७२ प्वाइन्टको समाचारले पत्रकारितातिर आकर्षित भएँ

विद्यालय जीवनबाटै साप्ताहिक गतिविधीमा स्तम्भ लेखन शुरु । पछि कामना सिने मासिकमा संवाददाताका रुपमा प्रवेश गरी उप सम्पादक, कार्यकारी सम्पादक हुँदै हाल सम्पादक । र, नेपाल समाचारपत्रमा समाचार सम्पादक पनि । चलचित्र पत्रकार संघको दुई कार्यकाल अध्यक्ष । ‘नेपालनाम्चा‘को नयाँ स्तम्भ ‘पत्रकारलाई ५ प्रश्न’मा विदुर गिरी

किन पत्रकारिता सुरु गर्नुभयो ? के सोचेर यो क्षेत्रमा आउनुभयो ? सोचेजस्तै गरिरहनु भएको छ ?
पत्रकारिताप्रति मेरो रुचि पलाउनुमा एउटा रोचक प्रसंग छ । स्कुल (विजय स्मारिक मावि, डिल्लीबजार) मा नेपाली पढाउने निरञ्जन सरले राजेश खन्नाको शैलीमा आकाशतिर हेर्दै बेलाबखतमा त्यो गोरखापत्रमा ३७ प्वाइन्ट, ७२ प्वाइन्टको अक्षरमा समाचार आएको छ नि भन्ने गर्नुहुन्थ्यो । पत्रिकाका यस्ता प्राविधिक कुराले मलाई अज्ञात रुपमा पत्रकारितातिर आकर्षित गरिरहेको हुन्थ्यो । त्यो आकर्षण तब बलियो भयो, जब हाम्रो किराना पसलमा साप्ताहिक गतिविधीको लेटर प्रेसमा काम गर्ने विष्णुविक्रम थापा दाईसँग भेट भयो । उहाँलाई मैले ‘हामीले पनि लेख्ने अवसर पाउँछौ कि ?’ भनेपछि उहाँले त्यसका प्रधान सम्पादक पद्मसिंह कार्कीलाई सोधेर मलाई स्तम्भ लेख्ने अवसर दिलाउनु भयो । ६-७ कति क्लासमा पढ्थें, याद छैन । त्यति बेला सरले पढाई रहनु भएको हुन्थ्यो, म क्लासमा बसेर गतिविधिको लागि आर्टिकल लेखिरहेको हुन्थें । दुःख लाग्छ, मलाई लेख्ने पहिलो अवसर दिलाउने विष्णु दाईलाई वर्षौंदेखि भेट्न सकेको छैन । कुनै बेला केही कुरामा चित्त दुखाएँ कि, नत्र उहाँ आपैmँ पनि सम्पर्कमा आउनु पर्ने भन्ने लाग्छ ।
म पत्रकारितामा आउँदा कुनै ठूलो सपना वा उद्धेश्य बोकेर आएको थिइनँ । र, यसलाई करियर बनाएर जिन्दगीको झण्डै ३ दशकसम्म लगातार यही क्षेत्रमा क्रियाशिल रहन्छु भन्ने पनि लागेको थिएन । वस् जानीनजानी पत्रकारिता शुरु गरियो । कहिल्यै पछाडि फर्केर हेरिएन । कसरी यति लामो समय गयो ? थाहा पनि भएन ।

पत्रकारिताका सुख के हुन् ? दुख के हुन् ?
मानिसले हेर्दा पत्रकारितामा सुखैसुख र सुविधैसुविधा देखिन्छ । अझ मनोरञ्जन विधाको पत्रकारितालाई त अहिले पनि कतिपयले हल्का विषयका रुपमा लिन्छन् । तर, हामीले सम्प्रेषण गर्ने हरेक सामाग्री मनोरञ्जनमूलक होइन, घण्टौं र कहिलेकाहिँ त हप्तौं लगाएर गम्भिर सामग्री पनि पस्किरहेका हुन्छौ । दुःख त त्यति बेला लाग्छ, जब कोही कलाकारको निधन हुँदा हामी उसको बायोडाटा सोधेर या कुरेर बसिरहेका हुन्छौं । पत्रकारिताको सुख भनेको हामीले पस्किएको समाचारबाट मिल्ने प्रतिक्रिया हो । कहिलेकाहीं दुःखको विषय पनि त्यही प्रतिक्रिया बनिदिन्छ । हामीले सम्हालिरहेको पत्रकारिताको विधा यस्तो छ कि हाम्रै कलमका कारण सामान्य मानिस स्टार बनेर चम्किन्छ, हाम्रै लेखनीका कारण कसैको करियर बर्बाद हुन्छ । तर, दुःख त्यति बेला लाग्छ, जुन बेला योगदान वा कामको तारिफ गरेर सकरात्मक चर्चा गर्दा धन्यवाद भन्न नसक्ने कलाकारले त्यही सामग्रीभित्र वा अर्को कुनै सामग्रीलाई आफुलाई चित्त नबुझ्ने सामान्य नकारात्मक दुई शव्द भेटाएर गालीगलौज गर्न थाल्छ । हर हमेशा समाचारमै रमाउने बानी परिसकेकाले पत्रकारिता सुखद लाग्छ । यसको दुःख भनेको व्यक्तिगत जीवन सधैंका लागि अन्त हुनु हो । समाचारका अगाडि पारिवारिक दायित्व, सामाजिक संस्कारजस्ता पक्ष गौण हुन जान्छन् । चाडबाड होस् या अन्य अवसर पहिलो प्राथमिकता समाचार नै हुन जान्छ । जस्तो कि हालै मात्र अस्वस्थताका कारण अचानक भरोसा अस्पताल भर्ना हुनु प-यो । तर, अस्पतालको बेडमा बसेर पनि नर्सलाई केही बेरको लागि भनेर आग्रह गर्दै क्यानलमा जोडिएको पाइप छुटाएर ल्यापटप खोलेर समाचार बनाउनु परेको थियो । १२-१३ वर्षअगाडि दुर्घटनामा परेर खुट्टा भाँचिदा पनि अप्रेशन गरेर स्टील हालेको खुट्टा बेडमा राखिएको फलाममा झुुन्ड्याएर समाचार बनाउनु परेको थियो ।

नेपाली पत्रकारिताका राम्रा–नराम्रा पक्ष के हुन् ? यसलाई थप व्यवस्थित बनाउन के गर्नुपर्ला ?
सत्य र तथ्य समाचार नेपाली पत्रकारिताका राम्रा पक्ष भइहाले । यसको ठिक उल्टो मिसन जर्नालिजम, प्रायोजित तथा आग्रह र पूर्वाग्रहका भरमा अनि सत्य तथ्य नबुझी समाचार सम्पे्रषण गरिहाल्ने पत्रकारिता क्षेत्रको नराम्रा पक्ष हुन् । अझ ब्रेकिङ र स्कुपको हतारोमा सत्य तथ्यलाई पटक्कै ध्यान नदिइनु दुर्भाग्यको विषय हो । त्योभन्दा पनि बिडम्बनाको विषयचाहिँ आफ्नो मिडियामा आएको समाचार गलत पुष्टी भइसक्दा पनि नसच्याउनु हो । विशेष गरी अहिले न्यू मिडियाका रुपमा फस्टाएको पत्रकारितामा अलि बढी लापरवाही देखिएको छ । यसलाई ब्यबस्थित गर्ने जिम्मा पनि अरु कसैको नभई सम्बन्धित सञ्चारमाध्यम र सञ्चारकर्मीकै हो । हामीले पस्किएको समाचार सही भए मात्र हाम्रो सञ्चारमाध्यम र हामी सञ्चारकर्मीको यात्रा लामो हुन्छ भन्ने बुझ्यो भने सबै कुरा ब्यबस्थित हुन्छन् जस्तो मलाई लाग्छ ।

पत्रकारितामा लागेर के पाउनु भयो ? गुमाउनु भयो ?
पत्रकारितामा लागेर मैले पाएको सबैभन्दा ठूलो कुरा भनेको आत्मसन्तुष्टी हो । त्यसपछि मैले पाएको अर्को कुरा भनेको टेलिफोन डायरी । पहिले कागजी टेलिफोन डायरी थियो, अहिले मोबाइल टेलिफोन डायरी छ, जसमा उहिलेकादेखि भर्खर करिअर शुरु गर्दै गरेका कलाकार तथा प्राविधिकको नम्बर छ । जसका कारण नयाँदेखि पूरानासँगको सम्बन्ध जोडिइरहेको छ । कतिपय मानिसहरु अहिले पनि त्यही नम्बरकै खोजिमा मसँग जोडिइरहनु भएको छ । पत्रकारिता आपैmँले रोजेको विषय भएकाले मैले यसबाट गुमाएको केही छ भन्ने लाग्दैन । केही गुमेकै रहेछ भने पनि मैले असन्तोष मान्न मिल्दैन, गुनासो गर्न मिल्दैन । किनभने, यो पेशा मैले आप्mनै खुशीमा आफैले रोजेको पेशा हो ।

यदि पत्रकारितामा नभएको भए तपाईं कहाँ हुनुहुन्थ्यो ?
पत्रकारितामा नभएको भए या त एउटा राम्रो संगीतकर्मी हुन्थें होला या त सामान्य कलाकार । किनभने, पत्रकारितामा आउनुअगाडि म नाटक, टेलिफिल्म र भिडियो फिल्मका लागि पाश्र्व संगीत दिन्थेँ । मैले स्कुल लाइफदेखि नै सयौं नाटकमा ब्याकग्राउण्ड म्युजिक दिएको छु । त्यतिखेर मेरो डिमाण्ड यति थियो कि कतिपयले मेरो मञ्जुरी नलिइकनै पम्पलेटमा पाश्र्व संगीत विदुर गिरी भनेर छपाउँथे । मञ्जुरी लिएर पाश्र्व संगीत दिनेका लागि ३ सय रुपियाँ लिएर व्याकग्राउण्ड म्युजिक दिन्थें र मञ्जुरी नलिई नाम राख्नेसँग त्योभन्दा बढी रकम लिन्थेँ । त्योभन्दा अगाडि चाहिँ अभिनय गर्थें । स्कुल जीवनमै नाटकमा अभिनय र निर्देशन गरेर धेरैपटक प्रथम स्थान हाँसिल गरेको छु । टेलिफिल्म र भिडियो फिल्ममा पनि अभिनय गरेको छु । एक दिन तत्कालीन नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानमा मञ्च नभएको एउटा नाटकमा अभिनय गर्ने क्रममा साउण्ड म्यानको लापरवाहीले नाटक नै विग्रेको देखेपछि मैले व्याग्राउण्ड म्युजिक पनि दिन थालेको थिएँ । नत्र म अभिनयमै रमाइरहेको थिएँ । तर, रुप र उचाईका कारण आफुलाई अभिनय क्षेत्रमा असुरक्षित महसुस गर्थेँ । अहिलेको जस्तो समयमाचाहिँ रुप र उचाईले माने राख्दैन । मेरो जति पनि रुप र उचाई नभएका धेरै कलाकार अहिले जमिरहेका छन् । जेहोस्, कामना प्रकाशनमा प्रवेश गरेर औपचारिक रुपमा पत्रकारिता गर्न शुरु गरेपछि भने मैले अभिनय र संगीत क्षेत्र दुबै त्यागेँ । किनभने, ती क्षेत्रमै रहेर पत्रकारितालाई पनि अंगाल्दा मेरो पत्रकारिता आग्रह र पूर्वाग्रहले प्रभावित हुन सक्थ्यो । औपचारिक रुपमा पत्रकारिता शुरु गरेको वर्षौंसम्म पनि अभिनय र संगीतका लागि अफर आउने गथ्र्यो । मैले स्वीकार गरिनँ । अहिले फिल्म निर्देशनको लागि अफर आइरहन्छ । तर, मैले स्वीकार गरिनँ । पत्रकारिता र निर्देशन सँगसँगै गर्दा दुबै क्षेत्रलाई अन्याय हुन्छ भन्ने मलाई लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button