लेखकहरुका लागि लकडाउन एउटा सुन्दर मौका रहेछ

महामारीमा नेपालनाम्चाले सुरु गरेको लकडाउन वार्तामा बिर्तामोड झापामा बसेर पत्रकारिता र साहित्य लेखनमा सक्रिय तीर्थ सिग्देल

लकडाउन छ । तर, तपाईको कन्फिडेन्स त डाउन भएको छैन नि ?
त्यस्तो भएको छैन । बरु लकडाउनले मलाई एउटा अवसर दिएको छ । गत वर्षको लकडाउनको सदुपयोग गरेर मैले एक दिन (समयकथा) नामक यात्रा संस्मरण लेखेर प्रकाशन गरेको थिएँ भने यस पटक पाँचौ कृति कथासंग्रहको अन्तिम तयारीमा छु । खासमा लेख्ने, पढ्ने मानिसहरुका लागि लकडाउन एउटा सुन्दर मौका पनि रहेछ । म त्यही काममा लागेको छु ।

दिनहरु कसरी बित्दै छन् ?
घरैमा बस्नु परेपछि अरु काममा ध्यान छैन । केवल लेख्नमै मात्र लागेको छु । लकडाउन खुल्ने बित्तिकै त्यो कथासंग्रह सार्वजनिक गर्ने योजना छ । खासमा लेखकहरुका लागि लकडाउन एउटा फुर्सदको क्षण हो । म यसै काममा लागेर दिन बिताउदै छु ।

कसरी गर्दै हुनुहुन्छ यो समयको सदुपयोग ?
यो समय र अवस्थाले समग्र विश्वलाई त्राहिमाम् पारेको बेला अलिकति चिन्ता लाग्नु त स्वाभाविकै हो । तर, डरले बाँच्न पनि सिकाउँछ रे । त्यही चिन्ता, डर बोकेर सुखद् भविस्यको कल्पनामा बसिएको छ भन्दा हुन्छ । अरु दिनचर्या सामान्य नै छन् । बढी समय त लेखनमै गएको छ ।

अघिल्लो बर्षको लकडाउन र यो बर्षको लकडाउन तपाईंलाई उस्तै लाग्दैछ कि फरक ?
बाह्य वातावरण गत वर्ष भन्दा बढी नै बिग्रेको छ । मानिसहरुका सचेतनाको तह बढे पनि संकट झन् बढिरहेको देखिन्छ । मानिस जति नै सचेत भएपनि यस्तो संकट र महामारीको अगाडि केही नलाग्ने रहेछ । किनभने, यस्ता समस्या एकजनाको कारणले समाधान हुने होइन । यसको समाधानमा सामुहिक प्रयत्न आवश्यक हुन्छ ।

छिमेक र वरिपरिको वातावरण कस्तो छ ?
समग्र जिल्लालाई नै कोभिडको संक्रमणले छोपेको छ भन्दा पनि हुन्छ । झापा अलिक सचेत जिल्ला भएका कारण केही हद्सम्म स्वास्थ्य मापदण्ड अपनाइएको पाइन्छ । अस्पतालहरु सुबिधासम्पन्न भएका कारण मृत्युदर अलिक कम नै छ । तर पनि ढुक्क भएर बस्ने अवस्था देखिदैन ।

यदि लकडाउन नभएको भए, आज तपाईं कहाँ र के गर्दै हुनुहुन्थ्यो ?
लकडाउन नभएको भए म मेरो नियमित काममै व्यस्त हुन्थे । लेखनमै ब्यस्त हुने थिएँ । तर, लकडाउनले बाहिर धेरै निस्कने स्थिति नहुँदा यो काम अझ सहज भएको छ ।

लकडाउनको यो समयलाई भविष्यमा कसरी सम्झनु होला ?
कोभिडले विश्व समुदायलाई नै भयवित पारेको समयमा खासगरेर मानवको अस्तित्व नै संकटमा छ । यो अवस्थाले समग्र मानव संस्कृतिमाथि नै धावा बोलेको छ । तसर्थ यो मानव जाती नै सबैभन्दा दुःखद् र दुर्दान्त क्षण हो ।

के तपाईंलाई लाग्छ, लकडाउन नै समस्याको समाधान हो ?
लकडाउनमात्र नै मात्र समस्याको समाधान त होइन । तर, यो एउटा विधि हो । मानिसहरु आत्म अनुसासनमा बस्न सकेमा यसबाट केही सुरक्षित हुन सकिने रहेछ ।

कोरोनाको यी बर्षहरुपछि तपाईंको जीवनदृष्टिमा के कस्तो परिवर्तन आएको अनुभव गर्नु हुन्छ ?
मूलतः कोरोनाले संकटमा पनि बाँच्न सिकाएको छ । मानिसले जस्तोसुकै कठिन परिस्थितिमा पनि संकटको सामना गर्न सक्छ भन्ने लागेको छ । पृथ्वीले यो पिडादायी क्षणलाई पार गर्न सक्यो भने आगामी दिनहरु सहज हुनेछन् । खासमा मानिसले हार मान्नु हुन्न भन्ने पाठ सिकाएको मात्र छैन, बाँच्नका लागि संघर्ष गर्नुपर्छ भन्ने ज्ञान पनि दिएको छ । आफ्ना आनीबानी र ब्यवहारमा शुद्धता दिनुपर्ने रहेछ भन्ने अनुभव भएको छ ।

भविष्यप्रतिको तपाईंको धारणा के छ ?
वर्तमान एउटा खेल मैदानजस्तो हो, जहाँ अनेक प्रकारका खेलका लागि खेलाडीहरु तम्तयार भएर बसेका हुन्छन् । उनीहरुका आ–आफ्ना दाउपेच हुन्छन् । खुट्टा तान्नेदेखि घाँटी निमोठ्नेसम्मका हर्कतको सामना गर्नुपर्छ । यसको अर्थ भविस्य सुरक्षित छ भन्ने होइन तर वर्तमानलाई ठिक ढंगले बुझ्न सकेमा भविस्य सुरक्षित हुने रहेछ । उज्वल भविस्यको कामना गर्नका लागि वर्तमानमा बढी मेहनत चाहिन्छ । भविस्य वर्तमानको एउटा कडी मात्र हो, जसमा जीवन जोड्न सक्नुपर्ने रहेछ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button