कहिले काँक्रा त कहिले नस्पाती मागेर वा नभए चोरेर खान भ्याउने !

मञ्जु श्री पौडेल

घाँसको भारी घर पुर्‍याउँदा कहिले त ९ः५० भन्दा बढी भइसक्थ्यो । भात ठिक्क हुन्थ्यो कहिले भने कहिले त हुँदैनथ्यो ।

छ भने नचपाइ अलिअलि निलेर स्कुल दौड्यो । नजिकै स्कुल हुँदा पनि लाइनमा पुग्ने भनेको त कहिले पनि थाहा भएन । स्कुल गयो, अलि ढिला भयो के भने सरले कक्षामा पस्न नदिने अनि हामी कहिले काँक्रा त कहिले नस्पाती मागेर वा नभए चोरेर खान भ्याउने !

दिउँसो खाजा खाने चलन नै थिएन । कहिलेकाहीँ चाउचाउ किनेर खान्थ्यौं । कति रमाइलो लाग्थ्यो भने ति दिन फेरि आइदे हुन्थ्यो जस्तो !

स्कुलबाट फर्केपछि फेरि त्यही मेलापात, घाँस दाउरा नै हो । गृहकार्य गर्ने त राती टुकी बत्ती बालेर ! त्यही पनि कहिले मट्तितेलको अभाव त कहिले घरका सदस्यले नदिँदा जुनको उज्यालोमा । त्यस्तै भए पनि तिनै दिन रमाइला ! सबभन्दा रमाइलो काम भनेकै धान रोपाइँ, सारै रमाइलो हुने । १२–१५ दिनमा रोपाइँ सकेपछि साउने संक्रान्तिमा खसी काटेर बर्खाको सर्दि मेटिन्थ्यो । जुनेली रातमा रातभरी धान काटेको अनि धानका बोरा बोकेर घर पुर्याउँदा त भुतुक्कै !

दसैँमा घरमा खसी काटेर प्रशस्तै मासु हुँदा पनि घाँस काट्न गएको बेला खाल्टे कान्छा दाइकोमा आधा धार्नी मासु किनेर चुल्बुले पानीसँग साथीहरु मिलेर खाँदा कति रमाइलो–रमाइलो नि बाफ्रे बाफ् ! घरमा लटरम्म काँक्रा हुन्थे थाँक्रामा । र, नि घट्ट जाँदा ठाडेका काँक्रा चोरेर रामेचौतारमा आएर ‘खाँदो खायो, नखाँदो फालेर धङ्स’ गर्ने नि हामी त !

यस्ता सुख दुःखका गोरेटाहरु कति पार गरियो-गरियो ! कति गारो थ्यो त्यत्ति बेलाको जीवन शैली । त्यही प्यारो रहेछ, त्यहि रहेछ जीवनका नयनरुपी मार्ग ।

जसोतसो पढियो, पढाईको कुनै उद्धेश्य थिएन, पढ्नु नै मुल उद्धेश्य । कसैका लागि थिएन, आफ्नै लागि मात्र । त्यो भन्दा बाहिर केही सोच्न सकिएन । पढेर केही गर्न सोचिएन, पढ्न मात्र सोचियो । आफ्नालाई आफ्नै बनाउन मात्र सोचियो । यो प्रयास असफल भएता पनि गुमाउन भने सकिएन । आफ्ना भए, आफुलाइ केही भएन । यस्तै हो जीवनको बाटो कतै सजिलो छैन, अप्ठ्यारैअप्ठ्यारो ।

सँगैका साथीहरु कहाँ माथि माथि, गिज्याउँछन् मलाई ! म हाँस्न त सक्दिनँ, मुस्कुराएर टारिदिन्छु । पढेर केही गर्छु भन्ने उद्धेश्य लिनुपर्ने रहेछ, खाली पढ्ने मात्र उद्धेश्य लिएपछि के हुन्थ्यो ! हरे ! जे भए पनि खुसी भएर बाँच्नु पर्छ, आफूसँग जे छ त्यसैमा खुसी हुन सिकाउने रहेछ अनेक परिस्थितिले ।

क्रमशः


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button