
मेलम्चीः हामी चुक्यौँ कि प्रकृति चुक्यो ?
अनुभुति
राजेन्द्रमान डंगोल
‘भाग्नुस् … भाग्नुस् ! ज्यान बचाउनुस् !’, कोही सचेत गराउँदै थिए नेपथ्यबाट ।
फेसबुकमा पोस्ट भएको भिडियो हेर्दै थिएँ ।
साँच्चिकै हेलम्बुतिरबाट भयावह बनेर आएको धमिलो खोलाले बस्ती ताक्दै थियो । मान्छेहरू अताल्लिएर सुरक्षित ठाउँतर्फ जाँदै थिए । कोही महत्वपूर्ण सामान निकाल्ने प्रयत्न गर्दै थिए । आतंकित थिए मान्छे । बस्तीबाट मान्छे निस्कँदै थिए । एउटा नरमाइलो चित्कार सुनिन्थ्यो ।
‘छोड्दिनुस्… धनमाल ! अहिलेलाई ज्यानमात्र बचाउनुस् !’, फेरि उही आवाज आउँछ नेपथ्यबाट ।
निमेषभरमै आइपुग्यो बाढी । छि-यो बस्तीभित्र । तहसनहस पा-यो मेलम्चीलाई । अन्ततः सन्नाटा छायो मेलम्चीमा ।
हेर्दाहेर्दै बस्ती बगरमा परिणत भएको दृश्य यसरी कहिल्यै देखेको थिइनँ मैले ।
कस्तो भयानक दृश्य !
डुबेको घरको छतमा दुइजना मानिस अतालिँदै थिए । एकै छिनमा सेनाको हेलिकप्टर आइपुग्यो र उद्धार ग-यो । सफलरूपबाट उद्धार गरेका देख्दा सेनालाई मैले मनमनै धन्यवाद दिएँ । मेरो मनले भन्दै थियो– दुःखको घडीमा चाहिने नेपाली सेना नै रहेछ ।
त्यही बेला भाइ पुरु लम्सालको मेसेज आयो, ‘मेलम्ची त पुरै डुबेछ है दाइ !’
केही बेर यही विषयमा सम्बाद भयो हाम्रो । पाहोर सालमात्र पहिरोले लागेको घाउमा खाटा बस्न नपाउँदै यो साल असार लाग्नेबित्तिकै अर्को बिपत्ति आइलाग्यो सिन्धुपाल्चोकलाई । यसपाली त असोजसम्म पानी पर्छ रे नेपालमा ! कहाँकहाँ केके हुने हो ! चिन्ता चुलिँदै थियो मेरो मनमा ।
यति बेला दुःखी छन् पुरुभाइ । दुखी छु म र दुखी छौँ हामी सबैसबै ।
२०७६ चैतको पहिलो हप्ता उनै पुरु लम्साल, जयनाथ भण्डारी, माधव घिमिरे ‘अटल’ र म मेलम्चीमै बास बसेका थियौँ । सुन्दरीजलबाट पाटीभन्ज्याङ, पिप्ले र थकनी हुँदै मेलम्ची बजार पुगेर बास बसेका थियौँ हामी । भोलिपल्ट पाल्चोकी भगवतीको दर्शन गरेर सेर्माथाङ पुगका थियौँ । तिम्बु बजारमा खाना खाएर काठमाडौँ फर्केका थियौँ । हामी पुगेका ठाउँहरू तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, याङ्ग्री क्षतविक्षत भएछ । नाकोतेपुल, तिम्बुपुल, फट्टेपुल, मेलम्चीपुल, बाहुनेपाटी पुल पनि बगाएछ ।
सुन्दै छु, सय वर्षयताका सबै संरचना बगायो रे । सोच्दै छु, हामी बसेको होटल के भयो होला । ती होटल व्यवसायीको अवस्था के होला ?
अरबौँ अरबको क्षति त भयो नै । मानवीय क्षतिको वास्तविक विवरण त अझै आएको छैन । कति मरे होलान्, कति घाइते भए होलान् ! कल्पना गर्न सक्दिनँ म ।
आँखाअगाडि घर खोलाले डुबाउनु र खुला आकाशमुनि रात बिताउनुपर्दाको पीडा महसुसमात्र गर्न सक्छु म । साँच्चै यति बेला मेलम्ची दुखिरहेको छ । त्यही दुखाइमा छु म पनि । लाग्छ, यति बेला डुबेको र दुखेको मेलम्चीलाई सुम्सुम्याउन पाए … । त्यहाँ पुगेर उनीहरुको च¥याइरहेको घाउमा आफ्नै हातले मलम लगाइदिन पाए … । तर विडम्बना ! यति नै बेला म कोरोनाको बन्दाबन्दीभित्र थुनिएको छु । तन भए पनि मेरो मन मेलम्ची पुगिरहेको छ । आदिमकालदेखिको निकटता छ मान्छे र इन्द्रावतीको बीचमा; मान्छे र मेलम्चीको बीचमा । म सोध्न चाहन्थेँ, मेलम्ची र इन्द्रावतीलाई अचानक के भयो भनेर ।
प्रकृति र मानिसबीच घनिष्ठ सम्बन्ध छ । प्रकृतिबिना न मानिसको अस्तित्व रहन सक्छ न त मानिसबिना प्रकृतिको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन नै हुनसक्छ । तैपनि प्रकृतिले हठात् मानवसितको सम्बन्छ किन विच्छेद गर्न खोज्छ ? किन हामी मानवजातिले प्रकृतिको रुद्ररूप देख्नुपर्छ ? किन प्रकृतिले बेलाबेलामा मानवजातिलाई तहसनहस बनाइरहन्छ ? हामी मानवजाति नै चुकेका हौँ कि प्रकृति आफैँ चुकेको हो, म बुझ्न सक्दिनँ !
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)