
आमाको सेवा गर्दा नसोचेको फल मिल्दछ
शनिवार २३ साउन २०७८ । श्रावणकृष्णपक्ष चतुर्दशी । औंशी समेत परेको छ । औशी भनेको जनभाषामा अन्धकार दिन हो । त्यसैले आजको शनिवारको दिन विहान कसैसँग वार्ता नगरी स्नान गर्नु राम्रो हुन्छ । शनि र औशी दुवै संयोग परेको छ । ग्रहहरुमा अलि कडा शनि नैं हो । शनि दशा लागेको समय अनेक समस्याहरु आइरहन्छ ।
त्यसैले शनिवार विहान स्नानपछि पिपलको वृक्षमा जल चढाउने र कुनै देवालयमा जाने गर्नाले शनिग्रह कमजोर भई व्यक्तिभित्रको उर्जा बढ्दै जान्छ ।
चन्द्रमा कर्कट राशिमा रहेको छ । विहान ८ः५० देखि १०ः३० सम्म राहुकाल रहेको छ । ११ः४४ देखि १२ः३७ सम्मको समय अभिजित मुहूर्तको समय हो ।
शनिवार र औशीको दिन शनिदेवको आरधना गर्नु राम्रो दिन मानिन्छ । शनिबारको दिन फलाम, जुत्ता, चप्पल र तेल दान गर्ने चलन छ ।
शनिवारको दिन औषधि सेवन शुरु गर्नु हुँदैन । सरकारीकाम, कानुनी कारोबार र पूर्वी दिशातर्फको यात्रा हानिकारक हुन्छ ।
आजको ग्रहदेव मंगल परेको छ । मानिसहरु सबैले मंगलको कामना गर्दछन् । काम, कर्तव्य र अधिकार सम्झेर गरेका कामहरु मंगल होस् भनेर सबैले भगवनासँग प्राथना गरेका हुन्छन् ।
आज पुनर्वसु नक्षत्र परेको छ । यो नक्षत्र परेको दिन ज्योतिषीहरुले घर निर्माणको साइत दिने गर्नुहुन्छ । वाहन खरिद गर्न पनि शुभ रहन्छ ।
तिथि, बार, नक्षत्र, योग र करण पञ्चाङ्गका पाँच भाग सबैको आधारमा आजको दिन आमाको सेवा गरियो भने कालान्तरमा नसोचेको फल मिल्दछ । त्यसैले आजको दिन सबैले आ–आफ्नो आमालाई उपहार–सम्झना गरी भेट गरेर आशीर्वाद लिन सक्नुहुन्छ । आमाले दिने माया, ममताको शास्त्रले पनि अपार भनेर ब्याख्या गरेको छ ।
शनिवारको दिन नेपालमा सरकारी, निजी कार्यालय छुट्टीको दिन हो । त्यसैले आजको शनिवार परिवारसँग मनको कुरा गरेर घरभित्र बस्नु जाती होला ।
औशीको दिन आकाशबाट नकारात्मक उर्जा दिने खालका कणहरु पृथ्वीमा विचरण गर्ने भन्ने पनि छ । त्यसैले औशीको दिन र साँझको समयमा घरभित्र बस्नु राम्रो हुनेछ ।
कोराना महामारी पनि फैलदै छ । सरकारले पनि घरभित्र बस भनेको बेला प्रकृतिले पनि यही सन्देश दिएको छ ।
र, अन्त्यमा
न सा दीक्षा न सा भिक्षा न तद्दानं न तत्तपः ।
न तद् ध्यानं न तद् मौनं दया यत्र न विद्यते ।।
अर्थातः मनुष्य (हामी) भित्र दया, भावना अथवा करुणा भाव छैन भने हामीले लिएको दिक्षा (शिक्षा), दान, तप, ध्यान, मौन, अध्यात्मयात्रा सबै निरर्थक हुन्छ ।
शास्त्रले त भनेको छ, तर समय यस्तो हुँदैन, व्यक्ति, समाज, परिवार र राष्ट्र प्रमुखहरुमा यस्ता आर्दश बाक्यहरु केवल सिद्वान्त हुन थालेको छ । व्यवहारमा यस्ता कुराको अवलम्बन हुन नसक्दा व्यक्तिमा नैराश्यता फैलदै गएको छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



