बोकेर झार्ने र ठोकेर झार्ने शैली पत्रकारितामा पनि यदाकदा देखिएका छन्
नेपाली पत्रकारिता र मानवअधिकारका क्षेत्रमा परिचित नाम । नुवाकोटको सुदूरपूर्वी दूर्गम गाउँ समुन्द्रटारमा जन्मेर मुलुकको पत्रकारिता र मानवअधिकार अभियानको केन्द्रीय भागमा पुग्न सफल ।
नुवाकोटकै दूर्गम मानिने दुप्चेश्वर माध्यमिक विद्यालयबाट २०४७ सालमा विद्यालयस्तरीय परीक्षा एसएलसी सकाएर उच्च शिक्षाका लागि सदरमुकाम विदुर हुँदै देशको राजधानी काठमाडौं छिरेका उनी समयक्रममा मुलुककै एक सुपरिचत टेलिभिजनकर्मीका रुपमा स्थापित भए ।
अध्ययनका साथसाथ व्यवसायिक जीवनको शुरुवात सामाजिक सेवाबाट थालेका उनले आफ्नो करियर भने पत्रकारितामै बनाए । २०५० सालबाट करिब सात वर्ष अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनमा बिताएका उनी, शुरुका चार वर्ष नुवाकोट र पछि तीन वर्ष तराईको जिल्ला सिराहामा कार्यरत रहे । जनताको आवाज बोल्नुपर्ने विशेषता बोकेका उनी विकासे कार्यकर्ताका रुपमा सीमित हुन चाहेनन् र तुलनात्मक रुपमा सहज पेशा त्यागेर २०५८ सालदेखि नेपालको मूलधारे पत्रकारितामा होमिए ।
निजी क्षेत्रको पहिलो प्रशारण संस्था ईमेज च्यानलमा दुई दशकअघि संवाददाताका रुपमा प्रवेश गरेका उनी अहिले सोही संस्थामा सम्पादक छन् । ईमेज च्यानलको टेलिभिजन र रेडियो ९एफएम० मा राजनीतिक तथा समसामयिक विषयमा अन्तर्वार्ता गर्ने उनी कुशल अन्तरवार्ताकार पनि हुन् । कुईंकेलले लिने अन्तरवार्ताहरु मूलतः प्रजातन्त्र, मानव ९नागरिक० अधिकार, मूलधारबाट पछाडि पारिएका सीमान्तीकृत वर्ग र तिनका अधिकार जस्ता विषयसँग जोडिएका हुने गर्दछन् ।
उनी यतिमा मात्र सीमित छैनन् । पत्रकारिता उनको पेशा भए पनि न्याय र मानवअधिकारका पक्षमा आवाज उठाउने उनी विश्वकै सबैभन्दा ठूलो मानवअधिकार संस्था एम्नेष्टी इन्टरनेशनलको नेपाल शाखाका पूर्व अध्यक्ष हुन् । दुई दशकदेखि नेपालको मानवअधिकार अभियानमा संलग्न उनी सन् २०१६–२०१८ का लागि एम्नेष्टी इन्टरनेशनल नेपालको अध्यक्ष थिए । प्रजातन्त्र र नागरिक अधिकारमा लगाव रहेकै कारण उनले लामो समयदेखि पत्रकारितामा यिनै विषयलाई उठाउँदै आएका छन् ।
नियमित स्तम्भ पत्रकारलाई प्रश्नमा नेपालनाम्चा प्रस्तुत गर्छ, राजन कुईंकेल ।
किन पत्रकारिता शुरु गर्नुभयो ? के सोचेर यो क्षेत्रमा आउनुभयो ? र, सोचेजस्तै गरिरहनु भएको छ ?
सीधा, छोटो र एक वाक्यको उत्तर खोज्ने हो भने, आवाजविहीनहरुको आवाजलाई मास मिडियामार्फत् दुनियाँ समक्ष पु-याउन नै म पत्रकारितामा प्रवेश गरेको हुँ । तर, यतिले म किन यस क्षेत्रमा प्रवेश गरेँ भन्ने जिज्ञासा भने पूरा हुन्न । वास्तवमा मेरो जीवनको शुरुवाती करियर पत्रकारिता थिएन । किशोरवयमै कामको थालनी गरेको मैले शुरुका झन्डै सात वर्ष एक विकासे कार्यकर्ता बनेर बिताएँ ।
नुवाकोटको सुदूरपूर्वी दूर्गम गाउँ मानिने समुन्द्रटार गाविसमा जन्मिएर दुप्चेश्वर माध्यमिक विद्यालयबाट विद्यालयस्तरीय शिक्षा एसएलसी सकाउँदै जिल्ला सदरमुकाम बिदुर झरेको मैले उच्च शिक्षाको प्रारम्भिक अध्ययन नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा गरेँ । थप अध्ययन र कामलाई एकसाथ अगाडी बढाउनेक्रममा म जीवनको शुरुवाती कालखण्डमा सेभ द चिल्ड्रेन नामक एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा आवद्ध हुन पुगेँ । शुरुका चार वर्ष नुवाकोट र पछि तीन वर्ष तराईको जिल्ला सिराहामा कार्यरत रहे ।
विद्यालय र कलेजमा विद्यार्थी राजनीतिमा होमिएको मेरा लागि विकासे कार्यकर्तामा सीमित हुनु निस्सासिँदो महशूस हुन्थ्यो । तर, कमजोर आर्थिक अवस्था भएको मध्यम वर्गीय परिवारका म जस्ताका लागि अर्को विकल्प थिएन । तर, सात वर्ष पुग्दानपुग्दै मैले मेरो जीवनको बाटो मोड्ने निर्णय गरेँ र हुँदा खाँदाको जागीर छाडेर सिराहाबाट गाउँ फर्किए । त्यसबेला मुलुक माओवादी सशस्त्र हिंसाले ग्रस्त थियो । म जस्ता विकासे कार्यकर्ताहरु उनीहरुको आँखाको तारो बन्थे । अलग विचार र मतप्रति असहिष्णु उनीहरु कि त उनीहरुप्रति आत्मसमर्पण गर्न या परिणाम ब्यहोर्न धम्की दिन्थे । अपहरण, अंगभंग, सफाया उनीहरुका लागि सामान्य थियो । उनीहरुको विचारसँग सहमत हुन नसक्ने म जस्ता जीउ जोगाउँदै पलायनको बाटोमा लाग्नुको विकल्प थिएन । जसले मलाई नयाँ बाटोमा संघर्ष गर्न सिकायो ।
उसो त, म लेख, रचना, निबन्ध, वक्तृत्वकला जस्ता कार्यक्रममा सानैदेखि भाग लिन्थेँ । नयाँ पुस्तकहरु विद्यालय पढ्दादेखि ने अध्ययन गर्न मन लाग्थ्यो । पत्रकारितासँग जोडिन मनभित्रको यस्ता हुटहुटीहरुले पनि जोस्यायो होला ।
काठमाडौंमा फेरि पत्रकारिता अध्ययन र सँगै कामको खोजीमा लाग्दा ईमेज च्यानलसँग मेरो जम्काभेट भयो । भर्खरै समाचारसहितको कार्यक्रम ल्याउन अनुमति पाएको ईमेज च्यानलको शुरुवाती दिनदेखि नै आवद्ध हुने अवसर मैले पाएँ । २०५८ सालमा पत्रकारिता थाल्दा मुलुक माओवादीले थालेको हिंसा तथा सरकारी प्रतिहिंसाको शिकार बनिरहेको थियो । दैनिक सरकारी र माओवादी लडाकूहरु मात्र मारिइरहेका थिएनन्, युद्ध र हिंसासँग बिल्कुलै सरोकार नभएका निहत्था नागरिक पनि दुबै खाले बन्दुकको चपेटमा पारिएका थिए । दिनदहाडै दुबै पक्षबाट मानवअधिकारको चरम उल्लंघन हुने क्रम बढ्दो थियो । बन्दुकको दबदबामा नागरिक आवाज दबाइएको थियो । शहरदेखि गाउँसम्म त्रस्त थियो । यस्तोमा प्रजातन्त्र, मानवअधिकार, नागरिक स्वतन्त्रताजस्ता आधारभूत स्वतन्त्रतालाई प्रिय ठान्ने मेरा लागि यस विषयसँग एकाकार हुँदै योगदान दिनसक्ने स्थान पत्रकारिता ठानेर यो पेशामा हेलिएँ । पत्रकारिता थालेदेखि आजका दिनसम्म पनि मैले आफ्नो ध्येयलाई बदलेको छैन ।
मेरा एउटा प्रयासले कति योगदान पुग्यो पुगेन म भन्न सक्दिँन तर मेरो विश्वासमाथि इमान्दार हुने प्रयास भने गरेको छु । समाचार, आलेख, विचार लेख्दा होस् वा टेलिभिजन, रेडियोको सेट अगाडी कार्यक्रम चलाउन बस्दा वृहत्तर हितका पक्षमा नै केन्द्रित भएर विषयहरु उठान गरिएका छन् । मानवअधिकारका राष्ट्रिय-अन्तर्राष्ट्रिय मञ्चहरुमा मुलुक र मुलुकवासीका पक्षमा बोल्न छाडिएको छैन । रिझाउनेभन्दा आलोचनात्मक बन्नु पत्रकारको धर्म हो । आलोचनात्मक चेत भएको पत्रकारले नै सही अनुसन्धान गर्न सक्छ । आलोचनात्मक चेतका विचार पस्कँदा पाइने प्रशंसा र कटू आलोचनाहरुले पनि यस पेशामा लागिरहन अझ हौसला मिलिरहेको छ ।
पत्रकारिताका सुख के हुन् ? दुःख के हुन् ?
पत्रकारिता मात्र होइन, हरेक पेशाभित्र सुख पनि छन् । दुःख पनि । यसलाई कसरी ग्रहण गर्ने भन्ने हो । त्यो व्यक्ति विशेषमा निर्भर रहन्छ । यस पेशाका सुख भन्नुस् या राम्रो पक्ष, धेरैभन्दा धेरै क्षेत्र, समूह, व्यक्ति, पेशाका व्यक्तिहरुसँग एकाकार हुने अवसर । जसले आफूलाई देश, काल, परिस्थिति, व्यवस्था बुझ्न मद्दत गर्दछ । समाजले पत्रकारिता पेशालाई गर्ने सम्मान अर्को छुटाउनै नहुने विषय हो । यद्यपि, समाजले गरेको अपेक्षा र विश्वासमा समग्र पत्रकारिता पेशा कति खरो उत्रन सकेको छ भन्ने अर्को बहसको विषय होला । राजादेखि रंकसम्मको दैलो खुला रहनु पत्रकारिता पेशाप्रति सम्मान हो भन्ने मैले लिएको छु । पत्रकारिता पेशा आफ्ना लागि भन्दा आमजनताका पक्षमा गरिने काम हो । उसै पनि पत्रकारितालाई चौथो अंगका रुपमा लिइनुपछाडि पनि यस्तै यस्तै कारण छन् ।
दुःखै त भन्दिन तर चुनौती भने राम्रै ब्यहोर्न पर्दछ । एउटा मात्र उदाहरण साझा गर्न चाहन्छु, माओवादी शान्ति प्रक्रियामा आएको थियो । प्रचण्ड युद्धको राप र तापमा थिए । २०६४ सालको निर्वाचनपछि बनेको सरकारको प्रधानमन्त्री प्रधानसेनापति निष्काशन काण्डमा परेर पद त्याग्न बाध्य भएका थिए । त्यही बेला उनले चितवनको शक्तिखोरमा गरेको भाषणको टेप टेलिभिजनबाट सार्वजनिक गर्दा पाएको धम्की भने बिर्सन सकिँदैन । यस्ता विषयहरु पत्रकारितामा आइरहने मोड हुन् ।
नेपाली पत्रकारिताका राम्रा नराम्रा पक्ष के हुन् ? यसलाई थप व्यवस्थित बनाउन के गर्नुपर्ला ?
राम्रा पक्ष अनेक छन् । खासगरी मिशन पत्रकारिताको पृष्ठभूमिबाट शुरु भएको नेपाली पत्रकारिता आज एउटा व्यवसायिक उद्योगका रुपमा विकास र विस्तार हुँदैछ । २०४६ सालको परिवर्तनपछि सञ्चारलाई उद्योगका रुपमा लगानी गर्न तम्सनेहरु थुप्रैं थपिएका छन् । नयाँ नयाँ प्रविधि यस पेशामा प्रवेश गर्ने प्रतिष्पर्धा बढेको छ । अत्याधुनिक शिक्षा प्राप्त जनशक्ति थपिँदो छ । पत्रकारिताका माध्यमबाटै दुराचार, भ्रष्टाचार र नीति निर्माण तहका सेटिङमा हुने गरेको बदमासीहरु आमजनताका बीचमा उजागर हुने गरेको छ । सत्तामा बसेर शक्तिको दुरुपयोग गर्नेहरुलाई नङ्ग्याउँदै गलत निर्णयहरु फिर्ता लिन बाध्य बनाएको छ । पञ्चायतविरुद्धको मिशन पत्रकारिता होस् या प्रजातन्त्रपछि भित्रिएको विकृतिको भण्डाफोर वा प्रजातन्त्र हरण गर्ने राजा ज्ञानेन्द्रको शाही कदम होस् या माओवादीको युद्ध उन्मादी । सबै समयमा नेपाली पत्रकारिताले असलमा नेपाली प्रजातन्त्रको पहरेदार बनेर काम गरेको छ । यी सुखद पक्ष हुन् ।
नराम्राभन्दा पनि सुधार गर्नुपर्ने पक्ष पनि छन् । जनशक्तिदेखि व्यवस्थापन पक्षसम्मका कमिकमजोरीहरुलाई सुधार्नुपर्ने ठाउँहरु छन् । पत्रकारिताभित्र छिरेको दलीयकरणलाई निरुत्साहित गर्न सकिएन भने यो पेशाप्रति भुईंमान्छेहरुको विश्वास मर्न सक्छ । पत्रकारहरुको वृत्तिविकास र क्षमता अभिवृद्धिमा लगानीको जरुरी देखिएको छ । लगानी आकर्षित गर्नु पक्कै पनि जरुरी छ तर अनेकन बाटोबाट भित्रिएका काला धनहरुलाई धुने बाटो यो नबनोस् भनेर उत्तिकै सचेत रहनुपर्ने आवश्यता पनि रहेको छ । उद्योगधन्दा, कलकारखाना प्रश्स्त नहुँदा विज्ञापन व्यवसाय नफस्टाउने, विज्ञापन नहुँदा मिडिया जगत टिक्न गाह्रो पर्ने यी चुनौती छन् । आचारसंहिता पालना नगर्ने, रिसईबी साँध्ने माध्यम बनाउने, अतिरिक्त लाभको लागि पेशालाई माध्यम बनाउने जस्ता विकृतिलाई निषेध गर्न सक्नुपर्दछ । बोकेर झार्ने र ठोकेर झार्ने शैली पनि यदाकदा देखिएका छन् । दुबै खराब प्रवृत्तिविरुद्ध नेपाली पत्रकारिता उभिनु जरुरी छ ।
पत्रकारितामा लागेर के पाउनु भयो ? गुमाउनु भयो ?
आज मैले जुन स्थान पाएको छु, त्यसको सम्पूर्ण श्रेय पत्रकारितालाई नै जान्छ । नुवाकोटको एउटा दुर्गम गाउँमा जन्मिएर शहर पसेको ठिटोलाई पत्रकारिता र मानवअधिकारको क्षेत्रमा चिनिने बनाउने यही पेशा हो । धेरै मानिसहरुसँगको सम्पर्क विस्तार, तिनका नियत र नीति, चित्र र चरित्रबीचको भेद खुट्टयाउने बनाउने पनि यही माध्यम हो । नेपालका साथै अन्तर्राष्ट्रिय मञ्चहरुमा मानवअधिकारका मुद्दाहरु लिएर उपस्थित हुनसक्ने बनाउन पनि पत्रकारिताको ठूलो योगदान छ । २०४६ सालको परिवर्तनका संवाहक राजनेताहरु गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला जस्ता पात्रहरुसँगको सामिप्यता र कुराकानी अमीट छाप छाड्ने खालका छन् । नेपाली राजनीतिका शीर्ष स्थानमा पुगेका नेताहरुसँग हुन् वा झुपड वस्तीमा जीवनको अर्थ खोजिरहेकाहरु बीच भएका अन्तरंग बसउठ यही पेशाको योगदान हो । एउटै समाचारका कारण मानिसहरुको भाग्य बदलिएका सन्दर्भहरु पनि छन् । यस्ता समाचार गर्न पाउँदा निकै खुशी अनुभव हुन्छ ।
खासै केही गुमाए जस्तो लाग्दैन । हो अरु क्षेत्रबाट आएका अवसरहरु, आर्थिक उपार्जनका उन्नत मार्गहरु छाडिए पक्कै तर मेरा लागि सबैभन्दा ठूलो सम्पत्ति आफूले गरेका कामबाट कसैका अनुहारमा झल्कने खुशी हो । त्यसैले गुमाएको भन्ने गुनासो मसँग छैन ।
पत्रकारितामा नभएको भए तपाईं कहाँ हुनुहुन्थ्यो ?
पत्रकारितामा नलागेको भए मसँग दुई वटा विकल्प हुन्थे होलान् भन्ने लाग्छ । पहिलो म जुन संस्थामा विकासे कार्यकर्ताका रुपमा कार्यरत थिएँ, त्यही वा त्यो जस्तै अरु कुनै संस्थामा हुन्थेँ होला । त्यस्तो नहुँदा विद्यार्थीकालमा राजनीतिक चेत बोकेर हिंडेको हुनाले शायद राजनीतिको सानो तिनो भूमिकामा कतै पो हुन्थेँ कि ?
अन्त्यमा अरु केही ?
नेपालको पत्रकारिता क्षेत्रलाई अझै समृद्ध र आफ्नै खुट्टामा उभिने बनाउन धेरै गर्न बाँकी छ । संसारमा आएको प्रविधिको क्रान्तिले परम्परागत सोच र माध्यमहरुलाई बदलिदिएको छ । काम गर्ने शैली र परिपाटीहरु बदलिँदो छ । यसमा नेपालको पत्रकारिता क्षेत्रलाई अभ्यस्त बनाउने मात्रै होइन नेतृत्वदायि बनाउनु पर्दछ । पत्रकारिता क्षेत्रले सँधै प्रजातन्त्र, मानवअधिकार र नागरिकको जनजिविकाका पक्षमा आफूलाई अग्रदस्तामा उभ्याउँदै, आवाजविहीनहरुको सहारा बन्न सक्नुपर्दछ भन्ने ठान्दछु । यो अत्यन्तै जिम्मेवार र संवेदनशील पेशा पनि हो । एउटा पत्रकारले कलम घुमाएकै भरका कसैको जीवन बन्छ भने कसैको स्वाहा पनि बन्न सक्छ । यस्तोमा धेरै होशियारी अपनाउनु पर्दछ । तर, सार्वजनिक जीवनमा रहेकाहरुलाई बारबार जिम्मेवार बनाउने भूमिकाबाट भने किञ्चित चुक्नुहुन्न ।