‘फेरि पनि मेरो केही गुनासो छैन’
नेपाल टेलिभिजनका दर्शकका लागि यो अनुहार असाध्यै परिचित । र, नाम आफै ब्रान्डजस्तो । मूलत खेलकुद पत्रकार । त्यहाँबाट अवकाशप्राप्त र अहिले नेपालन्युजका सम्पादक । ‘नेपालनाम्चा‘को नियमित स्तम्भ ‘पत्रकारलाई ५ प्रश्न‘मा राजु सिलवाल ।
किन पत्रकारिता सुरु गर्नुभयो ? के सोचेर यो क्षेत्रमा आउनुभयो ? सोचेजस्तै गरिरहनु भएको छ ?
मैले २०३० सालमै रेडियोमा बोल्ने मौका पाएको थिएँ । पहिले रेडियो नेपालको बाल कार्यक्रमका हरेक गतिविधिमा सकृय भएर संलग्न भएर क श्रेणीको पारिश्रमिक पाउने भैसकेको थिएँ । त्यसैगरी तत्कालिन जनक शिक्षा सामाग्री केन्द्रले उत्पादन गर्ने गरेको रेडियो कार्यक्रम स्कूल प्रसारण कार्यक्रममा पनि बोल्ने मौका पाएपछि संचार माध्यमप्रति मेरो आकर्षण बढदै गएको हो । म २०३५ सालमा एसएलसी उत्तिर्ण भएपछि रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारितातर्फ विेशेष रुचि भएरै भर्ना हुन गएको थिएँ ।
मेरो त्यस्तो ठुलो सोच त केही थिएन । माइकमा बोल्ने र अखवारमा बाइलाइन आओस् भन्ने थियो । त्यसैक्रममा २०३८ सालमा भारतको सिलगुढीबाट प्रकाशित हिमालचुली दैनिकको काठमाडौं संवाददाता बन्ने अवसर पाएँ । त्यसपछि पत्रकारिताको क्रमिकता जारी रह्यो । विभिन्न पत्रिका हुदैं २०४२ सालमा नेपाल टेलिभिजन प्रवेश गरेको थिएँ । यसै वर्ष जेठमा अवकास लिएर पनि पत्रकारिता जारी राखेको छु । मैले जुन जिम्मेवारी पाउदै गएको छु त्यसलाई इमान्दारीपूर्वक गर्दै गएको छु । पेशाप्रति कुनै गुनासो छैन । कामका सिलसिलामा कुनै उतारचढाव आउँछन् तर समाधान गर्ने बाटोतर्फ लागेपछि सहज भैहाल्छ भन्ने मेरो विश्वास रहेको छ ।
पत्रकारिताका सुख के हुन् ? दुख के हुन् ?
पत्रकारितामा सुख भनेको मानिसहरुलाई पहिले आफुले नयाँ सूचना दिन पाउने अवस्था । यस्तो अवसर अरुले पाउँदैनन् । कसैलाई थाहा नभएको अवस्थामा आफू पहिले जानकार हुन पाउनु यो पेशाको सुन्दर पक्ष हो । बढी समय दिनु पर्ने यो पेशाको बाध्यता हो । कहिलेकांही नितान्त महत्वपुर्ण काममा पनि सामेल हुनबाट बन्चित हुनु पर्ने अवस्था आउँछ । ब्यक्तिगल जीवनभन्दा पेशागत जीवन महत्वपुर्ण भनी चित्त बुझाउनु पर्छ ।
नेपाली पत्रकारिताका राम्रा नराम्रा पक्ष के हुन् ? यसलाई थप व्यवस्थित बनाउन के गर्नुपर्ला ?
पत्रकारितालाई ब्यवस्थित बनाउन यसको स्तरलाई बढाउनु पर्छ । नयाँ प्रविधिहरुको अधिकतम प्रयोगमा जोड दिनु पर्दछ । पत्रकार बन्नका लागि प्रवेश मार्ग धेरै सहज हुनु हुँदैन । राज्यले निश्चित योग्यता तोकेर बार एशोसिएसनले अधिवक्ताको परीक्षा लिए जस्तै पत्रकारको नियमित प्रवेश परीक्षा लिने हो भने हाल पत्रकारिता पढिरहेकाहरुले मौका पाउनेक्रम बढदै जान्थ्यो र यो पेशाप्रति हाल समाजमा फैलिएको नकारात्मक भावना हटन जाने थियो ।
पत्रकारितामा लागेर के पाउनु भयो ? गुमाउनु भयो ?
मैले पत्रकारितामा लागेर केही गुमाएको छैन । धेरै ईष्टमित्र कमाएको छु । पुग्न नसकिने ठाँउमा पुग्ने अवसर पाएको छु । जीवनलाई सक्रिय बनाउन यसले ठूलो मद्धत गरेको मैले महसुस गरेको छु । पत्रकारितालाई मैले जीवनको अभिन्न अंगको रुपमा अंगिकार गरेको छु ।
यदि पत्रकारितामा नभएको भए तपाईं कहाँ हुनुहुन्थ्यो ?
पत्रकार नभएको भए कुनै ठाँउमा जागिर खान्थें होला । काठमाडौंमा सामान्य परिवारमा जन्मेको म । खेती किसानीको अवसर पनि थिएन । उच्च शिक्षापछि कतै साधारण काम गरिरहेको हुन्थें होला । २०४० सालमा जागिरै खान नेपाल बाल संगठन नक्सालमा पुगेंथे । स्थायी पनि भएको थिएँ । तर, त्यहाँ पनि त्यतिखेर निस्कने लोकप्रिय पत्रिका बालकसँग जोडिने पुगेँ । त्यसैले पनि पत्रकारितालाई क्रमिकरुपमा अगाडि बढाउन सहज हुन गएको थियो ।
अन्त्यमा अरु केही ?
पत्रकारितालाई अझ ब्यवस्थित बनाउन पत्रकारहरु नै सकृय हुनु पर्छ । आफूलाई मर्यादित बनाउनुका साथै पेशागत मुल्य र मान्यतालाई सधैं आत्मसात गर्न पत्रकार कहिल्यै चुक्नु हुदैंन । त्यसैगरी, ब्यवसायिक पत्रकारिता गर्नु पर्छ । यसलाई राजनीतिबाट मुक्त राख्नु पर्छ । मिसन पत्रकारिता त राजनीति हो । खास मिसनभन्दा पनि आवाजविहिनहरुका लागि पत्रकारिता गर्न सक्यौं भने मुलुक र जनताको हितका लागि केही योगदान गरेको साबित हुने छ ।