पनि थियो । जेहोस् उडियो । अनि केहि घण्टामै पुगियो, सुवर्णभूमि एयरपोर्ट । बैंकक । अनन्तसम्म फैलिएको भान हुने एयरपोर्ट, संसार भरिबाटै हवाइ यात्रीहरूको ओहोरदोहोर, झकिझकाउ, त्यहाँको आर्थिक उन्नतिको सूचक थियो ।

रमाउँदै म कार्यक्रमस्थल होटलतर्फ लागेँ । केहि बेरमा आधुनिक सफा शहरबीच पचासौँ तलाको सिसै सिसाको भव्य होटल छेउ पुगियो । सुखुम्बित मार्ग । भित्र चिटिक्क ठाँटिएका परिचारिकाहरू थिए । राम्रै होटलको बन्दोवस्त रैछ, सोचेँ ।

‘हेलो ! कृपया मेरो कोठा हेर्न सक्छु ? म कहाँ छु ?’

परिचारिकाले लिस्टमा घोत्लिएर हेर्दै भनिन्, ‘तपाइको नाम छैन त ?’

‘हँ ! कसरी सम्भव भयो ?’, म झसङ्ग भएँ ।

सोध्दै जाँदा थाहा भो, कार्यक्रम दर्ता त छ रैछ तर कोठाको पैसा तिरतार, बन्दोवस्त आफैले गर्नु पर्ने रैछ । सबै व्यवस्था आयोजकहरुले गर्ला भनेर त्यति पैसै नल्याई आइयो । खल्तीमा जोडजाम गर्दा ठमेलमा हिजोपल्ट साटेको ५०० डलरसम्म थियो । त्यसले त्यो होटलमा दुइ दिन पनि नपुग्ने देखियो । घरबाट पैसा पठाउन पनि लफडा रैछ । भएको पैसा जोगाउनु नै एउटै बाटो थियो ।

‘म पछि सल्लाह गरेर आउछु है ?’ भनेर त्यहाँबाट निस्किएँ ।

सिँढीबाट झर्दाबित्तिकै बाहिर एकजना ट्याक्सी लिएर बसेको मान्छे आयो मतिर ।

‘यहाँ जानुहुन्छ ? होटल सँगै मसाज, साउना, केटीहरू पनि पाइन्छ ।’

एक सिङ्गै पुस्तिका नै थियो उनीहरुको सेवाहरूको । यौन भोगीहरुका लागि खुला बजार नै रैछ उसले निम्त्याएको ठाउँ ।

तर विगत केही समयदेखि जुनसुकै चीज केलाएर, गहिरिएर हेर्न सिक्न थालेको थिएँ । उसको आकर्षक तस्वीरहरू भित्र घोत्लिन थालेँ । सुरुमा त पैसा झार्ने सीधै जाल देखिन्थ्यो । अनि त्यो भन्दा भित्र अवोध बालिका, तिनको गरीवी, विवशता । त्यो विवशतामा त जोसुकै पनि फस्न सक्ने देखिन्थ्यो । हाम्रै चेलीबेटी पनि । झट्ट हेर्दा देखिने कामुक दृष्य घिनलाग्दो, डरलाग्दो हुँदै दयालाग्दो देखिन थाल्यो ।

सतही रूप, आकर्षणमा हामी धेरै पुरुषको होस गुम्ने गर्छ । इन्द्रिय स्वाद, स्पर्शको दलदलमा फस्न पुग्छ । अनि यसले त्यो दुस्चक्रलाइ प्रोत्साहित गर्छ । तिनमा सकभर नफस्ने प्रण लिइय़ो । विनयी हुनुको शीतल छहारीमै सुरक्षित र आनन्दको महसूस भो । उसको आमन्त्रणलाई लत्याउँदै म अगाडी बढेँ । त्यसले मेरो पैसा पनि फारो भो ।

अलि पर एउटा मूल सडकमा आइपुगियो केही बेरमा । राम रोड । छेवै छेउ हिँड्दै, खोज्दै जाँदा ठमेलजस्तो देखिने एक टोलमा पुगियो । पुरानो र नयाँ घरहरुको सम्मिश्रीत बजार । होटल, रेस्टुरेन्ट, उपहार पसल, मसाज पार्लरहरूको लस्कर- रोडको दुवैछेउ । एक छेउबाट खोज्दै जाँदा एउटा ठिक्कको बजेट होटलमा पुगियो । भित्र छिरी सोधेँ, ‘४ दिनको लागि एउटा कोठा छ होला ?’ (डु यु ह्याव अ रुम फर फोर डेज ?)

‘एस आइ ह्याव’, उनले जवाफ फर्काए । भारतीयजस्ता देखिने एक बुढा थिए ।

‘आप नेपाली हे क्या ?’, उनले सोधे ।

जहाँ गए पनि भारतीय नभेटिने ठाउ नै छैन संसारमा ।

‘हाँ भाइ’, जवाज फर्काएँ ।

तर नेपालमा हेरिने भारतीयप्रतिको दृष्टिकोणभन्दा बाहिरको अवस्था भिन्न छ । प्राय नेपालीहरु घरबाट ऋण जोखो गरेर वा बाआमाको थैली रित्याएर आउने हुँदा परदेश आइपुगेको मात्र के हुन्छ खर्च जुराउन कामको चटारो हुने रैछ । अनि नेपाली समुदाय त भरखर जम्दै गरेको न भयो, सहयोग पाउन गार्‍हो । केहि पुस्ता अघि जमिसकेका प्रत्यक टोलका यिनै भारतियहरू बेलाबखत काम लाग्ने रैछन । भाषा र अन्य कारणले पनि सजिलो । मलाई पनि भाइचारा मिल्यो परदेशमा एउटा देशी भाइबाट ।

पछिल्लो दिन बैंककको बीच शहर पचासौँ तला माथि कार्यक्रमस्थल पुगियो, सियाम सेन्टर । पर्यटनका, विकासका यता उताका छलफल भो । बेलुका होटल फर्किइयो ।

फेरि होटल अगाडि मसाज पसलबाट निम्तो आउन थाल्यो ।

‘यता आउनुहोस महासय । मसाज गर्नुस् । तपाईंको जिउको थकाइ, दुखाइ छ भने निको पारिदिन्छौँ’, एक युवती ग्राहक तान्दै थिई ।

दुई दिनको बसाईपछि छिमेकीजस्तै भैसकेका पनि थियौँ । दुखाइको कुरा गर्दा मेरो ढाड दुखाइले धेरै नै दुख दिइरहेको थियो । बजारको बीच भागमा सबैले देख्ने त्यो पसल शुद्द मसाज पसलजस्तै लाग्यो ।

‘ल त नि, एक फेर हेरिहालौँ ।’

छिरियो भित्र ।

केहि बेरमा त्यो दुव्ली केटीको पछिल्तिरबाट एउटा भयङ्कर मोटी केटी आइ मतिर, हात मसार्दै । मलाई खाटमा पल्टिन लगाई । मेरो हात खु्टा एकातिर गाठो पारी कुहिनोले ढाडमा चिन्ह लगाइ र एक छिन छेउमा बसी । अनि एक्कासि पुरै जीउ ममाथि फाली रेस्लिङ्ग खेलाडी जसरी ।

‘ऐया !’

ढाझै भाँच्ला जस्तो गरी । तर दुखेको ठाउँमा फ़काउँदै यसरी थिची, केहि छिनमा खिल निकालेको पिलो झैँ हल्का महसूस भो । भलै त्यो आराम एक दिनसम्म मात्र टिक्यो । धन्यवादसहित २५ डलर त्यहाँ खर्छ गरी कोठातिर फर्केँ ।

कार्यक्रमको अन्तिम दिन छिटै सकेर सबै जना साथीहरु घुम्न निस्के । पश्चिमा साथीहरु आफ्नै बाटो लागे बैंकक बाहिर च्याङमाइतिर । म र भूटानको एक जना साथी कार्मा र श्रीलंकाको साथी अजन्था बजार डुल्न निस्क्यौँ । केहि बेरको हिडाई, घुमाइपछि पुगियो एक भयङ्कर ठुलो, अलिसान सपिङ मल- सियाम परागन । अनि त्यसपछि सेन्टर वोर्ल्ड । संसारभरिकै प्रख्यात ब्रान्डका कपडा, गहना, घडी, मोबाइल, अत्तर, अनि अनेक व्यञ्जनहरुले भरिभराउ । तपाईँ के खोज्नु हुन्छ, भेटिन्छ । केवल पैसा हुनु पर्‍यो । जसरी कमाउ ।

पसल भित्र रमाउँदै भुटानको साथीको किनमेलमा साथ दिदै गएँ । उनको द्विविधा घरको श्रीमती, छोरालाई के लिँदा चित्त बुझ्ला भन्नेमा थियो । मेरो लागि चाहिँ कुन चीज नकिन्ने भन्ने नै द्विविधा बन्यो । तर एक पछि अर्को विलासी सामान आखिरमा नचाहिने रहेछ भन्ने सोच्दै, बुझ्दै, छोड्दै हिडेँ ।

घुम्दै गर्दा भित्रि भागको पर चौवाटोमा एउटा बडेमानको आकर्षक महिला उभिरहेको देखें । चम्किलो, अनेक रत्न जडित छोटो रेशमी कपडामा सजिएकी । हामीतिर एक तमासले हेर्दै मुस्कुराई रहेकी । हिँड्दै जाँदा उनकै अगाडि पुगियो । खुला वक्षस्थल, गुलावी गाला, सुनौलो केश, अर्ध नग्न शरीर । एक छेउ लेखिएको थियो, ‘मेडम तुसाज ।’ त्यसकै तल थियो, ‘तपाईं आफ्नो मनपर्ने नायक, नायिका अनेक प्रतिष्ठित मनिसहरुलाइ हेर्न, छुन, वा चुम्वन गर्न सक्नु हुन्छ । … म्याडम तुसाजबाट तपाईंलाई निमन्त्रणा ।’

साँच्चै जस्तो देखिने मैनको भव्य मुर्ति रैछन् उनी । संसारभरिकै सुन्दर, प्रतिष्ठित मान्छेहरुको मैनको मुर्तिको संग्ग्रालय रहेछ त्यतै कतै । तिनलाई छुन, चुम्न लालायित मान्छेहरुको ठुलै भिड हुने रैछ । हाम्रो अगाडिको ‘म्याडम तुसाज’ तिनमध्ये एक रहिछन् ।

सोचेँ, पुरुष मन, बालक मनको कमजोरी, इन्द्रिय आनन्दप्रति हाम्रो तृष्णाको हेक्का रहेछ यी व्यापारीहरुमा । अनि त उनीहरुको व्यापार फस्टाउँदो थियो । अनि तिनको वस्तु भोगका लागि, त्यससँग जोडिएका काल्पनिक प्रतिष्ठाका लागि, पैसा कमाउन गरिने हत्कण्डा, भ्रस्टाचार, अपराधले समाज विटुलो हुँदै, थलिदै गइरहेको अवस्था थियो ।

Ad

म खोतली हेर्न थालेँ । म्याडम तुसाजको आकर्षण अनि सुन्दरताको पर्दा भित्र । मैनको केही बोरा, केहि रंग रोगन, लत्ता कपडा अनि एक कलाकारको कोरा कल्पना थियो वास्तविकता । सोची हेर्दा त्यसलाई छुन, चुम्न, त्यसमाथि खर्च गर्न रहर लाग्दैन थियो । तर होस्, त्यस सोचबाट फुत्किने बित्तिकै कामुक, सुन्दर, साँच्चिकै थिइ मेडम तुसाज । छोउँ छोउँ जस्तो, चुम्वन गरुँ जस्तो, सँगै बसुँ जस्तो । आफ्नो होस् कायम राख्दै उनलाई त्यहि छाडी म हिडेँ ।

त्यो सपिङ मल काठमान्डुको न्युरोड जत्रो ठाउँमा फैलिएको भान हुन्थ्यो । लामो घुमाइ र थकाइपछि एउटा पसलमा छिरियो । भित्र भर्खरको कलिलो केटी सबैलाई हसिलो पाराले सहयोग गर्दै हस्तकलाका सामानहरु बेच्दै थिइ । मैले पनि सोचेँ, केहि टिसर्ट लिएर जानु पर्ला, अरु चीज महँगो छ । तीन चारवटा टिसर्ट छाने बैंकक, थाइल्याण्डको नाम अनि फोटो छापिएको । उपहार दिन राम्रै देखिन्थ्यो । अनि केहि मसिना हस्तकलाहरु किन्न ति नानीसँग बार्गेनिंग सुरु गरेँ । कुरो गर्दै जाँदा त थाइल्याण्डमा बसोबास गर्ने ती नानीको बाजेबज्यै र बुवाआमा नेपालबाट गएका रैछन, जमानामा बर्मा हुँदै । उनी त्यहि जन्मेका हुर्केका रैछन । नेपाल नाउँसम्म सुनेका तर कहिले नगएका ।

‘मेरो आफन्तहरु छन भन्नु हुन्छ बुवाआमा तर कहिलै देखेको, भेटेको छैन’, टुटेफुटे नेपालीमा उनी सुनाउँदै गइन् उनको फिल्म जस्तै कहानी । सुरुमा रमाइलो तर सोची हेर्दा नियास्रो लाग्यो । माया पनि । उनलाई च्याप्पै काखमा लिउँ । सानी बहिनी जस्तै ।

‘तपाईहरु मेरो दाजु अबबाट’, उनी बोल्दै गइन् ।

‘हो, आजबाट तिमी हाम्रो वहिनी’, मैले जवाफ फर्काएँ ।

खुसीले किने केहि टिसर्ट हस्तकलाहरु । ५० डलर जति खर्च गरेँ ।

त्यसपछि विदा मागी हामी मलको अर्को पल्लातिर लाग्यौँ । भुल्दै जाँदा मेरो साथीहरुसँग म छुटिन पुगेछु । कता गए गए उनीहरू पत्तै भएन । जति हेरे पनि भेटिएन । अनि हामी कसैसँग त्यहाँको फोन पनि थिएन । हिँडे एक्लै । घुम्दै गर्दा निस्कने बाटो पनि बिराएछु । कता हो कता । रन्थनिदै जाँदा एक पुरानो ठाउँ आइपुगियो । म्याडम तुसाजकोमा आइपुगियो । उनी अझै मुस्कुराउँदै थिइन् । फेरि निमन्त्रणा गर्दै थिईन्, ‘तपाइँ आफ्नो मनपर्ने नायिकासँग बस्न, छुन, वा चुम्वन गर्न सक्नु हुन्छ । … तपाइलाई मेडम तुसाजको निमन्त्रणा ।’

तर ती व्यापारीहरुका लागि, म्याडम तुसाजका लागि म चोरले खालि घर भेटे जस्तै थिएँ । जति खोजे नि केहि नभेट्ने । ढुंगा जस्तै थिएँ जति निचोरे नि केहि ननिस्कने ।

हाम्रो अघि तिनी पनि कहाँ कम ? एक बोरा मैन, केहि रंग र लत्ता कपडा अनि कोरा कलाकारको कल्पना । तर, पनि त्यसलाई एकत्रित गर्दा छु मन्तर एक भब्य, आकर्षक जादुमयी महिलाको रुप । सबैको ध्यान खिच्ने, सँगै बस्न, छुन, चुम्न मजबुर बनाउने मेडम तुसाज ।

केहि बेरको अन्तर्मनको लुकिछिपीपछि म बाहिर निस्केँ ।

बाहिर निस्केर गर्मी खाँदै होटलतिर फर्किन लागेँ । बाटोमा अचानक श्रीलंकाको साथी भेटियो ।

‘जाउँ मसँग अर्को बजारमा’, उनले भने ।

गर्मीको राप खेप्दै जाँदा बोट विरुवाको एउटा ठुलो बजार भेटियो । एकपछि अर्को आकर्षक विरुवा, फूलहरु, हस्ताकलाका सामानहरु । विरुवाको सौखिन रैछन् बुढा । म पनि डुल्दै गएँ । बाँकी थोरै पैसाले के किन्न सकिएला सोच्दै हिडेँ । अनि नजिक सुन्दर कमलको फूल देखेँ । फोहोर, हिलोमा उम्रेर पनि सलक्क, वेदाग, पत्रपत्र फुलेको फूल । सोचेँ, कमलको यहि गुणले होला देवी देवताहरुको, वुद्धको आसन हुन पुगेको । अनि ती आसनको अर्थ चित्त्तको विशुद्ध अवस्था प्राप्त गर्न सम्भव छ भन्ने चिन्ह हो भनी पनि सुनेको थिएँ । रिस, राग, मोह, लोभ, डाह इत्यादिबाट शुद्ध, निर्मल, करुणामयी अवस्था । एक स्वान्त सुखायको अवस्था । त्यहि कमलको बिउ लिने र घर लगेर फ़ुलाउने निधो गरेँ । १५ जति गयो ।

त्यहाँबाट फर्केपछि फेरि श्रीलंकाको साथी पनि गए आफ्नो बाटो, एयरपोर्टतिर । म एक्लै भएँ । सोचें, जिन्दगी पनि यस्तै रहेछ आखिर । एक यात्रा जस्तै । जन्मपछि परिवार, आफन्त, समाज हुदै सहयात्रीहरु एक एक गरी जोडिँदै जान्छन् । जमघट हुन्छ, रमाइलो हुन्छ अनि उमेर ढल्कँदै एक एक गर्दै सबै छुटिदै जान्छन् । मर्दा एकनास एक्लो ।

तसर्थ एक यात्रीले जसरी बाँचुन्जेल हाँसिखुसी, सौहार्दता साटनु र छुटिइदा विना राग, विना आशक्ति रहनुमै सजिलो, सुख देखेँ । र, पनि संसार जादुमयी छ । मन चन्चल छ । भित्र माटो, ढुंगा, हावा, घाम, पानीको जोड घटाउले बनेको भए तापनि सबै जोड्दा ‘छु मन्तर’- वहुरूपी, आकर्षक, जादुमयी । तिनलाई छुन, चुम्न, टासीइरहन मन लाग्ने । मेडम तुसाज जस्तै ।

तर पनि मनलाई आकास जस्तो खुला, हावा झैँ हल्का बनाउन खोज्दै रहेँ । अन्तर्मनको सुखमा रहने कोशिस गर्दै रहेँ अनि बेलुका मेरो पनि एयरयोर्ट जाने बेला भयो । हिँडियो सुवर्णभुमि एयरपोर्ट ।

होटल र खानपान ट्याक्सी खर्च गरी बाँकी पैसा १२० डलर जति रैछ खल्तीमा । टर्मिनलमा कुर्दै गर्दा एक छेउ वेदाग सिसामा एक से एक राम्रा गहना टल्पलाइरहेको देखेँ । तीमध्ये एउटा सेतो सुनको सारोवस्कीको ओँठीमा आँखा गयो । तिनमा सजिएका सुन्दर महिलाहरुका तस्विरमा आँखा गयो । आफ्नो चाहना सदा थाँती राखी बालबच्चाको, परिवारको, श्रीमानको सदा ख्याल राख्ने, विनयी, ममतामयी महिला र तीमध्ये एक आफ्नै सहयात्री, अर्धांगिनीको याद आयो । उनको सोचमा मेरो जिद्धी, कन्जुस्याइ बन्द भो । बाँकी १२० डलर उनको लागि खर्च गर्ने निधो गरेँ । सारोवसकीको सेतो सुनको औँठी उनको लागि किनेँ ।

अनि जहाज चडेर उडेँ काठमान्डु यरपोर्ट । नेपालको त्यो सादगी, कम तामझाम राम्रै लाग्न थाल्यो । बीचमा स्वयम्भु, पशुपति । वरिपरि अनेक मन्दिर, स्तुपहरु । सोचेँ, यहाँको पूर्वजहरुमा भौतिक सुखभन्दा माथिको सुखको परिकल्पना रहेछ । आधुनिक शहरको भौतिक विकास, विलासदेखि अघाएर आउँदा काठमाडौँ एयरपोर्ट अनि शहर एउटा मेकअप नगरेकी सुन्दर महिला जस्तो लाग्न थाल्यो । पछिल्तिरको सेतो चकमन्न हिमाल मनको आकाशमा विजुली बाले झैँ भो । विकास नभएको भनी हेला देखिने देश साँचो अर्थको, मात्र भौतिक, आर्थिकभन्दा पर दिगो अनि समग्र विकासको सम्भावनास्थल, सभ्यताको, ज्ञानको मण्डलको रुपमा देखिन थाल्यो ।

बाहिर निस्कँदा खल्ती खाली थियो तर पनि मन ढुक्क थियो । अनि पर एउटा ट्याक्सी देखेँ ।

सोधेँ, ‘बुढानीलकन्ठ जाने हो भाइ ? पैसा छैन मसँग अहिले । घर पुगेर दिन्छु । हुन्छ ?’

‘हुन्छ दाइ’, ऊ सजिलै मन्जुर भयो ।

त्यहाँबाट धुलो उडाउँदै हामी हुइकियौं ।

(जिग्मे ग्रामीण विकासविद्, पर्यटनकर्मी र हिमाली ध्यानपरम्पराका अध्येता हुन् । हुम्लाका उनी हाल क्यालिफोर्निया, अमेरिकामा छन् ।)


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button