पत्रकारितामा लागेर पछिल्लो समय ‘शनिबार’ गुमाएको छु

उनी पत्रकारितामा संलग्न भएको १८ वर्ष भयो । रात्न राज्य लक्ष्मी क्याम्पसमा पत्रकारिताको स्नातक तहमा अध्ययन गर्ने क्रममा इन्टर्नसिपबाट उनले पत्रकारिता सुरु गरे । सुरुमा युगवाणी साप्ताहिकमा आवद्ध भए । त्यसपछि केही समय सिनेमासम्बन्धी एक म्गाजिनकको सम्पादक समूहमा रहेर काम गरे । तर, उनलाई सिनेमा पत्रकारितामा मन लागेन । पछि देशान्तर साप्ताहिकमा आवद्ध भए । त्यसपछि राजधानी दैनिकमा प्रवेश गरेर राजनीति, अन्तर्राष्ट्रिय मामिला, मानवअधिकार, सेना लगायतका विटमा रिपोर्टिङ गर्न थाले । राजधानी दैनिकमा रिपोर्टर, चिफ रिपोर्टर हुँदै कार्यकारी सम्पादकको जिम्मेवारी सम्हाल्न पुगे । केही वर्षदेखि देशान्तर मिडिया ग्रुपमा सम्पादकको जिम्मेवारीमा छन् । नेपालनाम्चाको नयाँ स्तम्भ ‘पत्रकारलाई ५ प्रश्न‘मा विनय देवकोटा

किन पत्रकारिता सुरु गर्नुभयो ? के सोचेर यो क्षेत्रमा आउनुभयो ? सोचेजस्तै गरिरहनु भएको छ ?
वास्तवमा भन्ने हो भने एसएलसी पास नगरुन्जेलसम्म मलाई पत्रकारिताबारे शून्य ज्ञान थियो । गाउँमा स्कूल पढ्दा पत्रपत्रिका खासै पढ्न नपाईने अवस्था थियो । एसएलसी पास भएपछि कुन विषयमा उच्च शिक्षा हाँसिल गर्ने र करिअर बनाउने भन्ने खोजी सुरु भयो । सुरुवातमा कमर्श पढ्ने इच्छा थियो । त्यसक्रममा नेपाल कमर्श क्याम्पसमा आइकम तहमा भर्ना पनि भएँ । तर, किन हो किन धेरैले रोज्ने कमर्श विषया पढ्न मन लागेन । केही नयाँ विषय पढ्न पाए हुन्थ्यो भन्ने मनमा लागिरहेको थियो । यही क्रममा पिताजीसँग सल्लाह गरें । उहाँले पत्रकारिता नौलो विषय हुनसक्छ भन्ने सल्लाह दिनुभयो । त्यसपछि पत्रिकारिताको बारेमा बुझ्न थालें । नभन्दै यो विषयले मलाई आकर्षित ग-यो र पूर्व योजना छाडेर रत्न राज्य लक्ष्मी क्याम्पसमा पत्रकारिता अध्ययनका लागि भर्ना भएँ । पत्रकारिता पढ्न थालेपछि मन यसैमा रमाउन थाल्यो ।
पत्रकारिता मैले रोजेको पेशा हो । तर, पनि करिअरको दौरानमा उतारचढावहरु आउने नै भए । कुनै पनि पेशामा यस्तो हुनु स्वभाविक नै हो । समग्रमा भन्नुपर्दा यो पेशाले मलाई आत्मसन्तुष्टि दिएको छ । सोचेका सबै कुरा पूरा नहुन पनि सक्छ । तर, पनि नेपालको पत्रकारिताको जुन सीमाहरु छन्, त्यसमा आधारित भएर भन्नुपर्दा आफ्नो कामप्रति मैले असन्तुष्टि व्यक्त गर्नुपर्ने ठाउँ छैन ।

पत्रकारिताका सुख के हुन् ? दुख के हुन् ?
हरेक पेशा९व्यवसायको आफ्नै खाले सुख र दुःख हुन्छन् । मेरो विचारमा पत्रकारिताको सुख भनेको यसले मानिसको चेतना र ज्ञानको स्तरलाई फराकिलो बनाउँदो रहेछ । अरुलाई जानकार बनाउने पेशा भएकोले अरुभन्दा पहिले आफू जानकार हुनुपर्ने चुनौती रहन्छ । यो चुनौतीले यसले देश, समाज, राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा जान्ने अवसर प्रदान गर्दोरहेछ । त्यस्तै देश, समाजमा आईपर्ने संकटको घडीमा आफ्नो के योगदान गर्ने भन्ने अवसर कुरेर बस्नु पर्दैन । त्यस्तो अवस्थामा तपाईले समाज, जनता र देशको लागि आफ्नो पेशाको माध्यमबाट सिधा योगदान दिन सक्नुहुन्छ । यसले आत्मसन्तुष्टि दिने रहेछ । दुःखको कुरा गर्नुपर्दा भौतिक रुपमा सुविधानसम्पन्न जीवनयापन गर्छु भन्नेहरुका लागि यो पेशा उपयुक्त होइन । कसैको दबाब र प्रभावमा नपर्नेहरुका लागि भौतिक सुविधाहरुको अभाव हुने नै भयो । यसैगरी परिवारको लागि समय व्यवस्थापन अर्को चुनौतीको विषय हो ।

नेपाली पत्रकारिताका राम्रा-नराम्रा पक्ष के हुन् ? यसलाई थप व्यवस्थित बनाउन के गर्नुपर्ला ?
नेपाली पत्रकारिता सम्पूर्ण रुपले ठीक ढंगले अघि बढीरहेको छ भन्ने ठाउँ त छैन तर पनि दक्षिण एसियाली मुलुकहरुसँग तुलना गर्दा शिर निहुराउनु पर्दैन । नेपाली पत्रकारिताले निकै हदसम्म आफ्नो स्वतन्त्र हैसियतलाई कायम राखेकै छ । विश्वकै ठूलो लोकतन्त्र भएको छिमेकी मुलुक भारतको पत्रकारितालाई हामी सबैले देखेकै छौं । चीन, भुटान, पाकिस्तान, माल्दिभ्स, अफगानिस्तान जस्ता मुलुकहरुभन्दा नेपाली पत्रकारिताको स्तर माथि नै रहेको छ । त्यसो भन्दै गर्दा नेपाली पत्रकारिता विकृतीविहीन छ भन्न मिल्दैन । व्यवसायिकता र निष्पक्षताको खोल ओढेर ‘भेष्टेष्ट इन्ट्रेष्ट’मा लाग्ने मिडियाको भीड बढ्दै जानु राम्रो होइन । पत्रकारिता सम्पूर्ण रुपले निष्पक्ष हुन्छ-हुनुपर्छ भन्ने मलाई पनि लाग्दैन । राजनीतिक, वैचारिक र दार्शनिक पक्षधरता पत्रकारिताको जन्मसँगै आएको गुण हो । आफूलाई निष्पक्ष, व्यवसायिक घोषित गर्ने तर भित्रभित्रै आर्थिक स्वार्थको आधारमा समर्थन र विरोधको कलम चलाउने प्रवृत्ति भने घातक छ ।

पत्रकारितामा लागेर के पाउनु भयो ? गुमाउनु भयो ?
पत्रकारितामा लागेर मैले जीवनमा केही गुमाएजस्तो लाग्दैन । गुमाउनेभन्दा पाएकै बढी होला । सबैभन्दा महत्वपूर्ण कुरा, यसमा लागेर आफ्नो छुट्टै पहिचान बनाउने अवसर पाएँ । स्वतन्त्र रुपमा आफ्नो रुचीको काम गर्न पाउँदा गुमाएँ भन्ने ठाउँ रहदैन जस्तो लाग्छ । हो, यो पेशाका आफ्नै सीमा र व्यवधान छन् । व्यक्तिगत रुपमा आफ्नो लागि समय व्यवस्थापन गर्न अप्ठेरो हुने रहेछ । आफ्नो दिनचर्यालाई व्यवस्थित र योजनावद्ध रुपमा चलाउनेभन्दा पनि ‘-यान्डमली’ चलाउनुपर्ने बाध्यता हुँदोरहेछ । सुत्ने, खाने, परिवारसँग समय विताउने जस्ता कुराहरुमा समयवद्ध हुन कठिन हुन्छ । पछिल्लो समयमा मैले गुमाएको भनेको शनिबार हो (हाँसो) । देशान्तर साप्ताहिक हरेक आइतबार प्रकाशित हुन्छ । त्यसैले विगत केही वर्षदेखि शनिबार विहानदेखि बेलुकासम्म काममै विताउनु परेको छ । परिवार, केटाकेटी, साथीभाईको फुर्सद शनिबार हुन्छ तर आफू भने त्यो दिनभरी नै काममा व्यस्त हुनु पर्छ (हाँसो) ।

यदि तपाई पत्रकारितामा नभएको भए तपाईं कहाँ हुनुहुन्थ्यो ?
पत्रकारितामा नभएको भए व्यापारी चाहि म अवश्य नै हुने थिइनँ । किनभने व्यापार-व्यवसाय गर्ने खुबी मभित्र छैन । पत्रकारितामा नभएको भए सायद म शिक्षक हुने थिएँ कि । पत्रकारिताको स्वाद नबसुन्जेल ममा लोकसेवा दिएर प्रशासनिक पद सम्हाल्ने हो कि भने सोच नआएको होइन । तर, पछि त्यतातिर सोच्ने फुर्सद नै भएन । एक पटक सेना वा प्रहरीमा जाने इच्छा पनि जागृत भएको थियो । तर पछि त्यो इच्छा पनि विलुप्त भयो ।

अन्त्यमा अरु केही ?
यतिमात्र भन्न चाहन्छु, हरेक पेशा-व्यवसायका आफ्नै खाले सुखदुःख हुन्छन् । त्यसैगरी पत्रकारिताको पनि आफ्नै राम्रा-नराम्रा विशेषताहरु छन् । आफू आवद्ध पेशाको सवल पक्षलाई हेरेर सन्तुष्टि लिनसक्नु पर्छ । बाँकी कुरा तपसिल हुन् ।

One Comment

  1. देशान्तरमा जागिर खाएपछि शनिवार त जाइहाल्ने भो नि । अब शुक्रबार निस्कने अखबारमा जागिर खानु पर्यो ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button