
गाईलाई दाना देऊ, आमालाई नाना देऊ
ब्राह्मणपुत्रको लकडाउन डायरी–७२
भरत शर्मा
शनिवार बिहान पिपल परिक्रमा गरी जल चढाउनेहको लाइन लामै हुन्छ । शनिबारमात्र होइन, सम्भव भए हरेक दिन बिहान एकपटक पिपलको छहारीमा एक छिन बस्दा फाइदा हुन्छ । मानिसको लागि सबैभन्दा लाभदायक वृक्ष हो पिपल ।
आज असार महिनाको २६ गते । असार कृष्णपक्षको अन्तिम दिन बिहान ५ः५७ समयसम्म औशी तिथि थियो । त्यसपछि प्रतिपदा शुरु भइसकेको छ । महिना अनुसार असार सकिन ५ दिन मात्र बाँकी छ । सधैजसो असारको महिना ३१ को हुन्छ । भोलिबाट असार शुक्लपक्ष शुरु हुँदैछ । साउन महिना आउन लाग्दा यसपाली पनि महामारीका कारण श्री पशुपतिनाथको मन्दिर बन्द हुने खबर आएको छ ।
गत बर्ष पनि साउन महिनामा नित्यपूजाबाहेक दर्शनार्थीको लागि खुल्ला भएको थिएन । सनातनीहरुको लागि साउन महिना शिवको विशेष आराधना र पूजा गर्ने महिना हो । साउन महिनामा महिलाहरुले हरिया चुरा, हरियो कपडा र सोमबारको दिन ब्रत बस्ने गर्दछन् । साउनको सोमबारको व्रत गर्दा मनमा चिताएको कुरा पाइने सनातनीय मान्यता छ ।
आज बिहानको सूर्योदय ५ बजेर १७ मिनेटमा भयो । सूर्यास्त साँझ सात बजेर एक मिनेटमा हुनेछ । चन्द्रमा मिथनु राशिमा र आज पुर्नबसु नक्षत्र रहेको छ । दुईदिने औंशी परेकोले केहीले हिजो माने भने केहीले भने लाग्दो दिन छोड्दो व्रत भन्ने नियम अनुसार शनिवार औशीको व्रत बस्ने चलन छ ।
औंशीको महत्व भनेको स्नान हो । नदी, कुण्ड, तलाउ र तीर्थको जल समावेश गरेर घरमा पनि औंशीको दिन बिहान सखारैं स्नान गर्दा फल प्राप्त हुने शास्त्रमा उल्लेख छ ।
शनिवार छुट्टी र आराम गर्ने दिन हो । आइतवारदेखि शुक्रबारसम्मको कार्यव्यस्ततामा शनिवार एकदिन आराम गरेर आइतवारदेखि फेरि दौड्ने हाम्रो साप्ताहिकी बनेको छ ।
कोरोना महामारीले विशेष कामबाहेक मानिस घर भित्र बस्नु भनेर प्रशासनले सूचना जारी गरेको छ । समय अझै ‘दुर्दिन’को अवस्थामा छ । त्यसैले हामी घर बाहिर निस्कँदा स्वास्थ्य मापदण्ड र होसियारी निकै आवश्यक छ ।
भोलिदेखि गुप्त ‘नवरात्र’ शुरु हुँदैछ । देवी साधना गर्नेहरुले यो नवरात्रमा नौं दिनसम्म साधना गर्ने गर्दछन् । सात दिन सतचण्डी पाठ र साधनाका लागि नौं दिनको समय उत्तम मानिन्छ । नेपालमा पनि देवी साधकहरुले नौ गुप्त नवरात्रमा व्रत गरी देवीको बीज मन्त्र साधना गर्ने गर्दछन् ।
शनिवारको दिन पशुपक्षीहरुलाई केही दाना खुवाउँदा राम्रो मानिन्छ । गाई, पक्षीहरुलाई खानेकुरा दिँदा मनमा शान्ति हुन्छ । शनिवार यानी पुनबर्स नक्षत्र भएको दिन आर्थिक आदानप्रदानलाई त्यति शुभ मानिएको छैन । आज दुवै दिन एकसाथ परेको छ । बार र नक्षत्रको आधारमा हेर्दा आजको दिन आफूले सम्मान गर्ने व्यक्तिलाई अर्थात् आमालाई केही मिठो खानेकुरा र वस्त्र दिदा मनमा शान्ति हुन्छ ।
त्यसो त आमालाई मातातीर्थ औंशीको दिन सम्मान गरिसकियो । बाबालाई आउँदै गरेको पितृदेव औंशीको दिन भनेर पर्खनु भएको होला । बाआमालाई सेवा गर्न चाहिँ औशी कुरेर बस्नु हुँदैन । दिन भनेको बार, तिथि, नक्षत्र, योग र करणको आधारमा फरक–फरक फल मिल्ने भएकाले बार र तिथिको आधारलाई मानेर दिनफल लिन सकिन्छ ।
महामारीको चपेटा शनिवारको दिन घर बाहिर निस्कने कमै मात्र काम हुन्छ । त्यसैले शनिवारको दिन घरभित्रको काममा व्यस्त हुन्छन् । शनिवारको दिन पूर्वतर्फ बाहेक अन्य दिशातिरको यात्रालाई शुभ मानिन्छ ।
शनिवारको दिन बजारबाट फलामको सामान खरिद गर्नु त्यति शुभ मानिदैन । आयुर्वेद शास्त्रमा शनिबारको दिन उपचारको शुरुवात र औषधि सेवन शुरु गर्दा पनि छिटो निको नहुने मान्यता रहेछ ।
आज तिथिको हिसाबले पुर्नवसु नक्षत्र भएको दिन सब प्रकारका कृषिकार्य, बागवानी (फूल रोप्ने, गोड्ने) र कौशी खेतीको गोडमेलको लागि उत्तम मानिएको छ । त्यसैले आजको शनिवार घरको छत–छतमा रहेको कौशी खेतीको संहार कार्यमा समय बिताउँदा घरमा खुसियाली हुनसक्छ ।
आज घरको सफाई पनि आवश्यक छ किनकी भोलिदेखि गुप्त नवरात्र शुरु हुँदैछ । नेपालमा आम मानिसले असोज महिनामा दसैंको नवरात्रलाई मात्र मान्ने गरेका छौं । तर, सनातनीय मान्यता अनुसार गुप्त नवरात्रमा गरिएको साधनाबाट धनकी देवी, मनकी देवी, घरकी देवी सबै देवीहरु सुखी हुने चलन छ । अध्यात्मको साधकहरुले लागि गुप्त नवरात्र निकै महत्व राख्दछ ।
गुप्त नवरात्रको अघिल्लो दिन व्रत, साधना केही नभए पनि घरको सरसफाइ गर्दा देवी खुसी हुन्छिन् । आजबाट केही दिन बर्षाद् कम हुँदै जाने संकेत देखिएको छ ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)