सम्झनाः चक्र दाइसँगको त्यो नाम चर्चा
दीपक खनाल
टाढैबाट देखे पनि ‘दीपक भाइ’ भन्दै बोलाउने चक्रपाणि नेपाल दाइसँग अब भौतिक भेट हुने भएन । कहिलेकाँही रोगले च्याप्दा, ‘बोर’ लाग्दा तपाईंलाई सम्झेर फोन गरेको भन्नुहुन्थ्यो । अन्तस्करणदेखि नै माया गर्नुहुन्थ्यो । पत्रकार महासंघका चुनावमा धेरै सहयोग-समर्थन जुटाउनुभएको थियो दाइले, व्यक्तिगत रूपमै पनि मेरा लागि । पछिल्लो समय, आफैँ पारिवारिक तनाव, कार्यालयको व्यस्तताले दाइ बिरामी भएको थाहा पाएर पनि प्रत्यक्ष भेट्न सकिन । फोन गर्दा त्यति उठ्थेन । एकपटक भने फोन उठाउनुभएको थियो, सिभिल अस्पतालमा उपचार गर्दै छु भन्नुहुन्थ्यो ।
कहिल्यै ठुलो नहुने सरल र मिलनसार स्वभावका दाइसँग पत्रकारितामा रहँदादेखि नै चिनजान थियो । काउन्सिल सेवा प्रवेशपछि पनि बारबार भेट भइरहन्थ्यो । कहिलेकाँही फुर्सदमा काउन्सिल आउँदा आत्मीय भावले ठट्टा गर्दै हाकिम साब ल चिया मगाउनु त भन्नुहुन्थ्यो । निमन्त्रणा गरेका काउन्सिलका प्रायजसो कार्यक्रममा आउनुहुन्थ्यो । दाइको आग्रहमा नेपालीपत्रमा पटक पटक लेखहरू लेखेको छु । दाइसँगको सल्लाहमा पत्रकारिता जीवनका संस्मरण निरन्तर लेख्दै आएको थिएँ नेपालीपत्रमा ‘पुराना दिन नयाँ सम्झना’ स्तम्भमा । पछि लेख्न पाएको थिइनँ ।
एकदिन दाइ आउनुभयो, काउन्सिलमा । सन्दर्भ किताबको रहेछ । समय विहान १० बजेअघितिरकै हुनुपर्छ । क्यान्टिनमा चिया पिउँदै गर्दा दाइले कुरा खोल्नुभयो । किताबको नामबारे रहेछ । मैले किताब त पढेकै थिइन तर दाइको वास्तविक किताब (जीवन)का पाना र पृष्ठहरू त पढिरहेकै थिएँ । फ्याट्ट शब्द(नाम भनेछु- नागबेली । नभन्दै दाजुले त्यही नाम राख्नुभएछ । कतिपय मानिसलाई सुझाव दियो, कीर्ति सम्पादनसमेत गर्दियो, सबै आफ्नो बनाउँछन्, नामसमेत उल्लेख गर्दैनन् । दाइले भने दाजुभाइको यति सानो पारिवारिक सल्लाहलाई पनि किताबमै लेख्नुभएछ । यसबाट पनि दाइ कति इमान्दार लेखकरपत्रकार हो भन्ने प्रष्ट हुन्छ ।
के सुगन्ध थाहा पाउन हजारौँ गुलाफ सुँघ्नुपर्छ र ?