मेरो त दिनको सुरुवात नेपालनाम्चाका लेखहरु पढेरै हुन्छ

मिरा गोतामे

नेपालनाम्चामा म प्रत्यक्ष जोडिएको एक महिना भयो । यसबीच मेरा तीन रचना पनि छापिए । खुशी त छु नै कृतज्ञ पनि छु । आफ्ना रचनाहरुले यथोचित स्थान पाएपछि नेपालनाम्चाप्रति हेर्ने दृष्टिकोण फरक हुने नै भयो ।

नेपालनाम्चा एउटा यस्तो फोरम हो, जहाँ नवीनतम रचनाहरुको लागि प्रशस्त स्थान छ । लेखनमा रुचीका साथै सम्भावना बोकेका नवप्रतिभाहरुको लागि उत्कृष्ट छनोट हो नेपालनाम्चा । यसले थुप्रै प्रतिभाहरुलाई मौलाउने अवसर दिएको छ । यहाँ छुटाउनै नहुने नेपालनाम्चाको विशेषता चाँहि के हो भने यसमा भाषाको सीमा तोकिएको छैन ।

अंग्रेजी या नेपाली जुन भाषामा आफूलाई लेख्न सहज लाग्छ, त्यहि भाषामा आफूलाई मन लागेको कुरा मन लागेजति लेख्न पाइन्छ । शब्द सीमाका कारण बाँधिनु त पर्दैन नै, अनावश्यक लम्व्याइरहने बाध्यता पनि छैन । म नेपालनाम्चामा तब जोडिएकी थिएँ, जब म आफ्नो अगें्रजी कथा प्रकाशित गर्ने मञ्चको खोजीमा थिएँ । म अंग्रेजी र नेपाली दुबै भाषामा कलम चलाउन मन पराउँछु ।

साहित्यका विभिन्न विधाहरुमा कलम चलाउने श्रष्टाहरुको लागि नेपालनाम्चा एउटा स्वर्णिम मन्च हो । पाठकहरुका लागि पनि नयाँ नयाँ स्वाद पस्कने क्षमता पनि राख्छ यसले । मेरो त दिनको सुरुवात नेपालनाम्चाका लेखहरु पढेरै हुन्छ । अझ विद्यार्थीहरुका मिठामिठा रचना पढ्न पाउँदा त कमेन्ट नगरी बस्नै सक्दिनँ । कुनै कुनै लेखकका लेख त मनै छुने हुन्छन् । नियमित पढ्ने गरेकी छु त्यस्ता लेखहरु ।

यसका सम्पादक अशोक सिलवाल जीसँग मेरो परिचय पनि मेरा आफ्नै रचनाहरुले जुराएको एउटा संयोग थियो । उहाँलाई म व्यक्तिगत रुपमा त चिन्दिनँ तर लेखन र प्रकाशनको सिलसिलामा चिन्दै जाँदा एक पुराना हितैषी मित्रजस्तै हुन पुग्नुभयो । मलाई लाग्छ नेपालनाम्चामा जोडिएका सबै लेखकहरुसँग उहाँको त्यस्तै सुमधुर सम्बन्ध छ । यो त सम्पादक ज्यूको विशेषता नै हो भन्दा फरक नपर्ला ।

मैले आफूले थुप्रै वर्ष शिक्षण गर्ने क्रममा सिकेको सबैभन्दा महत्वपूर्ण कुरा के हो भने एक्लै कहिल्यै कहिँ पुग्न सकिन्न । सफल हुनको लागि सहकार्य गर्नै पर्छ । अरुलाई पनि प्रभावित गर्न सक्नु पर्छ । आफू एक्लैले लेख्नु सफल हुनु होइन । आफ्नो सर्कलका साथीहरुले पनि लेख्न थाल्नु भनेको मात्र आफू सफल हुनु हो ।

नेपालनाम्चामा जोडिएपछि मैले आफ्ना केहि शिक्षक साथीहरुका साथै अभिभावकलाई पनि लेखहरु लेख्न पे्ररित गर्ने जमर्को गरेकी थिएँ । उहाँहरुका लेख रचना नेपालनाम्चामा पढ्न पाउँदा म त हर्षविभोर भएँ । स्वतस्फूर्त रुपमा दोहो¥याएर उहाँहरुका रचना पढ्दा त खुशीको सीमा नै थिएन ।

आफ्नो वृत्तका साथीहरुले लेख्न सुरु गरेपछि वार्तालाप पनि लेखनमै केन्द्रित हुने रहेछ । संबादको स्तर पनि आफसेआफ बढेको अनुभव गरेकी छु मैले । अनावश्यक कुरामा समय पनि खेर फाल्नु नपर्ने । साँच्चै भन्ने हो भने लेख्दा पाइने शान्ति र आनन्द त मैले अरु कुनै कामबाट कहिल्यै पाइन । तनाव व्यवस्थापनको लागि लेखन त रामवाण नै जस्तो महशुस भएको छ मलाई ।

नवप्रतिभाहरुको मञ्च हुँदाहुँदै पनि नेपालनाम्चाले आफ्नो गुणस्तर चाँहि कायम गर्नुपर्ने देखेकी छु । बाढीको भेलले बगाएर ल्याउने हरेक चीजलाई जरुरी मान्ने गल्ती यसले गर्नुहुँदैन । आफ्ना सीमाहरु तोकेर अगाडि बढ्ने सल्लाह दिन्छु ।

नेपालनाम्चाका लेख रचनाहरु हामीमध्ये धेरैले पढ्ने त गरेका छौं । तर, के हामीले उक्त लेख रचनाका लेखकलाई प्रोत्साहन पनि होस् भनेर सोचेका छौं त ? अब हामीले त्यसरी पनि सोच्ने बेला आएको छ ।

हाम्रा लाइक र प्रतिक्रियाका दुई शब्दले नव प्रतिभाहरुलाई धेरै हौसला अवश्य मिल्नेछ । किनकि शब्दमा त अथाह शक्ति हुन्छ । कमेन्ट गर्नकै लागि कमेन्ट गर्न छोडेर सुधार गर्नुपर्ने पक्षहरु पनि हामीले खुलाइदिन सक्छौं । श्रष्टालाई सम्मान र बधाईका दुई शब्द लेख्न कन्जुसी नगरौं ।

अन्त्यमा, नेपालनाम्चा तपाईं हाम्रै मञ्च हो । यसलाई गोडमेल गरौं, फलाऔं, फुलाऔं । धेरैभन्दा धेरैले पढ्ने वातावरण बनाऔं । सामाजिक संजालका आफ्ना साथीहरुमाझ यसलाई पु-याऔं । आफू पनि लेखौं, अरुलाई पनि लेख्न प्रोत्साहन गरौं । साहित्य पढ्ने र लेख्ने संस्कृतिको विकास गरौं । के लेख्ने र कसरी लेख्ने भन्ने बहस सुरु गरौं ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button