वाइलाइन झलक गैरे, अहा ! त्यो सुखानुभूति !
बुुबा व्यवसायिक नेतृत्वसहित ‘तिजोरी’को साँचो हस्तान्तरण गर्न चाहन्थे । कवि मन, त्यतातिर ध्यान गएन । त्यो जिम्मेवारी आइलाग्ला भनेर घरै छाडेर पत्रकारिता ‘सुख’मा कुदे ।
‘पत्रकारितामा लागेर सामाजिक जीवन पाएँ, पारिवारिक उन्नयन गुमाएँ’, भन्छन्, ‘तर, अब अलिक व्यवस्थित हुनुपर्छ भन्ने चेत पनि पाएँ– देरसबेर !’
उनको पत्रकारिताको मूल समय चरम द्वन्द्वको कालखण्ड रह्यो । तर, त्यही कालखण्ड उनलाई सुखद लाग्छ । नेपालगन्जमा बसेर त्यसताका महिनामै १२-१५ वटासम्म मेनन्यूज लेखे । नामै लिन डराउनु पर्ने बेला सशस्त्र द्वन्द्वका सुप्रीमोका अन्तर्वार्ता गरे । बम पन्छ्याउँदै फिल्ड रिपोर्टिङ गरे । सेनाका सुराकी छल्दै बाँके–बर्दियाका बस्तीवस्तीमात्रै होइन, रोल्पा–रुकुमका गल्छेडा डुल्दाका कष्ट नै प्यारा लाग्थे उनलाई, जब ज्यान जोगाएर लेखिएका समाचारले पाठकलाई उनकै शब्दमा ‘भाइब्रेन्ट’ बनाउँथ्यो । ‘पत्रिकाले नपुगेर समाचारका फोटोकफी हातोहात पुगिरहेको हुन्थ्यो’, सम्झन्छन् र गौरव गर्छन्, ‘वाइलाइन झलक गैरे, अहा त्यो सुखानुभूति !’
‘सोचेजस्तै गर्न सके त सक्किगो नि !’, फेरि भन्छन्, ‘एक दिन त कसो सोचे झैं नहोला र जिन्दगी !’
देशभर डुल्दै छ र नेपालगञ्ज आइपुगेको छ नेपालनाम्चा । र, प्रस्तुत गर्दैछ पत्रकारलाई प्रश्नमा नेपालगञ्जे पत्रकार झलक गैरे ।
किन पत्रकारिता सुरु गर्नुभयो ? के सोचेर यो क्षेत्रमा आउनुभयो ? र, सोचेजस्तै गरिरहनु भएको छ ?
म साहित्यको विद्यार्थी, त्यसताका (२०४९–०५४ साल) अभियानकै रुपमा साहित्यमा लागियो । त्यहीबीच साहित्यिक पत्रकारिता थालियो, विस्तारै नजानिदो तरिकाबाट पत्रकार बन्ने (भन्ने पनि) भूत चढिसकेको रहेछ । अनि त के ! युवा जोशजाँगर भएका हामी जत्तिकालाई के कथा कविता लेखेरमात्रै भ्याउँथ्यो ? दाजुहरु (वरिष्ठ पत्रकारहरु) को संगत र रंगतले हामीलाई त्यतिबेलाको पत्रकारितामा मूलप्रवाहिकरण गरिसकेको थियो । लघुकथा र खासगरी गजल विधाबाट राष्ट्रप्रेम (प्रेम–वासना पनि) र सामाजिक वेथितिलाई उजागर गरिन्थ्यो, विस्तारै यसको प्रभावकारिता पत्रकारिताबाट सम्भव हुने ठानियो र लागियो यसैमा ।
सोचेजस्तै गर्न सके त सक्किगो नि ! तर, असफल चाहिं छैन । म आफैलाई सोचेजस्तै गर्नका लागि नियमित रुपमा प्रेरित गरिरहेको हुन्छु । एक दिन त कसो सोचे झैं नहोला र जिन्दगी !
यदि पत्रकारितामा नभएको भए तपाईं कहाँ हुनुहुन्थ्यो ?
हेर्नुस् यसमा मैले जे उत्तर दिए पनि हाइपोथेटिकल हुन्छ । सत्यता नजिकचाहिं के हो भने मलाई बुुबाले आफ्नो व्यवसायिक नेतृत्वसहित तिजोरीको साँचो हस्तान्तरण गर्न चाहनुहुन्थ्यो । कवि मन, पैसातिर ध्यान गएन । त्यो जिम्मेवारी आइलाग्ला भनेर घर नै छाडेर पत्रकारिताको सुखमा कुदियो । मेरो बुबा त्यो बेला नेपालगन्जका प्रतिष्ठित यातायात व्यवसायी हुनुहुन्थ्यो । अहिले रिटायर्ड लाइफ बिताउँदै हुनहुन्छ । त्यस हिसाबले बुवाको उत्तराधिकारी बनेर यो बेला ठुलै यातायात कम्पनीको मालिक भइन्थ्यो ।
पत्रकारितामा लागेर के पाउनु भयो ? के गुमाउनु भयो ?
सामाजिक जीवन पाएँ, पारिवारिक उन्नयन गुमाएँ । समाजका लागि समय प्रशस्त पाएँ, जसले जहाँ बोलायो, पुगिदिएँ । उहाँहरुका कुरा (समस्या-सम्भावना) सुनें, सकेसम्म सम्पे्रषण पनि गरें । परिवारलाई दिने समयचाहिं प्राथमिकतामा राख्न सकिनँ । न हिजो बुवाआमाका लागि न आज श्रीमति–सन्तानका लागि नै चाहना अनुसारको समय दिन सकिरहेको छु । यी सबै सवालमा अब अलिक व्यवस्थित हुनुपर्छ भन्ने चेत पनि पाएँ– देरसबेर !
पत्रकारिताका सुख के हुन् ? दुःख के हुन् ?
मेरो बुझाइमा सुख र दुःख भनेका केवल दृष्टिकोणमात्र हुन् । मैले पत्रकारिताका सुख ठानिरहेका कुरा यही पेशाका अर्का सहकर्मीलाई दुःख लागिरहेको हुनसक्छ, मेरो दुःखलाई चाहिं सहकर्मीको सुख ।
मेरो पत्रकारिताको मूल समय चरम द्वन्द्वको कालखण्ड रह्यो । जसलाई अधिकाँशले दुःखको रुपमा चित्रण गर्छन् । तर, त्यही कालखण्ड नै मलाई सुखद लाग्छ । नेपालगन्जमा बसेर त्यसताका मुलुककै नेतृत्वदायीमध्येको नेपाल समाचारपत्रमा महिनामै १२-१५ वटासम्म मेनन्यूज लेखियो । नामै लिन डराउनु पर्ने बेला सशस्त्र द्वन्द्वका सुप्रीमोका अन्तर्वार्ता गरियो । बम पन्छ्याउँदै गरिएका फिल्ड रिपोर्टिङ, शव संख्या बढाउने (भिडन्तमा मारिएका) सेना– विद्रोहीका होडबाजीमा सत्यको खोजी । सेनाका सुराकी छल्दै बाँके– बर्दियाका बस्तीवस्तीमात्रै होइन, रोल्पा– रुकुमका गल्छेडा डुल्दाका कष्ट नै प्यारा लाग्थे जब ज्यान जोगाएर लेखिएका समाचारले पाठकलाई ‘भाइब्रेन्ट’ बनाउँथ्यो । पत्रिकाले नपुगेर समाचारका फोटोकफी हातोहात पुगिरहेको हुन्थ्यो, वाइलाइन झलक गैरे, अहा त्यो सुखानुभूति !
अहिलेको दुःख भनेको घुम्ने कुर्चीमा बसेर समाचार पकाउने हो । राजनीतिक दलका नेताले गरेका बकवासलाई समाचार बनाइदिनुपर्ने दुःख हो । ती समाचारले पाठकका हातमा एक मिनेट अडिन्न पत्रिका । पाठकको रुझान, प्रविधिको फड्को र मानिसका मनपरिबीच अडिएर जेनुइन जर्नाजिज्ममा टिकिरहनु अहिलेको दुःख (चुनौती) हो ।
नेपाली पत्रकारिताका राम्रा–नराम्रा पक्ष के हुन् ? यसलाई थप व्यवस्थित बनाउन के गर्नुपर्ला ?
सिकिरहनु नेपाली पत्रकारिताका राम्रा पक्ष हुन् । नराम्रो पक्ष भनेको पनि सधै सिकिरहेकै देखिनु अर्थात् परिपक्वताको अभाव । केटौलेपनले नेपाली पत्रकारितालाई सधैं पछ्याइरह्यो । कहिले हुने नेपाली पत्रकारिता परिपक्व ?
तपाईंले आफ्ना (नेपालगन्जका) कुरा गर्नु भयो कि काठमाडौंका ?
हा हा हा (लामो हाँसो), मैले नेपाली पत्रकारिताका कुरा गरें । बिडम्बना, काठमाडौंले नै मार्गनिर्देश ग-यो राम्रा वा नराम्रा दुबै पक्षको । आफ्ना मौलिकतामा हामी (मोफसल भन्ने गरिएका) पत्रकारितालाई परिपक्व गर्दै लैजानुपर्छ । अब प्रविधिको विकासले चाहिं त्यो बाटो खोलेको छ । स्रोत माथिको केन्द्रीय (राजधानी) एकाधिकार भत्काउँदै जान सकियो भने त्यो बाटोमा मज्जाले हाम्रा मौलिकतामा अगाडी बढ्न सकिन्छ भन्ने लाग्छ ।
राजनीतिमा जस्तै पत्रकारितामा पनि केन्द्रीयता कति हावी छ भन्ने लाग्छ ?
अहिलेसम्म राजनीतिभन्दा बढी नै हावी । यसको जवाफ दिँदा अलिक भावुक बनाउन सक्छ, मलाई । मापन नै गरेर यति नै त भन्न सकिन्न । तर, राजधानी (संघ वा अब त प्रदेश पनि) मा बसेर पत्रकारिता गरिरहेकाहरु बाहिर (जिल्लातिर) को अस्तित्व सहजै स्वीकार गर्दैनन् । त्यो भनेको केन्द्रीयताको दम्भमात्रै हो । आफुमात्रै जान्नेसुन्ने– सहअस्तित्वभावमा कमी । यो अवस्था अब चिरिंदै जान्छ भन्ने लाग्छ । एकातिर प्रविधिको विकासले पत्रकारितामा पनि भौगोलिक सिमारेखाको दायरा मेटाउँदै लग्यो, अर्काेतिर राज्य पुनःसंरचनाले स्रोतको केन्द्रीय एकाधिकार भत्किंदै गाउँसम्म पुगिरहेको छ ।
नेपालगन्जमा बसेर पत्रकारिता गरिरहँदा पश्चिम नेपालको पत्रकारितालाई कसरी हेरिरहनु भएको छ ?
नजिकैबाट नियालेर हेरिरहेको छु । पत्रकारको छाता संस्था, नेपाल पत्रकार महासंघको क्षेत्रीय नेतृत्व पनि गरिसकेकाले करिब करिब अपडेट पनि छु । समग्रमा यो क्षेत्रमा पत्रकारिताको विकास क्रमशः तर, उत्साहजनक ढंगले भइरहेको छ । यसमा जिम्मेवार र स्रोत साधनले भरिपूर्णताको खाँचो चाहिं खट्किरहेको छ । त्यो पनि समयक्रमसँगै आउला भन्ने आशाको वातावरण छ ।
अन्त्यमा अरु केही ?
गज्जब नि ! हार्दिकतापूर्ण धन्यवाद ! हामी सधैं अरुका सवालमा लेख्छौं, बोल्छौं अनि सुन्छौं । तपाईले हाम्रा (पत्रकार) कै सवालमा यो अवसर उपलब्ध गराउनु भयो । त्यसमा पनि राजधानीदेखि निकै टाढाका मान्छेलाई यसलायक ठान्नु भयो, अतः नेपालनाम्चा र यसका सम्पादक अशोक सिलवाललाई अझै बढी धन्यवाद ।