सम्झनाः जसलाई नेपाल टेलिभिजनको ‘विश्वघटना’ले चिनायो

सन्दर्भः नेपाल टेलिभिजन स्थापना दिवस

अशोक सिलवाल

‘तपाईको ‘विश्वघटना’ अचेल टेलिभिजनमा देख्न पाइदैन नि ?’, विश्वघटनाका प्रस्तोता दुर्गानाथ शर्मालाई देख्ने वित्तिकै मानिसहरुले सोध्ने गर्थे रे ।

कतै उनी ट्याक्सीमा चढ्दा चालक उनीतिर हेरेर ‘तपाई दुर्गानाथ शर्मा होइन ?’ भनेर सोध्ने गरेको उनले सुनाएका थिए, बर्षौअघि मसँग । ‘हो’ भने पछि ऊ छक्क परेर सोध्थ्यो रे, ‘अचेल किन नबनाउनु भएको विश्व घटना ?’

‘विश्वघटना’ प्रस्तोता शर्माले अनुभव सुनाएका थिए, ‘अमेरिका, जापान, लन्डन जता गए पनि नेपाली भेटिन्छन् । ती नेपालीले नेपालमा रहँदा हेरेको विश्व घटना विर्सेका हुँदा रहेनछन् ।’ कार्यक्रममार्फत कमाएको लोकप्रियता सम्झदै उनले थिए, ‘जापानको हिरोसिमामा एउटा भारतीय रेष्टुराँमा काम गर्ने चितवनका एकजना भट्टराईदेखि लन्डनमा नेपाली रेष्टुराँमा काम गर्ने सबैले मलाई चिन्ने माध्यम ‘विश्व घटना’ नैै रहेछ ।’

त्यो एउटा समय थियो, जतिबेला नेपाल टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘विश्व घटना’ले हरेक बिहीबार साँझ ९ बजे सबै वर्गका दर्शकलाई टेलिभिजन सेट अगाडि पलेटी कस्न लगाउँथ्यो वा सोफा सेटमा बसाएर विश्वका विभिन्न स्थानमा पु-याउँथ्यो ।

एक पटक अमेरिका जाँदा उनलाई आफू नेपालमै त छैन भन्ने लाग्दै थियो । रेष्टुराँमा एउटा नेपाली वेटरले भनेछ, ‘हेलो । दुर्गा दाई, कहिले आउनु भयो ? तपाईको कार्यक्रम टिभीमा आउँदै छ ? म नविराइकन हेर्थे, नेपालमा हुँदा । यहाँ आउदैन । के गर्ने ?’ त्यसक्रममा अमेरिकाका थुप्रै डिपाटमेन्टल स्टोरदेखि पेट्रोलपम्प (जहाँ नेपाली भेटिन्थे) सम्म उनले त्यस्तै माया मिसिएको जिज्ञाशा भेट्थे । अमेरिका बसाई वा घुमाइको त्यो अवधिमा जहाँ गयो, त्यहीँ यस्तै प्रश्न र परिवेश । अनि उनी बेला बेलामा भुक्किन्थे, म काठमाडौंमै त छैन !’ उनी अमेरिकामै भएर पनि अमेरिका विर्सन्थे । त्यसको कारण त्यही विश्व घटना थियो । र, विश्व घटनाले जन्माएका प्रिय दर्शक थिए ।

ती दिन सम्झदैं थिए उनी, ‘नेपालमा २०४१ सालतिर नेपाल टेलिभिजनको प्रसारण प्रारम्भ नहुँदै काठमाडौंमा केही दर्शकले ‘यागी एन्टेना’ छानामा खडा गरेर भारतको दुरदर्शन (दिल्लीको प्रसारण) हेर्ने गर्थे । त्यस बेला नेपालमा ‘डिस’ प्रणाली पनि थिएन । अहिले जस्तो छानामा वर्षे जस्ता च्यानल पनि त्यस वेला हेर्न पाइदैँन थियो । समाचारमा अन्तराष्ट्रिय समाचारको अंश थोरै हुन्थ्यो । उनीहरुको देश नै ठूलो भएकाले हुन सक्छ राष्ट्रिय र प्रादेशिक समाचार नै बढी हुने भएकोले ‘अन्तराष्ट्रिय समाचार’ उनीहरुको प्राथमिकतामा पर्दैनथ्यो ।’

यता स्थापना भएको केही महिनापछि नै नेपाल टेलिभिजन मलेशियाको क्वालालम्पुरस्थित एशियाली प्रसारण संस्था ‘एवियू’को सदस्य बन्यो । त्यस अन्तर्गत रहेको ‘एशिया भिजन’ भन्ने संस्थाले सदस्य राष्ट्रले आ–आफ्ना टेलिभिजनबाट भूउपग्रहमार्फत आफ्नो देशका महत्वपूर्ण समाचार पठाउने र तिनै समाचार र ‘यूरोपोली भिजन’का अन्तराष्ट्रिय समाचार समेत मिसाएर तयार गरेको प्याकेज भूउपग्रहमार्फत क्वालालम्पुरबाट प्रसारण गथ्र्याे र सदस्य राष्ट्रले त्यसैलाई ‘डाउन लिङ्क’ गरेर लिने गर्थे । शर्मा सम्झन्छन्, त्यसबेला नेपाल टेलिभिजनले आधा राष्ट्रिय समाचार र आधा अन्तराष्ट्रिय समाचार दिने गथ्र्याे । क्षेत्रीय र अन्तराष्ट्रिय समाचारका महत्वपूर्ण घटना दिएपछि नेपाल टेलिभिजनको समाचार धेरै दर्शकले हेर्न लागे, दुरदर्शन हेर्नै छाडे ।’

शर्मा त्यसबेला नेपाल टेलिभिजनको समाचार निर्देशक थिए । सामान्यतया समाचारमा घटनाको सामान्य विवरण मात्र हुन्छ । ‘तर, त्यो घटनाको पृष्ठभूमि, प्रभाव र विश्लेषणसहितको सामाग्री दिन सक्ने हो भने सायद अन्तराष्ट्रिय घटनाबारे जान्ने नेपाली दर्शकको भोक मेटाउन सकिने थियो’, यस्तै सोच्दै गर्दा एक दिन अचानक जर्मनीको दूतावासबाट उनका पुराना मित्र टंकलाल श्रेष्ठको फोन आयो । मित्र श्रेष्ठलाई जर्मनीको समाचार संस्था ‘डिपिए’ले एउटा ‘यूम्याटिक’ क्यासेट पठाइ दिएछ । शर्माका अनुसार दूतावासमा त्यो क्यासेट हेर्ने ‘डेक’ थिएन रे र त्यसभित्र जर्मनीको टेलिभिजनको सामयिक कार्यक्रम (करेन्ट एफेयर्स) छ भन्नेसम्म थाहा रहेछ, श्रेष्ठलाई ।

‘त्यो क्यासेट पठाइ दिन्छु, काम लाग्ने भए प्रयोग गर्नु होला’, श्रेष्ठले यत्ति के भनेका थिए, १ घण्टाभित्रै खाममा त्यो क्यासेट तत्कालीन समाचार निर्देशक शर्माको टेबुलमा आयो । त्यसमा जर्मनीको मात्र नभएर विश्वकै विविध घटनाबारेको ‘स्क्रिप्ट’सहितका दृश्य देखे, उनले । त्यो एउटा सुन्दर सुरुवात थियो ।

सम्झेका थिए, ‘त्यसमा राजनीतिक, आर्थिक, सामाजिक समाग्री त थिए नै, विभिन्न गरिब तथा अल्प विकसित देशका चिनारी, त्यहाँको जन–जीवन तथा जीवन शैलीको व्याख्या समेत हुन्थ्यो । शितयुद्धका विवाद र युद्ध, क्रान्तिलगायत संयुक्त राष्ट्र संघ र ठूला र धनी राष्ट्रबाट ती राष्ट्रको उत्थानमा भएको सहयोग र समस्याका बारेमा पनि सविस्तार वर्णन गरिएको थियो । त्यसमा स्वास्थ्य, विज्ञान, कृषि लगायत खेलकुदको ‘क्लिप्स’ पनि हुन्थें ।’ उनी संवाददातालाई अलि ठुलो प्रश्न गर्दै थिएर तत्कालै प्रश्नमा उत्तर पनि दिदैं थिए, ‘के थिएन क्यासेटमा ? लाग्थ्यो, सारा संसार त्यही क्यासेटभित्र छ ।’

सुरुमा विश्व घटनाको नाम अर्के रहेछ, ‘सिएनएन’का समाचारबाट हप्ताभरिका महत्वपूर्ण घटनाको विश्लेषण आधा भाग र आधा अर्काे भाग ‘डिपिए’ को क्यासेटका सामग्री लिएर ‘घटना र विचार’ शीर्षकमा आधा घण्टाको कार्यक्रम शुरु गरियो । यही कार्यक्रम पछि गएर विश्वघटना भयो ।’ अमेरिकाको ‘सिएनएन’ त्यसताका नेपाल टेलिभिजनमा अन्तराष्ट्रिय समाचारको स्रोत थियो ।

विश्वघटना शुरु भएको केही महिनापछि काठमाडौंस्थित अमेरिकी, जापानी, वेलायती र इजरेली दूतावाससँग पनि सम्पर्क राखी तिनका मुलुकका ‘करेन्ट एफेयर्स’ कार्यक्रम माग गरे, उनले । शर्मा भन्दै थिए, ‘ती दूतावासले तत्काल आफ्ना देशका क्यासेट झिकाएर उपलब्ध गराइदिएपछि सामग्री यथेष्ट भयो ।’ बेलायती दूतावसले ‘युके टुडे’, जापानी दूतावासले ‘जापान भिडियो टपिक्स’, अमेरीकी दूतावसले ‘भीओए’को मात्र होइन, विज्ञानसम्बन्धी क्यासेट र इजरेली दूतावासले कृषि र अनुसन्धान विषयका क्यासेट पठाउन थाले रे ।

१९९० को सुरुमा इराकले कुवेतमाथि अचानक आक्रमण ग-यो । त्यो खाडी युद्धपछि नै अमेरिकाको ‘सिएनएन’ लोकप्रिय भएको हो । खाडी युद्धको ‘कभरेज’ र युद्धमा प्रयोग भएका नयाँ नयाँ हतियार र विमानहरुबारे यसले दिएको समाचारले दर्शकलाई खाडी युद्ध बुझन सजिलो पनि बनायो । यी सबै जसो सामग्री नेपाली भाषामा विश्व घटनामा प्रसारण गर्दा ‘विश्वघटना’ कार्यक्रम पनि लोकप्रिय हुन थालेको शर्माको अनुमान थियो ।

विश्व घटना लोकप्रिय हुनुमा थुप्रै कारण होलान् । तर, प्रस्तुति शैलीले कार्यक्रम त लोकप्रिय भयो नै, दुर्गानाथलाई यस्तो परिचय पनि दिलायो, आज धेरै बर्षपछि पनि त्यसको ब्याज पाइरहे । ट्याक्सी चढ्दा, रेष्टुरामा जाँदा वा अन्य यस्ता थुपै्र अवसरमा हिजोको ‘हिरो’को खोजी भइरह्यो । त्यसो त कुनै पनि टेलिभिजन कार्यक्रम दर्शकले मन पराउनु वा नपराउनुमा त्यसको प्रस्तुति मुख्य हुने गर्छ । उदाहरणका लागि भारतीइ टेलिभिजन च्यानल ‘सोनी’बाट प्रसारित ‘कौन बनेगा करोडपति ।’ सहमत हुँदै शर्माले भनेका थिए, ‘हो, अमिताभ वच्चनले संचालन गर्दा जति राम्रो लाग्छ, अन्यले गर्दा त्यति राम्रो लाग्दैन । अमिताभको प्रस्तुति नै यसको मुख्य कारण हो ।’

त्यसो त ‘विश्व घटना’को पछाडि एउटा समुह नै थियो । विश्व घटनाका कुरा गर्दा राजेन्द्रदेव आचार्य, रमा सिंह, महाप्रसाद लामिछाने, सुरेश आचार्य, सतीशचन्द्र पौडेल, माणिकलाल श्रेष्ठ, किरणप्रभा तुलाधर र नारायणप्रसाद श्रेष्ठहरुलाई उनले बिर्सिएनन् ।

विश्वघटनाका हरेक श्रृंखलामा जापानको एउटा ‘आइटम’ हुने गरेकाले, धेरैले उनीसित प्रश्न गर्थे रे, ‘हरेक पटक जापानी कार्यक्रम राख्नुको केही अर्थ छ कि ?’ हो, जापानी जीवनशैली र नेपाली जीवनशैली प्राय एउटै छ । काठमाडौंमा नेवारजातीको जात्रा जस्तै रथ तान्ने चलन पनि त्यहाँ देखिन्छ । विज्ञान र प्रविधिका थुप्रै विकास जापानमा भएका छन्, तिनको झलक पनि जापानी कार्यक्रममा पाइन्छ । उनी यसरी उत्तर दिन्थे ।

एकपल्ट जापानमा भान्सा घरमा तरकारी काट्ता निस्केका बोक्रा र फोहोर, गोलभेडाका काम नलाग्ने अंश आदि मिलाएर त्यसलाई उमाल्ने र झोल बनाएर सब्जीबारीमा छर्कने हो भने त्यसबाट तरकारी खेती फस्टाएको एउटा बडो रोचक र नेपालीलाई पनि काम लाग्न सक्ने प्रसङ्ग थियो । सम्झेका थिए, ‘त्यहाँ फर्सीमाथि मानिस बसेको दृश्य पनि देखाइएको थियो ।’

त्यो कार्यक्रमबारे त्यसबेला धेरै जिल्लाबाट किसानहरुले निकै अभिरुचि राखेर उनलाई फोन समेत गरेका थिए रे ।

उनी विश्व घटनामा जापान प्रसंगबारे अरु कुरा पनि गर्दै थिए, ‘बाँसको प्रयोगको एउटा कथा थियो । त्यहाँ कसरी ठूल्ठूला (पुर्वतिर भालुवाँस भनिन्छ) बाँसलाई पानीमा उमालेर एउटा प्रविधिबाट ‘भेनिस्ता’ जस्तै आकारमा बनेका सामग्रीले जापानका घरका कोठा सजाइने गरिन्छ भन्ने रोचक कथा पनि थियो । यस्ता हेरक देशका र खासगरी कृषिप्रधान देशका लागि उपयोगी हुने कुराले दर्शकहरुलाई तुरुन्तै प्रभावित पार्छ । जापानी कार्यक्रममा ‘रोबट’ (यन्त्र मानव) का रोचक र घतलाग्दा कथा पनि हुन्थे ।’

हुनत महिनामा एक पल्ट प्राप्त हुने जापानी क्यासेटमा ४÷५ वटा कथा मात्र हुन्थ्यो । त्यसैले उनी एक पटकमा एउटा मात्र प्रयोग गरेर त्यसको जगेर्ना गर्थें । इजरेली दूतावासबाट आउने क्यासेटमा मरुभूमिमा पनि कसरी इजरेलीहरुले आधुनिक प्रविधिबाट विकसित खेती गरेका छन् भन्ने जस्ता चाखलाग्दा र कामलाग्दा कुरा हुन्थे रे ।

‘यिनै विषयवस्तुका कारणले, समाचार सुन्न नभ्याएकालाई पनि एकै पल्ट हप्ताका महत्वपूर्ण घटनाको विश्लेषणसहितको विवरण पाइने भएकाले र आफ्नै भाषामा र नेपाली शैलीमा प्रस्तुत गरिने भएकाले विश्व घटना लोकप्रिय भएको हो’, शर्माको विश्लेषण थियो ।

गोल्डेन गेट कलेजका पत्रकारिताका विद्यार्थीलाई देखाइएको लेखक सिलवाल निर्देशित ‘वृतचित्र घर फर्किरहेका मान्छे’ अवलोकन गर्दै शर्मा । शर्मा त्यहाँ प्राध्यापनरत थिए ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button