
पत्रकार समाजको पहिलो विद्यार्थी र पहिलो गुरु पनि हो
पत्रकारिताका अनेक माध्यम, विधा र विषयलाई छामे र छामिरहेकै छन् । अहिले ‘न्यु मिडिया’मा पनि सतत् सक्रिय छन् । झन्डै चालिस बर्ष पत्रकारितामै बिताइदिए । बिताइदिए होइन, यसैमा निरन्तर लागिरहे । त्यसैले नामजस्तै पत्रकारिताका ‘तीर्थ’ भइसके । नेपालनाम्चाको नियमित स्तम्भ ‘पत्रकारलाई प्रश्न‘मा तीर्थ कोइराला ।
किन पत्रकारिता सुरु गर्नुभयो ? के सोचेर यो क्षेत्रमा आउनुभयो ? र, सोचेजस्तै गरिरहनु भएको छ ?
सानैदेखि साहित्य र राजनीतिमा चाख थियो । दुबै कुराका लागि पत्रकारिता उपयुक्त हुन्छ भन्ने महसुस गरेर शुरु गरियो । गर्दागर्दै निस्कन नसक्ने गरी यसमै डुवियो ।
पत्रकारिताका सुख के हुन् ? दुख के हुन् ?
यो दुखि र अपजसले भरिएको पेशा हो । इमानमा चल्नेलाई पैसा खासै हुन्न । तर पत्रकार भोकै पनि मर्दैन । इमानका साथ पेशामा रम्न जम्न सक्नु पर्छ आलोचना सुन्न सक्नुपर्छ । के बुझ्नु जरुरी छ भने दुख नभएको कुनै पेशा हुदैन यति बुझ्यो भने सुख त नहोला तर दुख पनि छैन ।
नेपाली पत्रकारिताका राम्रा नराम्रा पक्ष के हुन् ? यसलाई थप व्यवस्थित बनाउन के गर्नुपर्ला ?
इतिहास, भूगोल, संस्कृति र सभ्यतामा नेपाल बुझौं । नेपाली चिनौं । आफैंलाई पहिचान गरौं । हाम्रा छिमेकीलाई छामौं । दीर्घकालिन सोचाइ राखेर अगाडि बढौं । हामी तत्कालिक कुराले छिटै बहकिन्छौं । अलिक गम्भीर भएर सूचना लिने र दिने गरौं, यसमै भविष्य छ।
पत्रकारितामा लागेर के पाउनु भयो ? गुमाउनु भयो ?
यसमा इज्जत, प्रतिष्ठा र धेरैको माया पाएको छु । नपाएको हिसाब गरेर दुखि हुन चाहन्न । मैले यसलाई अंगालेर करिब चालीस बर्ष बिताउदैछु । म यसमा गौरबान्वित छु । कति कुरा समय अनुसार सिक्दै अगाडि बढ्न चाहन्छु ।
यदि पत्रकारितामा नभएको भए तपाईं कहाँ हुनुहुन्थ्यो ?
म कानुनको विद्यार्थी । वकालत वा न्यायालयमा हुन्थें होला ।
अन्त्यमा अरु केही ?
यो पेशा बाहिरबाट देख्दा जति सहज छ, यसको जिम्मवारी त्यति नै बिशाल छ । समाचार पढिने सुनिने र देखिने कुरामा मात्र सिमित हुदैन, त्यसले पार्ने प्रभाव ठूलो कुरा हो । शब्दलाई हाम्रो पूर्वीय सभ्यतामा गुरु मानिन्छ । यसलाई ब्रह्म पनि भन्छन् । हरेक शब्दको अर्थ महत्व र तौल हुन्छ । त्यो सबै बुझेर प्रयोग गर्नु प्रत्येक पत्रकारको कर्तव्य हो । मैले लेखेका हरेक शब्द मैले बोल्ने हरेक बाणी र छोडेर जाने हरेक दृश्य मेरो समाज देश, मानवसभ्यता र स्वयं मेरा इतिहास हुनेछन् भनेर सोच्नु पर्छ । समय गतिशिल छ । समयसँग प्रविधिको विकास अकल्पनीय ढंगले अगाडी बढ्दै छ । हरेक पत्रकारले आफूलाई समयमनुकुल बनाउदै अगाडि बढ्नु पर्छ । पत्रकार समाजको पहिलो विद्यार्थी र पहिलो गुरु पनि हो ।
