
उब्जाउँछ-उजाड्छ अनि हसाउँछ-रुवाउँछ
(साथी सुशीलाले नेपालनाम्चामा कोरोना डायरी सुरु गरेकी छिन् । यहाँ उनले सामान्य लाग्ने जीवनका सत्यहरु लेख्नेछिन् । र, लेख्नेछिन्, जीवनका गीत, आशाको संगीत र आम मानिसका स्वरहरु । उनको डायरी एक प्रतिनिधी डायरी हो । सम्पादक )
डायरी ७ : लभहेटवाला बर्षे झरी
सुशीला शर्मा
के लेख्नु वर्षाका कुरा
पहाडहरु खसेका छन्
जनहरु अनिदो त्रासको
पहिरोमा फसेका छन्
वर्षेनी अत्याइरहेछ भेलबाढीले
तैपनि वाध्यता,
मानिसहरु त्यही ठाउँमा
बसेका छन् ।
पहाड गुड्छ
तराई डुब्छ
त्यसैले त विरहको गीत गाउँछन्, पीडितले ।
वर्षा शुरु भएको छ । दिनभरी पानी झम्झम् परेर मानिसका मनलाई शीतल मात्र बनाएका छैनन् । मझेरी र सामानहरु ओसिलो पनि बनाएका छन् । पानी परेन भने केही पनि उम्रिदैन् । यो शास्वत सत्य हो । पानी प्रकृति हो । मानिसले ‘यति चाहियो ल अब रोकिनुपर्यो’ भन्दैैमा पानी वर्षिने र बादल भाग्ने पनि होइन ।
कसैलाई मनोरञ्जनको लागि, तनाव व्यवस्थापनको लागि पानीमा रुझ्नुपर्ने हुन्छ । गाउँघरतिर भने पानी झम्किरहेकै बेलामा पनि गाईबस्तुलाई घाँस स्याउला गर्नैपर्ने बाध्यता हुन्छ, हाम्रा बाआमा, दाजुभाई र दिदीबहिनीहरुलाई । प्रत्येक मौसममा यस्तै खाले काम गराईले पनि हुनसक्छ, हाम्रा किसान बाआमा, दाजुभाई र दिदीबहिनी छिट्टै घुँडा दुख्ने, कम्मर दुख्नेजस्ता विभिन्न रोगहरुबाट थलिएको पनि देख्न सकिन्छ । निरन्तरको वर्षाले हाम्रो जस्तो विषम भौगोलिक अवस्था भएका जमिनहरुमा पैरो जाने, खेतबारी बगाउने, घर जलमग्न हुने बर्षेनीको समस्या भएको छ ।
खेतीबाली लगाउने बेलामा ठिक्क पानी पर्दियो भने बहार नै आएको जस्तो हुन्छ किसानलाई । असारमा बाली लगाएर मंसिरमा भित्र्याउन पहिले त पानी नै पर्न पर्यो आकाशबाट । यो प्राकृतिक चक्र बिग्रियो भने फेरि मानव समुदायले अनिकाल बेहोर्नुपर्ने हुन्छ । भनिन्छ भारतको कुनै क्षेत्रमा पानी नपरेर खेती बाली लगाउन नपाएर वर्षेनी कति किसानले आत्महत्या गर्छन रे ।
वर्षा र मनको नाता
वर्षासँग मनको नाता गहिरो हुन्छ रे । त्यही नाताले नै वर्षासँगै मनको मौसमलाई पनि प्रभावित पारिदिन्छ । मलाई पनि वर्षाको मौसममा छुट्टै अनुभूतिहरु आउँछन् । गीत सुन्न र कविता कोर्न मन लाग्ने जस्तो पनि हुन्छ ।
प्राय वर्षा अझ विशेष गरेर असार साउनको झरीलाई गीतकार, गायकहरुले विरही भाका दिएका छन् । खोई किन हो ? धुम्म र निरन्तरको झरीले मानिसको मनलाई पनि विरक्त बनाउने हो या अतितका स्मरण, प्रेयसी या प्रेमीसँग टाढिनुको पीडा एकैचोटी सम्झाईदिने पो हो कि । ‘असारै महिनामा पानी परी रुझाउने’ भन्ने गीत सदाबहार छ । झरीको भावले छुन्छ । अर्को गीत ‘छ साउनको झरी बनी तिमी आउ न, मेरो मनको अँधेरीमा जून छाउ न ।’
हिन्दीमा थुप्रै सायरी भेटिन्छन् वर्षाका बारेमा । दुई लाईनः
सायद कोई ख्वाहिस रोती रहती है
मेरे अन्दर बारिस होती रहती है ।
आकाशबाट पानी दर्किनुलाई प्राय हृदय रुनुसँग दाँजेर साहित्य बनाउँदा रहेछन् साहित्यकारहरु ।
तर, एकथरी युवा र किशोर मन भने पानीमा रुझ्दा झन् आनन्द र तरोताजा महसुस गर्ने रहेछन् । हामी पनि विद्यालय पढ्ने बेलामा थुप्रै साथीहरुसँगै घनघोर दर्किरहेको पानीमा किताब कापी भिजेको पनि ख्याल नगरी र हिँड्नुपर्ने बाटो पनि नहिडेर खेतको आलीआली रुझ्दै हिड्थ्यौ । एकदिन त्यसो गर्दा खेतको आलीबाट तल खसेर हिलाम्मे भएकी थिएँ । र, त्यतिबेलाको नौलो घडी भएको डट्पेन हराएकी थिएँ ।
कसैलाई केही खडेरीपछि परेको पानी माटोमा ठोक्किँदाको बास्ना औधी प्रिय लाग्ने रहेछ । त्यो बासना मलाई पनि मन पर्छ । प्रकृतिको थरी थरी प्रकृति हुँदैनन् तर मान्छेको चाँहि छुट्टाछुट्टै प्रकृति हुने हुनाले आफ्नै ढंगले त्यसमाथि प्रतिकृया देखाउँछ । गाउँघरतिर त एउटा मान्यता नै छ, गर्मीले घमौरा आए बलेसीमा आकाशबाट आएको पानीले नुहाएमा घमौरा निको हुन्छ । यसको वैज्ञानिक सत्यता के हो थाहा छैन् ।
आशा गरौं, यो मौसममा डुबान हुने गरी, बाढी पैरोले थप क्षति हुने गरी असार साउन नदर्कियोस तर बाली नाली त्यही पानीले धेरै सप्रियोस् ।
…
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)