पत्रकार नभएको भए खाडी मुलुकमा श्रम गरिरहेको हुन्थें होला
२०५९ सालदेखि गोरखापत्र दैनिकमा २०६६ सम्म कार्यरत रहे । सन् २०१० मा बेलायत बस्न थालेपछि त्यहाँबाट निस्कने नेपालीपत्र, नेपाली सन्देश र एभरेष्ट टाइम्स साप्ताहिकमा आवद्ध भए । सन् २०१४ देखि वीनेपाली संचालन गर्दै आएका छन् । पछिल्लो पाँच वर्षदेखि नेपाल पत्रकार महासंघ युके शाखाको अध्यक्ष छन् । नियमित स्तम्भ पत्रकारलाई प्रश्नमा नेपालनाम्चा प्रस्तुत गर्छ, नरेश खपांगी मगर ।
किन पत्रकारिता सुरु गर्नुभयो ? के सोचेर यो क्षेत्रमा आउनुभयो । र, सोचेजस्तै गरिरहनु भएको छ ?
म एसएलसी सकेपछि कुनै प्राविधिक शिक्षा लिन चाहन्थेँ । यसका लागि पोखराको लामाचौरस्थित इन्जिनियरिङ क्याम्पसमा भर्ना पनि भएको थिएँ । यसअघि पोखराकै हरियोखर्कमा रहेको वनविज्ञान क्याम्पसमा पनि भर्ना भएको थिएँ तर अचानकको पारिवारिक दुर्घटनाका कारण प्राविधिक शिक्षामा अघि बढ्न सकिनँ । दुई वर्ष जति नियमित पढाइ नगरी बसेँ । म त्यतिबेला काठमाडौँ कुलेश्वरमा रहेको एक फोटो स्टूडियोमा काम गर्थेँ । सँगैको पसलमा त्यतिखेर प्रकाशित हुने नेपालका दैनिक, साप्ताहिक, मासिक पत्रिकाहरु आउँथे । म दिनहुँ ती पत्रिका विज्ञापनसमेत नछोडी पढ्थेँ । खासमा पढ्न नपाएको भोक र झोंक दुवै थियो ममा । यसरी केही समय पत्रिका पढ्न थालेपछि मेरो सोचाइ बदलियो । प्राविधिक शिक्षा लिएर कुनै पेशामा लाग्नुभन्दा पत्रकार बन्नुमा महत्व देख्न थालेँ । तत्पश्चात रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता पढ्न भर्ना भएँ । काम गर्दै पढ्नपर्ने भएकाले नियमित क्याम्पस गएर पढ्न पाइनँ । नेपाल प्रेस इन्स्टिच्यूटबाट पत्रकारिता हाते किताब नामक पुस्तक ल्याएर पढेँ र सैद्धान्तिक परीक्षा पास गरेँ तर व्याबहारिक परीक्षा पनि दिनपर्ने रहेछ । नियमित क्याम्पस नजाने भएकाले थाहै पाइनँ । एकैचोटी लब्धाङ्क पत्र पाउँदा पो अनुत्तीर्ण भएको रहेछु । अब त्यो पास गर्न के गर्ने भन्ने सोच्दासोच्दै मिडिया प्वाइन्ट भन्ने संस्थामा पत्रकारिता तालिम खुलेको रहेछ । दौडेर गएर भर्ना गरेँ र १० महिना तालिम लिएँ । त्यसपछि पत्रकारिताप्रतिको मेरो बुझाइ फराकिलो भयो र म २०५९ देखि गोरखापत्र दैनिकमा आवद्ध भएँ । सत्य समाचार र स्पष्ट विचार प्रवाहले समाज निर्माणमा सहयोग पुर्याउन सकिन्छ भनेर नै पत्रकारितामा होमिएँ । अहिले पनि सोही विश्वासमा अडिग छु ।
पत्रकारिताका सुख के हुन् ? दुख के हुन् ?
पत्रकारिताको सुख भनेकै पाठकको सन्तुष्टी हो । पाठकहरुलाई नयाँनयाँ सूचना र जानकारी दिलाएर उनीहरुको जीवन सहज बनाउन सके त्यो भन्दा ठूलो सुख के होला र ? पत्रकारिताको दुख भनेको हाम्रो नेपालको सन्दर्भमा चाहिँ यो क्षेत्र बलियो उद्योगका रुपमा विकसित हुन सकेन । भूकम्पको पराकम्प र कोभिड १९ को एक झमटमा नै लत्रक्क पर्यो । जसका कारण प्रतिभावान युवाहरुलाई यस क्षेत्रले आकर्षण गर्न सकेन र कैयौंवर्षसम्म नसक्ला । भैरहेका पत्रकारहरुले पनि पारिश्रमिक पाउनका लागि अनसन बस्नपर्ने अवस्था आयो । सामाजिक न्यायका लागि आवाज उठाउने पत्रकारहरुले आफूले गरेको कामको ज्याला समेत नपाउनु जति दुखद कुरा के होला र ?
नेपाली पत्रकारिताका राम्रा-नराम्रा पक्ष के हुन् ? यसलाई थप व्यवस्थित बनाउन के गर्नुपर्ला ?
नेपाली पत्रकारिता बढी राजनीति केन्द्रीत भयो । जसका कारण पाठकमा निराशा फैलाउनमा हामी पनि एक हदमा जिम्मेवार बन्यौं । यसको सट्टामा राजनीतिक विषयलाई सीमित स्थान दिई सामाजिक परिवर्तन, आर्थिक रुपान्तरण, नयाँ प्रविधिको प्रयोग लगायतका अन्य क्षेत्रमा प्राथमिकता दिन सके मानिसहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने थियो । यसलाई थप व्यवस्थित बनाउन सम्पादकहरुको ज्ञानका दायरा फराकिलो हुनुपर्छ र पत्रकारिताप्रतिको बुझाइ परिवर्तन हुनुपर्छ । मिडियालाई एउटा बार्गेनिङ टुलका रुपमा होइन, एउटा उद्योगका रुपमा विकसित गर्नुपर्ने आवश्यकता छ ।
पत्रकारितामा लागेर के पाउनु भयो ? गुमाउनु भयो ।
पत्रकारितामा लागेर मैले पाएको मात्र छु केही गुमाएको छु जस्तो लाग्दैन । किनभने मसित गुमाउनलाई केही पनि थिएन । पत्रकारिताले मलाई जिज्ञासु बनायो । राजनीति, अर्थशास्त्रदेखि अध्यात्मलगायतका विषयमा रुचि जगायो । जसका कारण एकपछि अर्को कौतुहलले पछयाइरह्यो र कहिल्यै एक्लो र निराश हुने ठाउँ दिएन । म पत्रकारितामा लागेकै दिनदेखि थोरबहुत पारिश्रमिक पाएकाले पनि पछुतो मान्ने त्यस्तो केही छैन । पाठकहरुको विश्वास, समुदायको माया नै मैले पत्रकारिताबाट आर्जन गरेको सम्पत्ति हो । धेरै मानिसहरु पत्रकारितामा लागेर समयमा घरव्यवहारमा ध्यान दिन नसक्दा जीवनको उत्तरार्धमा आएर पछुताउने अनि पत्रकारितामा लागेर केही पाइनँ भन्ने गरेको पनि पाएको छु । तर म त्यस्तो भन्ने पक्षमा छैन ।
यदि तपाई पत्रकारितामा नभएको भए कहाँ हुनुहुन्थ्यो ?
शायद मेरो जीवन अत्यन्तै मामुली आमनेपालीको जस्तो हुन्थ्यो होला । काठमाडौँमा कुनै नीजि व्यापारिक प्रतिष्ठानमा मामुली श्रमिकका रुपमा वा अलि पैसा जोहो गर्न सकेको खण्डमा कुनै खाडी मुलुकमा श्रम गरिरहेको हुन्थें होला ।
अन्त्यमा अरु … ?
मलाई केही कुरा राख्ने मौका दिनुभएकोमा नेपालनाम्चालाई हार्दिक धन्यवाद ।