स्मृति कविताः उमा सिंह ! तिमी जुगजुग बाँचिरहनेछौ
अर्याल सिर्जना
उमा ! तिम्रो साहस, तिम्रो प्रतिभा
तिम्रो स्वाभिमान, तिम्रो योगदान
अतुलनिय थियो, अमूल्य थियो ।
दाइजोको तराजुमा, बोक्सीको आरोपमा
छोरी पाएको निउँमा, पर्दा खोलेको बहानामा
खेदिइन्, पिटिइन्, लुटिइन् र अन्तमा मारिइन् पनि
विवश महिलाको आवाज थियौ तिमी ।
पत्रकार जगतको आशाको किरण
मिथिलाको पहिचान
उपेक्षित, उत्पिडित वर्ग सबै सबैको
सहारा थियौ तिमी ।
छोरी हुनुको पिडा सहेकी
छात्रा हुनुको मर्म बुझेकी
आमा हुनुको दुर्दशा देखेकी
बुहारी हुनुको अत्यचार हेरेकी तिमीले
सँगाल्यौ चाहना यी सबैको
पिडा, वेदना, दर्द, हटाउन चलायौ कलम
सबै विभेदको श्रृंखला रित्ताउन ।
तर,
महिलालाई पाइतलाको धुलो सम्झनेहरुले
नारी मुक्ति र हितको विरोध गर्नेहरुले
समानताको समाज नचाहनेहरुले
तिमीलाई कलिलैमा सिध्याए ।
तिम्रो आमाको काख रित्ताए ।
तर, उमा ! तिम्रो सपना
तिम्रो चाहना
तिम्रो अभियान
सबै-सबै पुरा हुनेछ ।
तिम्रो देहमात्र नभएको हो
तर तिमी इतिहासको पानामा
लेखिइसकिएको छौ ।
तिमी जुग-जुग बाँचिरहनेछौ
पत्रकारिताको आकाशमा सदा उदाइरहनेछौ ।
(पत्रकार उमा सिंहको हत्या भएको ११ वर्ष भयो । उनी जनकपुरमा डेरा लिएर बस्थिन् । २०६५ पुस २७ गते साँझ सवा ७ बजेतिर ७/८ जनाको समूहले एक्कासी कोठामा प्रवेश गरी घिसार्दै बार्दलीमा लगी यत्रतत्र खुकुरी प्रहार गरी उनलाई घाइते बनाएका थिए । उपचारको लागि काठमाडौ लाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको थियो ।)