भनौं न, भान्छे भइएको छ
महामारीमा नेपालनाम्चाले सुरु गरेको लकडाउन वार्तामा कवि/पत्रकार ठाकुर बेलवासे ।
लकडाउन छ । तर, तपाईको कन्फिडेन्स् त डाउन भएको छैन नि ?
म हरेक दिन काममा निस्किएको छु । गत वर्षको लकडाउन जीवनकै पहिलो अनुभव थियो । रेडियो अन्नपूर्ण नेपालमा काम गर्थें । स्टेशन म्यानेजर र सम्पादकको भूमिकामा रहेका कारण लकडाउन घोषणाले चिन्ता थपिदिएको थियो । लकडाउन घोषणा भएको चैत्र १० को राति घरबाट कपडा बोकेर समाचार कक्षका साथी धर्म भट्टलगायतलाई पनि कार्यालयमै सुत्ने व्यवस्था गरियो । म दुईसाता कार्यालयमा बसेँ । साथीहरु त लामो समयसम्म नै कार्यालयमा वस्नु परेको थियो ।
लकडाउन कस्तो हुन्छ भन्ने अन्योलका कारण कार्यालयमा सुत्ने व्यवस्था गरिएको थियो ।
अहिले हाम्रा लगि यो दोस्रो लकडाउन । हामीसँग लकडाउनको अनुभव भएका कारण यस पटक सावधानी अपनाएर काममा हिँड्डुल गरिएको छ ।
कन्फिडेन्स भने अलिक तलमाथि भएको पक्कै छ । चिनजानका मानिसहरु भकाभक मरिरहनु भएको छ । हट्टाकट्टा संचारकर्मीहरु नै पनि बितेको देख्दा मनमा भित्र कतै डर भने छ । यसकारण बाहिर निस्कँदा निकै सचेत हुने गरेको छु । यसमा पनि कारण छ, आफु संक्रमित भएपछि साथीभाइ र घरपरिवारलाई समेत सर्ने डर हुने ।
दिनहरु कसरी बित्दै छन् ?
पहिलो लकडाउनमा जस्तो काममा पूर्ण समय दिन सकिएको छैन् । नढाँटी भन्दा यो यस्तो समय भयो कि काम गर्न मन नै छैन । पत्रकारिता जोखिमको पेशा हो । जीवनमाथि जोखिम मोलेर पत्रकारिता गर्न सकिन्छ । सकिन्थ्यो । तर, कोरोनाको जोखिम लिनु महामुर्खता देखियो । आफु मात्रै मर्ने भन्दा पनि आफ्ना कारण अरुलाइृ पनि मार्ने जस्तो अवस्था हुने हुँदा यस्तो जोखिम लिन सकिएको छैन् । बाढी , पहिरो, भुईँचालो या अन्य विपदमा जोखिम लिनु सकिन्छ पनि । लिँदा मानिसलाई फाइदा पनि हुन्छ । तर, कोरोनाका सन्दर्भमा त्यो रहेन ।
अहिले दिनका केही घण्टा घरमै लेखपढ् समय मिलेको छ । सामान्य समयमा छोराछोरीसँग भेट हुन गाह्रो हुन्थ्यो । अहिले विद्यालयहरु बन्द भएका कारण उनीहरुसँग समय बिताउन पाएको छु । उनीहरुका मनोभावना बुझ्ने राम्रो अवसर पनि भएको छ ।
फुर्सद हुँदा भान्छा पसिहल्ने मेरो बानी छ । यो फुर्सदको बेलामा अन्य काम भएन अथवा श्रीमती रिताजीलाई भान्छामा सघाउनु पर्यो भने पनि सजिलो भएको छ । भनौं न भान्छे भइएको छ ।
कसरी गर्दै हुनुहुन्छ यो समयको सदुपयोग ?
पत्रकारिताका कामहरु घरबाटै कम्यूटरमा वसेर पनि गर्न सकिने हुँदा घरमै पनि अफिस जस्तो भएको छ । अरु साहित्यिक लेखपढ् । घरपरिवारसँग समय वितेको छ । अझ फुर्सद भयो भने मैले त साथीहरुलाई फोन गरेर भए पनि न्यास्रो मेट्ने गरेको छु ।
अघिल्लो बर्षको लकडाउन र यो बर्षको लकडाउन तपाईंलाई उस्तै लाग्दैछ कि फरक ?
धेरै फरक । अघिल्लो वर्षको लकडाउन कस्तो होला भन्ने जिज्ञाशा बढी थियो । लकडाउनका एकदुई दिन पछि सामान्य लाग्यो । अहिले लकडाउनको अनुभव त छ । तर अत्यासलाग्दो छ । मानिसहरु मरिरहेका छन् । आज संक्रमित भएकाहरुको भोलि मृत्युका खबर बनाउनु र सुन्नु परिरहेको छ । यसैले पनि यस पटकको लकडाउन निकै गाह्रो अनुभव गर्दै छु ।
छिमेक र वरिपरिको वातावरण कस्तो छ ?
सुनसान । एकअर्कालाई टाढैबाट नमस्कार र औपचारिकतामा सिमित बनाएको छ । यो समयले । अझ माक्स नलगाएको छिमेकी नजिक छ भने त रिस उठ्ने गर्छ । यस घडि मानिसले एकअर्कालाई मृत्यु, काल देख्ने अवस्था छ ।
यदि लकडाउन नभएको भए आज तपाईं कहाँ र के गर्दै हुनुहुनथ्यो ?
लकडाउन नभएको भए सायद एपी वान टेलिभिजनको कार्यक्रम एपी मञ्च लिएर म काठमाडौं बाहिर हुने थिएँ । बैशाख १५ देखि आमनागरिकका सरोकारका विषयहरु खोज्दै देश दौडाहामा जाने योजना थियो ।
लकडाउनको यो समयलाई भविष्यमा कसरी सम्झनु होला ?
यो अत्यन्तै अप्रिय र क्रूर समय हो । यसले भौतिक र आर्थिक क्षति पुर्याएका कारण यसलाई सम्झिन्न भन्दा पनि सम्झनु पर्ने छ । कोरोना कहरले प्रत्येक नागरिकसँगै सिंगो देशलाई प्रभाव पारेका कारण देशले भोग्ने आर्थिक समस्याहरु हामीले पनि भोग्नु छ । जब देश आर्थिक समस्यामा पर्छ, अनि नागरिकले पीडा भोग्नु पर्ने हुन्छ । यसकारण पनि यो समयको दंश हामीले कालान्तरसम्म भोग्नु पर्ने छ ।
के तपाईंलाई लाग्छ, लकडाउन नै समस्याको समाधान हो ?
कोरोनाको उचित औषधी आजसम्म भेटिएको छैन् । विश्वलाई चुनौती बनेको कोरोना संक्रमित मानिसबाटै मात्र सर्ने भएका कारण यसको मुख्य औषधि भौतिक दूरी कायम गर्ने देखिएको छ, आजसम्म । अझ संक्रमितले छोएका सामाग्रीहरुबाट पनि सर्ने भएका कारण कोरोना संक्रमणको अचुक औषधि नै लकडाउन हो । तर, सधै लकडाउन गरेर जीवन त चल्दैन । लकडाउन जति गरिन्छ, निकै कडा गरेर कोरोना संक्रमणलाई न्यूनिकरण गर्नु आवश्यक छ । यसको न्यूनिकरणपछि राम्रो सचेतना अपनाएर सामान्य जीवनतर्फ फर्कनु पर्ने देखियो ।
कोरोनाको यी बर्षहरुपछि तपाईंको जीवनदृष्टिमा के कस्तो परिवर्तन आएको अनुभव गर्नु हुन्छ ?
मृत्युबोध भएको छ । पैसाले रोगलाई या महामारीलाई अथवा मृत्युलाई रोक्न सक्दो रहेन छ । पदले मृत्युलाई नछेक्ने रहेछ । कोरोना महामारीले आफुभित्रको अहंकारलाई पखालिदिएको छ । मृत्युको यही बोधलाई मैले कवितामा व्यक्त गर्दै पनि छु । मित्र अशोक सिलवालको उत्प्रेरणाका कारण मैले मृत्यु कविता श्रृंखलाबद्ध लेखिरहेको पनि छु । कोरोनाले जीवन क्षणभंगुर रहेछ भन्ने चेत पनि दिएको छ । कोरोनाले हरेक मानिसलाई आफुसँगै अरुलाई पनि हेर्ने दृष्टि दिनु सक्यो भने यो भयावहको केही क्षतिपूर्ति हुन सक्थ्यो ।
भविष्यप्रतिको तपाईंको धारणा के छ ?
अत्यन्तै कमजोर रहेछ मानिसको भविश्य । धनसम्पत्ति भौतिक जीवनका लागि आवश्यकता भन्दा बढी जोहो गर्नु आफैमा पाखण्डता रहेछ । बगरमा थुप्रिएको बालुवाजस्तै त रहेछ मानिसको जीवन । पानीको सामान्य धक्काले बगाई लाने बालुवा भन्दा के भिन्न छ, मान्छेको जीवन ।
रेडियो, टिभी र अखबारमा विकेको मान्छे, आफै अनलाइन पत्रिका संचालन गर्नु भएको छ किन ?
तपाईले भनेको सही हो । मैले आफ्नो हैसियत अनुसार पत्रकारितामा काम पाएको छु । अझ भन्दा राम्रै काम पाएको छु । गत वर्षको लकडाउनमा रेडियोको मेरो कार्यकक्षमा सुत्ने विस्तारा थियो । चैत्रको अन्तिम साताको एक रात मलार्इ किन किन अनलाइन पत्रिका चलाउने चाह बढ्यो । राम्रै गरी चलाउने योजना बनाएँ । र, असार २१ बाट पत्रिका सुरु नै भयो । मसँग पैसा थिएन । फेरि पनि आँट गरेर चलाउँछु भन्ने भयो । योजना त जागिर छोडेर आफ्नै पत्रिकामा सबै समय दिने भन्ने थियो । तर विविध कारणले सकिएन । चार जना साथीहरुबाट पत्रिका संचालन सुरु गरेका थिएँ । त्यसपछि १५, १६ जनाको टीम बन्यो । तीन चार माहिना धानेँ पनि समय र परिस्थितिले साथ दिएन । बजार उठ्नै सकेन । यसकारण टीम सानो बनाएर भए पनि पत्रिकालाई संचालन गरिरहेका छौ ।
केही साथीहरु विशेष गरी मेरा प्रिय साथी रमेश ढुंगेल, मुना बोहोरा र कृष्ण न्यौपानेले निकै खटेर काम गर्नु भएको छ । अझ मुनाजीको काममा खटिने स्वभावले म भावुक पनि छु । अब व्यवसायिक रुपमा अनलाईन पत्रिका चलाउनु भनेको आगो खेलाउनु जस्तै हो । मैले आफ्नो सहज पत्रकारिता जीवनमा खुलामञ्च डटकम खोलर आगो खेलाउँदै छु । फेरि पनि जोखिम लिएर, दुख गरेर गन्तव्यमा पुग्दाको मजा भिन्नै हुन्छ । त्यो मजाको लोभले हामीलाई तानेको छ । हेरौँ ।